चिकित्सा क्षेत्रको सुधारको माग राखेर विगत १६ दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न सरकारलाई दबाब दिन डाक्टर केसीका समर्थकहरूले आइतबार अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन गरेका छन्।
स्थानीय नागरिक समाजको तर्फबाट गरिएको दबाब कार्यक्रम बिहान स्थानीय एसफिल्ड पार्कमा सम्पन्न भएको आयोजक तथा एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताए ।
सिड्नीमा डिला खरेल र डाक्टर घनश्याम चापागाईंलगायत अभियन्ताको पहलमा डाक्टर केसीको समर्थनमा आइतबार कार्यक्रमको आयोजना गरिएको हो ।
‘डाक्टर केसी कुनै व्यक्ति वा संस्थाविरुद्ध अनसन बसेका होइनन्, चिकित्साजस्तो संवेदनशील विषयमा नागरिकको अधिकारको लडाईंमा हामी विदेशमा बस्ने नेपालीले पनि साथ दिनु जरुरी ठानेर कार्यक्रमको आयोजना गरेका हौं’ ,प्रवक्ता खरेलले बताए ।
चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बिनासंशोधन विधेयकका रूपमा ल्याउन माग गर्दै डाक्टर केसी १५ औं पटक फेरि अनसन बसेका छन्।
नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १६ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ।
केसीले चिकित्सा शिक्षा अध्यादेशकै हुबहु विधेयक ल्याउनुपर्ने मुख्य माग राखेका छन्। सरकारले भने त्यसको मुख्य बुँदा नै हटाएर संशोधित विधेयक ल्याउन खोजेपछि केसी जुम्लामै अनसन बसेका हुन् ।
जनताका डाक्टर तथा मानवताका पुजारी डा.गोविन्द केसीको प्राण रक्षाका लागि संयुक्त राष्ट्र संघ तथा राष्ट्र संघीय मानवअधिकार आयोगमा समेत अपिल भैरहेको बेला अन्तर्राष्ट्रियस्तरमा समेत उनको समर्थनमा कार्यक्रमहरू सुरु भएका छन्।
‘सिंगो मुलुकबासीको हितका लागि पटक/पटक राज्यसँग लड्दै आएका डा.केसीको जीवन रक्षाका लागि र उनका जायज माग पूरा गर्न सरकार तयार नभएपछि स्थिति जटिल बन्दै गएको छ,’ आयोजक डाक्टर घनश्याम चापागाईंले भने।
हामी विदेशमा बस्ने नेपाली मुलका चिकित्सक र अभियन्ताहरूले पनि उनको समर्थन र जीवन रक्षाको लागि आवाज उठाउनु पर्ने आवश्यकता आइपरेकाले अन्तर्राष्ट्रिय दबाब सृजना गर्न कार्यक्रम गरिएको डाक्टर चापागाईंले सुनाए ।
राज्य बहिरो बन्न थालेपछि अन्तर्राष्ट्रिय दबाब सृजना गर्न संसारभरबाट नेपालीहरूले केसीको समर्थनमा आवाज बुलन्द पार्ने क्रम जारी भएको सहभागी नयाँका अध्यक्ष प्रकाश खरेलले बताए।
सरकारले उचित माग सम्बोधन नगर्ने र कुनै व्यक्तिको अनसनकै भरमा आफ्नो निर्णयमा पछि नहट्ने अभिव्यक्ति दिएपछि जुम्लाको चिसोमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेको विवरण आउन थालेका छन्।
कार्यक्रममा एनआरएन एनएसडब्लुका संयोजक नन्द गुरुङ,उपसंयोजक अर्जुन केसी , अन्तर्राष्ट्र्रिय नेपाली समाज अस्ट्रेलियाका अध्यक्ष सुवन चौलागाईं लगायतले डा. केसीको माग जायज भएकोले राज्यले तुरुन्त पहल गर्नुपर्ने बताए ।