गाविसमा पत्राचार भइसकेको रहेछ। कार्यक्रम गर्ने मिति र स्थान पनि तय भइसकेको सामाजिक परिचालक धनराज शाहीले फोनबाटै जानकारी गराए।
कार्यक्रममा उपस्थितिका लागि धनराज भाइले आतिथ्यतापूर्ण अनुरोध गरे। घुम्ने साइत नजुरेर हो कि मुगुका लागि म नयाँ भएर हो कुन्नि! गमगढीभन्दा बाहिर टेकेको थिइनँ।
कार्यक्रम अधिकृत भएको नाताले भनूँ या घुम्ने अवसर जुरेर, धनराज भाइको आतिथ्यतापूर्ण अनुरोधलाई स्वीकार गरेँ। फोनमै म उपस्थित हुने जानकारी गराएँ, भाइलाई।
मलाई 'धैनकोट गाविस आउनुपर्छ' भनेर मुगु आउने बित्तिकैबाट धनराज भाइले भनिरहेका पनि थिए। कामको व्यस्तताले हो कि साइत नजुरेर, सदरमुकामभन्दा बाहिर निस्किएको थिइनँ। फेरि सदरमुकाम छोडेर गाउँ जान त्यति सजिलो कहाँ थियो र? जिल्लामा आधारित जागिरको प्रकृति नै त्यस्तै के फेरि।
धैनकोटपारि देखिने हुम्ला जिल्लाको श्रीनगर गाविस र मुनतिरबाट बग्ने कर्णालीको बखान खुबै सुनेको थिएँ। मनमा कौतुहलता थियो, श्रीनगर टेकेर कर्णालीको नजारा हेर्ने।
'यस पटकको फिल्ड भिजिट सुनौलो अवसर हुनेवाला छ,' मनले सायद यस्तै सोचिरहेको थियो।
गमगढीबाट पारि देखिने चंखेली हिमाल हेरेर आनन्दिनु मेरो दिनचर्या नै हो जस्तो भएको थियो। जुन हिमाल नेपाली मुद्रा एक रुपैयाँको नोटमा अङ्कित थियो। मुगुको काखमा रहेका अनेकन प्राकृतिक सौन्दर्यताले मलाई आकर्षण गरिरहन्थ्यो। अझ रोमान्चक कुरा त अफिसका स्टाफहरूले रारा घुम्न जाने योजना बुन्दै थिए। रारा कर्णालीकै मात्र नभएर देशकै नमूना राष्ट्रिय निकुञ्ज हो। सौन्दर्यताले भरिएको रारा अवलोकन गर्न पाउनु जो कोहीको अहोभाग्य हो। नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश, त्यसैमाथि कर्णालीको सुन्दरताको के बखान गर्नु?
कार्यक्रमको आयोजना सम्बन्धित गाउँ विकास समिति र सहजीकरण किर्डाक नेपाल मुगु शाखाले गर्दै थियो। कार्यक्रम हुने र हामी कार्यक्रममा सहभागी हुने पक्कापक्की भएपछि आवश्यक सामग्री खरिद गर्न प्रोग्राम सुपरभाइजर दानसिङ परियारलाई जिम्मेवारी दिएँ।
गमगढीमा बिस्तारै चिसो बढ्दै थियो। गमगढीपारि देखिने हिमालहरू बिहानै मोती दन्त देखाउँदै मुस्कुराउन थालिसकेका थिए। अझ भनौँ हिम–घुम्टो ओढेर हिमदुलही जस्तै सजिन थालिसकेका थिए। तिनै हिम–दुलहीका सुन्दरता रहस्योद्घाटन गर्ने अठोट मनभरि लिएर दानसिङ परियार र म धैनकोटक जाँदै थियौँ।
दानसिङले आवश्यक सामग्री तयार पारेर अफिसमै राखेका थिए।
