बुढानिलकण्ठ – रत्नपार्क रुटमा टाटाका ठूला बसहरु संचालनमा आएका छन्।
एलपी ७१२ सिटी बसहरु बुढानिलकण्ठ यातायात प्रालिले संचालनमा ल्याएको हो। हालका लागि १० वटा बसले सेवा दिने र पछि विस्तार गर्दै लैजाने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।
बुढानिलकण्ठदेखि नारायणगोपाल चोक, लाजिम्पाट, जमल हुँदै बस रत्नपार्कसम्म र सोही रुट हुँदै बुढानिलकण्ठ फर्किनेछ।
सिप्रदी ट्रेडिङका म्यानेजर कृष्ण चन्दले बसमा एलइडी टिभी, सिसिटिभी, आरामदायी सिटहरु रहेको बताए। सिप्रदीका डिजिएम अनुपमणि ढकालले ३५ वर्षदेखि निरन्तर रुपमा ग्राहकलाई सेवा दिइँदै आएको बताउँदै यी नयाँ बसहरुले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे।
साना बसमा अप्ठेरोसँग यात्रा गर्नुपर्ने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै नयाँ बसहरु संचालनमा आएको यातायातका अध्यक्ष बाबुराजा महर्जनले बताए।
‘बसको संख्या यत्तिमा मात्रै सीमित रहँदैन, आगामी दिनमा संख्या बढाइँदै लगिनेछ, ७० वटा बसले साना माइक्रोलाई विस्थापित गर्ने लक्ष्य लिइएको छ’ उनले भने।