गोरखाबाट सप्तमीको दिन फूलपाती काठमाडौँ ल्याएपछि दसैँ सुरु हुन्छ। मैले पनि जिल्ला-जिल्लामा साइकलको डोब छोड्ने अभियान गोरखाबाटै सुरु गर्ने विचार गरेँ, विसं २०७३ सालमा।
गोरखा जिल्ला धेरै दृष्टिकोणबाट प्रख्यात पनि छ। पृथ्वी नारायण शाहको राज्य, मनासलु हिमाल, लार्के-पास र चुम भ्याली पदयात्राको थलो। साथै २०७२ को भूकम्पको केन्द्र बिन्दु बारपाक यही जिल्लामा पर्दछ।
भूकम्पबाट अधिकतम क्षति भएको जिल्ला पनि हो गोरखा। भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत अक्सफामले यो जिल्लामा छ वर्ष काम गरेको थियो। केही अवधिसम्म म खानेपानी तथा सरसफाइ कार्यक्रमका प्रमुखको हैसियतमा कार्यरत थिएँ।
गोरखा जिल्लामा कार्यक्रमको अनुगमनका लागि पटक पटक विभिन्न गाउँहरूमा गएको छु। ती गाउँहरू जस्तै बारपाक, लाप्राक, केरौजा, छेकम्पार, फिलिम, चुम्चेत, सेम्जोङ, सौरपानी, ताकुकोट, बालुवा, फिनाम, बुन्गकोट केही पुगेको गाउँहरू हुन्। त्यस बाहेक बाटैमा पर्ने थुप्रै ठाउँहरू पुगेको छु जहाँको जनजीवन, भूगोल, नदीनाला, वन-जंगल, खेतीपाती, बाटोघाटो, स्कुले नानीहरू, बुढापाका नागरिकहरू खानेपानीको मूल, ट्यांकी तथा धारा, घर तथा स्कुलका शौचालय, मन्दिर तथा गुम्बा, पहिरोले बगाएको ढिस्को आदि झलझलती सम्झेको छु। मैले जिल्लाको नाम मात्र पनि सम्झँदा ती सबै भौतिक तथा अभौतिक अवयवहरू झलझलती आँखामा आउँछ। मैले आफैलाई ती ठाउँहरूमा पाएको अनुभव गर्छु।
त्यस कारण मैले कोही व्यक्तिसँग परिचय गर्दा गाउँ-ठाउँ सोध्ने सन्दर्भमा अलि गहिरिएरै सोध्ने बानी लागेको छ, कतै आफै उनको घरको आँगनमै त पुगेको छु कि भनेर लेखाजोखा गर्न! त्यसै क्रममा एउटा रमाइलो प्रसंग यहाँ राख्न चाहन्छु।
म बस्ने हाउजिङ परिसरमा बाटोको घाँस उखाल्ने तीन-चार जना केटीहरू काम गर्दै थिए। मैले तिनीहरूलाई घर कुन जिल्ला भन्दै सोधेँ। एउटाले खोटाङ भनिन्। मैले आफू खोटाङको खार्पा, ऐँसेलुखर्क, दिक्तेल, लामिडाँडा, बाक्शिला जस्ता ठाउँहरूमा गइसकेको भनेर के भन्न पाएको थिएँ, ती २५-३० वर्षको युवतीले झ्वाट्टै सोधिहालिन्, ‘तपाईं ड्राइभर हो?’
म त एकछिन ट्वाल्ल परेँ। किनभने यस्तो प्रतिउत्तर त मैले अहिलेसम्म कसैबाट पाएकै थिइनँ। अनि हत्तपत्त होइन भनेँ। मलाई त्यो संज्ञा धेरै समय आफूसँग राख्न मन लागेन। इन्जिनियर मात्र होइन ड्राइभर पनि गाडी चलाउने सिलसिलामा गाउँ-ठाउँ त पुगेको हुन्छ नै! तर मैले हिँडेर दुख गरेर ती ठाउँ गएको भन्नै मन लागेन।
माथि उल्लेखित प्रसंगमा अलिकति दुख गरेर यात्रा गर्दा सम्झना दिगो हुन्छ भन्ने पक्ष पनि राख्न खोजेको हुँ। यात्रा र दुख मिश्रण गर्ने सन्दर्भमा पुसको एक दिन गोरखा जाने योजना बन्यो। संयोगले त्यो दिन पुस २७ गते पर्न गयो– पृथ्वी जयन्तीको दिन। पञ्चायत कालमा यो दिनमा देशैभरि झाकी सहित र्याली गरिन्थ्यो राजाको जयजयकार भन्दै। म झापाको भद्रपुर हुँदा पटक-पटक गएको\हेरेको छु- १० वर्षको उमेर हुँदा!