'सर! सात बजेतिर नास्ता खाएर हामी हिँड्नुपर्छ,' बिहान छ बजे फोन गरेर दानसिङले सम्झाए। मसँग, 'हुन्छ' भन्नु शिवाय विकल्पै थिएन। दानसिङ पौने सात बजे नै अफिसमा टुप्लुक्क आइपुगे। उनी आउनु अगावै अफिस पुगेर म कागजपत्र तयार पार्दै थिएँ। गमगढीको रोकाया होटलमा चना र अन्डाको नास्तापछि दुवै जनाको यात्रा ओरालोबाट थालनी भयो। गमगढीबाट बेसीतिर देखिने मुगु र कर्णाली ‘तैँती नै हो’ जस्तो लाग्छ।
वास्तविकता; त्यहाँ पुग्नु गमगढीबाट देखिने दृष्टिभ्रम मात्रै हो। समथर भूमि दाङमा जन्मिएर हुर्किएको म भुइँमान्छेलाई उकालो ओरालो असाध्यै गाह्रो। विशेष गरेर ओरालो झर्नु मेरा लागि हिमाल चढ्नु बराबर हो भन्दा फरक नपर्ला। त्यसैले होला म ओरालो बिस्तारै झर्न थालेँ। दानसिङलाई म सँगसँगै हिँड्न कर लाग्यो। दानसिङ स्थानीय, उकाली–ओराली त उनका बालसखा नै हुन्। तैपनि उनलाई मेरै गतिमा हिँड्न करै लाग्यो।
झन्डै पैंतालीस मिनेट हिँडेपछि कर्णालीको पुल टेक्यौँ। पन्ध्र–बिस मिनेटमै पुगिन्छ जस्तो लाग्थ्यो देखिनेबेला गमगढीबाट तर पैतालिस मिनेट लाग्यो।
कर्णालीको पुलपारि रुघा गाविस पर्दोरहेछ। झन्डै पाँच घण्टा हिँडेपछि मध्याह्नको बाह्र बजेतिर सोरु गाविसको पाल्तीखाल भन्ने ठाउँमा पुग्यौँ। दानसिङले पाल्तीखालमै खाना खाने अनुरोध गरे। बेला पनि भएकाले त्यसै गर्ने निधो भयो। पाल्तीखालमा खाना नखाए लामो यात्रापछि मात्रै खाना खान पाइने कुरा दानसिङले भने। शरीर थाकेको बेला र पेटले आहार खोजेको बेला ‘खानापथ’ बाटो कले कुदोस्? होमस्टे जस्तै देखिने एउटा होटलमा छिर्यौँ र खानाको अर्डर गर्यौं। दानसिङले सोधे, 'लोकल भाले खाने हो सर!' 'ज्यान थाकेर लखतरान परेको छ, हिँडेर शरीर गलेको छ, कर्णालीको चिसो मौसमले च्यालेन्ज गरेको बेला पनि सोध्ने कुरा हो यार!' खिस्स हाँस्दै जबाफ दिएपछि दानसिङले कुरो बुझिहाले।
कर्णालीको चिसो मौसममा पनि ठाडो घाँटी लगाएर घट्घट् एक अम्खोरा पानी पिएँ। बल्ल शरीरले राहत महसुस गर्यो। त्यसपछि हात मुख धोएर अगेना छेउमै बसेँ। मौसम चिसोको त्यसैमाथि कर्णालीको सिरेटो। जाडो खेप्नै नसक्ने म बाह्रमासेले अगेना नखोज्ने कुरै भएन।
