पुलबाट तल हेर्दै डरलाग्दो देखिन्छ कालीगण्डकी नदी। कालीगण्डकीको उर्लंदो छालसँगै पुलबाट हावामा कावा खाँदै कालीगण्डकीतर्फ हाम फाल्दा लाग्छ, मुटु त दह्रै रहेछ। मैले पनि बञ्जीमार्फत् आफ्नो मुटु निकै दह्रो रहेको महसुस गरेँ।
मलाई एड्भेञ्चरमा रमाउन एकदमै मन पर्छ। यसअघि पोखरामा प्याराग्लाइडिङ र धरानमा जिपलाइन पनि गरिसकेको थिएँ। जिपलाइनपछि मैले बञ्जी गर्ने योजना पहिले नै बनाएको थिएँ। तर बञ्जी गर्नका लागि निस्कन समय मिलिरहेको थिएन।
म केही दिनअघि बञ्जी गर्नका लागि पनि धरानको कार्यक्रम सकाएर निस्किएकीे थिएँ। पूर्वबाट एकैपटक म कुस्मा पुगेँ, बञ्जीका लागि। म कुस्मामा पहिलोपटक बञ्जी गर्नका लागि निकै उत्साहित थिएँ।
कुस्मा, पर्वत यसभन्दा अगाडि पनि म कार्यक्रमका लागि गएको थिएँ। विश्वकै दोस्रो अग्लो यो बञ्जी (२२८ मिटर) द क्लिफले गराइरहेको भन्ने थाहा थियो। त्यसकारण पनि मलाई बञ्जी गर्न मन थियो।
पर्यटनको हिसाबले सो क्षेत्र पनि एकदमै राम्रो भएकाले थप एड्भेञ्चर हुन्छ होला भन्ने सोचेर मैले कुस्मामा बञ्जी गर्ने योजना बनाएकी थिएँ।
मैले प्याराग्लाइडिङमा मध्यम एड्भेञ्चर महसुस गरेँ। किनकी त्यहाँ प्यारापाइलट समेत हुनुहुन्थो। त्यसकारण त्यति डर भएन। तर थ्रीलको मज्जा त आई नै हाल्यो। जिपलाइनमा डोरीको सहायताले तेस्रो परेर गर्दा पनि एड्भेञ्चर त महसुस नै भयो। तर पनि यी दुवैभन्दा विशेष मलाई बञ्जी जम्प लाग्यो।
बञ्जी जम्प गर्दैगर्दा तल हामफालेर तल नपुग्दासम्म डोरीको महसुस हुँदैन। झुण्डिएपछि मात्रै महसुस हुन्छ। त्यति उचाइबाट हामफाल्न चाहिने मुटु नै फरक पर्ने रहेछ। छुट्टै साहस चाहिने रहेछ ।
मैले बञ्जीका लागि तयारी गरिरहँदा पनि धेरै डर लागेन। मलाई त्यहाँ मभित्रको साहस जाँच्नुथियो। म बलियो छु भन्ने आफैलाई सावित गर्नुथियो। त्यसमा मात्रै मेरो ध्यान गयो, बञ्जी गर्नुअघि।
त्यतिखेर मलाई मभित्रको विस्तारै खुट्टा सार्दै जाँदा मलाई अरू त्यस्तो केही डर लागेन। मेरो साहस वा मुटु कत्तिको दह्रो छ, त्यसलाई म जाँच्दैछु भन्ने भयो। अर्को भनेको, यो एक एड्भेञ्चर हो, जीवनमा यसले मोटिभेसन पनि दियो। कहिलेकहिले तल हेर्दा मलाई डर लाग्थ्यो, तर बञ्जी गर्दा मैले तलमाथि दुवैतर्फ उस्तै तरिकाले हेर्न सकेँ। मभित्रको बोल्डनेस, स्ट्रङनेस लगायत मैले महसुस गरेंँ।
मैले त्यसबेला नै मैले महसुस गरेँ, म कत्तिको बलियो रहेछु, मन, मस्तिष्क र मुटु कति बलियो रहेछ भन्ने महसुस गरेँ।
जम्प गर्दाको क्रममा शरीर पूरै हावामा हुन्छ, त्यतिखेर म केही अत्तालिएँ। बञ्जीको मज्जा नै यही हो। मैले त्यतिखेर आमा(ममी) लाई सम्झिएछु। जब तेस्रो झड्का आउन लाग्यो, मैले त्यो डोरी तानेर सुल्टो बनेँ। त्यसपछि मैले त्यहाँको दृश्य, कालीगण्डकी बगिरहेको छ, हावा मलाई छुँदै स्पर्श गर्दै गइरहेको थियो। खुला वातावरण थियो म यसमा मन्त्रमुग्ध भएँ। म आफैमा हराएँ त्यतिखेर।
