‘नेपिन्डो फ्यूजन ग्रुप’को आयोजनामा सम्पन्न सप्तरी कार्यक्रम सिड्नीमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।
शनिबार राति अबेरसम्म चलेको कार्यक्रममा नेपालबाट आएका सात परीहरू बर्षा राउत, स्वस्तीमा खड्का, बेनिसा हमाल, उत्प्रेरक श्रृष्टी केसी, गायिका रेजिना रिमाल, नायीका एलिसा राई र पूर्व मिस नेपाल निकिता चान्डकले सीड्नीको मुटु टाउनहलमा हजारौं दर्शकमाझ उत्कृष्ट कलाकारिता प्रस्तुत गरे।
सिड्नीमा हरेक टोल शहर र बस्तीमा टाउन हल छन्। तर अरू हजारौंले जस्तै प्रत्येक दिन नेपालीहरूको पनि मिलन र बिश्रामस्थल बन्दै आएको शहरको आकर्षकको केन्द्रमा रहेको यस हलमा नेपाली समुदायले अझसम्म गरेको यो तेस्रो कार्यक्रम हो। निकै महंगो र आकर्षक मानिने यस सभागृह उन्नाइसौं शताब्दिको अन्ततिर बनेको प्राचिन स्मारक पनि हो।
स्थानीय परीहरूको क्याटवाकवाट प्रारम्भ भएको कार्यक्रममा स्वस्तीमा खड्काको कुटुमा कुटु... अनि बर्षा राउतको ए दाजु नसमाउ नाडिमा... र एलिसा राईको ठमेल बजार...ले दर्शक लाई जुरुक्कै उचालेको थियो।
बेनिसा हमालको नृत्य र पूर्व मिस नेपाल निकिता चान्डकको क्याटवाकसँगै उत्प्रेरक दृष्टी गुमाएकी श्रृष्टी केसीको बेजोड प्रस्तुतीले टाउनहलको रौनक बदलिएको थियो ।
‘हामी सबैका पछाडि संघर्षका आ-आफ्नै कथा छन्। तर, हामी यहाँको नेपाली समाजलाई सिकाउन होइन केही सिक्न आएका हौ र धेरै कुरा सिकेर फर्कदैछौ,’ मिस नेपाल चान्डकले भनिन्।
यस्तै नायीका बर्षा राउतले अस्ट्रेलिया आएर आफूले जानेको कला प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको बताइन्। राउतले प्रवासमा रहनुभएका नेपालीले नेपाली चलचित्रहरुलाई यतिधेरै माया गरेका कारण पनि नेपाली सिने उद्योगले अगाडि बढ्ने मौका पाएको बताइन्।
कार्यक्रमकी बास्तविक परी भने श्रृष्टी केसी ठहरिन्। निकै आत्मविश्वासका साथ स्टेजमा उत्रिएकी श्रृष्टीले भनिन्, ‘सात समुन्द्रपार आएर मैले दुनियाँलाई देख्न सकिनँ त के भयो, एक दिन म यस्तो राम्रो काम गर्छु की संसारले मलाई देख्नेछ।’
निकै उत्प्रेरक भनाइका साथै स्टेजमा वाह वाही लुटेकी श्रृष्टीले आफू भित्रको बिश्वासले जित्न सकेको बताउँदै भनिन्, ‘मैले दृष्टी गुमाए त के भयो श्रृष्टीले संसार जितेर पृष्टी गरीसकेकी छे ऊ कमजोर छैन भनेर।’
उनको करिब २० मिनेटको उत्प्रेरक भनाइका दौरान टाउनहल स्तब्ध बनेको थियो। केही दर्शकहरु आँशु पुछ्दै देखिन्थे। उनले एउटा गीतमा नाचीन पनि। त्यसपछि श्रृष्टीको सम्मानमा सारा हल उठेर ताली पिट्न थाल्यो।
कार्यक्रमकी अर्को आकर्षक बनेकी थिइन् गायीका रेजिना रिमाल। मिठो स्वरकी धनी रेजिनाले पानीको फोका जस्तो फुट्यो हाम्रो माया..., नाइ नभन्नु ल... जस्ता कर्णप्रीय गीत गाएर दर्शकको वाहवाही लुटुकी थिइन्।
ढाकालाई आधुनिक पहिरनमा डिजाइन गरी श्रृंगारको रुपमा प्रस्तुत गर्ने र नेपाली ढाकाका डिजाइनर मुक्ता श्रेष्ठको आकर्षक पहिरन पनि स्थानीय मोडलहरुले प्रस्तुत गरेका थिए।
‘नेपाली कला र श्रृंगारको संयोजन ‘सप्तपरी’ नाम राखिएको कार्यक्रमको मुख्य दृष्टिकोण समाजमा भएको उत्पीडन र असमानतालाई पराजित गरेका सफलताका जिबन्त कथा प्रस्तुत गर्नुका साथै मनोरन्जन, उत्प्रेरणा प्रदान गर्नु थियो, त्यसमा हामी सफल भयौं,’ आयोजक नेपीन्डो समूहकी उषा बारिया पोखरेलले भनिन्।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले प्रवासमा आयोजना हुने यस्ता उत्प्रेरक कार्यक्रमहरु हाम्रो समाजको लागि आवश्यक खुराक भएको बताइन्।
उनले महिला सशक्तीकरणका साथ साथै मनोरन्जन र नेपाली कलाको संगममा सप्तपरी आयोजकले एउटा महत्वपूर्ण इट्टा थप्ने काम गरेको बताइन्। कार्यक्रममा एनआरएन ओसेनिया संयोजक धर्म अधिकारी, न्यु साउनवेल्सका महाबाणिज्यदूत दिपक खड्का, अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष दिनेश पोखरेल, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, नेपाली समाजकी अगुवा इन्द्रा वन लगायतको उपस्थिति थियो।