म सानैदेखि खटरपटर गरिरहने स्वभावको मान्छे हुँ। अगेना छेउमा शान्त भएर बस्नै सकिनँ। के गरौँ गरौँ भयो। होटलवाला दाइसँग कुरा नगरी बस्नै सकिनँ। दाइले कर्णालीको दुःखका कुन्तुरभित्रका गाँठो फुकाउन सुरू गरे। पिर मर्काका, पीडाभित्रका पनि पीडाका कुरा गरे। पाल्तीखालपारि देखिने भिर अनि डिड्या (तुइन) का कथाव्यथा सुनाउन थाले। जिमा गाविसको सिपको पीडा पोखे। सिपका स्थानीयलाई खोला तर्न डिड्या नचढी सुखै रहेनछ। डिड्या पुरानो भइसकेकाले विद्यार्थी भाइबहिनीहरू दिनहुुँ जोखिमपूर्ण डिड्या यात्रा गर्न बाध्य रहेछन्। पाँच कक्षा उत्तीर्ण भएपछि निमावि र मावि अध्ययनका लागि अर्को गाविस कालै भन्ने ठाउँ टेक्नु पर्दोरहेछ।
जोखिमपूर्ण डिड्या नतरेर सजिलो र सहज झोलुङ्गेबाट खोला तर्न घण्टा बेसी यात्रा तय गर्नु पर्दोरहेछ। उकाली–ओरालीको टाढाको यात्रा गर्नुभन्दा नजिकैको जोखिमपूर्ण डिड्याबाटै ओहोरदोहोर गर्नु विद्यार्थी भाइबहिनीलाई सहज हुने होटलवाला दाइले भने।
डिड्या नजिकै झोलुङ्गे पुल नबनाउन खोजेको कहाँ हो र? झोलुङ्गे पुलकै लागि भनेर ल्याइएका निर्माण सामग्री तीन वर्षदेखि थुप्रो बनेका रहेछन्। झोलुङ्गे पुल नबन्नुको कारण ठेकेदार र गाविस बीचको कुरा नमिल्नु रहेछ। जसका कारण योजना नै बन्द भएको रहेछ। कारण सरोकारवालाको बेइमानी, सास्ती स्थानीयले भोग्नु परेको रहेछ।
कहालीलाग्दो कहानी दाइले सुनाएपछि कसको मन नरोला! दाइको पीडा सुनेर म एकछिन भावुक भएँ। पहाडका अलि पर कुना कन्दारसम्म नजर डुलाएँ, केही बोल्न सकिनँ। साँच्चिकै ती दाइले कर्णालीको यथार्थ कथा बोले। कर्णालीको वास्तविक व्यथा खोले। सुन्नुशिवाय मसँग कुनै ओख्तो थिएन, जसले कर्णालीको घाउलाई राहत मिलोस्। मनमनै कुरा खेलिरहे, 'अबको दुई/तीन घण्टापछि हामीलाई पनि त्यही डिड्या तर्नुपर्छ। घण्टा बढी यात्रा तय गर्ने कि, जोखिम मोलेर डिड्या?' होटलवाला दाइले 'लौ भाइ! खाना खाऔँ' भनेपछि म ‘खङ्ग्रिङ्ग!’ भएँ।
पाल्तीखालमा खाना खाएर एकछिन आराम गर्यौँ। थकान मेटियो। भोक मेटियो। कर्णालीको चिसोले ज्यान चङ्गा भयो, अब उड्नलाई तयार। दुई बज्नै आँट्याथ्यो, सायद।
'अब बिस्तारै हिँड्नुपर्छ सर! करिब करिब तीन घण्टा हिँडेपछि तारापानी पुग्छौँ। आजको हाम्रो यात्रा त्यहीँ नै रोकिन्छ,' दानसिङले भने।
पाल्तीखालको साहुजीलाई फेरि भेटौँला भनेर तारापती भेट्ने गन्तव्य थाल्यौँ।
बाटोमा मलाई राजकुमार दिक्पाललाई जस्तै प्रश्न सोधे दानसिङले, 'जोखिम मोलेर छोटो बाटो जाने कि, सजिलो तर लामो बाटो जाने?,' 'जोखिमै मोलेर भए पनि डिड्या तरेरै जाने' हिम्मतै गरेर बोलेँ।
शरीर थाकेर होला, मनले लामो यात्रा गर्न मानेन। झोलुङ्गे पुलका निर्माण सामग्रीको थुप्रोमा नजरसम्म डुलाउन भ्याएँ। निर्माण सामग्रीका थुप्रोले होटलवाला दाइको कथाभित्रको पात्र डिड्यालाई प्रमाणित गर्यो पनि।
