नेपाल जनप्रगतिशिल मञ्च भिक्टोरियाले भिक्टोरियाका लागि नेपालका पूर्वमहावाणिज्यदूत चन्द्र योञ्जनको विदाइ र नवनियुक्त वाणिज्यदूत निराजन गौंलीको स्वागत गरेको छ।
दसैं, तिहार र छठको अवसरमा नेपाल जन प्रगितिशिल मञ्च (एनपिपीएफ) भिक्टोरियाले गरेको शुभकामना आदनप्रदान कार्यक्रममा योञ्जनलाई बिदाइ र गौंलीको स्वागत गरिएको हो।
योञ्जन १६ वर्षसम्म भिक्टोरियाको महावाणिज्यदूत बनेका थिए भने गौंली असार ८ गते वाणिज्यदूत बनेका हुन्।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सांसद युवराज दुलाल,नेकपा माओवादी वागमती प्रदेशका प्रमुख सचेतक रहेका रत्न ढकाल विभिन्न पार्टीका भ्रातृ संगठनका प्रतिनिधिहरु सहभागी थिए।
त्यस्तै एनआरएनए अष्ट्रेलियाका र भिक्टोरियामा रहेका वर्तमान तथा पूर्व पदाधिकारी र भिक्टोरियामा रहेका समाजिक संस्थाका प्रतिनिधिहरु उपस्थित थिए।
कार्यक्रममा बोल्दै प्रदेश सांसद दुलालले विदेशी भुमिमा रहेका नेपालीहरु पार्टीगत आस्थाभन्दा माथी उठ्नुपर्ने बताए।
‘हामी जहाँ गएपनी नेपाली हो।हाम्रो माटो र संस्कृतिले राजनीतिक विचारका सबै पर्खालहरु भत्काइदिन्छ,’उनले भने, ‘सकारात्मक ऊर्जा लिएर अगाडि बढ्न सके देशको विकासले पनि गति लिन्छ। त्यसका लागि नेता र जनता सबै जिम्मेवार बन्न पर्छ।’
माओवादी केन्द्रका अर्का नेता रत्न ढकालले जनताको चाहना अनुसार काम गर्न नसक्दा निराशा छाएको भन्दै विगतमा असम्भव जस्तो लाग्ने राजनीतिक आन्दोलन सफल भएजस्तै अव विकास र समृद्धिमा पनि सफल हुनुपर्ने बताए।
नेपालका लागि भिक्टोरियाका वाणिज्यदूत निराजन गौंलीले भिक्टोरियाको समुदायलाई एकत्रित बनाइराख्न प्रयास गर्ने बताए।
पूर्व महावाणिज्यदूत चन्द्र योञ्जनले पार्टी भन्दा माथी कम्युनिटी हो भनेर काम गरेको बताए।