नेपालीहरूका लागि आफ्नो घर परिवार छोडेर, देश बाहिर गएर रोजगारीको खोजीमा लाग्नु कुनै नौलो कुरा होइन।
प्राचीनकालमा पनि मानिसहरू सुन खोज्न र घरायसी आवश्यकताहरू पूर्ति गर्न तिब्बतको ल्हासातर्फ जान्थे। त्यस्तै बर्मा, पाकिस्तानको लाहोर र भारतका विभिन्न स्थानहरूमा पनि आफ्नो परिवारका लागि काम र आम्दानीको खोजीमा जाने क्रम चल्दै आएको थियो। गोर्खाहरूले प्रथम र द्वितीय विश्वयुद्धमा आफ्नो वीरता प्रदर्शन गरी आफूलाई निडर, वफादार र साहसीको रूपमा चिनाए।
युद्धपश्चात आफ्नो घर फर्किन नपाएका धेरै पिँढीका मानिसहरू अझै पनि थाइल्याण्ड, म्यानमार र मलेसियाका केही भागहरूमा बसोबास गरिरहेका छन्। फिजीमा पूरै एउटा गाउँ नेपाली मूलका मानिसहरूले भरिएको छ।
नेपाल बाहिर कामको खोजीमा जाने परम्परा १९९० को जनआन्दोलनपछिका वर्षहरूमा झन् तीव्र भयो। त्यसअघिका समयमा केही सीमित व्यक्तिहरू मात्र पासपोर्ट बनाउन र युरोप तथा अमेरिकाका केही स्थानमा जान सक्षम थिए।
अस्ट्रेलियामा पनि १९६० र ७० को दशकमा इन्द्रा बन, डा. नारायण प्रधान जस्ता विशेष अवसर र थप अध्ययनका लागि केही नेपाली आइपुगेका थिए। १९९६ मा माओवादी आन्दोलन सुरू भएपछिका वर्षहरूमा गाउँबाट सहर र सहरबाट विदेशतर्फ, विशेषगरी अस्ट्रेलिया लगायतका देशहरूमा मानिसहरूको बसाइसराइ बढ्दै गयो।
१९९० को दशकको मध्यसम्म अस्ट्रेलियाभर ५०० भन्दा कम नेपालीहरू रहेका थिए, तर १९९६ पछि यो संख्या विस्तारै बढ्दै गयो। २००५ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया स्थापना हुँदा अस्ट्रेलियामा नेपालीहरूको जनसंख्या हजारौंमा पुगिसकेको थियो तर आजको जस्तो व्यापक संख्यामा भने थिएन।
समुदायको वृद्धि भइरहेको थियो। प्रारम्भिक बसोबास गर्नेहरूको समूहले अस्ट्रेलियामा तीन दशकभन्दा बढी समय बिताइसकेको थियो। पहिलो पुस्ताका धेरैले संघर्ष र स्थायीत्वको चरण पार गरिसकेका थिए। यी प्रारम्भिक बसोबास गर्नेहरू, युवाहरू र जीवनका विभिन्न पाटोबाट आएका व्यक्तिहरूको भावना, ऊर्जा र समर्पणले एनआरएनए अस्ट्रेलियाको स्थापना भयो। तिनै बेला, इन्द्रा बन, दीपक खड्का लगायतका व्यक्तिहरूले हामी जस्ता अस्ट्रेलियाका पहिलो पुस्ताका नेपालीहरूलाई एकताबद्ध गर्न र प्रेरित गर्न ठूलो भूमिका खेले।
त्यतिबेलाका दिनहरूमा नेतृत्वमा जान मानिसहरूलाई मनाउनुपर्थ्यो। अधिकांश मानिसहरू एकअर्कालाई चिन्दथे, विशेष गरी तिनै व्यक्तिहरू जो समुदायमा सक्रिय थिए। एनआरएनए अस्ट्रेलिया त्यही एकता, आत्मीयता, नेपालको माया, नेपाली सम्पदा र जनताको भावनामा आधारित भएर स्थापित भयो। त्यो पूर्ण रूपमा हामीले के गर्न सक्छौं भनेर दिने भावनामा आधारित थियो। विश्वासको स्तर अत्यन्तै उच्च थियो। आत्मीयता र मित्रता अद्वितीय थियो। कुनै समस्या वा समुदायका सदस्यहरूलाई आपत परेको खण्डमा सबैले सहयोग गर्थे। त्यही भावना, ऊर्जा र गति थियो।
अक्टोबर २००५ मा, हामी ठूलो समूहका रूपमा अस्ट्रेलियाबाट दोस्रो एनआरएन ग्लोबल सम्मेलनको लागि काठमाडौं गएका थियौं।
