गौरीशंकर हिमाल—दोलखाको गौरव, सौन्दर्य र आध्यात्मिक भावनाको स्रोत।
यही हिमालको काखमा अडिएको छ दोलखाको उत्तरी गाउँपालिका गौरीशंकर, जहाँ ९ स्थानीय तहमध्ये सबभन्दा बढी पर्यटकीय सम्भावना र जलविद्युत परियोजनाको चहलपहल भेटिन्छ। अनेकौं स्वर्गजस्ता गन्तव्यमध्ये सोतलीडाँडा एक हो—म मेरो मनमा सात वर्षदेखि बोकेर हिँडिरहेको सपनाजस्तै स्थान।
पहिलो पटक त्यहाँ पुगेको दृश्य आज पनि आँखामा ताजा छ। जहाँ २०७६ सालमा पहिलो पटक पुगेको थिएँ। मन तान्ने त्यो पहाड, त्यो दृश्य, त्यो शून्यता–भरिएको शान्ति। त्यही सम्झना लिएर धेरै वर्ष योजनाहरू बुनें, तर यात्रा कहिल्यै पूरा हुन पाएन। अन्ततः यस पटक सोतली जाने सपना पूरा भयो।
गौरीशंकर गाउँपालिका–८ खारेमा पर्ने सोतलीडाँडा पर्यटकका लागि अद्भुत आकर्षण हो। चरिकोटबाट पहिलो दिन खारेसम्म आरामसँग गाडीमा पुग्न सकिन्छ। हिँडाइ मन पराउनेले चाहिँ सोतलीसम्म एकैदिनमा पनि पुग्न सक्छन्। ३३ सय मिटरको उचाइमा बसेको यो डाँडामा बनेको आधुनिक कटेजमा झण्डै २० जनाले बस्न सकिन्छ। यदि यहाँ बास बस्न पाइयो भने—सूर्यास्तको सुनौलो रंगमा बदलिँदै जाने हिमाल नियाल्नु नै यात्राको सबैभन्दा ठूलो दान हो। चरिकोटबाट बोलेरो गाडीमा भीमेश्वर नगरपालिका–७ का वडाअध्यक्ष विनोद तामाङ, पत्रकार निता राउत, रिसन राउत, रसिन भुजेलसहित बिहान ८ बजे नै निस्क्यौँ। निता राउत फाउण्डेशनद्वारा विष्णुश्वरी प्राथमिक विद्यालय सुरीमा सुरेलसहित जना १७ बालबालिकालाई न्यानो कपडा वितरण सकेपछि खारे पुग्दा दिउँसो ३ बजिसकेको थियो। त्यसपछि, हल्का हतारमै उकालो समात्यौँ।
खारेदेखि सोतलीसम्मको ४–५ घण्टाको उकालो पट्यारलाग्दो होइन, उल्टै मनै तान्ने। हरियाली जङ्गल, छेउछाउ बग्ने खोलानाला, खुला आकाश, डाँडाकाँडाको छायाँ अनि टाढा टाढाबाट चम्किरहेका हिमाल। थकान, भोक, प्यास—सबैलाई दृश्यहरूले लुकाइदिन्छन्। बेलुकी ७ बजेर १५ मिनेटतिर मात्र कटेज पुग्यौँ। बास बस्ने तयारी गरिँदै गर्दा विनोद तामाङ र म दाउरा खोज्न, आगो फुक्न दौडिरह्यौँ। बाहिर जुनको उज्यालोमा टल्किरहेको हिमाल कटेजको घरैछेउमा आएर बसेजस्तै लाग्थ्यो। निता राउतले भित्र सरसफाइ गरिरहँदा हामीले टेण्टा लगाएर रात बिताउने आधार तयार गर्यौं। बाहिर निकै चिसो थियो, तर हिमाल नजिक हुँदा मनमा लाग्ने हिउँझैँ उज्यालो चाहनाले हामीलाई भित्र बस्नै दिँदैनथ्यो। सायद हिमालकै जादू हो—रातभर पनि अँध्यारोजस्तो लाग्दैन। बिहान छिट्टै उज्यालो भएर हिमाल नियाल्न पाइने उत्सुकताले निद्रा पनि हलुका बनायो।
बिहान ५ बजे नै आँखाले आफै खोलियो। न चिसोले डर लाग्यो, न उचाइले। हिमाल यति नजिक थियो कि मानौँ हात बढायो भने छोइदिउँला जस्तो। घाम भने बल्ल ७ बजेतिर लाग्यो। २ घण्टा चिसोले औंला जाम हुँदा पनि फोटो खिच्ने धूनले सबै पीडा हराए। सोतली डाँडाको चौर—टुडिखेलभन्दा ठूलो, फाँटैभरि हरियाली। वरिपरि हिमालको घेरा, आँखै अगाडि कालिञ्चोक, चरिकोट, चेर्दुङ, हनुमन्ते डाँडा, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम, विगु गुम्बा, गोंगरमा रहेको पावर हाउस, तलतिर तामाकोशी नदीको गहिरो खोँच। मन त्यहीँ कतै परिकथाजस्तो अड्किन्छ।
मात्र ३ घण्टाको अवधिमा मैले एक हजारभन्दा बढी फोटो खिचेछु—तर धीत भने मरेन।
साढे ८ बजेतिर हामी ओरालो लाग्यौँ। खारे पुगेर दुर्गा माइजूको घरमा कोदोको रोटी र आलुको तरकारी खाँदा यात्राको थकान सबै मेटियो। अनि चरिकोट फर्किँदै—मनमा भने सोतलीको उज्यालो, हिमालको न्यानोपन, र यात्राले दिएको अविस्मरणीय शान्ति साथमै बोकेर आएँ।


-1763729556.jpg)
-1763729556.jpg)
-1763729555.jpg)
-1763729555.jpg)
-1763729552.jpg)
-1763729553.jpg)
-1763729554.jpg)
-1763729551.jpg)
-1763729551.jpg)
-1763729550.jpg)
-1763729550.jpg)
-1763729549.jpg)
-1763729549.jpg)