पढाइ इञ्जिनियरिङ, पेसा चाहिँ कृषि?
यो प्रश्न चुनदेवी, भक्तपुरका सार्थक साखःलाई धेरैले सोध्छन्।
इञ्जिनियर भएर खेतीमा लाग्नु धेरैका लागि अनौठो हुन सक्छ।
सार्थक भन्छन्, 'धेरैको सोचाइमा यहाँ कृषि भन्नु परम्परागत खेती हो। म कृषिलाई प्रविधिसँग जोड्न चाहन्छु। यही लक्ष्यका साथ अघि बढेको छु।'
सार्थकले चुनदेवीमा 'मिनर्भा फार्म्स' चलाएका छन्। यो फार्म निर्माण सामग्री उत्पादक आएको साखः ग्रुप अन्तर्गतको हो।
मिनर्भा फार्म्सले डल्ले, कालो (ब्ल्याक पर्ल वेस्टर), सिताके र राजा (किङ वेस्टर) गरी चार जातका च्याउ उत्पादन गरिरहेको छ। यो च्याउ 'कल्टिभा' ब्रान्डमा बिक्री हुन्छ।
भक्तपुरका स्थायी बासिन्दा सार्थक साखः ग्रुपको तेस्रो पुस्ता हुन्। उनले भक्तपुरमा कक्षा चारसम्म मात्र पढे। त्यसपछिको पढाइ भारतको दार्जिलिङबाट गरे। भारतकै पुणेबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक तह पूरा गरेर सन् २०१८ मा काठमाडौं फर्के।
व्यावसायिक पृष्ठभूमिका सार्थकलाई पढाइ पूरा गर्दा कामका बारेमा कुनै चिन्ता थिएन। पारिवारिक व्यवसायमै संलग्न हुने पक्का थियो। उनी चलिरहेकै काममा संलग्न हुने कि कुनै नयाँ काम गर्ने, थोरै अलमलमा थिए।
अन्ततः सार्थक परिवारिक सल्लाहमै कस्तो नयाँ व्यवसाय गर्न सकिएला भन्ने खोजीमा लागे।
खोजी र अध्ययनको करिब डेढ वर्षपछि उनी च्याउ उत्पादनमा लाग्ने निर्णयमा पुगे।
'उद्योग विस्तार गर्ने त छँदैछ। कुनै नयाँ व्यवसाय पनि गर्नुपर्छ भन्ने सोच आयो,' उनले भने, 'मैले अहिले च्याउ खेतीमा लाग्ने निर्णय गरेँ।'
कुनै अर्को उद्योग सुरू गर्ने पनि नसोचेका होइनन् तर उनलाई अहिले नै सुरू गरिहाल्न उचित लागेन।
उनले भने, 'सिरिन्ज उद्योग पनि विकल्पमा थियो तर त्यसमा राम्रो आइडिया थिएन। ठूलो स्केलको हुने भएकाले अहिले नै आँट गरिनँ।'
कृषि नै रोज्नुको अर्को कारण पनि छ।
उनले कृषि क्षेत्रमा निकै बलियो सम्भावना देखेका छन्।
उनले केही आधुनिक प्रविधिका साथ कृषि उत्पादन गर्ने योजना बनाए। उनका अनुसार च्याउ बाह्रै महिना उत्पादन गर्न सकिन्छ। मौसमका कारण फरक पर्दैन।
'आफूले पढेको विषय व्यवसायमा काम लागोस् भन्ने थियो। कृषिमा नयाँ प्रविधि धेरै प्रयोग भएको पाइँदैन,' उनले च्याउ उत्पादन रोज्नुको कारण प्रस्ट पारे, 'अध्ययन गर्दै जाँदा च्याउ उत्पादनमा प्रविधि प्रयोग गर्न सकिने निष्कर्षमा पुगेँ।'
सार्थकका लागि च्याउ उत्पादनको काम नयाँ थियो। केही च्याउ उत्पादकहरुसँग पारिवारिक चिनजान भएकाले आफूलाई यस व्यवसायमा लाग्न सहज भएको उनको भनाइ छ।
उनले च्याउ खेतीमा पुगेर उत्पादन पद्धतिबारे जानकारी लिए। परम्परागत प्रविधि हेरे। उत्पादकहरूले प्रयोग गरेका आधुनिक प्रविधि पनि हेरे। आधुनिक प्रविधिका समस्याबारे जानकारी लिए। बजार अध्ययन गरे। बिउ उत्पादकहरुसँग सम्पर्क पढाए।
च्याउ उत्पादनका लागि काठको धूलो, पराल, छ्वाली, मैदा मिलबाट निस्कने चोकर, भटमास र तोरीको पिना प्राप्तिका स्रोतहरू पत्ता लगाए। च्याउ उत्पादन गर्न आवश्यक मेसिन चीन र युरोपबाट मगाए। उनका अनुसार सिताके, कालो र राजा च्याउ चिनियाँ प्रविधिबाट र डल्ले च्याउ युरोपेली प्रविधिबाट उत्पादन हुन्छ।