सम्मेलनको तेस्रो र अन्तिम दिनमा, हाम्रो अस्ट्रेलियाली समूहको प्रतिनिधित्व गर्दै मञ्चमा जान डा. जुगल भुर्तेलले मेरो नाम लिएर बोलाए। त्यति नै बेला मञ्चमा उभिएर बोल्नुपर्ने कुरा थियो, तयारी थिएन, पहिले सूचना पनि थिएन। त्यहाँ म अस्ट्रेलियाली समूहको तर्फबाट एनसीसीको प्रगति र भविष्यको योजनाको बारेमा बोल्न पुगेँ। तत्काल मौखिक प्रस्तुति थियो। मञ्चमा जाँदा अस्ट्रेलियाली समूहको प्रतिनिधित्व गर्दै बोलेपछि लाग्यो कि हामीले धेरै काम गरिसकेका छौं, केही नयाँ पहल गर्नुपर्छ। त्यहीँबाट हाम्रो मस्तिष्कमा एउटा विचार आयो। त्यो विचार तत्काल बाहिर आयो, अस्ट्रेलियाको सिड्नीमा डार्लिङ हार्बर भन्ने एउटा महत्वपूर्ण स्थल छ, त्यहाँ हामी हाम्रो संस्कृति, सम्पदा, खाना, पहिरन, जीवनशैली, पर्यटन सम्भावनाहरूको प्रचार गर्न फेस्टिबल आयोजना गर्नेछौं। यसले नेपालीहरूलाई एकअर्कासँग भेटघाट गर्ने, आफ्नो अनुभव, खुसी, संघर्ष र सफलतालाई मनाउने अवसर प्रदान गर्नेछ। गैर-नेपाली दर्शकहरूलाई नेपालको परिचय गराउनेछ। त्यो कुरा सबैलाई मन पर्यो, हलमा ताली बज्यो र हामीले गर्ने प्रतिबद्धता गर्यौं।
अस्ट्रेलिया फर्केर आएपछि हामीले धेरै बैठकहरू गर्यौं। सिड्नी हार्बर फोर्सोर अथोरिटीलाई स्थान प्रदान गर्न सम्झाउनुका लागि आठ महिना लाग्यो। हामीसँग कुनै पूर्व इतिहास थिएन। उनीहरूले नेपालबारे थाहा पाएका केही कुरा भनेको, राजसंहार, माओवादी क्रान्ति र नियमित हिंसाका समाचार मात्र थिए। उनीहरूलाई सार्वजनिक बीमाको आवश्यकता थियो, जुन त्यो समयमा असम्भवजस्तै थियो।
तर, विस्तारै सबै कुरा मिल्दै गयो। हामीसँग ठूलो बजेटको चुनौती थियो। समुदायको अवस्था सुरूआती थियो, नेपाली व्यवसायहरू मुश्किलले नै थिए। तर हाम्रो दृढता, एकता र सफल नेपाल फेस्टिबलको भविष्य दृष्टिकोण अत्यन्तै बलियो थियो।
२९ अप्रिल २००६ मा, फेस्टिवलको दिन बिहानै मैदानमा प्रवेश गर्दा हाम्रो बजेटमा $१३,००० को कमी थियो। बिहान अलिकति पानी परेको थियो। हाम्रो मुटु जोडले धड्किन थाल्यो। यदि पानी परिरहेमा हामीले स्टलवालाहरूसँग भाडा कसरी माग्ने हामी चिन्तित थियौं। तर जति दिन बित्दै गयो, सबै कुरा योजनाभन्दा उत्कृष्ट तरिकाले मिल्यो। बेलुका साँस्कृतिक कार्यक्रम अगाडि बढ्दा हामीले सहयोगका लागि चन्दा संकलन गर्ने निर्णय गर्यौं। यसले सकारात्मक प्रभाव दियो, मानिसहरूले आफ्ना गोजीबाट आर्थिक सहयोग गर्न थाले। यसरी हामी छिट्टै $१७,००० को बचतमा पुग्यौं।
त्यहाँ अपार भिड थियो। पहिलो पटक नेपाली खाना, संस्कृति, नदेखेका मानिसहरूलाई देख्न र भेट्न पाउनुका लागि नेपाली समुदायलाई ठूलो अवसर मिल्यो। यति धेरै कुरा एउटा प्रमुख स्थलमा अनुभव गर्न पाए, जुन उनीहरूले निकै मन पराए। हाम्रो आगन्तुक पुस्तिकामा अस्ट्रेलियन समुदायहरूबाट ७२ वटा प्रतिक्रिया प्राप्त भए। त्यसमध्ये एक जनाले, जो त्यतिबेलाका प्रिमियर बोब कारका प्रतिनिधि थिए, भनेका थिए कि उनले डार्लिङ हार्बरमा एउटै दिनमा यति ठूलो र उत्साहजनक भिड कहिल्यै देखेका थिएनन्।
यही हो त्यो सुरूआत, यही हो त्यो उपलब्धि, र यो सबै सम्भव भएको थियो एकता, उद्देश्यको भावना, आपसमा अपनत्व र सबैभन्दा महत्त्वपूर्ण विश्वासका कारण। एकअर्काप्रति र आफ्नो टिमप्रति भएको विश्वासले यो सम्भव भएको थियो। आज, नेपाल महोत्सव एउटा राष्ट्रिय कार्यक्रम हो। यो अस्ट्रेलियाका सबै राजधानी सहरहरूमा आयोजना गरिन्छ। एनआरएनए अस्ट्रेलिया र त्यसपछिका नेतृत्वहरूले यो कार्यक्रमलाई प्रत्येक वर्ष, प्रत्येक कार्यकालमा नयाँ उचाइमा पुर्याएका छन्। यो संसारभरि पनि आयोजना गरिन्छ, जहाँजहाँ एनआरएनए छ, त्यहाँ नेपाल महोत्सव हुन्छ। यसको गुणस्तर, उद्देश्य र भावनालाई राम्रोसँग सेवा गरिएको छ। यो सबैले आ-आफ्नो मातृभूमि, आफ्नो सम्पदा र आफ्नो मौलिकताको सम्मानमा गरेको योगदान हो।
महोत्सवको मजा लिनुहोस्। हामी सबैले यस फेस्टिबलको मर्मलाई मनाउँछौं, जय नेपाल फेस्टिबल, जय एनआरएनए।