हाम्रो भिक्टोरियाको यो यात्रा भने जम्मा दुई दिनको थियो अथवा मात्र एक रातको बास।
भिक्टोरिया यात्राको मुख्य मिसन घुम्ने थिएन तर पनि कम्तीमा भिक्टोरियाको केही स्पेसल दृश्यावलोकन गर्नु पर्दथ्यो नै। यो एक दिनको बसाइँ नेपालबाट धर्म पुत्रपुत्रीको रूपमा आएका बालबालिकाहरूसँगको भेटघाट मुख्य थियो।
२००९ मा तीन चार वर्षका भान्टाङ भुन्टुङ भेटेका यी नेपाली छोराछोरीहरू २०२५ मा पक्कै जवान भैसकेका थिए। हामी फेरीबाट ओर्लिएपछि लोकल बसमा गुगलको सहारामा भिक्टोरियाको डाउन टाउनमा ओर्लिऔं। सानो लगेजमात्र भएकोले पनि हामीलाई यो यात्रा सहज भएको थियो।
म मार्गेट पार्करसँग सम्पर्कमै थिएँ। उनले हामीलाई पिकअप गर्ने र होटलमा ड्रप गर्ने योजना थियो तर उनको केही कामको कारण आउन अलि ढिला हुने भयो। हामीले होटल नजिक भएकोले उनलाई कुर्नु भन्दा उबर लिएर होटलमा जाने निर्णय गर्यौं र उनलाई पिकअपको लागि नआउन जानकारी गरायौं।
झण्डै १५ मिनेटमा दिनको ३ बजे हामीले होटलमा चेक इन गर्न पुग्यौं। मैले तोकिएको समयमा नै भेटघाट स्थानमा आइपुग्ने जानकारी पार्करलाई गराइसकेको थिएँ।
हाम्रो भेटघाटको स्थान होटल नजिकै झण्डै ५ मिनेटको वाकिङ डिस्टेन्समा राखिएको थियो। हामीले मार्गेटकै सिफारिसमा भिक्टोरियाको धेरै पुरानो होटल रबीन हुट इन एण्ड सुइट्मा एकरात बस्ने भएका थियौं। १९६० देखि अनवरत सेवा गरिरहेको भिक्टोरियाको डाउन टाउनबाट जम्मा १० मिनेटमा आउन सकिने बस स्टेसन नजिक रहेको यो होटल एपार्टमेन्ट सहितको राम्रो होटल रहेछ। यो होटल विगतदेखि परिवारले नै चलाएका पारिवारिक होटल रहेछ।
-1758959653.jpeg)
भिक्टोरिया, क्यानडाको ब्रिटिस कोलम्बियाको राजधानी सहर, प्राकृतिक सुन्दरता, ऐतिहासिक धरोहर, र सांस्कृतिक विविधताको आकर्षक संयोजन भएको सहर। यो सहर शान्त, सफा र सुगठित थियो जसले आगन्तुकहरूलाई झन मनमोहक अनुभव दिँदो रहेछ।
भिक्टोरिया आउनेहरूको भिक्टोरियाको विश्वप्रसिद्ध बुचर्ट बगैँचा पहिलो भ्रमण गर्ने गन्तव्यको लिस्टमा पर्ने कुरा जब हामी होटलमा चेकिङ गर्दै गर्दा थाहा भयो। हुन त छोरी ज्वाइँले पहिला नै हाम्रो पनि भ्रमण लिस्टमा राखेका थिए। जहाँ लाखौं रंगीचंगी फूलहरू, हरियालीले भरिएको घुम्ने बाटोहरू, र सुन्दर पानीका फोहराहरूको मनोरम दृश्य स्वादन गर्न सकिन्छ।
अर्को इनर हार्बर जहाँ फेयरमोन्ट एम्प्रेस होटल र संसद भवन हेर्न सक्नुहुन्छ। यहाँबाट फेरी चढ्न सकिन्छ वा सागर किनारमा रमाइलो गर्न अति उत्तम सहर पनि।
भिक्टोरिया संसारको उत्कृष्ट ह्वेल हेर्ने गन्तव्यहरूमध्ये एक विशेष डुंगाको प्रयोग गरेर यहाँ ओरका, हम्पब्याक, र ग्रे ह्वेलजस्ता समुद्री जीवहरू हेर्न धेरै आगन्तुक आउँदा रहेछन्।
रॉयल बिसी संग्रहालय, फिसरम्यान्स व्हार्फ, बिकन हिल पार्क, ग्यालोपिङ गूज ट्रेल भिक्टोरियाको अन्य मुख्य गतिविधिभित्र पर्दछ।
मार्गेटले हामीलाई भेटघाटको समय ५ बजे साँझ ग्लो रेस्टुरेन्ट एण्ड लाउन्जमा राखेकी थिइन्।
यो पटकको भेटघाटमा कन्फर्म भएकोहरूमा किस्टेन, मारिया, शेरी, क्ले, अलिस, मिशेल र डेबी को नाम पठाएको थियो। मार्गेट सहित ९ जना छोराछोरी र उनीहरूको परिवारसँग भेट हुने भनिएको थियो।
ग्लो रेस्टुरेन्ट एण्ड लाउन्ज सेल्किर्क वाटरवेको किनारमा अवस्थित ग्यालोपिङ गूज ट्रेलबाट सँगै रहेको अति सुन्दर रेस्टुरेन्ट रहेछ। अर्को भने हामी बसेको होटलबाट केही मिनेटमा हिँडेर पुग्न सकिने अति सुन्दर यस रेष्टुरेण्टको भुइँदेखि छानाको प्रत्येक सिटबाट जलमार्गको सुन्दर दृश्य अवलोकन हुने रहेछ। हामी नेपालीलाई योभन्दा राम्रो साँझको भेटघाट गर्ने उत्तम स्थान अरू हुन सक्दैनथ्यो।
हामी ती नेपाली छोराछोरीहरूलाई भेट्न आतुर थियौं। ठिक पाँच बज्नुभन्दा पन्ध्र मिनेट पहिले नै हामी ग्लो रेष्टुरेन्टमा पुगिसकेका थियौं। हामी भने रेष्टुरेन्टसँगैको मनोरम दृश्यहरूमा फोटो खिच्नतिर केही समय बितायौं। मार्गेट लगायत हामीलाई स्वागतको लागि सबै तयारी रहेछन्। हामी हाम्रो लागि बुक गरिएको टेबलमा पुग्यौं।
जब त्यहाँ उपस्थित सबै छोराछोरी र उनीहरूका धर्मपिता तथा माताहरूले हामीलाई दुई हात जोडेर ‘नमस्कार’ भन्दै स्वागत गरे त्यो मेरो सबभन्दा खुसीको क्षण थियो ‘लाग्यो उनीहरूले नेपाल र नेपाली संस्कार सिकेका छन्।’
दुई वर्षभन्दा सानो उमेरमा आफ्नो जन्मदिने बुबाआमाबाट छाडिएका उनीहरू आज जवान भएका थिए। तर पनि उनीहरूले आफ्नो जन्म देश बिर्सेका छैनन्। सकेसम्म नेपाली संस्कार सिक्ने प्रयास गरिरहेका छन्, यति मात्र होइन उनीहरूलाई नेपालमा जन्म हुनुमा पनि गर्व भएको पाएँ।
मैले उनीहरूलाई चिन्न सक्ने कुरा नै भएन। विस्तारै मार्गेटले ‘ल, मनोज छोराछोरीलाई चिन्न कोसिस गर’ भन्दै मलाई अप्ठ्यारोमा पारिन्। एकछिन घोत्लिएपछि मैले ‘गिभ अप’ गरे र भने ‘आई एम सरी।’
यस पछि हामीले एक अर्का बीचको परिचयबाट यो भेटघाटको सुरूआत गर्यौं। जब उनीहरूले अप्ठ्यारो तरिकाले नेपाली नाम उच्चारण गरिरहँदा मलाई तोतेबोली बोलेको जस्तो अनुभव भयो।
