बिहान तीन बजे हामी चार जना गोङ्गा भन्ज्याङको लाक्पा दाइको एक मात्र होमस्टेमा बाहिरको झमझम बर्सात नियालिरहेका थियौँ। मनमा सिंगला पासको रोमाञ्चक ट्रेकको उत्साह थियो, रुबी भ्यालीको साहसिक यात्रा सुरु गर्ने योजना बोकेर चार बजे निस्कने तयारीमा थियौँ।
यो होमस्टेबाट माथि सिंगला पाससम्म कुनै बास बस्ने वा खाने ठाउँ थिएन, त्यसैले लाक्पा दाइले रोटी, आलु तरकारी र अण्डा प्याक गरिदिएका थिए। तर बाहिरको ठुलो पानी, हुरी बतास र कालो बादलले ढाकिएको आकाशले मनमा हल्का डर र तनाव थप्यो। बिजुली चम्कँदा मुटु काँप्थ्यो।
निहाल्दा निहाल्दै बिहान आठ बज्यो, समय बितेको पत्तै भएन। पानी रोकिन्छ कि भन्ने आशा थियो तर हुरीले झन् जोड लियो। केही सिप नलागेर हामी भान्सामा जम्मा भयौँ, प्याक गरेको ब्रेकफास्ट कालो चियासँग खायौँ र मनमा सिंगला पासको हिमशृङ्खला। सिंगला मानेको कल्पनाले उत्साह जागे पनि मौसमले साथ दिएन। अब के गर्ने भन्नेमा सानो नोकझोक भयो।
हाम्रा चिनियाँ साथी जिन्जर अनिरुद्धलाई कचकच गर्दै थिए, ‘आजै तल झरौँ, यो मौसममा माथि जानु खतरनाक छ!’ अनिरुद्ध र उनको भान्जा भने गोङ्गा भन्ज्याङमै बस्ने अडानमा थिए।
मोबाइलको नेटवर्क कतै कतै मात्र लाग्थ्यो। घरमा फोन गर्दा नेपाल सरकारले बर्सात र सम्भावित पहिरोको जोखिमले यात्रा नगर्न सूचना जारी गरेको खबरले मन झन् चिसो भयो। बाहिर पानी रोकिने कुनै संकेत थिएन र हुरीले रुखहरू लडाउने धम्की दिइरहेको थियो। सिंगला पासको शान्त र मनमोहक दृश्य देख्ने सपना निराशामा बदलिँदै थियो। धेरै बहसपछि मन अमिलो बनाउँदै हामी सबै तल भाल्चे फर्कनेमा एकमत भयौँ।
साढे नौ बजे रेनकोट र छाता ओढेर हामी भाल्चेतिर लम्कियौँ। हिजो आएको जंगलको ट्रेकिङ रुट चिप्लो र खतरनाक थियो, त्यसैले गोरेटो बाटो रोज्यौँ। बाटोमा हिलो र ढुंगाहरूले हिँड्न मुस्किल बनायो। लड्दै, जोगिँदै, तिहारको देउसीमा भनेजस्तै हाम्रा पाइला अगाडि बढे। बाटोमा एउटा सानो झरना भेटियो, जहाँ पानीको सुमधुर आवाज र चिसो छिटाले एकछिन विश्रामको अनुभूति दियो तर बाढीको सम्झनाले मन काँप्यो।
कति चोटि लडियो, कति जुकाले टोक्यो, हिसाबै थिएन। सिंगला पास पुग्न नसकेको निराशा र मौसमको डरले तनाव थियो तर बाटोको साहसिकताले हल्का रमाइलो पनि थप्यो। हुरीले छाता उडायो, मेरो पुन हिलमा किनेको काउबोई ह्याट उडायो, चिन्ता त भयो तर हाँसो र रमाइलोले मन हल्का भयो।