काठमाडौँमा भृकुटीमण्डप अगाडिको राष्ट्रिय सभागृहमा प्रवचन कार्यक्रम हुन्थ्यो जहाँ राजाको गुणगान गाइन्थ्यो। म निकै पटक गएको छु २०३३/३४ सालमा, गुणगान सुन्न होइन समापनपछि खुवाउने खाजा खान। समापनको समय आउना साथ धेरै मान्छेहरू बाहिर गेटतिर आइसकेको हुन्थ्यो। सभा समापन भन्ने शब्द उच्चारण हुने बित्तिकै हुत्तिएर टेबलमा खाजा सजाएको बगैँचातिर दौडिन्थेँ। अहिले ती क्षण सम्झँदा रमाइलो लाग्छ।
यस पटक गोरखाका केही भागमा साइकलको डोब छोड्ने बिचार आयो। योभन्दा अगाडि मेरो लागि गोरखा भनेको मात्र मनकामना मन्दिर थियो। आँबुखैरेनीको मर्स्याङ्दी खोला माथिको पुल तरेपछि दायाँतिर झरेर खोलाको बगर थोरै हिँडेपछि दरौँदी खोला आउँछ। मैले सम्झेँ, यही दरौँदी खोला तरेर पहिले मनकामना गइन्थ्यो। खोलामाथि अस्थायी काठको साँघु बनाइएको हुन्थ्यो। साढे दुई घण्टादेखि ३ घण्टा लाग्थ्यो। ६ पटक गएको सम्झन्छु।
टोयोटा पिक-अपको पछाडिको डालामा साइकल खसी बाँधे जस्तै गरी तीन तिरबाट हलचल नहुने गरी बाँधेँ। काठमाडौँबाट मुग्लिन, आँबुखैरेनी हुँदै दायाँतिर मोडिएर गोरखाको बाटो लागियो। मर्स्याङ्दीको पुल तरेपछि अलि अगाडि दरौँदी खोलाको पुल आउँछ। माथि १२ किलोसम्म गाडीमै गइयो। १२ किलोमा साइकल ओरालियो। पाइन्ट फुकालेर साइकल नै चलाउने विशेष खालको कालो ट्राउजर, कालै रङको जर्सी, हेलमेट, हाते पन्जा र फरक जुत्ता लगाइयो। अनि उकालो लागियो गोरखा बजारतिर।
बाटो अलिअलि उकालो। दायाँ-बायाँ रुख भएको, घुमाउरो बाटो, अति रमणीय। प्रकृतिसँगको संसर्गले छुट्टै मज्जा आउने- कारण त इण्डोफर्म, डोपामाइन र सेरोटोनिन उत्सर्जन नै हो। गोरखा बजार पुग्न १५ किलोमिटर, साइकल चलाउन २ घण्टा जति लाग्यो। बाटैमा लक्ष्मी बजार आउँछ जहाँबाट गोर्खा गाउँ रिसोर्टतिर मोडिन्छ जहाँ म पहिले परिवारसँग बिदा मनाउन आएको थिएँ।
गोरखा बजार पुगेपछि होटेल बिसौनीमा बसियो। यो होटेल सबभन्दा पुरानो मध्येको हो, मास्केजी को। उहाँ समाजसेवी पनि हुन्। यो होटेलमा बस्दा साह्रै मजा आउने, आधुनिक पिलर वाला घरभन्दा। यहाँ ठुलो बगैँचा र हरियाली पनि छ। बाटोमाथि अलि उठेको ठाउँमा भएकोले पुरै होटेल भ्यु टावर जस्तै लाग्ने। जाडोको समय कौसीमा बसेर बियर खाने मेरो सोख पूरा गर्न उपयुक्त ठाउँ।। कौसीबाट गोरखाको तल दरौँदी खोलाको फाँट देखिने हरियो! गोरखा जिल्लाको अन्नको भण्डार! क्षितिजमा बन्दिपुर बस्ती पनि देखिन्छ। बन्दिपुर ऐतिहासिक र व्यापारिक नाका हो।
