यस आर्थिक वर्षमा सवारी तथा पार्टपूर्जाको आयात घटेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार पाँच महिनाको तुलनात्मक अवधिमा ७ अर्बको आयात घटेको छ।
गत आवको साउनदेखि मंसिरसम्म ४१ अर्व २१ करोडको सवारी तथा स्पेयर पार्टस आयात भएकोमा यस आवको सोही अवधिमा ३५ अर्व ५७ करोडको मात्र भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले गाडी खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था गरेपछि बीचमा केही महिना ब्यापार घटेको नाडा अटोमोवाइल एसोसियसन अफ नेपालका महासचिव कृष्णप्रसाद दुलालले बताए।
पछि यसको दायरा ३५ प्रतिशत मात्र लागू गरिए पनि आकर्षण उल्लेख्य रुपमा बढ्न नसकेको उनको भनाइ छ।
‘गाडी खरिद गर्नको लागि डाउन पेमेन्ट १० प्रतिशत मात्र बनाउनु पर्ने हाम्रो माग हो, ढिलै भएपनि राष्ट्र बैंकले ३५ प्रतिशतमा झार्यो तर उत्साह थपिन सकेको छैन’ उनले भने।
वितरक कम्पनीहरुले पहिले नै ल्याएको गाडी स्टकमा रहेका कारण पछिल्लो समय धेरै आयात गर्न नपरेको उनले जानकारी दिए।
चाहनेले चढ्न पाउनु पर्ने भन्दै दुलालले उत्पादनका क्षेत्रमा सवारीसाधनले नै टेवा पुर्याउने उल्लेख गरे।
‘उद्योग, कृषि, पर्यटन लगायतका क्षेत्रमा उत्पादन बढाउन अटोमोवाइल्सले नै ठूलो भुमिका खेलेको छ’ उनले भने, ‘यसलाई अनुत्पादक भनेर कडाई गर्नु हुँदैन।’ सरकारले गाडीमा कडाई गर्नुको सट्टा सडक पुर्वाधारमा ध्यान दिनुपर्ने उनको बुझाई छ।
अहिले गाडी खरिद गर्दा ३५ प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने सरकारी नीतिकै कारण गाडीको आयात घटेको सिप्रदी ट्रेडिङ प्रालिका जनरल म्यानेजर प्रविन खतिवडा बताउँछन्। महँगो व्याजदर पनि प्रमुख कारण रहेको उनले बताए।
‘अहिले सामान्यतया एउटा गाडी खरिद गर्न करिव १० लाख हातमा हुनुपर्छ’ उनले भने ‘बैंकहरुको उच्च व्याजदर पनि अर्को कारण हो।’
अहिले गाडीमा १२/१३ प्रतिशत व्याजदर पुगेको उनले बताए।
यो वर्ष रियल स्टेटको कारोवार घट्नाले पनि गाडी खरिद गर्नेको संख्यामा ह्रास आएको जानकारहरु बताउँछन्।