हिँड्दै जाँदा एउटा गोठमा अडियौँ, जहाँ मनको तनाव बिर्सेर एकछिन रमायौँ। अघिल्लो दिन न मासु खाएका थियौँ, न झोइखुट्टे तर यहाँ दुवै पाउँदा मनमा अपार खुसी र आनन्द छायो। झोइखुट्टे खाँदै रेशम फिरिरि रेशम फिरिरि गाउँदै, नाच्दै, हाँस्दै झन्डै एक घण्टा गोठमा रमायौँ, मानौँ सारा तनाव र निराशा त्यही क्षणमा हरायो।
‘रेशम फिरिरि रेशम फिरिरि’ नेपालको जुनसुकै गाउँमा गए पनि यो गीत गायो भने सबैले सँगै गाउँछन् र नाच्छन् पनि।
गोठ साहु गोन्सी माक्या तामाङको झोइखुट्टे स्वाद र आतिथ्य सत्कारबाट प्रभावित भएर मैले मेरो पुन हिल वाला काउबोई ह्याट उनलाई लगाइदिएँ र पाँच सय रुपियाँ टिप्स दिएँ।
गोठबाट निस्कँदा मोबाइलमा परिवार र साथीभाइहरूको मिस्डकल र म्यासेजको नोटिफिकेशन भाइब्रेट भयो। नेटवर्क समातेको थियो। काठमाडौँ छिर्ने सबै नाका बन्द भएको, बाढी र पहिरोले धेरैको ज्यान गइसकेको खबरले मनमा त्रास र तनावको कालो बादल छायो।
‘यो बेलामा किन जानु पर्यो?’ भन्दै गाली गर्नेहरू धेरै थिए। एकछिन अघिको रमझम डर र चिन्तामा बदलियो। आधा घण्टा हिँडेर भाल्चे पुग्यौँ, जहाँ साहसिक यात्राको सम्झना र अधुरो सपनाको तनाव सँगसँगै बोकेर बस्यौँ।
जिन्जर काठमाडौँ फर्कने अडानमा थिइन्। हामी स्थानीय पठाओसँग बार्गेनिङ गर्दै थियौँ। भाल्चेबाट त्रिशूली ३,००० र त्रिशूलीबाट काठमाडौँ ७,०००। जिन्जरले १०,००० तिरेर गइन् र बेलुका ८ बजे पुगेको म्यासेज पठाइन्। हामी तीन जना ‘थ्रि इडियट्स’ फिल्मका आमिर खान र उनका साथीहरूजस्तै एउटै कोठामा मासु र भात खाएर गफमा रमायौँ।
अचानक बाहिर बसको आवाज आयो, हाम्रो मुहारमा खुसीको चमक देखियो। ‘लु, भोलि यो बसमा काठमाडौँ जान्छौँ,’ सोचेर मिठो निद्रामा हरायौँ। दुई जना खाटमा सुत्यो, मलाई चाहिँ भुइँमा ओछ्यान बनाइदियो।
रातभर पानी परिरह्यो, मानौँ इन्द्रदेव दसैँ मनाउन नपाएर दुखी थिए। तर बिहान घाम लाग्यो, सितको थोपा र नीलो आकाशले मन रंगियो। अनिरुद्ध बसको समय सोध्न गए तर पुलिसले ‘दुई दिन यो बस यहीँ बस्छ, काठमाडौँका नाका बन्द छन्’ भने। यो खबरले हाम्रो मुहार हावा फुस्केको बलजस्तै भयो।
अब के गर्ने? कसलाई भन्ने? कसरी जाने?
‘पठाओ धेरै महँगो छ! जाऊँ, हिँडेरै त्रिशूली बजार! त्यहाँ केही न केही जोगाड त गर्न सकिन्छ। यो सानो गाउँमा बस्यौ भने जीवनका दुई दिन यहीँ अड्किन्छ,’ एकले भन्यो।
अनि अर्कोले थप्यो, ‘यदि त्रिशूलीमा पनि जोगाड भएन भने, त्यसो भए त्रिशूलीबाटै हिँडेर काठमाडौँ फर्कौँला! ६० किलोमिटर त हो!’
