घुम्ने मान्छेलाई जहिले पनि नयाँ ठाउँको तृष्णा हुन्छ। तर मेरो यात्रा भने सधैँ नयाँ खोज मात्रै होइन, पुर्ख्यौली पदचाप, ऐतिहासिक थलो र प्रकृतिको निस्सासिने सुगन्धसँग पुनर्मिलन पनि हो। एकपटक टेकेका पाइलाले दोहोर्याएर, तेहर्याएर त्यहीँ पुग्न खोज्छन्। खासगरी दोलखाका धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलहरूमा नपुगेको कुनै ठाउँजस्तो छैन। नाम चलेका, नचलेका, सबै ठाउँमा मेरो पाइला टेकेको छ।
दोलखाको धर्ती नै फरक छ—हरेक बसन्तमा हरियालीले ढाकिदिन्छ, वर्षायाममा त मनै हराएर बस्ने बनाउँछ। यही हरियालीले भरिएको ठाउँ हो, विगु गाउँपालिका–१, लामाबगरका विभिन्न स्थानहरू। यहाँका अनेकौँ स्थलमध्ये बाह्र सय पल्टन (थोबोडाँडा) अद्वितीय छ। यो स्थान प्रकृतिको सौन्दर्य मात्र होइन, इतिहासको जीवित दस्तावेज पनि हो। यिनै दस्तावेज र इतिहासलाई पछ्याउँदै गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका विकास कुमार थापा र पथप्रदर्शक मान बहादुर घिसिङले मलाई साथ दिनुभएको थियो। उहाँकै साथमा ५ दिनको यात्रा पूरा हुने अपेक्षा बोकेको थिए।
गत वर्ष म हिउँले श्वेत वस्त्र ओढेको थोबो डाँडा पुगेको थिएँ। यस वर्ष भने बादल र हुस्सुमा हराएको रूप देख्न पाइयो। यहाँबाट देखिने असंख्य पोखरीहरू मानौँ आकाशको टुक्रा जमिनमा खसेर बसेका हुन्। यिनै पोखरीहरूको मोहले यसपटक धेरै दिन अडिन मन लाग्यो। किनकि एक–दुई दिनले मात्र यहाँको सौन्दर्य अँगाल्न सकिँदैन; चार–पाँच दिन बिताउनुपर्ने हुन्छ। लामाबगरमा एक रात बसी, भोलिपल्ट चोइनाङ खर्क पुगिन्छ। वर्षायाममा चौरीगोठहरूले मानौँ संगीत सुनाउँछन्। चौरी नजिकै रहेको चोइनाङ पोखरीले आत्मालाई निर्मल बनाउँछ। त्यहाँ एक रात बितेपछि हिमाल–डाँडा, खोला–नाला, गोठ र खर्क पार गर्दै यात्रा अघि बढ्छ। देउराली, किप्च्याङडाँडा, किमाजोड खर्क उक्लँदा संसार जितेजस्तो गर्व महसुस हुन्छ। अनि यात्रालाई अझ रोमान्चक बनाउन १५ मिनेट जति अत्तालिने भीरको बाटो हिँड्नुपर्ने हुन्छ—त्यो अनुभव शब्दभन्दा पर छ।
वर्षायाममा बाटो फूलहरूले चित्ताकर्षक हुन्छ। ठोस्ने, सिन्दुरे मेन्दो फुलेका झ्यालराहरूले यात्रालाई रंगीन सपनामा बदलिदिन्छन्। टाढा टाढासम्म फैलिएका गाउँबस्ती नियाल्दा थकान, भोक, प्यास सबै विर्सिन्छ। करिब आधा दिनको कठिन यात्रापछि लुइकेप पोखरी भेटिन्छ—४५५५ मिटरको उचाइमा। धार्मिक र प्राकृतिक दृष्टिकोणले यो पोखरी विलक्षण छ। नजिकै एक सानो पोखरी पनि छ, जसको नाम कतै प्रस्ट उल्लेख छैन, तर सौन्दर्यमा ठूलो पोखरीभन्दा कम छैन। यात्रा फेरि चोइनाङ खर्कमै फर्केर रात बिताउँछ। भोलिपल्ट जोरपोखरी हुँदै अन्ततः बाह्र सय पल्टन—थोबोडाँडा—पुगिन्छ।
४३३२ मिटरको उचाइमा रहेको यो थलोमा ठडिएका र लडिएका ढुंगाहरू निःशब्द भए पनि सारा इतिहास बयान गरिरहेका हुन्छन्। १२१८ सालताका नेपाली सेना र तिब्बतीबीचको युद्ध यहीँ भएको मौखिक भनाइ प्रचलित छ। नेपाली सेनासँग हातहतियार कम थियो, तर बुद्धि प्रचुर । उनीहरूले १२०० वटा ढुंगा ठड्याएर, आफ्ना लुगा ढुंगामा लगाइदिए। टाढाबाट त्यो ढुंगा सेना जस्तै देखिन्थ्यो। तिब्बतीले गोली चलाए, तर ती ढुंगाहरू नढले, नहटे। अन्ततः उनीहरूको गोली सकिँदा नेपालीहरूले लखेटेर जितेका थिए भन्ने किम्वदन्ती आज पनि जीवन्त छ।
इतिहास, संस्कृति, धर्म र प्रकृतिको संगम यहीँ हो—थोबो डाँडा। अन्ततः चिलंखा हुँदै चरिकोट फर्किँदा, यात्रा केवल पूरा भएको हुँदैन, मन भने अझै पनि त्यहीँ हराइरहेको हुन्छ।
तस्बिरहरू:
-1758367410.jpg)
-1758367409.jpg)
-1758367409.jpg)
-1758367408.jpg)
-1758367408.jpg)
-1758367409.jpg)
-1758367406.jpg)
-1758367406.jpg)
-1758367407.jpg)
-1758367407.jpg)
-1758367405.jpg)
-1758367405.jpg)
-1758367405.jpg)
-1758367405.jpg)