सभापति रवि लामिछानेको रिहाइका लागि आन्दोलन सशक्त बनाउनेबारे छलफल गर्न मंगलबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक निष्कर्षमा पुग्न सकेन।
मंगलबार साँझ रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले आकस्मिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएका थिए। बैठकमा भौतिक उपस्थिति कम भएपछि जुममार्फत सहभागी गराइएको थियो।
आन्दोलन गर्ने विषयमै मत बाझिएपछि बुधबार दिउँसो ३ बजेसम्मलाई स्थगित गरेको एक केन्द्रीय सदस्यले बताए। उनकाअनुसार आज दिउँसो ३ बजे बस्ने बैठकले दोस्रो चरणको आन्दोलन र यसको प्रारूपबारे एकीकृत धारणा तय गर्नेछ।
ती केन्द्रीय सदस्यकाअनुसार बैठकमा केही सदस्यहरूले पार्टीले परिस्थितिको आकलन सही ढंगले गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका थिए।
उपप्रधानसहित सत्तामा सहभागी भइसकेको पार्टीको ‘इन्टेलिजेन्स’ कमजोर रहेको, सभापति रवि लामिछाने कति समय हिरासतमा बस्न सक्छन् भनेर विश्लेषण गर्न नसकेको भन्दै केन्द्रीय सदस्य असिम शाहले असन्तुष्टि पोखेको एक नेताले बताए।
‘न्यायालय प्रभावित पार्दैनौं भनेर बारम्बार भनिरहेका छौं। तर सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउने, म्याद थप गराउने दिन हामी आन्दोलन गर्छौं! यसबाट के सन्देश जान्छ? नागरिकहरूले के बुझ्छन्?,’ शाहको भनाइ उद्धृत गर्दै ती सदस्यले भने।
उनकाअनुसार आन्दोलनको पक्षमा उपसभापति अर्याल, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीनकुमार आचार्य, केन्द्रीय सदस्य सोबिता गौतम लगायत देखिएका थिए।
केही सदस्यहरूले शाहको मतमा समर्थन जनाएपछि हतारहतार बैठक स्थगित गरिएको ती नेताले बताए।
आन्दोलनबारे एकीकृत धारणा तय गर्न नसकेपछि सभापति लामिछानेसँग सल्लाह गर्न भन्दै उपसभापति अर्याल पोखरा गएका छन्।
उनी फर्किएर आएपछि बैठक बस्ने र त्यसले नै बाँकी कार्यक्रम तय गर्ने ती नेताको भनाइ छ।
सभापति लामिछाने पार्टी कार्यालय चःमतिबाट पक्राउ परेको भोलिपल्टैदेखि रास्वपा सडक आन्दोलनमा छ। उसले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो।
सहकारीको बचत ठगी र संगठित अपराधको अभियोगमा सभापति लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। उनलाई कास्की प्रहरीले अदालतबाट चौथोपटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
उनीविरूद्ध सहकारी ठगी र संगठित अपराधको कसुर गरेको आरोप छ। पछि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिरहेको छ।
विभिन्न सहकारीमार्फत गोरखा मिडियामा आएको रकमबारे संसदीय छानबिन विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित सञ्चालक समितिका सदस्य छबिलाल जोशी र कुमार रम्तेललाई पनि पक्राउ गरी अनुसन्धान गर्न सुझाव दिएको थियो।
सोही आधारमा पक्राउ परेका तीनै जना अहिले कास्की प्रहरीको हिरासतमा छन्। अनुसन्धानकै क्रममा तीनै जनालाई बयानका लागि रूपन्देही पनि लगिएको थियो।
त्यहाँ सुप्रिम सहकारीको बचत अपचलन भएको विषयमा अनुसन्धानका लागि जिल्ला अदालतले तीनैजनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
रूपन्देहीबाट पुनः कास्की फर्काइएलगत्तै काठमाडौंबाट पनि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि कुमार रम्तेललाई पोखराबाट काठमाडौं ल्याएर बयान गरी प्रहरीले पुनः पोखरा पठाइसकेको छ। जोशीलाई मंगलबार बेलुकी काठमाडौं ल्याएको छ। उनीसँग बुधबारदेखि नै बयान हुने बताइएको छ।
छबिको बयान सकिएपछि रवि लामिछानेलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ।