काठमाडौंदेखि ११७ किलोमिटरको दूरीमा रहेको रसुवाको सदरमुकाम धुन्चेतिरको यात्रा यसपालि अल्लगै अनि बेग्लै रह्यो।
चिसो मौसमसँगै हिउँदको समयमा भव्य रुपमा देखिने हिमश्रृंखलासँग मित्रता गाँस्न काठमाडौं फरेष्ट्री कलेज प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण विकास स्नात्तकोतर तहमा अध्ययनरत म लगायत १७ जनासँगै डा. सुरज शर्मा र प्रसिद्ध कँडेल सरहरूको टोली विषयगत क्षेत्रमा फिल्ड स्तरीय ज्ञान, सीप र दक्षता विकासका लागि अघि बढिरहेका थियौं।
ग्रामीण पर्यापर्यटन प्रवर्द्धन, ग्रामीण तहमा घरेलु उद्योग विकास, हिमाली तथा पहाडी क्षेत्रमा विपद जोखिम व्यवस्थापन लगायतका विषयसँग सम्बन्धित क्षेत्रहरूको अध्ययन अवलोकन भ्रमण गर्दै जाने क्रममा एउटा अविस्मरणीय पदयात्राको माहोल सिर्जना भयो।
गोसाईंकुण्ड गाउँपालिका-५ मा अवस्थित अति रमणीय पर्यटकीय क्षेत्र तथा प्राकृतिक हिसाबले ज्यादै धनी र धार्मिक महत्व बोकेको पर्यटकीय गन्तव्य तथा स्वर्गको एक टुक्राको नाम हो, गोसाईंकुण्ड।
गोसाईंकुण्ड ताल हिमाली भागको अल्पाइन क्षेत्रमा ताजा पानीको ताल हो। जुन करिब ६०० मिटर लम्बाईसँगै ३७० मिटर चोडाइमा फैलिएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र ४३८० मिटरको उचाइमा रहेर रामसार क्षेत्रमा सूचीकृत यस तालको वरिपरि अन्य थुप्रै कुण्डहरू छन्। जस्तै सरस्वती कुण्ड, भैरव कुण्ड, सूर्य कुण्ड, रक्ताकुण्ड, चन्द्रकुण्ड, आमकुण्ड र दूध कुण्ड ।
हिन्दु पौराणिक कथनअनुसार गोसाईंकुण्ड क्षेत्र हिन्दु देवता शिव र देवी पार्वतीको बास स्थानका रूपमा रहेको कुरा चित्रण गरिएको छ।
विभिन्न हिन्दु धर्मशास्त्रहरूले समुद्र मन्थन गर्दा निस्किएको विषपान भगवान भोलेनाथले गरिसकेपछि आफ्नो जलिरहेको घाटीलाई शीतलताका लागि पानी निकाल्न पहाडमा त्रिशूल खसाल्दा यो तालको उत्पति भएको धार्मिक विश्वास गरिन्छ ।
हिन्दु धर्मालम्बीहरू जस्तै बौद्ध धर्मावलम्बीका लागि पनि यो ताल विशेष महत्व राख्ने हाम्रा पथ प्रदर्शक नीर बहादुर तामाङले यात्राका क्रममा बताए।
उनका अनुसार तामाङ समुदायका दिवंगत व्यक्तिको श्रद्धाभावका लागि यो पवित्र तालको भम्रण गर्ने र उनीहरूको भलाइको कामना गर्ने गर्छन्।
धार्मिक सहिष्णुताको महत्वसँगै ऐतिहासिक पृष्ठभूमिको बारेमा यो क्षेत्रको चर्चा गर्दा एगंलो नेपाल युद्धको बेला पश्चिमी मोर्चाका नेपाली सेनापति अमरसिंह थापा गोसाईंकुण्डको यात्रामा गएका थिए र तीर्थयात्राको क्रममा अन्तिम सास यहीँ लिएका थिए।
आज उहाँको देशभक्तिको सम्मान र सम्झनामा समेत गोसाईंकुण्डको महिमा अझ अपार छ।
साहसिक पदयात्रामा हुने सुविधा मौसम अनि मानिसहरूमा भरपर्ने रहेछ। छिनछिनमा परिवर्तन हुने घाम सँगैको तुवालो अनि बीच बीचमा हँसाइरहने साथीहरूको रमाइलो टिमले बाटो कटेको पत्तै नहुने रहेछ।