भोलिपल्ट खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमको निरीक्षणको सन्दर्भमा सौरपानी पुगियो। गोरखा बजारबाट ३ घण्टा जतिको दूरीमा रहेछ। सौरपानीमा भूकम्पले निकै घर क्षतिग्रस्त भएको देखियो, केन्द्रबिन्दु भेग नजिकै देखिन्थ्यो सौरपानीबाट। घर भत्केकाले जताततै पाल टाँगेर बसेका देखिन्थे। अक्सफामका स्टाफहरू पनि पालमै लस्करै सुत्ने गरेका रहेछन्। अफिस पनि पालमै राखेका थिए।
मलाई एउटा पाल टाँगेर बनाइएको स्थानमा सुत्ने व्यवस्था गरेको रहेछ। पाल टाँगेर बनाइएको स्थानमा एक अधबैँसे दम्पती पनि सुत्ने रहेछन्। म समेत तीन जना हुने भयौँ। मलाई खाना खुवाउने जिम्मा पनि यही दिइएको रहेछ। ती दम्पतीसँगै बेलुकाको खाना खाएँ। यसो आँखा घुमाउँदा देखेँ कि घरको सम्पूर्ण बस्तुहरू जस्तै- खाट, सन्दुक, भान्छाका सामान, बिछ्यौना अनि आफ्नै भत्केको घरको काठका दलिन, झालका चौकोसहरू पनि सुरक्षित रूपमा यही पालमुनि भण्डारण गरेका रहेछन्। बत्ती थिएन। थाकेको हुनाले क्षणमै निद्रा लाग्यो।
मलाई बिउँझाउने अलार्म घण्टी चाहिँ कुखुराको भाले बन्यो भोलिपल्टको बिहानीमा। भाले त मेरै खाटसँगै भएको पत्तो पाइएन अघिल्लो रात, अँध्यारो भएकोले। भाले कानको जाली फुटाउला जस्तो गरेर बासेको अनुभव अविस्मरणीय भयो।
रमेशको घर पनि सौरपानी नै रहेछ। उनी फाइनान्स हेर्थे, राम्रो स्टाफ। अक्सफाममा काम गर्ने कर्मचारीहरू २५-३० वर्षका थिए। युवक पनि हेन्डसम युवती पनि उत्तिकै ब्युटिफुल! मेरो जानकारीमा आएअनुसार सहकर्मी ३-४ जोडीले त प्रेम विवाह नै गरेछन्। राम्रो भयो नि! आजभोलि प्रेम विवाह नै सर्वत्र छ। बाबु-आमालाई पनि सजिलो। भोज गरेनन् कि क्या हो? सुटुक्क ल्याए जस्तो छ!
यस सम्बन्धमा आफ्नो कुरा पनि छोटो यहाँ राखौँ। हाम्रो पालामा प्रेम विवाह अपवाद हुन्थ्यो भने अहिले मागी विवाह अपवादमा पर्छ। मेरो मागी विवाह हो भने मेरो छोरीको प्रेम विवाह हो। अझ क्रान्तिकारी परिवर्तन के हो भने मेरो पालामा अन्तर्जातीय विवाह स्वीकार्य थिएन भने अहिले यो सामान्य नै भइसक्यो। त्यसै कारण मैले आफ्नै जातको विवाह गरेर सामाजिक मूल्य मान्यतामा रहेँ भने मेरी छोरीले समयअनुसार आफूलाई ढाले, अन्तर्जातीय विवाह गरे।
सौरपानीकै पुछारमा एउटा माध्यमिक स्कुलमा शौचालय बनाउने कार्यक्रमको निरीक्षण गर्ने सिलसिलामा गइयो। यो स्कुल छेउबाट नै भूकम्प हुँदा भुइँको सतह चिरा फाटेको भनेर स्थानीयले सुनाए। त्यो चिरा सानो भइसकेको थियो मेरो भ्रमणको बेलामा।
यो सुन्दा/देख्दा मलाई भूकम्पको केन्द्रबिन्दुको यति नजिक आएको रहेछु भन्ने चाहिँ पर्यो है। यी पनि जिन्दगीमा गरिने बिरलै अनुभवमै पर्छ है। यस्तै अनुभवको प्रसंगमा मैले इन्डोनेसियाको एउटा ठाउँमा सुषुप्त ज्वालामुखीको क्रेटर (मुख) सम्म पुगेको पनि उल्लेख गर्न सान्दर्भिक लाग्यो यहाँ। त्यो क्रेटरबाट अलिअलि धुवाँ निस्किरहेको थ्यो।