नेपथ्य ब्यान्डका अमृत गुरुङले बेलाबेलामा पोखराबाट काठमाडौँ पैदलै यात्रा गरेको कुराले हामीलाई प्रेरणा दियो। उत्साह र जोसले भरिएर हामीले पनि नयाँ रेकर्ड बनाउने निधो गर्यौँ, अनजान बाटोको रोमाञ्चकता पछ्याउँदै।
केही तर्क-वितर्क र रमाइलो छलफलपछि तातो चिया र बिस्कुट खाँदै हामी पोखराबाट त्रिशूली बजारतिर लाग्यौँ। गाउँलेहरूको खेतबारी र साँघुरो गोरेटो हुँदै छोटो बाटो रोजेका हामीले चार घण्टा लगातार हिँडेर त्रिशूली पुग्यौँ। पहिलो दिनको यात्रा ९ किलोमिटरको ठाडो उकालो थियो, घामको ताप र थकानले हाम्रो दृढताको परीक्षा लिँदै। त्यसपछिका दुई दिन ओरालोमै बित्यो, चिसो हावाले हाम्रा थाकेका खुट्टालाई राहत दिँदै, हरियाली पहाडहरू तथा झरनाको मनमोहक दृश्यले मन लोभ्याउँदै।
त्रिशूली पुग्दा ढुंगा खोज्दा देउता भेटिएजस्तै भयो। भाग्यवश, काठमाडौँतिर जाने बस तयार थियो! हामी हतार-हतार बसमा चढ्यौँ, रुबी भ्यालीको सपना बोकेर, सिंगला पासको अधुरो यात्रा पूरा गर्ने बाचा गर्दै। तीन घण्टामै काठमाडौँ पुग्यौँ, जहाँ सहरको परिचित कोलाहलले हामीलाई स्वागत गर्यो। तर यो यात्राले मनमा गहिरो भावनाहरू उब्जायो।
यो साहसिक यात्रा केवल बाटो र गन्तव्यको मात्र थिएन। नेपालको आकाशले आफ्नो रिस पोखिरहेको थियो— भारी वर्षा, विनाशकारी बाढी र पहिरोले देशलाई आक्रान्त बनाएको थियो। म एक रोटेरियन, भक्तपुरका चार जना युवा रोटर्याक्टरहरू लाङटाङ ट्रेकिङमा जाँदा खोलाले बगाएको खबरले मन दुख्यो। पीडाले छाती भारी बनायो। उनीहरूको टोलीमा १६ जना थिए र यो घटना अक्टोबर ३ मा भएको थियो जब भारी वर्षाले खोलामा उफान आएको थियो। म त्यो दिन गोङ्गा भन्ज्याङमा थिएँ।
समाचारले मन भारी बनायो; घरहरू बगाए, सडकहरू पुरिए र मानिसहरूको जीवन तहसनहस भयो। बाढी र पहिरोको डरले मन काँप्यो, ती हराएकाहरूको पीडा र उनीहरूको बिछोडले मन थाम्नै गाह्रो। प्रकृतिको यो क्रूर शक्तिले हामीलाई नतमस्तक बनायो, हाम्रो कमजोरीको स्मरण गराउँदै।
साहसिक यात्राको उत्साहमा पनि मनमा एउटा शान्त पीडा उब्जियो— घरको सम्झना। आँखा चिम्लेर म घरको बारेमा सोच्छु, परिवारको हाँसो, उनीहरूको न्यानो साथ र साथीभाइहरूको कुराकानी सम्झिन्छु। बसको प्रत्येक झट्काले घर पुग्ने चाहना तीव्र बनायो, प्रत्येक गाउँ पार गर्दा परिचित ठाउँको नजिक पुग्ने आशाले मन रंगियो। तर बाढी र पहिरोको खबरले मनमा डर र चिन्ता थपियो। कति मानिसहरू घर फर्कने सपना बोकेर पनि अनिश्चिततामा छन्, उनीहरूको घर अझै ठाडो छ कि छैन?
यो यात्रा फरक थियो। पहिले कहिल्यै यस्तो महसुस भएको थिएन। म आफैँप्रति अपरिचित भएको छु। म यात्री हुँ, यात्राको प्रेमी, तर अब शंका लाग्छ, के यो साँच्चै म हुँ, कि कोही अरू? साहसिकताले भरिएको यो यात्रा, विश्रामको क्षणहरू, डर, र घरको सम्झनाले मलाई नयाँ तरिकाले बुझायो।