धुन्चेदेखि भार्कु १ घण्टासम्म बसको यात्रापछि फेरि करिब २ घण्टा उकालो तेर्सो बाटो हुँदै स्यार्फुंबेसीको शक्तिवर्द्धक २ गिलास जडीबुटीवाला चियाको स्वाद चाखियो।
त्यसपछि चन्दनबारीको उकालो चढ्दै गर्दा २ घण्टा जतिको टुटेफुटेको अंग्रेजी संवाद, झमम्कै रात पर्दा पनि साथ दिएको जुनेली रात, साथीभाइ बीचको एक अर्कालाई गर्ने सहयोगी परिपाटी, साहस र ऊर्जावर्द्धक कथाको समीश्रण हुँदै जाँदा जतिसुकै कठिन यात्रा पनि सहज बन्दो रहेछ।
चन्दनबारीमा रहेको ऐतिहासिक मठ जसलाई स्थानीयले सिंह गोम्पा भनेर चिनाएपछि त्यहीँ रहेको होटल रेड पाण्डा एण्ड लजमा जर्मन प्रविधिद्वारा निर्मित आगो ताप्ने औजारको उपयोगसँगै न्यानो बसाइपश्चात बिहानैको यात्रा शपथ ग्रहण समारोह जसमा हामी सबैको उत्कृष्ट गोसाईंकुण्डको यात्राको अभिलाषा व्यक्त गरियो।
जस्तोसुकै अवस्थामा पनि स्वःस्फूर्त स्वेच्छिक तवरले अगाडि बढ्न सक्षम र सबल छौं भन्दाको ऊर्जाले सामूहिक हौसला र साहस प्रतिविम्बित गरेको थियो।
हलिउड प्रसिद्ध अभिनेता लिओनार्दो डिकारपियोको द रेभन्नटको छायाँकन गरिएको जस्तो आभाष हुने हिउँ बीचको घना जंगलदेखि लौरीबिनासम्मको उकालो कटाउन आत्मविश्वास बढाएको थियो।
चन्दनबारीबाट करिब साढे ३ घण्टाको उकालोपश्चात् ३९०० मिटरको उचाइमा रहेको लौरी बिनास्थित होटल माउन्ट रेस्टमा आराम गर्यौं।
यहीँ बेला कैद गरिएका फोटो र भिडिओसँगै शिव भक्तबाबाको मन्त्र ज्ञानले गोसाईंकुण्डसँगको मिलनमा प्राकृतिक तथा आध्यामिक तवरले आकर्षित गराइएको आभाष हुन्थ्यो।
हिमाली जडीबुटी पदमचालको अचारसँग थपीथपी खाना खाइसकेपछि गन्तव्यतिर अघि बढ्यौं।
लगातार उकालोले बीच बीचमा सुस्ताउँदै २ फिटसम्म जमेको हिउँमा पाइला चाल्दै गर्दा लाग्थ्यो कि, हामी कुनै हिमश्रृंखलाको यात्रामा अगाडि बढिरहेका छौं।
खुट्टाका पैतालामा कठोर चाप पर्दापर्दै मुटुको धड्कन तेज गतिमा बढ्दै थियो। अनि चिसो सिरेटोले शिरलाई पीडा दिँदादिँदै मनमस्तिष्कमा एक किसिमको छुट्टै तरंग जसका अगाडि सबै पीडा थकाइहरू फिक्का पर्दा रहेछन्।
प्रकृति नै यस्तो अपार अनि अनुपम चिज रहेछ जसले हरेक प्राणीको जीवनलाई आमाले आफ्नो सन्तानको सुरक्षा गरेजस्तै गर्दो रहेछ।
पदयात्रामा हिड्दै गर्दा बाटोमा भेटिने पदयात्रीले ‘ल अब आइपुग्नै लाग्यो है अलिक बल गर्नुहोस्’ भन्दा र सँगैका साथीले होस्टेमा हैसे गर्दा मनमा आत्मविश्वासको तह झन झन बढ्दै जाने रहेछ।
देउराली, ढिम्सा, चन्दनबारी, चोलाङ्घपाटी, लौरी बिना र बुद्ध मन्दिर जस्ता सुन्दर स्टेशनलाई थकाई मार्ने स्थलका रुपमा प्रयोग गर्न सकिँदो रहेछ। जति उकालो चढ्दै गयो त्यति थकान महशुस हुन्छ। तर मन भने थकान भन्दा धेरै गुणाले चङ्गाझै फुरूङ्ग बन्दो रहेछ।
पल्लो डाँडापारि देखिने गणेश हिमालले सबै थकान र पीडा भुलाइदिन्छ।