मूल विषयमै आऊँ। यो स्कुलको प्राङ्गणमा उभिएर उत्तरतिर हेर्दा एउटा गल्छी पार गरेपछि नै बारपाकको बस्ती देखिन्छ- सिधा दूरी २-३ किलोमिटर मात्र होला। यहाँका स्थानीयसँग कुरा गर्दा के थाहा भयो भने बारपाकका प्रभावशाली समुदायले भूकम्पको केन्द्रबिन्दु सौरपानीको क्षेत्रमा परे पनि बारपाक हो भन्न लगाएका भनेर भने। केन्द्रबिन्दु भनेपछि सहयोग ओइरिन्छ त्यसैले रे। बेलुकासम्म गोरखा बजारमै आइपुगियो योजनाको निरीक्षणपछि।
भोलिपल्ट बिहानै गोरखा दरबार हेर्न गइयो हिँडेर। झन्डै एक घण्टा उकालो चढेपछि दरबार परिसर आउँछ। भूकम्पले नराम्ररी क्षति पुर्याएको रहेछ। त्यहाँको अर्को आकर्षण भनेको गोरखनाथको मूर्ति शिला पनि हो। पुरै परिसरको मर्मत कार्य हुँदै थियो। दरबार परिसर डाँडामै छ। एकातिर गोरखा बजार देखिन्छ भने उत्तरतिर विभिन्न हिमाली शृङ्खला देखिन्थे जस्तै- मनासलु, अन्नपूर्ण, लमजुङ हिमाल। बिहानको यो हिँडाइले राम्रो व्यायाम पनि भयो। मसँगै बलबहादुर, योगेश, विजय थिए। ब्रेकफास्टको लागि होटेलमै व्यवस्था थियो।
त्यो दिन दिनभरि जस्तै मिटिङ भयो। मिटिङका लागि सातै जिल्लाका प्रमुखहरू आएका थिए। साथै फिलिपिन्स, फ्रान्सका तर नेपालमै काम गरिराखेका महिला स्टाफहरू पनि मिटिङमा थिए। क्रिशले मिटिङको अध्यक्षता गरेका थिए। मिटिङ बिसौनी होटेलमै भएको थियो। बेलुका रमाइलो कार्यक्रम भयो नाचगान सहित। एउटा पोर्चुगिच गानामा मैले नै डान्स गरेर माहौल बनाए। त्यसपछि त सबै तातिए। बियरले आगोमा घिउ थपे जस्तै भयो। आगोको रापले सबैको जीउरूपी इन्जिन सक्रिय भयो! बिहानको प्रथम प्रहरको दर्शन भयो।
बिहानको सूर्योदयसँगै फर्कन तयारीमा लागेँ। ब्रेकफास्ट खाएर ८ बजे त्यहाँबाट निस्केँ। अघिल्लो दिनको रमाइलो सम्झँदै साइकलबाटै जहाँसम्म हुन्छ त्यहाँसम्मै जाने बिचार गरेँ। सुरुको टार्गेट गोरखाबाट आँबुखैरेनीसम्म। एक/दुई ठाउँमा फोटो खिच्न रोकियो। सरर साइकल ओरालो लाग्यो। अति नै रमाउँदै साइकल गुडाइयो।
पहाडी बाटो साह्रै रमाइलो। रुख भएकोले हरियो डाँडा। टाढा-टाढासम्मका डाँडा, बस्ती देखिने। बाटो छेउका सा-साना पसलहरू टिनले छाएको। आँबुखैरेनीभन्दा २ किलोमिटर अगाडि बन्द भइसकेको गोरखकाली टायर कारखानाको परिसर आउँछ। अन्दाजी ३० वर्ष अगाडि निकै कहलिएको यो कारखाना। यहाँ उद्योग गाउँ नै थियो, निकै चहलपहल भएको सम्झन्छु पहिले मनकामना मन्दिर जाने क्रममा! अहिले केही अवशेष मात्र बाँकी छ। पुराना गाडीहरू थन्काएको देखिन्छ। गोदाम जस्ता लामा-लामा घरहरू देखिन्थे। टायर बनाउने मेसिन के भयो होला?
