नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद थप गर्नेसम्बन्धी प्रस्ताव आफूले केन्द्रीय समितिमा पेस नगर्ने बताएका छन्।
२०७८ मंसिरमा १४ औं महाधिवेशन भएको र देउवा नेतृत्वको कार्यसमितिको नियमित कार्यकाल मंसिरमा सकिने भएको हुँदा अब यो कार्यसमितिको म्याद थप नहुने महामन्त्री थापाले बताएका हुन्।
‘पार्टी कार्यसमितिको म्याद चार वर्ष भए पनि हामीले सामान्यतया एक वर्ष थप गरी ५ वर्ष बनाउने गरिएको थियो,’ बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘यो कार्यसमितिको म्याद थप्ने प्रस्ताव असोज २६ को केन्द्रीय समितिमा म लैजान्न। सभापति देउवाको मात्र होइन, म आफै महामन्त्री गगन थापाको पनि म्याद थप नहुने कुरा हो यो।’
महामन्त्री थापाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने प्रस्ताव पनि राखेका छन्। सोहीअनुसार उनले कार्यतालिका पनि पेस गरेका छन्। उक्त कार्यतालिका असोज २६ गतेको केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारीसमेत महामन्त्री थापाको छ।
‘यो कार्यसमितिको म्याद अब थपिन्न। त्यसपछि नियमित महाधिवेशन हुन्छ नभए विशेष महाधिवेशन हुन्छ,’ महामन्त्री थापाले भने।
आजको बैठकमा सभापति देउवा पक्षका केही पदाधिकारीले मंसिरमा नियमित महाधिवेशन गर्न गाह्रो हुने बताएका थिए।