एनआरएनए अस्ट्रेलियाको आगामी नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।
यही जुलाई २६ मा हुने निर्वाचनका लागि अध्यक्ष पदमा सन्तोष कुँवर, सञ्जीव ढकाल गोर्खाली र भैरव प्रसाद ढकालले उम्मेदवारी दिएका हुन्।
निर्वाचन आयोगको समय तालिका अनुसार अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले सेतोपाटीलाई जानकारी दिए।
लगातार दुई वर्षसम्म एक राज्यबाट अध्यक्षको उम्मेदवारी दिन नपाउने विधान अनुसार यसपटक सिड्नी बाहिरको राज्यहरूबाट उम्मेदवारी परेको हो।
जसमा क्विन्सल्याण्डबाट सन्तोष, नर्दन टेरोटेरीबाट गोर्खाली र पर्थ (पश्चिम अस्ट्रेलिया) बाट ढकालको उम्मेदवारी परेको हो।
को हुन् अध्यक्षका उम्मेदवारहरू?
संस्थागत सुदृढीकरणका लागि मेरो उम्मेदवारी- कुँवर
एक दशकभन्दा लामो समयसम्म एनआरएनए अस्ट्रेलियामा सक्रिय रहेका कुँवर हालको कार्यसमितिका महासचिव हुन्।
कुँवरको एनआरएनए यात्रा राज्य समन्वय परिषदको सचिव पदबाट सुरू भएको थियो। त्यसपछि उनी क्रमशः राज्य संयोजक (२०१७–१९), आइसिसी सदस्य (२०१९–२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२३) हुँदै हाल महासचिवको रूपमा क्रियाशील छन्।
कुँवरले संस्थाको दिगो विकास, पारदर्शिता र संस्थागत सुदृढीकरणका लागि नेतृत्व लिन चाहेको बताए।
'एनआरएनएको यो यात्राका क्रममा विभिन्न तह र तप्कामा बसेर मैले संस्थालाई प्रविधिमैत्री, आर्थिक पारदर्शिता र सरकारी समन्वययुक्त बनाउनेतर्फ निरन्तर काम गरेँ,' कुँवरले भने, 'अब अध्यक्षका रूपमा संस्थालाई नेतृत्व गर्न पाए दुई वर्षमा संस्थालाई सबै प्रवासी नेपालीको बनाउनतर्फ अग्रसर हुनेछु।'
विद्यार्थी भिसामा सन् २००९ मा अस्ट्रेलिया आएका उनले २०१० मा मास्टर्स गरेपछि व्यवसायमा हात हालेका थिए।
अस्ट्रेलियाको ‘माइग्रेसन ल एन्ड प्राक्टिस’मा स्नातक गरेका उनले सन् २०१८ देखि ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्।
सबै पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न मेरो उम्मेदवारी- गोर्खाली
नर्दन टेरिटोरी (डार्बिन) एनआरएनका संयोजक तथा एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष सन्जीव ढकाल गोर्खाली लामो समयदेखि एनआरएनमा सक्रिय छन्।
नेपालको गोरखामा जन्मिएर चितवन हुँदै अस्ट्रेलियाको डार्विनमा आइपुगेका सञ्जीव गोर्खाली नेपाली समुदायमा परिचित नाम हो। समाज सेवामा रूचि राख्ने ढकालले अस्ट्रेलिया आएपछि आफ्नो सामाजिक सक्रियतालाई निरन्तरता दिए।
सन् २०२१-२०२३ कार्यकालमा ढकालले एनआरएनए एनटीमा सह-संयोजकको जिम्मवारी सम्हाले। त्यसपछि उनी २०२३–२०२५ कार्यकालमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवं एनटी राज्य संयोजक भए।
उनले आफ्नो उम्मेदवारी केवल नेतृत्वका लागि नभई, स्पष्ट कार्यदिशा, जबाफदेहिता र सहभागितामूलक समुदाय निर्माणका लागि भएको बताएका छन्।
ढकालले स्वतन्त्र च्यारिटेबल संस्था रूपमा संस्थागत सबै विद्यार्थीलाई पुनः सहायक सदस्यका रूपमा समावेश गर्ने र नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सबैलाई सदस्य बनाउने व्यवस्था गर्ने उल्लेख गरेका छन्।