अढाइ घण्टा हिँडेपछि डिड्या तर्ने ठाउँसम्म त पुग्यौँ तर तरौँ कसरी? मनमा डरको घर बन्दै थियो। विद्यालय छुट्टी हुने बेला भएकाले होला विद्यार्थी भाइबहिनीहरू डिड्या तर्ने तरखरमा थिए। म नियालिरहेको थिएँ। डिड्यामा झुन्डिएका विद्यार्थी भाइबहिनीहरूलाई देखेपछि मनमा अनेकन कुरा खेल्न थाले।
साँच्चिकै देशमा पिछडिएकाको पीडा बोलिदिने कोही नभएको हो जस्तो अनुभूति भयो। जनताले नेता छान्छन् तर नेताले जनताको दुःख, पीडामा सजिलै नजरअन्दाज गरिदिन्छन्। यो डिड्या त एउटा उदाहरण मात्र थियो। जुन न केन्द्र न स्थानीय कुनै सरकारको नजरमा पर्न सकेन। अझ भनौँ त्यो डिड्यासँगै झुन्डिएका स्थानीयको पीडा कसैले बुझेन। अबोध ती भाइबहिनीहरूले दिनहुुँ ज्यानको बाजी थापेर भोलिको उज्यालो खोजिरहेछन्। उनीहरूप्रति सहानुभूति र भोलिको उज्यालोका लागि शुभकामना दिनुशिवाय मसँग अरूथोक केही भएन। ती भाइबहिनीले डिड्या तर्दासम्म त म वारि डिलमा उभिएर डिड्यामाथि दर्शन थोपर्दै थिएँ, अब पालो आउनेवाला छ। 'हिम्मत गर केटा हिम्मत, पार गरे रुघा, नत्र लु जा,' मनले यस्तो पनि सोचिरहेको थियो।
मनमा डरको भारी कसेर, शङ्का उपशङ्काका पहाड बोकेर हामी पनि डिड्या पार गर्ने हिम्मत जुटायौँ। तिनै विद्यार्थी भाइबहिनीले सहयोग गरे।
'शरीरले हंश (आत्मा) छोड्याथ्यो। पापी मन न हो, सधैँ उल्टो सोच्छ।' आखिरि डिड्या तर्यौं। फर्किँदा पुनः डिड्या यात्रा गर्न हिम्मत नजुट्ला जस्तो लागेर 'बरू लामो यात्रा गर्ने, झोलुङ्गे पुलबाटै फर्कने तर डिड्या नतर्ने दानसिङ्जी,' मैले भने।
उनलाई पनि डिड्याले झस्कायो क्यार! 'हस्' मात्रै भने।
मुगुका भिर, पाखा, पखेरा अनि नदीसँग पैंठेजोरी खेल्दै पहिलो दिन तय गरिएको गन्तव्यमा पुग्यौँ। ठ्याक्कै पाँच बजे रारा गाविसको तारापानी पुग्यौँ।
भोक र थकान दुवै लागेकाले हाम्रो पहिलो काम खाना खाने भयो। एक जना दाइले सुत्ने कोठा देखाइदिए। ती दाइलाई शुभरात्रि भन्यौँ अनि छपक्कै सुत्यौँ।
बिहानै चार बजे भाले बास्यो। दाइको भालेले निद्रा खल्बल्यायो। आँखा खुल्नै मानेन, झपक्क हुँदै थिएँ अर्कोपटक भाले बास्यो। अब भने निद्रा पूरै खुल्यो। दानसिङ मस्त निद्रामै थिए। मैले उनलाई उठाइनँ। झोलामा किताब थियो, किताबको एकपृष्ठ बढी नसक्दै सोलार बत्ती झिपिक्क झिपिक्क गर्दै झ्याप्पै भयो। हिजो दिउँसो आकाश खुला थिएन, घाम नलागेकाले सायद सोलार चार्ज हुन पाएन। किताबै पढ्न पाइनँ। के