होटलको कोठाभित्र बसेर आराम गर्न पाइन्छ, मिठा परिकार चाख्न पाइन्छ। तर आकाशमुनिको बसाइँ, बादलसँगको खेल, चिसो हावासँगको संगत—त्यो त केवल टेण्टमै सम्भव हुन्छ। सायद त्यसैले होला, पछिल्ला वर्षहरूमा धेरै घुमन्तेहरूले होटल छाडेर टेण्ट रोज्न थालेका छन्। सहर बजारको भीडभन्दा टाढा, बस्तीको कोलाहलभन्दा बाहिर, प्रकृतिसँग एकाकार भएर बस्न चाहनेहरूको संख्या बढ्दो छ।
कालिञ्चोक कुरी पुगेको बेला म पनि प्रायः होटलमै बस्ने बानी छ। दाल भातले पेट भरेर, सहज रात कटाउने। तर यो पटक चाहिँ बसाइँ फरक भयो। भीमेश्वर नगरपालिका–७ का वडाअध्यक्ष विनोद तामाङले भनेजस्तै—'टेण्टको बसाइँ भनेको यात्राको आत्मा हो'—त्यस दिन मैले पनि त्यो आत्मा नजिकबाट छुन पाएँ। उहाँसँगको संगतले यो अवसर पाएँ।
मान्छे चिनेको त संगतले हो रे। जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर श्रीराम तिमल्सेनाले समेत टेण्ट रोज्दा लाग्यो—प्रकृतिको न्यानो काखभन्दा ठूलो होटल कहाँ हुन सक्छ र! करिब ३५ सय मिटरको उचाइमा हामी आठ जनाले दुई टेण्ट टाँग्यौं। बाहिर वर्षाको लगातार तप्कन, भित्र स–साना गफगाफ, नजिकै दन्केको आगो, अनि वरिपरि ढाकेर बसेको बादल।
बादलले गणेशथुम्कीलाई लुकाइरहेकै थियो। तर एकपटक—केबल केही मिनेटका लागि—उसले आफ्नो घुम्टो खोलेको क्षण आयो। आकाश फाट्यो, हिमालहरू झल्किए, कुरी बजार बत्तीले झिलीमिली हुन थाले, कालिञ्चोक मन्दिर टाढैबाट चम्कियो, अनि मनमा लागेको भारी एक्कासि हलुका भयो। त्यो क्षण कुनै दिव्य उपहारभन्दा कम थिएन। डाँफे चरीले सजाएको डाँडा भएकाले यसलाई डाँफे डाँडा भनिन्छ। यहाँबाट गौरीशंकरदेखि नुम्बुरसम्मका हिमश्रृङ्खला, कुरी बजार, घ्याङडाँडा, शैलुङ, चेर्दुङडाँडा, चरिकोट बजार र छेउमै बग्ने तामाकोशी नदी—सबै एकै नजरमा अट्छन्। सिन्धुपाल्चोकको जुगल हिमाल लगायत केही बस्ती, भू–भाग पनि सहजै देख्न सकिन्छ।
प्राकृतिक, धार्मिक र पर्यटकीय दृष्टिले गणेशथुम्की कालिञ्चोककै सानो प्रतिरूप जस्तो लाग्छ। कालिञ्चोक भगवती दर्शनमा पुग्ने जो–कोहीले यदि एकपटक यहाँ टेण्ट टाँगेर आकाशसितको रात बिताए भने, यात्राको अनुभूति धेरै गुणा गहिरो बन्नेछ ।
तस्बिरहरू:
-1760165161.jpg)
-1760165161.jpg)
-1760165160.jpg)
-1760165160.jpg)
-1760165159.jpg)
-1760165159.jpg)
-1760165159.jpg)
-1760165159.jpg)
-1760165162.jpg)
-1760165162.jpg)
-1760165163.jpg)
-1760165163.jpg)