निरन्तरको ठाडो उकालो छिचोलेपछि भेटिने बुद्ध मन्दिरमा थकाइ मारेपछि केही राहतको अनुभूति महशुस हुँदोरहेछ। त्यसपछिको करिब दुई घण्टाको यात्रा भने उकालो नभएर रेलिङको सहारामा तेर्सो छ। तर सो खण्डमा जोखिम भने अलि बढी नै उठाउनुपर्दो रहेछ।
माथि नाकै ठोक्किने भीर र तल त्रिशूली नदीको जोखिम मोल्दै हिउँमा गाडिएका पाइला चलाउँदै गोसाईंकुण्ड पुगेपछि जो कोहीले सबै गाह्रो बिर्संदा रहेछन्।
कुण्डमा हिउँका ढिक्काहरू सँग खेल्दै वरिपरिका हिमालहरूसँगको मितेरीले मेटिने थकान र आन्नदले मानिसलाई जिउँदै स्वर्ग पुगेको अनुभूति दिलाँउदो रहेछ।
मध्य पूर्वको हिमाली क्षेत्रमा रहेको यो ठाँउको अवस्थाले धेरै कुरा सिकाएको छ। जस्तोसुकै भौगालिक विकटताका बीच पनि आफनो ठाँउ आफैं बनाऔं आफैं चिनाऔं भन्ने ध्येयका साथ सामुहिक तरिकाले होमस्टेहरु १० देखि १५ दिनसम्म एक परिवारले चलाउने व्यवस्था मिलाईएको हुनेरहेछ।
विभिन्न प्रजातिको गुराँसको फुलसँगै लौठ सल्लाको जंगलमा दुर्लभ वन्यजन्तुहरु जस्तै रेड पाण्डा, कस्तुरी मृग र चराहरुको बासस्थान संरक्षणले धेरै महत्व झल्काएको छ। हिमालय क्षेत्रमा कृषि क्रियाकलाप, चौरीपालन र चीज उद्योग, जडीबुटी र लौठ सल्लाको उपयोगका बारेमा बुझ्न सकिन्छ।
पदयात्रा गर्दे गर्दा तामाङ समुदायको धेरै बस्तीहरु हुँदै जान्छ जोसँग उहाँहरूको विशिष्ट परम्परा र संस्कृति छ। तामाड समुदायको रहनसहन, परमपरागत सीपका बारेमा पदयात्रीले स्वतन्त्ररूपमा स्थानीयसँग कुरा गर्न सक्छन्। उहाँहरुको पाकृतिक जीवन, सामुदायिक आत्मीयता र संस्कृतिबाट धेरै कुरा सिक्न सक्छन्।
प्राकृतिक सँगै आध्यात्मिक तिर्खा मेट्न साहसिक खोजीदेखि ईतिहास लिन गोसाईकुण्डको यात्राले तपाईँका सबै अपेक्षा पुरा गर्नेछ।
गोसाईंकुण्डको यात्रा गर्ने निर्णय गर्नुअघि शारीरिक र मानसिक रूपमा तयार रहनुहोस्। यो उच्च उचाइको पदयात्रा हो र यसका लागि पथ प्रदर्शकसँगै सुरूमा ढिलो हिँड्ने सल्लाह दिइन्छ।
जब तपाईं बिस्तारै माथि जानुहुन्छ, अक्सिजन स्तर घट्दछ त्यसैले रणनीतिक हिँड्नुहोस्, ढिलो र स्थिर र आफैंलाई सास फेर्न समय दिनुहोस् अनि संयमताका साथ अगाडि बढनुहोस्।
मद्यपान र धुम्रपानको बिल्कुलै प्रयोग नगर्नुहोस् बरू लसुन र अदुवाको सेवनले तपाईंलाई उचाइबाट हुने अप्ठ्यारोलाई कम गर्न सहयोग पुर्याउँदो रहेछ।
फर्किंदा धुन्चेतिर ओरालो लाग्दै गर्दा हेर्न पाइने हरियो वन, वारिपारिका झरना र छङछङ बगेको त्रिशूलीको आवाज र बनस्पतिको सुगन्धले थकानयुक्त यात्रालाई स्वर्णिम बनाएको चालै पाइँदैन।
यदि तपाईं कुनै निडर प्रकारको प्रकृतिमा रमाउन चाहनुहुन्छ भने आउनुहोस् गोसाईंकुण्डको यात्रा तय गर्नुहोस्।
यो पदयात्रा केवल पदयात्राको लागि मात्र नगर्नुहोस्, पछाडि उभिनुहोस्, गुँरासको सुगन्ध लिनुहोस्, सेताम्मे हिमालहरू हेर्नुहोस् र ताजा हिमाली हावामा सास लिनुहोस् अनि फेरि अगाडि बढ्नुहोस्।
(लेखक काठमाडौं फरेष्ट्री कलेजमा स्नात्तकोतर तहमा अध्यनरत विद्यार्थी हुन्।)
हेर्नुहोस् केही तस्बिरहरू