गर्नु अब, फेरि विस्तरामै पल्टिएँ। यस पटक भने भाले बासेन या मैले सुनेन, भुसुक्कै निदाएछु। ब्युझिँदा घडीले बिहानीको सात टेक्दै थियो। दानसिङ उठिसकेका रहेछन्। उनले मलाई उठाएनछन्, सायद पैँचो तिरे। दानसिङ र होटलवाला दाइ गफिँदै चिया पिउँदै थिए। दाइले मेरो लागि पनि चिया पकाएका रहेछन्। चियाको चुस्कीसँगै फ्रेस भएँ। घडीको सुइँले सातको नेटो काटेर मिनेटले तीसमा टक्दै थियो। दाइलाई फर्किँदा भेट्ने वाचा गर्दै तारापानी छोड्यौँ।
करिब दुई घण्टाको यात्रापछि कालै गाविस पुग्यौँ। किर्डाक नेपालको कालैमा क्लस्टर अफिस थियो। समय छोटो, बाटो लामो भएकाले फर्किँदा कालै पस्ने योजनामा रह्यो। बाटोमै सानो चिया पसल रहेछ। कालैमा कालै चिया, कालै मरिच हालेर पिउन मन लाग्यो। बिस्तारै चिसोले बाजी मार्दै थियो। चियाले थोरै भए पनि शरीर न्यानो भएपछि धैनकोटको लागि यात्रा जारी राख्यौँ। अब सुरू भयो, घोडेटो बाटो। घोडेटो छेउछाउमा बाटैभरि सिस्नोका झाङ रहेछन्। सक्दो लौरोले पन्छाएर हिँड्ने प्रयास गर्यौँ तैपनि ‘च्वास्स चुस्स!’ चिलिहाल्थ्यो। सिस्नोले चिलेको ठाउँ घन्टौँ झमझम भइरहन्थ्यो। सिस्नोले चिलेपछि कस्तो हुन्छ सायदै कसैलाई थाहा होला!
कालैबाट करिब दुई घण्टा हिँडेपछि खनाया भन्ने ठाउँमा पुग्यौँ। खनाया पुग्दा नपुग्दै बाटोमै दुई/चार वटा होटल रहेछन्। रैथाने खानाको स्वाद चाख्ने दुवैको सल्लाह भयो। चोतोको अचार, सिमीको दाल अनि मार्सीको रातो भात भनेपछि कसको मन नलोभिएला र! थाकेको ज्यान अनि भोकाएको पेटले मार्सीको रातो भात खुबै खिच्यो। दबाएरै खाइयो। करिब करिब धैनकोटको काख टेक्नै लागेका थियौँ। अबको तीन/चार घण्टा हिँडे धैनकोट अँगाल्ने दानसिङले जानकारी गराए। आधा घण्टा आराम गर्यौँ। मार्सीले पेटमा गाँज हालेपछि खनायाबाट पुनः धैनकोटका लागि यत्रा थाल्यौँ।
बाटोमा जो बटुवा भेटिए पनि कम्तीमा दुई मिनेट कुरा नगरी सुखै भएन। कहाँबाट आएको ? कहाँ जान लागेको ? कहिले घर फर्कने ? किन जान लागेको? मेरा प्रश्न सायद यस्तै थिए। यिनै प्रश्नका उत्तरले बटुवाका मन र धैनकोटसम्मको बाटो बुझ्न सजिलो भयो। दानसिङ मेरा प्रश्न र ती स्थानीय बटुवाका उत्तर सुनेर मुसुमुसु हाँस्थे। कतिपयले मेरा प्रश्न बुझ्दैन्थे त कतिको उत्तर मैले भेउ पाउँदैनथेँ। यस्तो हुनुको प्रमुख दोष भाषाको थियो, हामी बटुवाको होइन। स्थानीय भाषा मैले नबुझ्ने अनि मेरो दङाली भाषा स्थानीयले नबुझ्ने। दानसिङ धेरै पटक दोभाषे बनेर सहजकर्ता बनेका थिए। उकालो बाटो काट्ने सजिलो उपाय पनि थियो, बटुवासँगका भलाकुसारी । क्षणभरलाई भए पनि बिसौना बन्थ्यो भाषा अनि थकान थोरै भए पनि कम हुन्थ्यो ।
