प्रधानमन्त्री सुशीला कार्की र अन्य केही मन्त्रीसँग शनिबार राति बालुवाटारमा भएको छलफलमा गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने पक्कापक्की भइसकेको थियो।
कुराकानी क्रममा प्रधानमन्त्री कार्कीले सम्पदा अभियानी श्रेष्ठलाई अन्तरिम मन्त्रिपरिषदमा काठमाडौं र नेवार समुदायको प्रतिनिधित्व गर्ने युवा भन्दै शपथ ग्रहणका लागि नेवारी संस्कृति अनुसारको पहिरन लगाएर आउन भनेकी थिइन्।
'प्रधानमन्त्रीज्यूले शपथ ग्रहणमा नेवारी पहिरन लगाएर आउनू भनेपछि म उत्साहित भएको थिएँ,' गणपतिलालले सेतोपाटीसँग भने, 'शपथ ग्रहणजस्तो राज्यको महत्त्वपूर्ण समारोहमा नेवारी पोसाकलाई स्थापित गर्नु मेरा लागि पनि ठूलो अवसर थियो।'
बालुवाटारमा शनिबार राति भएको उक्त छलफलपछि गणपतिले आइतबार शपथ ग्रहणमा लगाउन नेवारी पहिरन किनेर तयार गरिसकेका थिए।
आइतबार त्यही पोसाक लगाएर काठमाडौंको रैथाने नेवार समुदायको प्रतिनिधित्व गर्दै शपथ ग्रहणमा जान उनी तम्तयार थिए।
तर ९/१० बजेतिर अचानक उनको मन्त्रालय फेरियो र भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बन्न प्रस्ताव गरियो।
लामो समयदेखि काठमाडौंको संस्कृति र सभ्यता संरक्षणमा काम गर्दै आएका श्रेष्ठले मन्त्रालय फेरिएपछि प्रधानमन्त्री कार्कीलाई भेटेर आफ्नो विशेषज्ञता बाहिरको क्षेत्रमा मन्त्री बन्न स्वीकार्य नभएको जबाफ दिएका थिए।
'आफूले २४ वर्षदेखि अभियानीका रूपमा काम गरेको मन्त्रालयको प्रस्ताव आएपछि मैले स्वीकार गरेको थिएँ,' प्रधानमन्त्री कार्कीसँगको छलफलपछि श्रेष्ठले सेतोपाटीसँग भने, 'शनिबार राति ८ बजेसम्म प्रधानमन्त्री कार्की र अन्य मन्त्रीहरूसँग बसेर पर्यटनमन्त्री नै बन्ने पक्का भएको थियो।'
'आइतबार एकाएक मसँग छलफलै नगरी अर्कै मन्त्रीका रूपमा नाम आउँदा छक्क परेँ। अहिले सोध्दा नागरिकहरूको दबाबले परिवर्तन गर्नुपर्यो भन्ने सुन्नमा आएको छ। तर प्रस्ट पार्नुभएन,' गणपतिले अगाडि भने, 'म मन्त्री बन्नका लागि मात्र बन्दिनँ, त्योभन्दा त संस्कृति अभियन्ता नै ठिक छु भनेर प्रधानमन्त्रीलाई भेटेर भनिसकेको छु।'
गणपतिले गुठीको विषय उठाउँदै आन्दोलन गरेको र त्यो विषय हेर्ने भूमि मन्त्रालय उनका लागि उपयुक्त हुने कुरा छलफलमा उठेको थियो।
यसको जबाफमा गणपतिले भने, 'मैले गुठी भनेको भूमि मात्र होइन, संस्कृति हो भनेर आवाज उठाएँ। अहिले आएर मन्त्री बन्न पाएँ भन्दैमा भूमि मन्त्रालय सम्हाल्न तयार हुने कुरा स्वीकार्य भएन।'
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारको तयारी गर्दै आइतबार ४ जनाको नाम राष्ट्रपति कार्यालय पठाएकी थिइन्। दिउँसो साढे २ बजे शपथ समेत हुने तय भएको थियो। तर पछि दुई जनाले मात्र शपथ लिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मात्र शपथ लिएका हुन्।
प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस गरेका खगेन्द्र सुनारको नाम पनि हटाइएको छ। दलित अभियानी भनेर चिनिएका खगेन्द्रको सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेपछि नाम हटाइएको हो।