कारखानाकै मूल ढोका अगाडि साइकल रोकेर चारैतिर हेरेँ। नेपालका उद्योगहरू यसरी बन्द हुँदा साह्रै दुख लाग्ने।
अगाडि बढेँ। दुई किलोमिटरमै आँबुखैरेनी आयो। निकै पटक बास बसेको छु यहाँ उहिले मनकामना मन्दिर जाने बेलामा। यहाँसम्म पुग्दा साइकल चढ्नै पुगेको छैन भनेर मनले भन्यो। अनि टार्गेटलाई संशोधन गरेर मुग्लिनसम्म पुर्याए। यो बाटोमा काठमाडौँ पोखराको गाडी चल्ने भएकोले बचेर चलाइयो। बस र माइक्रोलाई हतार हुन्छ अनि जथाभाबी चलाउँछन्। साइकल यस्तो बाटोमा अलि जोखिम नै हुन्छ।
बाटैमा मर्स्याङ्दी जलविद्युत केन्द्र छ, खैरेनीबाट मुग्लिनतिर जाँदा। साइकलमा ध्यान एकत्रित हुँदा फेरि सम्झेँ इन्जिनियरिङ पढ्दाको दिन। विसं. २०४४ सालमा यो मर्स्याङ्दी जलविद्युत केन्द्र निर्माणाधीन हुँदै गर्दा हामी बिई (ब्याचलर इन सिभिल इन्जिनियरिङ) का विद्यार्थीहरूलाई अध्ययन भ्रमणको लागि यहाँ ल्याइएको थियो। मलाई सम्झना छ हामी ड्याम साइट गएको, जलविद्युत गृहकै माथितिर बनेको सर्ज ट्याक हेरेको, पानी ल्याउने सुरुङको मुखसम्म पुगेको अनि सुरुङ हुँदै पेनस्टक पाइपबाट पानी झारेर टर्बाइन जडान गर्ने थलोसम्म पुगेको।
मैले फेरि सम्झेँ यो भर्टिकल टर्बाइन डिजाइनको हो, होरिजन्टल होइन। काठमाडौँको फर्पिङको जलविद्युतमा होरिजन्टल टर्बाइन छ, मैले देखेको छु। त्यति बेला यो जलविद्युत आयोजनाको क्षमता ६० मेगावाट भनेको सम्झेको छु। मलाई यो पनि स्मरण गर्न मन लाग्यो कि यति महत्त्वपूर्ण आयोजनाको लागि चाहिने पानी मर्स्याङ्दी नदीबाट आउँछ। मर्स्याङ्दी नदीको उद्गम तिलिचो ताल हो जुन मनाङमा पर्छ। यही नदीमा जून २०२१ मा भयंकर बाढी आएको थियो मनाङको ताल फुटेर।
यसरी इतिहासका पाना पल्टाए जस्तै भयो यहाँबाट साइकलमा मर्स्याङ्दी जलविद्युत केन्द्र छिचोल्दा खेरी। केही बेरमै मुग्लिन पनि आयो। अफिसको गाडी त्यहाँ पुगिसकेको थियो। एउटामा दाल भात खान रोक्यौँ ड्राइभर भाइ र म। साइकलको व्यायामपश्चात् भोक पनि मज्जैले लागेको थियो। खुब मिठो गरी दाल, भात र मासु खाइयो। शरीरले यत्रो सास्ती खाएर मलाई रमाइलो प्रदान गरेकोले पुरस्कार स्वरूप एउटा कोक पनि चढाइयो यो ज्यानलाई।
कोही कोही पाठकलाई लागेको होला यो दिनेशले खुरुक्क गाडीमै आरामसँग यात्रा गरेको भए नि हुन्थ्यो नि, किन यो झन्झट, जोखिम खेपेको भनेर! होइन त? मैले किन यो हाइब्रिड (गाडी र साइकल को मिश्रण) प्रणालीको यात्रा गरेँ भनेर सोचेर ल्याउँदा मलाई विसं. २०५०/५१ तिरको घटना याद आउँछ।
कामको सिलसिलामा धादिङ बजारबाट धुवाकोट जाँदा ३ घण्टा हिँड्नु पर्थ्यो। त्यति बेला कुरै कुरामा एक जना आफूभन्दा परिपक्व व्यक्तिले भनेको कुरा मेरो मन मस्तिष्कमा छाप छोडेको देखिन्छ। उनले भन्थे- ‘म कतै कामको सिलसिलामा उपत्यका बाहिर जाँदा आधि बाटो गाडीमा जाने आधि बाटो दौडिन्थेँ।’
सायद मेरो अन्तस्करण (सब कन्सियस माइन्ड) मा त्यो भनाइले जरा गाडेकोले यो प्रकृतिको यात्रामा मेरो लगाव भएको हो कि!