अब भने झमक्कै साँझ पर्यो। धैनकोट पारिको डाँडाले सूर्यलाई ओझेल पार्यो। हामी माथिल्लो धैनकोटको हितबाडा पुग्यौँ। धैनकोट गाविसका सामाजिक परिचालक भाइ धनराज शाहीले हामीलाई कुरेर बसेका रहेछन्। बाटोमै भेट भयो। भेट हुने बित्तिकै कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको जानकारी गराउन बाटोमै भ्याए। धनराज भाइले साँझको खाना र बस्ने व्यवस्था आफ्नै घरमा गरेका रहेछन्। धैनकोटमा पनि किर्डाक क्लस्टर अफिस थियो तर भाइले आफ्नै घरमा बस्ने आतिथ्यपूर्ण अनुरोध गरेपछि मैले अस्वीकार गरिनँ। धनराज भाइकै घरमा बस्यौँ। शरीर थाकेकाले अबेरसम्म बस्न सकिनँ। साँझको खानापछि म सुतिहालेँ। दानसिङ र धनराज गफिँदै थिए।
आँखा खुल्दा त घाम हुम्लापारि श्रीनगर पुगिसकेको रहेछ। बिहानै धैनकोटबाट वरपर अलि परसम्म नजर बिछ्याएँ, कर्णाली छङछङ बग्दै थियो। भ्याएसम्मका दृश्य आँखामै कैद गरेँ। जहाँसम्म दृष्टि पुग्यो, त्यहाँसम्मका नजाराले म मोहित भएँ। प्राकृतिक यत्तिको सुन्दरता त मैले सिनेमामा पनि देखेको थिएनँ।
आँखाले प्रत्यक्ष हेर्न पाउँदा मन पुलकित हुँदोरहेछ। बडा आनन्द आउँदो रहेछ। साँच्चिकै कर्णाली त्यत्तिकै सुन्दर कर्णाली होइन रहेछ। जहाँ हेर्यो त्यहीँ सुन्दर, कर्णाली। पलक नझिम्क्याइ हेरिरहुँ लाग्ने ती सुन्दर दृश्यहरू। धनराज भाइले 'चिया पिऔँ सर' भनेपछि सायद मेरो पलक झप्कियो।
चिया पिउँदै गर्दा 'अब कार्यक्रमका लागि निस्कनु पर्छ सर! कार्यक्रम गाउँको बिचमा गर्ने भएका छौँ,' भाइले भने।
चिया पिइसकेपछि धनराज भाइको पछि–पछि लागेँ, कार्यक्रमस्थलतर्फ।
कार्यक्रममा सहभागी भाइबहिनीहरू उत्साहित देखिन्थे। उपस्थिति पनि बाक्लै थियो। केही अभिभावकको पनि उपस्थिति थियो। कार्यक्रम सुरू भयो। सुन्तला शाहीको अध्यक्षतामा ११ सदस्यीय बालक्लब गठन गर्यौं। कार्यक्रममा बाल क्लबको काम, कर्तव्य र अधिकारबारे मैले भाइबहिनीहरूलाई प्रशिक्षण गरेँ। कार्यक्रममा उपस्थित भएकी तर बाल क्लबमा समावेश नभएकी एक जना बहिनी मेरो नजरमा परिन्। अलि मलिन अनुहार थियो, उनको। उनी बाल क्लबको सदस्य बस्न मानिनन्। हामीले धेरै अनुरोध गर्दा पनि मान्दै मानिनन्। मनमा उत्सुकता जाग्यो। कारण जान्न मन लाग्यो उनी क्लबमा सामेल हुन नचाहेको।
– 'तिम्रो नाम के हो ?'
