धेरै पटक सुनेको थिएँ— 'यलुङ बेस क्याम्प।' तर त्यो नाम सुन्नासाथ मनमा डर र जिज्ञासा दुबै जाग्थे। बेस क्याम्प भन्नेबित्तिकै लाग्थ्यो, धेरै उचाइमा होला, हिउँले ढाकिएको कठोर भू–भाग होला, र त्यहाँ त विदेशी पर्यटक मात्र पुग्ने ठाउँ हो। तर, त्यो कल्पना तोड्ने मौका आयो, जब म आफै त्यहाँ पुग्ने यात्रामा निस्कें।
गौरीशंकर गाउँपालिका–९, दोलखामा अवस्थित रोल्वालिङ उपत्यका हुँदै यलुङ बेस क्याम्प पुग्न सकिन्छ। यो समुद्री सतहदेखि करिब ४,९०० मिटर उचाइमा अवस्थित छ। सधैंजसो हिउँले सेताम्मे देखिने यो क्षेत्र हिमाल र हिमनदीको अद्भुत दृश्यले भरिपूर्ण छ।
कतिपय विदेशी पर्यटकहरू यही बाटो हुँदै नाम्चेसम्म पुग्छन्, केही जिरी वा मार्वुसम्म यही मार्ग प्रयोग गर्छन्। यलुङ बेस क्याम्प नजिकै रामदुङ बेस क्याम्प पनि छ। दुवै स्थल विदेशी आरोहीहरूका लागि अभ्यासका महत्वपूर्ण स्थान हुन्। ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्नुअघि आरोहीहरूले यस्ता साना चुचुरोहरू अनिवार्य रूपमा चढ्ने चलन छ।
ना गाउँमा रात बिताएपछि बिहान सबेरै हिँड्नुपर्छ। त्यहाँबाट अघि बढेपछि च्छोरोल्पा हिमताल र दूधकुण्ड जाने बाटो छुट्टिन्छ। तालतिर नलागी दायाँ उकालो समात्दा करिब तीन घण्टाको ठाडो पैदल यात्रापछि यलुङ बेस क्याम्प पुगिन्छ। बेस क्याम्प पुग्नेबित्तिकै वरिपरिका हिमालहरू नियाल्दा थकान हराउँछ। हाल बाटो र ढुंगासमेत हिउँले ढाकिएको छ, जसले दृश्यलाई अझ स्वप्निल बनाएको छ।
यात्राको क्रममा फ्रान्स र इटालीबाट आएका केही विदेशी भेटिए। उनीहरू पनि त्यही बेस क्याम्पतिरै लागिरहेका थिए। गौरीशंकर गाउँपालिका–९ का वडाअध्यक्ष ङिमगेली शेर्पाले उनीहरूलाई स्वागत गर्दै पालिकाको विशेषता र रोल्वालिङ उपत्यकाको बारेमा जानकारी दिए।
स्थानीयको आत्मीयता र आतिथ्यताले सबैलाई प्रभावित पाथ्र्यो। यलुङ बेस क्याम्प वरिपरि थुप्रै आकर्षक चुचुराहरू छन्। तीमध्ये यलुङरी चुचुरो (५,६३० मिटर) नेपालका कम अन्वेषण गरिएका तर सजिलै आरोहण गर्न सकिने हिमशिखरमध्ये एक हो। यसलाई रामदुङ (५,९३० मिटर), चुग्मागे (६,२५९ मिटर) र चोबुल्से (६,६८९ मिटर) जस्ता हिमालहरूले घेरेका छन्।
शान्त वातावरण र निर्मल आकाशबीच यी शिखरहरू हिमको घेराभित्र चम्कँदा यलुङ क्षेत्र स्वर्गीय दृश्यको अनुभूति दिलाउँछ। शान्ति र एकान्त खोज्नेका लागि रोल्वालिङ उपत्यका उपयुक्त पदयात्रा गन्तव्य हो।
नेपालका सबैभन्दा कम जनसंख्या भएका उच्च भू–भागमध्ये पर्दा पनि यसको सौन्दर्य असाधारण छ।
यलुङ पास हुँदै यात्रा गर्दा सगरमाथा, चो ओयु, मेलुङ्त्से (७,१८१ मिटर), मेलुङ्त्से–२ (७,०२३ मिटर) र गौरीशंकर (७,१३४ मिटर) लगायतका हिमशिखरहरू एकसाथ देख्न सकिन्छ। ६,००० मिटरभन्दा माथिका असंख्य हिमालहरू यस क्षेत्रबाट सहजै नियाल्न सकिन्छ। जसले यो यात्रा अझ अविस्मरणीय बनाउँछ।
आफ्नै जिल्ला, आफ्नै पालिकामा रहेको यलुङ बेस क्याम्पको पहिलो यात्राले मलाई नयाँ उर्जा र गर्व दियो।
मनमा लाग्यो, कति धेरै कुरा त हामीले आफ्नै आँखाले नदेख्दा कल्पनामा मात्र सीमित हुन्छन्। जब मानिसले देख्दैन, पढ्दैन र अनुभूति गर्दैन, तब ऊ नयाँ संसारसँग नजिक हुन सक्दैन। त्यसैले पनि नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ यात्रा। जीवनलाई परिपक्व बनाउने पाठशाला हुन्।
तस्बिरहरू:
-1761309776.jpg)
-1761309775.jpg)
-1761309775.jpg)
-1761309774.jpg)
-1761309772.jpg)
-1761309773.jpg)
-1761309773.jpg)
-1761309774.jpg)
-1761309770.jpg)
-1761309771.jpg)
-1761309770.jpg)
-1761309769.jpg)
-1761309768.jpg)
-1761309768.jpg)
-1761309768.jpg)