सबै बस्दोबस्त भएपछि सन् २०२० मा मिनर्भा फार्म्स दर्ता भयो।
उनले भक्तपुरमा साढे चार रोपनी जमिनमा तीन वटा 'सेड' बनाएका छन्। त्यसमध्ये आधा जमिन आफ्नै हो। आधा जमिन भाडामा लिएका हुन्। १३ जना कर्मचारी कार्यरत छन्।
उद्योगमा हालसम्ममा करिब १२ करोड रूपैयाँ लगानी भएको छ।
'खासमा ७–८ करोडको प्रोजेक्ट हो तर कोभिडले गर्दा लागत बढ्यो,' उनले भने।
उत्पादन बजार पुर्याउन ढिलो भएकाले पनि लागत केही बढ्यो।
कम्पनी स्थापना भएको डेढ वर्षपछि कालो च्याउ उत्पादन भयो। च्याउ लिएर सार्थक आफैं तरकारी बजारहरूमा पुग्थे। व्यापारीलाई कुरा बुझाएर च्याउ छाडेर आउँथे तर बिक्री हुँदैन थियो। भोलिपल्ट फिर्ता हुन्थ्यो।
कहिल्यै नदेखेको च्याउ किन्ने ग्राहक नै भएनन्। पहिलो खेपमा उत्पादन भएको करिब ५० किलो च्याउ त्यसै खेर भयो।
सार्थकले भने, 'बजारमा दुई–तीन किलो बेच्न पनि मुस्किल हुन्थ्यो। एकपटक चाखेर विचार गर्नु, पैसा नलिई ग्राहकलाई दिनु भनेर पनि छाड्थ्यौं। तैपनि फिर्ता आउँथ्यो।'
काम सुरू गरेको ६ महिना हुँदा सिताके, डल्ले र राजा च्याउ पनि उत्पादन हुन थाल्यो।
सार्थकले प्रयास जारी राखे। दिन बित्दै जाँदा व्यापार पनि बढ्दै गयो।
सार्थकका अनुसार कालो, डल्ले र राजा च्याउ बिउ रोपेको डेढदेखि दुई महिनामा खान योग्य हुन्छ। सिताके च्याउ पाँच महिनासम्म लाग्छ। डल्ले, सिताके लगायत अन्य च्याउ बजारमा बिक्री भए पनि कालो च्याउ बिक्री हुन निकै समय लाग्यो।
नेपाली ग्राहकका लागि कालो च्याउ नयाँ थियो।
च्याउ उत्पादन बढ्दै थियो। काठमाडौंको भृकुटी मण्डपमा कृषि मेला लाग्यो। मेलामा कालो च्याउ पकाएर आगन्तुकहरूलाई खुवाए। त्यसपछि कालो च्याउले पनि बजार पाउन थाल्यो।
'अहिले कालो च्याउ नै सबैभन्दा बढी बिक्ने गरेको छ,' सार्थकले भने।
उनका अनुसार आधुनिक मेसिन प्रयोग गरेर उत्पादन गर्दा समय, श्रम र खर्च कम हुन्छ। हातले गर्ने काम मेसिनले गर्दा छिटो हुन्छ। त्यति नै काम मान्छेले मात्रै गर्ने हो भने जनशक्ति र खर्च बढ्छ।
मेसिनले मल मिलाउने र ब्याग बनाउने काम गर्छ। सिताके च्याउको बिउ मेसिनले हाल्न मिल्छ, अरू बिउ हातले हाल्नुपर्छ।
मिनर्भा फार्म्सको मुख्य बजार काठमाडौं हो। भाटभटेनी, बिगमार्ट र फ्रेस केटिएम स्टोरहरूमा पठाउँछन्। कालिमाटी, बल्खु, भक्तपुर, जगाती, ठिमी, जडिबुटी, तीनकुने, धुम्रबाराही, चाबहिलका बजारमा पनि पठाउँछन्। हाल करिब ३५ ठाउँबाट बिक्री हुन्छ। ग्राहकले अनलाइन अर्डर पनि गर्न सक्छन्।
मिनर्भा फार्म्समा हाल कालो, सिताके, राजा र डल्ले चारै प्रकारको गरी दैनिक औसत चार सय किलो उत्पादन च्याउ हुन्छ। टिपेकै दिन च्याउ बजारमा पठाउँछन्।
आगामी दिनमा च्याउ उमार्ने ब्याग अन्य किसानलाई पनि बिक्री गर्ने योजना छ।
हाल किसानलाई कम्पोस्ट मलको ब्याग दिएर परीक्षणका सुरू भएको छ।
'हामीले केही कृषकलाई परीक्षणका रूपमा प्याकेट दिएका छौं। किसानलाई फाइदा हुने नहुने अध्ययन गरेर अघि बढ्छौं।'
च्याउबाट कृषिकर्म सुरू गरेका सार्थक कृषि उत्पादन विस्तार गर्ने योजनामा छन्।