मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरबाट पक्राउ परेका ९ जनामाथि अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान गर्ने भएको छ।
मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईंलाई घरबाट नियन्त्रणमा लिएको थियो। उनलाई पक्राउ गर्न सिआइबीसँगै जिल्ला प्रहरी परिसर भक्तपुरको टोली पनि पुगेको थियो।
पक्राउ गर्न पुग्दा अवरोध पुर्याएको भन्दै २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसमध्ये १५ जनालाई प्रहरीले छाडेर १० जनामाथि सोधपुछ गरेको थियो।
अब एक जनालाई पनि जिम्मा लगाएर ९ जनामाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न लागेको परिसरका प्रवक्ता एवं डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
‘पछि एक जनालाई जिम्मा लगाएका थियौं। अब ९ जनामाथि अनुसन्धान अघि बढ्छ,’ उनले भने, ‘सरकारी वकिल कार्यालय भक्तपुर लैजाने तयारी छ।’
सरकारी वकिलमार्फत उनीहरूलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गर्ने तयारी रहेको डिएसपी न्यौपानेले बताए।
प्रसाईंलाई पनि बुधबार नै साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। उनीमाथि पनि विद्युतीय (इलेक्ट्रोनिक) ऐन, २०६३ को दफा ४७ अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रसाईंले मंसिर ७ गते काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेका थिए।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट 'प्रमाण' प्रसाईंले सार्वजनिक गरेका थिए।