काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूसँग आइतबार भएको छलफलमा दुर्गा प्रसाईंले कात्तिक महिनाभरि आफ्नो आन्दोलनको कुनै कार्यक्रम नभएको बताएका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी प्रसाईंले केही दिनयता छठपछि आन्दोलन गर्ने अन्तर्वार्ता दिइरहेको सन्दर्भमा उपत्यकाका सिडिओहरूले छलफलमा डाकेका थिए।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आइतबार दिउँसो भएको छलफलमा सिडिओहरूले शान्ति सुरक्षा लयमा फर्काउन खोजिरहेका बेला प्रसाईंले गर्ने भनिएको आन्दोलनले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।
प्रसाईंले भने आफ्नो आन्दोलन गर्ने कुनै कार्यक्रम नभएको जबाफ दिए।
'कात्तिक महिनाभरि मेरो आन्दोलनको कुनै कार्यक्रम छैन,' प्रसाईंको भनाइ उद्धृत गर्दै काठमाडौंका सिडिओ ईश्वरराज पौडेलले सेतोपाटीसँग भने, 'म सरकारसँग वार्ताको टेबलमा बस्न तयार छु।'
छलफलपछि प्रसाईंले गृहमन्त्रीसँग भेटेर कुरा गर्न समय माग गर्दै गृहमन्त्रीलाई नै सम्बोधन गरिएको पत्र छाडेर गएको पौडेलले जानकारी दिए।
'हामीले दिउँसो प्रसाईंसँग भएको छलफलको ब्रिफिङ र उहाँले दिनुभएको पत्र गृहमन्त्रीलाई बुझाएका छौं,' उनले भने।
छलफलमा सहभागी भक्तपुरका सिडिओ नमराज घिमिरेले पनि तत्काललाई दुर्गा प्रसाईंको कुनै आन्दोलन कार्यक्रम नरहेको जानकारी दिए।
'छठपछि आन्दोलन गर्ने भनेर उहाँले अन्तर्वार्ताहरू दिनुभएको थियो, त्यो आन्दोलनको स्वरूप कस्तो हुने र माग के हो भन्ने विषयमा उहाँसँग कुराकानी गरिएको हो,' भक्तपुरका सिडिओ घिमिरेले भने, 'उहाँले आफ्नो कुनै किसिमको आन्दोलन कार्यक्रम छैन र आन्दोलन गर्छु भनेर कहीँ अन्तर्वार्ता दिएको पनि छैन भनेर भन्नुभयो।'
प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्री भेटेर आफ्ना कुरा राख्न समय मिलाइदिन आग्रह गरेको पनि उनले बताए।
'उहाँले गृहमन्त्री भेट्न समय माग गरिएको पत्र सँगै लिएर आउनुभएको थियो। त्यो पत्र गृहमन्त्रीलाई बुझाइदिन छाडेर जानुभएको छ,' घिमिरेले भने।
प्रसाईंले आइतबार नै प्रधान-सम्पादकहरूसँगको अन्तर्क्रियामा आफू सुध्रेर जाने कुरा बताएका थिए। त्यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले वार्तामा बोलाएको भए स्वागत गर्ने उल्लेख गरेका थिए।
'सरकारले हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी त्यसको स्वागत गर्छौं। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ,' उनले भनेका थिए, 'राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।'