हुन पनि अनाथालयमा पालिएका, जन्मदिने आमाबुबाबाट टाढिएका यी छोराछोरीको जीवन नेपालमा रहेका ठूला व्यापारी, ठूला नेताहरूको छोराछोरीको भन्दा माथिको थियो। यी बालबालिकाहरूलाई यो ठाउँमा पुर्याउन सानो तिनो सहयोग गरेकोमा गर्व महसुस भयो मलाई। त्यसकारण पनि धर्म पुत्रपुत्री लिने जुन व्यवस्था छ, त्यो बालबालिकाहरूको पहिलो अधिकार हुनुपर्ने कुरामा मेरो जोड थियो र आज पनि छ।
आज यो लाइन लेखिरहँदा मलाई दु:ख लागिरहेको छ किनकी नेपाल सरकारले धर्म पुत्रपुत्री सम्बन्धी कानूनलाई नै 'होल्ड' मा राखेको छ। सयौं बालबालिकाहरू आज जो हस्पिटल बाटा घाटामा फालिएका छन् अति कम गुणस्तरहीन बालगृहमा अनाथ भएर बास्न बाध्य पारिएका छन्।
मार्गेटले सुरूमै सोचे जति सबै परिवारलाई जुटाउन नसकेको भनेर माफी माग्दै थिइन्। मैले उनलाई जति छौं भेट्औं र आज भेट्न नसक्नेहरूलाई नेपालमा भेट्न आउनु भनेर अनुरोध गरेँ।
बालबालिकाहरू पहिलो पटक मैले भेटे जस्तो थिएनन्। त्यो बेला यी केटाकेटी थिए आज जवान छन्, कोही काममा व्यस्त, कोही सहरबाहिर छन्, कोही विश्वविद्यालयमा छन् जसले गर्दा सोचे जस्तो सहज तरिकाले एकैदिन, एकै समयमा जुट्न गाह्रो भयो। मैले जे जति भए पनि नेपाली छोराछोरीहरू भेट्न पाएकोमा अत्यन्त खुसी व्यक्त गरेँ र मार्गेटलाई धेरै धेरै धन्यवाद दिएँ।

यसपछि हामी खानाको अर्डरतिर लाग्यौं। जवान भए पनि सबै छोराछोरीहरू भने खाना अर्डर गर्न र खानामा रमाएका थिए। म छोरीहरू माझ बसे। उनीहरू मलाई खाना अर्डर गर्नको लागि तँछाडमछाड गर्दै थिए। सबैले मलाई डिनरको लागि सजेसनहरू दिँदै थिए। त्यो दृश्य र हल्ला आज पनि मेरो मानसपटलमा झल्किरहेको छ।
खानको अर्डरपछि हामीले उनीहरूको दिनचर्या, उनीहरूको पढाइ तथा भविष्यको योजनाबारे सुनेऔं। मज्जा लाग्यो जब सबै नेपाल आउने, घुम्ने, रमाउने योजनाहरू हामीलाई सुनाइरहँदा। उनीहरूले नेपालको बारेमा पढ्ने र कोहीकोही त नेपालको राजनीति र खेलकुदको विषयमा समेत चासो राख्ने रहेछन्। जसले मलाई झन गर्व महसुस गरायो।
हामीले यो भेटघाटमा नेपाली छोराछोरीहरू आशा, मैया, जितु, सलिना र मायालाई मात्र भेट्न सकेऔं भने अन्य धेरै छोराछोरीहरूले यो पटक भेट्न नसकेकोमा सरी भन्दै मेसेजहरू पढाएका थिए र अर्को भेटमा भेट्ने बाचा गरेका थिए ।
झण्डै दूइ घन्टाको यो बसाईको अन्तमा सबै छोराछोरीहरूलाई मैले नेपालबाट लगेको नेपाली टिसर्टहरू उपहार दिएँ। मेरी श्रीमतीले भने सबै धर्म माताहरूलाई नेपाली टीका, नेपाली पोतेको नेक्लेसहरू दिइन्। सबै खुसी देखिन्थे। अन्तमा बालबालिकाहरूसँग सामूहिक फोटो खिचेर अर्को चोटि भेटघाट गर्ने बाचा सहित हामी छुट्टियौं।
क्रमश:
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)