‘हामी वाचा मात्रै गर्दैनौँ, काम गरेर देखाउँछौँ,’ उनले भने, ‘संगठन एक व्यक्तिको होइन, सबैको साझा आवाज हो। मेरो उद्देश्य हो, सबै राज्य, सबै वर्ग, सबै पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नु हो।’
एनआरएनए अभियानमा विश्वास र एकता पुनर्स्थापित गर्न मेरो उम्मेदवारी- ढकाल
हाल एनआरएनए आइसिसीका सल्लाहकार रहेका भैरव ढकालले आगामी एनआरएनए अस्ट्रेलियाको नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिएका छन्।
एनआरएनए अस्ट्रेलियाको पूर्वसल्लाहकार, पूर्वउपाध्यक्षका रूपमा काम गरेको अनुभव रहेको ढकाल लामो समयदेखि रेष्टुरेन्ट व्यवसायी र सामाजिक अभियन्ता हुन्।
ढकालले एनआरएनए अभियानमा विश्वास र एकता पुनर्स्थापित गर्ने, व्यावसायिकताका साथ एनआरएनए बडापत्र र मूल्यमान्यता स्थापित गराउने उद्देश्यसहित उम्मेदवारी दिएको बताए।
उनले युवा, महिला र कम प्रतिनिधित्व भएका आवाजहरूको सक्रिय सहभागिता बढाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताए।
त्यस्तै, एनआरएनए अस्ट्रेलियाको विश्वव्यापी प्रभाव निर्माण गर्ने, नेपाल सरकारसँग व्यावहारिक, मापनयोग्य डायस्पोरा-मैत्री नीतिहरूको वकालत गर्ने, पारदर्शिता र नवीनताको माध्यमबाट एनआरएनए अस्ट्रेलियालाई एक मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले राखेका छन्।
यस्तै यसपटक १ उपाध्यक्षका लागि रमेश पौडेल र बबिन मिश्रको उम्मेदवारी परेको छ।
यस्तै १ महासचिवका लागि पनि २ जनाकै उम्मेदवारी परेको छ। जसमा चुडामणि सापकोटा र भरतमणि देवकोटा छन्। यस्तै एक कोषाध्यक्षका लागि निजान चौलागाईं र लुना सिवाकोटीको उम्मेदवारी परेको छ।
एक सचिवका लागि कल्याण खड्का र गणेश राज गौतमको उम्मेदवारी परेको छ।
यसपटक एनआरएन अस्ट्रेलियाको नयाँ विधान अनुसार एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्षका लागि निर्वाचन हुनेछ।
यस्तै नेशनल नारी निकुञ्जमा संयोजक र सदस्यको मात्र निर्वाचन हुनेछ।
संयोजकका लागि रिन्जु अधिकारी र रत्ना गौतमले उम्मेदवारी दिएका छन्।
यस्तै ५ सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। जसमा अस्मिता केसी कटवाल,पूजा भट्टराई, श्रेया दहाल, पल्लवी रञ्जितकार, स्वीकृति तुम्बाङ्गे र अस्मिका श्रेष्ठ छन्।
सह-संयोजकमा पतिभा शाहको मात्र उम्मेदवारी परेको छ भने सचिवमा रोजा प्रधान र कोषाध्यक्षमा कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन आयोगले जनाएको छ।
यस्तै नेशनल युथ फोरमको संयोजकमा पुकार घिमिरे, यस्तै सहसंयोजकमा मनिष सिग्देल, सचिवमा सचिन थापा र सन्तोस पाठक, कोषाध्यक्षमा आयुष अधिकारी र सदस्यमा शोनाम शेर्पा, बिमल बस्नेत, अशोक बहादुर ढुंगेल र मनिस खनालको उम्मेदवारी परेको छ। यहाँ सचिवको मात्र निर्वाचन हुनेछ।
यसरी राष्ट्रिय स्तरमा २३ पदका लागि ३० जनाको उम्मेदवारी परेको छ। यस्तै ८ जना आइसिसी सदस्य निर्वाचित हुनेमा १६ जनाको उम्मेदवारी परेको छ।
१५ हजार ५ सय ५१ मतदाता रहेको अस्ट्रेलियामा विभिन्न २ सय २५ पदहरूमा निर्वाचन हुन लागेको हो।