– 'मनपुरा',
– 'यो त आधा नाम मात्रै भयो, पूरा नाम भन न बैनी'
– 'मनपुरा शाही' उनले पूरा नाम भनिन्।
घरमा काम छ भनेर उनी कार्यक्रमबाट निस्किहालिन्। कार्यक्रम सकियो। सबै आआफ्नो घरतिर लागे। मेरो मनमा चाहिँ मनपुरा खेलिरहिन्। आजको साँझको खाना खाने निम्तो मनपुराले पठाएको कुरा धनराज भाइले जनाउ दिए। कतिबेला साँझ पर्ला भनेर मन आत्तियो। मनपुरा क्लबमा नबस्नुको कौतुहलता मेट्नु थियो मलाई। मनपुराको मलिन अनुहारभित्र लुकेका कथा सुन्नु थियो मलाई। चञ्चले बाल अनुहारमा छाएको मौनताको कारण जान्नु थियो।
साँझ पर्नै लाग्दा धनराजले मनपुराको घरसम्म लगिपुर्याए। दानसिङ पनि मसँगै गए। सुरूमा हामीसँग लाज माने झैँ, अलि डराए झैँ, उस्तै मलिन अनुहार लिएर उपस्थित भइन्, मनपुरा।
गमगढीबाट मनपुराकी दिदी पनि गाउँ आएकी रहिछन्। मनपुराकी दिदीले खाना पस्किन सहयोग गरिन्, मनपुरालाई। मलाई खनाको भन्दा बेसी चिन्ता मनपुराको मलिन अनुहारको थियो। मलाई मनपुरासँग कुरा गर्नु थियो। मलिन मनपुराले बनाएको चोतोको अचारले मन उज्यालो बनायो। कति मिठो अचार बनाएको। खाना खाइसकेर दिदिबहिनीले भान्सा स्याहार्न लागे। कामधन्दा सकेर दिदीबहिनी हामी बसेकै ठाउँमा आएर बसे।
– 'कति मिठो अचार बनाएको मनपुरा तिमीले,' कुरा अचारबाटै सुरू गरेँ तर मनपुरा बोलिनन्।
– 'तिमी बाल क्लबको समितिमा किन नबसेको मनपुरा?,'
– 'घरकै काम भ्याइनभ्याई हुन्छ सर कसरी बस्नु समितिमा?'
– 'मनपुरा एक्लै छ, घरमा। त्यसैले बाहिर कहीँकतै जाँदिन। उसले आफ्ना सबै रहर मारेकी छे। बालपनमै घरको जिम्मेवारी सम्हालेकी छ। उसलाई बालापन थाहै भएन,' मनपुराकी दिदीले भनिन्। यतिबेलासम्म मनपुराका आँखाले बालापनका पीडाबोध गराउँदै थिए।
मनपुरा तीन वर्षकी हुँदाखेरी बा र आमा बितेका रहेछन्। मनपुराका बा नेपाल प्रहरी हुँदाखेरि गाविस अध्यक्ष बनाउने भनेर गाउँका मान्छेले जागिर छोड्न उक्साएछन्। त्यसपछि नेपाल प्रहरीको जागिर मनपुराका बाले छोडेका रहेछन्। मनपुराका अनुसार बाको प्रगति देख्न नचाहेकाहरूले गरेको राजनीति रहेछ, त्यो। जागिर छुटेपछि टिकट पनि दिएनछ पार्टीले। चुनावमा अरू नै उठे तर मनपुराका बा कहिल्यै नउठ्ने गरी बसेछन्। बा बिरामी परेर थला परे, आखिरीमा बितेछन्। पितृशोकको पीडा मनपुरालाई थोरै देखेछन् क्यार दैवले अर्को बज्रपात थपेछन्। बा बितेको चार दिन नबित्दै आमाको पनि स्वर्गबास भएछ। मनपुरा र उनकी दिदीको खुसी जति सबै त्यसरी लुटिएको रहेछ।
