अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक चलाउन थालेका छन्।
अमेरिकी सरकारले टिकटकलाई प्रतिबन्ध लगाउने तयारी गरिरहँदा शनिबार पूर्वराष्ट्रपति ट्रम्पले टिकटकमा अकाउन्ट बनाएका हुन्।
शनिबार न्यू जर्सीस्थित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) को म्याच हेर्न पुग्दा ट्रम्पले अकाउन्ट बनाएका हुन्।
युएफसीका सिइओ डेना ह्वाइटले भनेका छन्, ‘राष्ट्रपति अब टिकटकमा।’ समर्थकहरूलाई हात हल्लाएर अभिवादन गरिरहेको, फोटो खिचाइरहेको भिडिओमा देखिन्छ। उक्त भिडिओ @realDonaldTrump नामको अकाउन्टबाट राखिएको छ।
नोभेम्बरमा हुने चुनावलाई मध्यनजर गर्दै युवा मतदातालाई लक्षित गरी ट्रम्पले टिकटक चलाउन थालेको समाचार संस्था पोलिटिकोले जनाएको छ।
यसो त अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि गत फेब्रुअरीमा टिकटक चलाउन थालेका थिए। उनले पनि राष्ट्रपतीय चुनावलाई मध्यनजर गर्दै उक्त अकाउन्ट खोलेका थिए।
अघिल्लो साता मात्रै ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि टिकटक अकाउन्ट खोलेका थिए।
गत अप्रिलमा राष्ट्रपति बाइडेनले एउटा कानुनमा हस्ताक्षर गरेका थिए। टिकटक कम्पनी बाइटडान्स एक वर्षभित्र अमेरिकालाई बेच्नुपर्ने वा अमेरिकी एप स्टोरहरूमा प्रतिबन्ध गर्ने कानुन ल्याइएको थियो।
बाइडेनको यो कानुनविरूद्ध बाइटडान्सले अदालतमा मुद्दा समेत दायर गरेको छ।
टिकटकविरूद्ध लड्ने राष्ट्रपति बाइडेनमात्रै भने होइनन्। ट्रम्प राष्ट्रपति हुँदा उनले पनि टिकटकलाई प्रतिबन्ध लगाउन खोजेका थिए। राष्ट्रिय सुरक्षाको कारण देखाएर उनले उक्त निर्णय गर्न लागेका थिए।
तर अहिले ट्रम्प आफैले टिकटक खाता खोलेका हुन्। टिकटक अझै पनि राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भए पनि यसलाई प्रतिबन्ध लगाउँदा युवा पुस्ता असन्तुष्ट बन्ने र यसले फेसबुक कम्पनी मेटालाई थप फाइदा हुने उनको धारणा छ। सन् २०२१ मा क्यापिटलमा भएको दंगापछि फेसबुकले ट्रम्पलाई प्रतिबन्ध लगाएको छ।