चीनले नेपाली चिया आयात गर्नेबारे चासो देखाएपछि नेपालले गत भदौं २३ गते अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १६ वटा ‘ब्ल्याक टी’ को नमूना चीन पठायो।
अहिले नेपाल आफूले पठाएको नमूनाको कस्तो नतिजा आउँछ भनेर पर्खेर बसेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दिपक खनाल नेपालले पठाएको चियाको नमूनाले अन्तर्राष्ट्रिय बजारमा सुखद परिणाम ल्याउने बताउँछन्।
‘हाम्रो नमूनाको नतिजा सुखद आउँछ र सोको आधारमा हाम्रो चियाको अन्तर्राष्ट्रिय व्यापारमा पनि सुखद परिणाम आउँछ भन्ने अपेक्षा राखेका छौं,' उनले भने।
निर्देशक खनालका अनुसार परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणमा नेपालले चीनसमक्ष नेपाली चिया आयात गरिदिनेबारे कुरा राखेको थियो। सोही क्रममा चीनले पनि नेपाली चिया आयात गर्ने वचन दिएपछि नेपालबाट पहिलोपटक चियाका नमूना प्रतियोगिताका लागि पठाइएको हो।
अहिलेसम्म नेपालले चिया भारतलाई बेच्दै आएकोमा केही वर्षयता भारतबाट निर्यातका क्रममा विभिन्न अवरोधहरू सिर्जना हुन थालेपछि वैकल्पिक बजार खोजिएको खनाल बताउँछन्।
‘पछिल्ला दिनमा भारतबाट नेपाली चियामा जे-जस्ता अवरोधहरू सिर्जना भए, त्यसले पनि वैकल्पिक बजार खोज्नुपर्छ भन्ने बाध्य बनायो। साथै परराष्ट्रमन्त्रीको भ्रमणमा चीनले नेपाली चिया मनपराएको भन्ने सुखद सन्देश प्राप्त गर्यौं। सोही आधारमा अहिले चीनसँग कसरी सहज तरिकाबाट नेपाली चिया निर्यात गर्न सकिन्छ भनेर काम गरिरहेका छौं,’ उनले भने।
निर्देशक खनालका अनुसार प्रत्येक वर्ष भारतबाट नेपाली चियामा अवरोध हुँदै आएको छ। ‘हरेक वर्ष नै काँकटभिट्टा नाकामा भारतले नेपाली चिया रोक्दै आएको छ। तर दुई तीन महिना अगाडि भने ठूलै समस्या देखियो। उनीहरूको कानुन नै बनाएर नेपाली चिया रोक्ने आशय देखियो। जुन हाम्रो लागि प्रिय होइन,’ उनले भने।
अहिले पनि भारतसँगको चिया व्यापारमा देखिएको समस्या हल गर्न कूटनीतिक पहलहरू भइरहेको उल्लेख गर्दै निर्देशक खनालले भने, ‘भारतसँग चिया व्यापार रोक्नुपर्छ भन्नेमा नेपाल छैन तर भारतले नै रोक्न चाहेको जस्तो देखियो। र त्यो कारणले मात्र चिनियाँ बजार खोजेको हैनौं। विगतदेखि नै वैकल्पिक बजार खोज्ने काम भइरहेको थियो।’
यद्यपि नेपाली चिया भारतभन्दा अन्य देशहरूमा निर्यात गर्दा आम्दानी बढी हुने निर्देशक खनाल बताउँछन्। ‘एउटा सत्य के हो भने भारतसँग चिया निर्यात गर्नुभन्दा हामीले चीनलगायत तेस्रो देशहरूमा निर्यात गर्दा नेपाललाई धेरै फाइदा हुन्छ,’ उनले भने।
थप प्रस्ट्याउँदै निर्देशक खनाल भन्छन्, ‘हामीले भारतलाई प्रति केजी ५ सय ३५ रुपैंयाँमा बेचेको त्यहीँ चिया चीनलाई बेच्यौं भने प्रति केजी ३५ सय देखि ४ हजारसम्म बिक्री हुन्छ। चीनसँग भएका अनौंपचारिक कुराकानीमा पनि यहीँ कुरा भएको छ।’
निर्देशक खनालले भारतसँगै नेपालले अन्य देशहरूमा पनि चिया व्यापार गर्नसके आम्दानीको हिसाबले धेरै फाइदा हुने र त्यसको प्रत्यक्ष लाभ किसानलाई पनि पुग्ने बताए।
‘नेपालले चीनलाई चिया बेच्न सक्यो भने तीन गुणा बढी आम्दानी गर्न सकिन्छ। र फाइनल प्रोडक्टको मूल्य बढेपछि कच्चा पदार्थको मूल्य पनि बढ्ने भयो। त्यसैले किसानलाई पनि त्यसको प्रत्यक्ष लाभ पुग्छ,’ उनले भने।
हेर्नुहोस् भिडिओ