चुनावी तयारी क्रममा यस वर्ष पेट्रोलियम खपतले नयाँ रेकर्ड कायम गरेको छ।
आयल निगमले भदौ १६ देखि मंसिर ४ गतेसम्म जति इन्धन बेचेको छ, त्यति इन्धन यही अवधिमा अहिलेसम्म विक्री भएको थिएन।
‘निर्वाचनले इन्धन माग उच्च बनाएको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले सेतोपाटीसँग भने, ‘आपूर्ति गर्न हम्मे नै परिसक्यो।’
निगमका अनुसार भदौ १६ देखि मंसिर ४ सम्म १ लाख १० हजार ८ सय किलोलिटर पेट्रोल खपत भएको छ। गत आर्थिक वर्ष २०७३/७४ को १२ महिनामा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको थियो।
यो तथ्यांक २ महिना २२ दिनको हो। ‘यही क्रम जारी रहे दोस्रो चरणको चुनाव सकिँदासम्म लगभग गत वर्षको आधा खपत हुनेछ,’ भट्टराईले भने।
निगमको तथ्यांक हेर्ने हो भने भदौयता इन्धन खपत क्रमिक रूपले बढ्दै गएको छ।
भदौ १६ देखि असोज १४ सम्म ३५ हजार ५ सय किलोलिटर पेट्रोल खपत भएको थियो। त्यसपछि कात्तिक १६ सम्म आइपुग्दा एक महिनामै ४२ हजार ३ सय लिटर पुग्यो। यो अघिल्लो महिनाभन्दा ६ हजार ८ सय किलोलिटर बढी हो।
कात्तिक १६ देखि मंसिर ४ सम्म खपत अझ बढेको देखिन्छ। २२ दिन अवधिमा मात्र ३३ हजार किलोलिटर खपत भएको छ।
‘हुन त यो विकासका काम बढ्ने समय हो। त्यसले मात्र इन्धनको माग यसरी बढाउँदैन। चुनावले नै इन्धन आयात र विक्री हालसम्मकै उच्च बनाएको छ,’ भट्टराईले भने।
यसै अवधिमा डिजेल खपत पनि अत्यधिक छ। चुनावी प्रचारमा ठूलो संख्याले सवारी प्रयोग भएकाले डिजेल माग बढेको भट्टराई बताउँछन्।
गत भदौ १६ देखि असोज १४ सम्म ८३ हजार किलोलिटर खपत भएको डिजेल अर्को एक महिना (असोज १६ देखि कात्तिक १४ सम्म) मा १७ हजार बढेर १ लाख पुगेको भट्टराईले जानकारी दिए।
कात्तिक १४ देखि मंसिर ६ गतेसम्म करीब २२ दिनमा मात्रै डिजेल खपत २ लाख ८६ हजार किलोलिटर पुगिसकेको छ। गत आर्थिक वर्षभरीमा १२ लाख ९७ हजार किलोलिटर डिजेल खपत भएको थियो।
पेट्रोल–डिजेल मात्र होइन, हवाइ इन्धनको अवस्था उस्तै छ।
भदौ १६ देखि असोज १४ गतेसम्म १७ हजार किलोलिटर हवाइ इन्धन खपत भएको छ। कात्तिक १४ सम्म ३ हजार ५ सय किलोलिटर बढेर १९ हजार ५ सय पुगेको छ।
कात्तिक १४ देखि मंसिर ६ गतेसम्म २२ दिन अवधिमा खपत अझै बढेर २१ हजार ५ सय किलोलिटर पुगेको छ। २ महिना २२ दिनमा ५७ हजार किलोलिटर पुगेको छ।
गत आर्थिक वर्षमा १ लाख ६४ हजार २ सय ९९ किलोलिटर हवाइ इन्धन खपत भएको थियो। यसरी हेर्दा गत वर्षको १२ महिनामा भएको खपतको आधा चुनावी ३ महिनामै हुने देखिएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए।
‘हाल पेट्रोल माग दैनिक रूपमा १५ सय किलोलिटर छ भने डिजेल ४ हजार ६ सय किलोलिटर छ,’ उनले भने, ‘सामान्य दिनमा भने पेट्रोल १ हजार तथा डिजेल ३ हजार किलोलिटर मात्र हुन्छ।’
इन्धनको मासिक खपत पनि हालसम्मकै उच्च रहेको उनी बताउँछन्।
निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि भन्सार नाका बन्द गरिन्छ। यसकारण पछिल्लो निर्वाचनपछि राजधानी तथा देशका अन्य क्षेत्रमा इन्धन सहज रूपमा पाइएको थिएन। लामो लाइनमा बस्नुपर्ने अवस्था आएको थियो।
यसपालि भने पहिलेजस्तो लाइन बस्नु नपर्ने भट्टराईको दाबी छ। ‘विगतमा केही कमजोरी भए। हामीले व्यवस्थापन गर्न सकेनौं। अहिले निर्वाचन अघि र पछि इन्धन सहज आपूर्ति गराउन निगम खटिरहेको छ,’ उनले भने, ‘यसका लागि भण्डारण बढाइएको छ भने सीमा बन्द भएको अवस्थामा पनि हाम्रा ट्याकंर आउन रोक लगाइने छैन। त्यसैले ढुक्क हुनुहोस्। यसपालि तेल समस्या हुँदैन।’
यसरी माग र खपत दुवै उच्च हुँदा निगमको आर्थिक घाटा भने बढ्दै गएको भट्टराई बताउँछन्।
‘मासिक घाटा ५५ करोड नाघिसक्यो,’ उनले भने, ‘भारतीय आयल निगमबाट बढेर आएको मूल्यअनुरुप नेपालमा समायोजन हुन नसक्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १४ पैसा, डिजेलमा ३ रुपैयाँ ९८ पैसा तथा मट्टितेलमा १५ रुपैयाँ घाटा छ।’
हवाइ इन्धनमा पनि घाटै भएको उनको दाबी छ। आन्तरिक उडानमा प्रतिलिटर १२ रुपैयाँ र अन्तर्राष्ट्रियमा १८ रुपैयाँ ३१ पैसा घाटा भएको उनले जानकारी दिए।