नेपाल कति सुन्दर छ, कति रमणीय छ भन्ने मैले महसुस गरेँ। हामी जन्मिएर यति राम्रो कुरा महसुस गर्न पाएका छौं, यति सुन्दर देश, यति सुन्दर ठाउँमा छौं भन्ने लागिरह्यो। बाहिरी मुलुकमा धेरै कुराहरू कृत्रिम हुन्छन्, नेपालको जस्तो प्राकृतिक कुराहरू उता धेरै देखिँदैनन्। नेपालको सुन्दरता नै यही हो, यसलाई चिन्न सक्नुपर्छ भन्ने भयो।
मैले बञ्जी गर्दै गर्दा मिलनभित्रको मलाई महसुस गरेँ। मैले गीत पनि बिर्सिएर आफैमा हराएछु त्यतिखेर। मभित्रको मलाई अझै बढी चिन्ने मौका पाएँ त्यतिखेर।
बञ्जी मेरा लागि एकदमै वेष्ट एड्भेञ्चर हो।
बञ्जी गर्नुअघि मैले के के कुरा सुनेको थिएँ, ती अफवाहहरू रहेछन् भन्ने म आफैले बञ्जी गरेपछि थाहा भयो। बञ्जीका लागि पूरै टिमले काम गर्नुभएको थियो। सबै क्राइटेरिया र त्यसबारे जानकारी दिने कुरा, शारीरिक कमजोरी राम्रो वा नराम्रो लगायतको सबै आवश्यक चेकजाँच गर्नुभएको मलाई एकदमै राम्रो लाग्यो। बञ्जी निकै सुरक्षित छ भन्ने लाग्दा आत्मबल पनि बढ्यो मेरो।
त्यहाँको एउटा पल मलाई याद छ। एक जना दाइ ९० केजीको हुनुहुन्थ्यो। उहाँ बडी बिल्डर पनि हुनुहुन्थ्यो। उहाँले मलाई भन्नुभएको थियो, 'योसहित चार पटक म आइसकेँ तर आँट नआएर फर्केको थिएँ। आज बल्ल साहस जुट्यो।'
उहाँ निकै काँपिरहनुभएको थियो। र मलाई भन्दै हुनुहुन्थ्यो, 'तपाईं निकै साहसिक हुनुहुँदो रहेछ।'
मलाई खुसी पनि लाग्यो, म शारीरिक हिसाबले त्यति बलियो नहुँला मानसिक रूपमा बलियो रहेछु भन्ने महसुस भयो।
म बाल्यकालदेखि नै सांगीतिक माहौलमा हुर्किएँ। आसामको गुवाहाटीमा जन्मिएँ। त्यहाँ ठेट नेपाली खुटी भन्ने गाउँ छ। म त्यहीँ जन्में, हुर्कें। मैले सानैबाट खोलानाला, रुख, खेतबारी सबै भोग्दै, खेल्दै हुर्किदै आएँ। त्यसले पनि मलाई साहसिक यात्रामा रोमाञ्चकता महसुस गर्न सघायो जस्तो लाग्थ्यो।
म सुरूदेखि नै निडर स्वभावको व्यक्ति हुँ। त्यसले पनि मलाई एड्भेञ्चर मोह भएको हो जस्तो लाग्छ।
मलाई कुस्मा निकै सुन्दर, रमणीय लाग्यो। यसभन्दा अघि पनि म कुस्मा पुगेको थिएँ। करिब ५ वर्ष अघिसम्म त्यहाँ बञ्जी थिएन। त्यहाँ झोलुंगे पुल बनाइएको थियो, म त्यो पुल हेर्नलाई गएको थिएँ। अहिले त्यही पुलबाट कालीगण्डकीमा बञ्जी गर्न पाउँदा मलाई निकै खुसी मिल्यो।
अहिले द भ्वाइस किड्स सिजन तीन चलिरहेको छ। यसमा केही समय व्यस्त हुन्छु। त्यसपछि समय मिलाएर अन्य साहसिक खेल खेल्न रूचि छ। मलाई स्काई डाइभिङ र स्कुभा डाइभिङ गर्न निकै इच्छा छ। साथै अब राफ्टिङ पनि गर्ने इच्छा छ। आशा छ, क्रमैसँग यी खेलहरूको मज्जा लिन पाउँछु।
नेपालमा एड्भेञ्चरको निकै ठूलो सम्भावना रहेको समेत मैले महसुस गर्न पाएँ। नेपालका यस्ता खेल तथा पर्यटनमा विदेशी पर्यटकको समेत आकर्षण बढाउनुपर्ने छ। त्यसका लागि पनि यस्ता साहसिक खेलले भूमिका खेल्छ भन्ने मलाई लागेको छ। सरोकारवाला सबै निकायले यसतर्फ ध्यान दिएमा सम्भव पनि छ, पर्यटनबाटै आर्थिक उन्नतिको बाटोमा जानका लागि।