मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख र दुइटा वडाध्यक्षसहित ३३ जिल्लाको स्थानीय तहका रिक्त ४४ स्थानमा उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचन हुन लागेको एक मात्र नगरपालिका, त्यो पनि काठमाडौं उपत्यकाभित्रकै भएर कीर्तिपुरको चुनाव चर्चामा छ।
त्यहाँ प्रमुख पदका लागि २० जना र वडा नम्बर १ मा ९ र ४ मा १३ जनाले उम्मेदवारी दिएका छन्।
कीर्तिपुरका तत्कालीन प्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएपछि रिक्त पदमा चुनाव हुन लागेको हो।
२०७९ वैशाखको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता रहेकामा ७ सय ८४ जना थपिएर ३१ हजार १ सय १२ पुगेका छन्।
१० वडा, २० मतदान स्थल र ३८ मतदान केन्द्र रहेको कीर्तिपुरमा नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन्।
माओवादी केन्द्रले एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको साथ लिएर उम्मेदवारी दर्ता गरेको छ।
माओवादी केन्द्रले २०७९ सालमै उम्मेदवार प्रा.डा. शिवशरण महर्जन दोहोर्याएको छ। त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायको डिनसमेत भइसकेका उनी २०७२ पुस ३० गते त्रिवि सेवाबाट निवृत्त भएका थिए।
उनै महर्जनसँग चुनाव प्रचारप्रसार, पार्टी र उम्मेदवारको प्रतिबद्धतामा आधारित भएर सेतोपाटीका अक्षर काकाले गरेको कुराकानीः
मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडामा वडाध्यक्षको चुनाव हुँदैछ। तपाईं यसअघि पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो। अहिले पनि प्रत्यासी बनेर आउनुभएको छ? तपाईंको उम्मेदवारी केका लागि हो?
म २०७९ सालको स्थानीय तह निर्वाचनमा कीर्तिपुरको नगर प्रमुखको उम्मेदवार बनेको थिएँ। त्यतिबेला पनि कीर्तिपुरको समग्र विकासका लागि नै मेरो उम्मेदवारी थियो। कीर्तिपुर लथालिंग भइरहेको अवस्थामा म आएँ भने नगरपालिकालाई व्यवस्थित, भ्रष्टाचारमुक्त गर्ने साथसाथै सुशासन कायम गर्ने, कीर्तिपुरको समग्र विकासको ढोका खोल्ने विश्वास थियो।त्यतिबेला जनताका बीच गरिएका प्रतिबद्धता पूरा गर्न अहिले पनि उम्मेदवारी दिएको हुँ।
अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको साथ लिएर मैदानमा खडा छ। साझा उम्मेदवार तयार गरेको हिसाबले पार्टीको एजेन्डा त हुने नै भए। योभन्दा राम्रो कीर्तिपुर बनाउने तपाईंका एजेन्डा के-के छन्?
