नेप्लिज रिक्रेयसनल क्लबको आयोजनामा सम्पन्न विविध खेलुकद प्रतियोगिताका विजेतालाई शनिबार एक समारोहबीच पदक तथा प्रमाणपत्र वितरण गरिएको छ।
स्थानीय राजनितिज्ञ तथा राज्यमन्त्री जियोफ ली तथा लेबरका सांसद जोडी मकाइको विशेष उपस्थिति तथा अस्ट्रेलियाका लागि नेपाली राजदूतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम ब्याडमिन्टन, टेबल टेनिस तथा गल्फ प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो। सोही समारोहमा नेपालबाट सिड्नी इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा सहभागी नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूलाई सम्मान गर्नुका साथै सहयोग रकम समेत हस्तान्तरण गरिएको थियो।
क्लबले नेपाली ब्याडमिन्टन टोलीलाई १७ सय पचास डलर सहयोग रकम स्थानंतारण गरेको थियो।
प्रतियोगितामा नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ र नम्बर दुई दिपेश धामी लगायतको सहभागिता रहेको थियो।
एनआरसीद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा हिमाल कुवरले स्वर्ण, सन्दीप बुराले रजत र बुद्ध महर्जनले कास्य पदक हात पारेका थिए।
यस्तै, मिश्रित युगलतर्फ एलिज यु र एलेक्स जर्जको टोली प्रथम, विष्णु हमाल र ज्योति राजभन्डारीको जोडी दोस्रो र आदित्य मेहरा र हेस रासिठाको जोडीले तेस्रो स्थान हात पारेको छ।
प्रतियोगिताको ४५ वर्षमाथिको युगलमा सन्जय श्रेष्ठ र सीताराम जोशीको युगल जोडीले स्वर्ण पदक, शम्सेरसिंह थापा र प्रताप श्रेष्ठको जोडीले रजत पदक तथा दिपक डंगोल र रिक्की मियोनको जोडीले कास्य पदक हात पारेको थियो।
प्रतियोगिताको मिश्रित युगलतर्फ सन्दीप बुरा र सुजी जगदिसनको जोडी पहिलो, सन्जय श्रेष्ठ र मुना श्रेष्ठको जोडी दोस्रो तथा सुवर्ण शर्मा रमिना शर्माको जोडीले तेस्रो स्थान हात पारेको थियो।
यस्तै, चालिस वर्षमाथिको मास्टर्सतर्फ विष्णु हमाल प्रथम र टेबल टेनिसतर्फ ३५ वर्षमाथिको पुरुष ओपनमा निहाल श्रेष्ठ प्रथम भएका छन्। गल्फतर्फ ग्रसतर्फ शशांक कोइरालाले पहिलो स्थान हात पारेका थिए भने ब्याक नाइनमा प्रनव मैनाली, नियरस्ट टु दी पीनमा ज्ञानदाता पोखरेल,लङ्गेस्ट ड्राइभमा दिपक खड्कालगायत विजयी भएका थिए।