– 'हाम्रो घर उजाडियो सर! हामी तीन बहिनी टुहुरा भयौँ' आँसु पुछ्दै मनपुराकी दिदीले भनिन्।
मेरा पनि आँसु रोकिएनन्। मनपुरा सँगसँगै मेरा पनि आँसु बगे। मेरा स्वर कापे, अब भने मैले प्रश्न गर्न सकिनँ। म स्तब्ध भएँ। धेरैबेर त्यहाँ मौनता छायो।
मनपुरालाई भेट्न उनकी दिदी गाउँ आएकी रहिछन्। तीन दिदीबहिनीमध्ये मनपुरा कान्छी रहिछन्। मनपुरा अब बाह्र वर्ष हुँदै गर्दा दुबै दिदीको बिहे भइसकेको रहेछ। दुबै दिदीबहिनीले मनपुरालाई आफूसँगै लैजाने भनेका रहेछन् तर मनपुराले घर छोड्न मानिनछिन्।
मनपुराले आफ्नो जन्मघर रित्तो बनाउन मनले नमानेकोसम्म भनिन्। बाआमा भौतिक रूपमा नभए पनि बाआमाको नासो घरको माया मार्न नसक्ने बताइन्। सबैले बालापनमै छोडेर गए मनपुरालाई। त्यसैले होला सगोल, समूह भन्ने हेक्कासम्म भएन कि उनलाई। मनपुरालाई समूह, जमात मनै पर्दैन रहेछ। एउटा कारण त्यो पनि रहेछ बाल क्लबको समितिमा नबस्नुको। अर्को कारण घरव्यवहार र काम चाप। एक्लैले घर सम्हालेर पनि पढाइलाई निरन्तरता दिएकी थिइन् मनपुराले। कति राम्रो है!
बालामानसले हामीलाई गरेको त्यो आतिथ्यता। पवित्र बालहृदयले स्वागत गरेर एक छाक प्रसाद भन्छु म, कति चोखो। यो भन्दा धेरै शब्द नै छैनन् मसँग मनपुराको तारिफका लागि, सम्मानका लागि।
'यति मिठो खाना ख्वायौ, तिमीलाई धेरै धेरै धन्यवाद! जसै अप्ठ्यारो परे पनि पढाइ चाहिँ नछोड् है मनपुरा' मैले यत्ति भनेँ।
भोलि बिहान मनपुरा र उनकी दिदी पनि गमगढी जाँदै रहेछन्।
'भोलि हामीलाई कालै जानुछ। समय मिलेछ भने बाटोमै भटौँला अनि गमगढी सँगै जाऔँला है,' मैले मनपुरालाई भनेँ।
मनपुरा र दिदीसँग बिदा मागेर धनराजको घर फर्कियौँ।
समयले नेटो काट्यो। कर्णालीसँग मेरो बाटो फाट्यो। मनपुरा कहाँ छिन् होला? मनपुरालाई बेलाबखत सम्झिन्छु। मनपुरा अब त ‘ठूली’ भइन् होला। कति पढिन् या पढिनन्। उतै कर्णालीमा भुलिन् कि कहाँ छिन्? कहिलेकाहीँ यसै मन कर्णाली छेउको गाउँ धैनकोट पुग्छ अनि मनपुराको घरसम्म। उही कोठामा बस्छ अनि मनपुराले बनाएको चोतोको अचार खान्छ। मनपुराको अनुहारसम्म सम्झन्छ अनि उसैगरी निराश भएर अमेरिकाको व्यस्त जीवन शैलीमा नै फर्कन्छ। मन अमिलिन्छ।
***