सुशासन र भ्रष्टाचारमुक्त कीर्तिपुर नै हाम्रो पहिलो प्राथमिकता हो। यसका अतिरिक्त नगरपालिकालाई व्यवस्थित गर्ने आदि कुरा पार्टीका एजेन्डा भइहाले। यसबाहेक कीर्तिपुरमा लथालिंग अवस्थामा रहेको खेलमैदानलाई व्यवस्थित गर्नेछु। समग्र खेल क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनेछु।
सबै नगरपालिकाले निःशुल्क फोहोर उठाउँछ। तर कीर्तिपुरका जनताले पैसा तिर्नुपरिराखेको छ। नागरिकहरूले फोहोरको पैसा तिर्नुपर्ला भनेर लुकीलुकी फाल्ने गरेका छन्।
यसकारण हामी निःशुल्क गरौं भन्ने हाम्रो योजना हो। अन्त गर्न सकिन्छ भने यहाँ नसकिने कुरा भएन। त्यसबाहेक न्यूनतम विद्युत महसुल र खानेपानीको महसुलसमेत निःशुल्क गर्ने सोच बनाएको छु।
यहाँ खानेपानीको समस्या छ। खानेपानी वितरण व्यवस्थित छैन। समानुपातिक वितरण प्रणाली लागू गर्ने, अझ बढी पानी उपलब्ध गराउने योजना बनाएको छु।
कीर्तिपुर नगरभित्र यातायातको सञ्जाल राम्रो बनाउने योजना छ। स्वास्थ्य क्षेत्रको अवस्था उस्तै छ। विष्णुदेवी अस्पताल छ तर नाम मात्रैको, त्यसलाई व्यवस्थित गर्छु। त्रिवि शिक्षण अस्पतालअन्तर्गतको एउटा शाखा कीर्तिपुरमा ल्याउनुपर्छ भन्ने हाम्रो माग छ।
त्रिवि शिक्षण अस्पतालमा ठाउँको अभाव छ। हामीसँग पर्याप्त जग्गा छ। तर पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मात्रै सीमित छ। कीर्तिपुरका जनताले इन्जिनियरिङ क्याम्पस, शिक्षण अस्पताल, मेडिकल कलेज खोजिरहेका छन्। ती सबै यहाँ ल्याउनुपर्छ।
त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरवासीको धेरै जग्गा लिएको छ। त्यसबापत कीर्तिपुरवासीलाई त्यसको लाभ दिने भनिएको थियो। कर्मचारी भर्तीदेखि हरेक कुरामा सुविधा दिने भनिएको थियो, दिइएन। त्यसकारण त्रिविले कीर्तिपुरवासीका लागि कोटा छुट्टयाउनुपर्छ।
यी मुद्दा हामीले पहिलेदेखि नै उठाउँदै आएका हौं। म प्रमुख भएँ भने अझ दह्रो साथ उठाएर पूरा गराउन लागिपर्छु। सबै विश्वविद्यालय सभामा स्थानीय प्रतिनिधि हुन्छ तर त्रिभुवन विश्वविद्यालयमा छैन। त्रिविलगायत हरेक क्षेत्रमा स्थानीयको प्रतिनिधित्व गराउने मेरो योजना छ।
त्यसबाहेक पर्यटकीय विकास, पदयात्राको सञ्जाल निर्माण, पर्यटन सूचना केन्द्र व्यवस्थित बनाउने, जातीय संग्रहालय बनाएर पर्यटक आकर्षित गर्ने योजना छ। सबै सामुदायिक विद्यालयमा व्यवसायिक शिक्षालाई समावेश गरेर स्वरोजगार बनाउने मेरो योजना छ। यसकारण कीर्तिपुर शैक्षिक, पर्यटकीय र सांस्कृतिक हब बनाउने मेरो सोच छ।
यी कुरा आफू पदमा भइयो भने गर्न सकिँदो रहेछ। म पहिल्यैदेखि सामाजिक क्षेत्रमा क्रियाशील छु। जनतामा समर्पित छु। मेयर निर्वाचित भएँ भनेर अझ राम्रो गर्छु भन्ने विश्वास छ।
२०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्नुभयो र संविधान सभा सदस्य जित्नुभयो। उहाँ प्रधानमन्त्री पनि हुनुभयो। दोस्रो संविधान सभामा भने उहाँ पराजित हुनुभयो। त्यसपछि यहाँको माओवादीको अवस्था खस्कँदै गयो भन्छन्। यस्तो अवस्थामा तपाईंको जितको आधार के हो?
