चितवनका हरिप्रसाद न्यौपानेले डेनमार्कको रिजनल काउसिल मेम्बर(क्षेत्रिय परिषद सदस्य) र नगर परिषद सदस्यका लागि उमेदवारी दिएका छन्।
नोभेम्बर १८ तारिकमा हुन लागेको निर्वाचनमा डेनमार्कको सत्तारुढ सोसल डेमोक्र्याट पार्टीका तर्फबाट न्यौपानेले कोपनहेगनको नगरपरिषद सदस्यको उमेदवारी दिएका हुन्। सँगै उनी पूर्वी डेनमार्क क्षेत्रको क्षेत्रीय परिषद सदस्यको समेत उमेदवार बनेका छन्।
उनी यसअघि पनि सन् २०१७ र २०२१ मा कोपनहेगनको नगरपरिषद सदस्य उमेदवार बनेका थिए।
सन् २०१७ मा १५० मतले पराजित भएका थिए भने २०२१ मा १ मतले मात्र पराजित भएका थिए। यसपटक आफू निर्वाचित हुने उपेक्षा गरेको उनले सेतोपाटीलाई बताए।
१७ वर्ष अघि डेनमार्क पुगेका न्यौपाने डेनमार्कको नेसब्रक कलेजका लेक्चरर हुन्। उनी सामाजिक संघ संस्थामा समेत सक्रिय छन्।
यसपालिको निर्वाचनका लागि आफ्नो तीनवटा एजेन्डा रहेको उनले बताए।
'आप्रवासीका लागि मात्र होइन। डेनमार्कका सीमान्तकृतको एजेण्डा समेत उठाएको छु। यहाँ शिक्षित र अशिक्षितको बिचमा ठूलो खाडल छ,' उनले भने, 'पछाडि परेका समुदायसँग राज्य पुग्नु पर्छ भन्ने मेरो एजेण्डा हो। अर्को कुरा आप्रवासीहरुले डेनमार्कमा आफ्नो क्षमता अनुसारको काम पाउनु पर्छ भन्ने पनि हो।'
उनका अनुसार दक्ष आप्रवासीहरुले समेत आफ्नो क्षमता अनुसारको काम नपाई सरसफाईको काम गर्नु पर्दा उनीहरुको सीप समेत कमजोर भएको छ। यसले राज्यलाई घाटा हुने भएकाले यसमा नीति बनाउन जरुरी रहेको एजेण्डा आफूले लिएको उनले बताए।

त्यस्तै आप्रवासी र स्थानीयको बिचमा भिन्नता देखाएर समाज विभाजनको प्रयास भएको भन्दै यसका लागि आफूले पुलको काम गरेको उनको दाबी छ।
उनी उमेदवार बनेको पुर्वी डेनमार्कको क्षेत्रमा नेपाली मुलका ७ हजार मतदाता छन्। यद्यपि नेपालीहरु भने १५ हजारको हाराहारीमा बस्ने उनको अनुमान छ।
डेनमार्कको कुनै पनि निर्वाचनमा नेपाली मुलका तर्फबाट उमेदवार बन्ने न्यौपाने पहिलो व्यक्ति हुन्।