२०६४ सालमा त लहरै आएको थियो। त्यसपछि माओवादी पार्टीमा जुन विभाजन देखियो, पार्टी टुक्राटुक्रा भएपछि त्यसै कमजोर हुने नै भयो। साथसाथै त्यतिबेला अध्यक्ष प्रचण्डले शिक्षण अस्पताल बनाउने भनेर बोल्नुभएको थियो। त्यो प्रतिबद्धता पनि पूरा भएन। त्यही शिक्षण अस्पतालका लागि हामीले आवाज उठाइरहेका छौं।
अहिले माओवादी केन्द्र १८ महिना सरकारमा रहँदा भ्रष्टाचारविरूद्ध, सुशासन कायम गर्न धेरै योगदान गरेको हामीले पाउँछौं। सुशासन कायम गर्ने माओवादी केन्द्र नै हो भन्ने छाप पनि परेको छ। संघीय सरकारमा हामीले जे भूमिका खेल्यौं, स्थानीय तहमा हामी त्यही लागू गर्छौं।
यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले) को सरकार पटक-पटक बन्यो। तर विकास–निर्माणका काम हुन सकेनन्। कीर्तिपुर लथालिंग हुनपुग्यो। कीर्तिपुर अव्यवस्थित बन्नपुग्यो। सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचारजस्ता क्रियाकलाप देखिए।
एमाले पनि हेर्यौं, कांग्रेस पनि हेर्यौं, अब माओवादीको पालो, उसले कसरी चलाउँछ भन्ने पनि जनतामा जिज्ञासा देखिन्छ।
यसकारण पनि माओवादी केन्द्र निर्वाचित हुन्छ भन्ने मेरो विश्वास छ।
हुन त यसभन्दा अगाडि पनि म उठेको थिएँ। त्यसबेला हाम्रो प्राविधिक गल्ती भयो। तीनवटा हामीले अरू पार्टीलाई छोडेका थियौं। तर उहाँहरूले हामीलाई सहयोग गर्नु भएन, धोका भयो। त्यसकारण हामी हार खान पुग्यौं। वास्तवमा त्यतिबेला माहोल बनिसकेको थियो। ४८ घन्टामा पैसा समेतको चलखेल भयो। ‘ल माओवादी जित्दैन, तीन–तीनवटा वडा त छाडेको छ’ भन्ने हल्ला चलाएकाले हारेका हौं।
कीर्तिपुरमा बृहत् खानेपानी योजना ल्याउने, कीर्तिपुर यातायात सञ्चालन गर्ने, क्याम्पसहरू सञ्चालन गर्ने लगायतका सामाजिक काममा अग्रसर छु। म निष्कलंक पनि छु।
हो, कतिपय मानिसले पार्टी चित्त बुझेन तर भोटचाहिँ तपाईंलाई दिन्छौं। मैले भन्ने गरेको छु– स्थानीय तह चुनावमा पार्टी मात्रै होइन, स्थानीय विकासको कुरा हो। सबैलाई सहमतिमा लैजान मेरो दृढ संकल्प छ। सबैलाई समेटेर, सबै वडामा समानुपातिक विकास लैजाने मेरो योजना छ।
यो भनेर सुनाएपछि ‘उहाँहरू ल यसपालि भोट दिने भएँ’ भन्नुहुन्छ।
यहाँले यतिका धेरै योजना सुनाउनुभयो तर समय छोटो छ। अढाइ वर्षमा यी काम पूरा गर्न सकिएला?
मेरो पहिलो काम भनेकै नगरपालिकालाई सिस्टम (प्रणाली) मा लैजाने हुन्छ। व्यवस्थित भइसकेपछि अघि भनेका कार्यक्रम विस्तारै लागू गर्दै जान्छौं।
यसका लागि जनताको विश्वास जित्नु अपरिहार्य छ। यसले त राम्रै गर्न लागेको छ भन्ने आभास भयो भने सबैले साथ दिन्छ। राम्रो काम अरूले गरे पनि साथ दिनुपर्छ। विरोधका लागि विरोध गर्ने होइन। अरूका राम्रा कुराको निरन्तरता दिनुपर्छ।
सर्वपक्षीय सहमतिमा विकास–निर्माणको काम अघि बढाउँछु भनेर जनतासामू बाचा गरेको छु।
साथसाथै म मेयरमा निर्वाचित भएँ भने मेयरले पाउने सुविधा, भत्ता लिन्न। कोषमा जम्मा गरेर सामाजिक काममा लगाउँछु। म सेवानिवृत्त प्राध्यापक हुँ, पेन्सनबाटै परिवार चलाउन पुग्छ।
यो पनिः
कीर्तिपुरलाई लाख मान्छे बस्नयोग्य सहर बनाउँछु: सुरेन्द्र मानन्धर (भिडिओ)
भिडिओ: