१४ वर्षसम्म नेपालमा शिक्षण पेसामा समर्पित रहेपछि बेलायत आउँदा मनमा मिश्रित भावना थिए— उत्साह, डर, अपेक्षा र निराशा सबै मिसिएका। अध्यापन पेसा छाड्नु सजिलो निर्णय थिएन किनभने त्यो मेरो परिचय मात्र होइन, मेरो आत्मसन्तुष्टिको माध्यम पनि थियो।
शिक्षक भएर समाजमा दिएको योगदान, विद्यार्थीहरूबाट पाएको माया, सम्मान र आत्मसन्तुष्टि त्याग्नु असाधारण साहस चाहिने कुरा थियो। तर जीवनमा कहिलेकाहीँ परिवर्तन अपनाउनुपर्छ भन्ने सोचका साथ आफ्नो भविष्यप्रति चिन्ता, आगामी पढाइको सोच, अनगिन्ती सपना बुन्दै म विद्यार्थी भिसामा श्रीमान् र छोरासँगै नयाँ यात्रामा निस्किएँ— बेलायततर्फ।
बेलायतमा पहिलो पाइला र प्रारम्भिक संघर्ष
बेलायत आइपुगेपछि सुरुका केही महिना अत्यन्तै कठिन रहे। नयाँ देश, नयाँ नियम, फरक भाषा, समयको कडाइ, मौसमको असहजता— सबै कुरा नयाँ लाग्थ्यो। नेपालमा शिक्षक भएर लामो अनुभव बटुलिसकेकी र एउटा छुट्टै पहिचान बनाइसकेकी मैले यहाँ मेरो जिन्दगी फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्था थियो। फरक भाषा, फरक संस्कृति, फरक जीवनशैली— सबै कुरा सिक्नुपर्ने थियो।
सुरुका दिनहरू साँच्चै कठिन थिए। भाषा अझै सबभन्दा ठुलो चुनौती थियो। नेपालमा अङ्ग्रेजी विषयमा मास्टर्स गरिसकेकी भए पनि पनि मलाई यहाँको अङ्ग्रेजी उच्चारण, गति र व्यवहारमा प्रयोग हुने शब्दहरू बुझ्न समय लाग्यो। सुरुमा आफूलाई अभिव्यक्त गर्न नसक्दा आत्मविश्वास नै हराएको महसुस गर्थेँ। बेलायतमा पाइला टेक्दा मनमा उत्साह र उत्सुकता थियो तर त्यत्तिकै डर पनि।
बेलायतको जाडो मौसम, स-साना कोठा, सेयरिङ फ्ल्याटको व्यवस्था, सार्वजनिक यातायात, अनि समयको कडाइले थकाइ थप्थ्यो। नेपालमा आफ्नै तीन तलाको घरमा फराकिलोमा बस्ने बानी परेकी यहाँ ‘सेयर्ड एकोमोडेसन’ मा बस्नुपर्थ्यो। सुरुका दिनमा एउटै कोठामा पनि गुजार्यौं र पछि आफ्नो क्षमता र अवस्थाले भ्याउने फ्ल्याटमा बस्न थाल्यौँ।
कोठाहरू सानो भए पनि हामी तीन जना सँगै हाँसीखुसी बस्यौँ। त्यो आपसी साथले धेरै चुनौतीहरू सजिलै पार गर्न सकियो। समयसँगै यही चुनौतीहरूले मलाई आत्मबल, धैर्यता र आत्मनिर्भरता सिकाए।
पढाइ र व्यस्त जीवनको तालमेल
अध्ययन भिसामा बेलायत आएकाले फरक विषयमा फेरि मास्टर्सको अध्ययन सुरु गरेँ। युनिभर्सिटी पढ्नु, छोराको हेरचाह गर्नु, घरको काम अनि केही समयपछि पार्ट टाइम काम थाल्नु— यी सबैबिच सन्तुलन राख्न अत्यन्त कठिन थियो। बिहान चाँडै उठेर छोराको तयारी, बिहानको खाना अनि कलेज जाने तयारीमा व्यस्त भइन्थ्यो।
कहिले फिजिकल क्लास त कहिले अनलाइन क्लास। बेलुका कामबाट फर्केर असाइनमेन्ट, घरधन्दा, कहिले डे सिफ्टको काम त कहिले नाइट सिफ्टको काम, थकानले होसै हराउने अवस्था हुन्थ्यो। तर यही व्यस्तता जीवन परिवर्तनको आधार बनिरहेको थियो।घरका हरेक जिम्मेवारीमा मलाई श्रीमानको उत्तिकै साथ हुन्थ्यो। एउटा काममा गएका बेला अर्कोले घरको सबै काम भ्याउँथ्यौँ। यसरी समान जिम्मेवारीको अनुभूति हुन्थ्यो र यहाँ गर्नै पर्छ पनि।
बेलायतमा समयको मूल्य निकै ठुलो हुन्छ। एक सेकेन्डको पनि सही सदुपयोग गर्न नआए सफलता पक्कै टाढा जान्छ। पढाइसँगै काम गर्नुको अनुभवले मलाई समय व्यवस्थापन, जिम्मेवारी बोध र कठिन परिश्रम गर्नुपर्ने वास्तविकता सिकायो। यहाँको कामको अनुभव नेपालभन्दा निकै फरक छ। नियम, पारदर्शिता, इमानदारी र श्रमिकप्रतिको सम्मान यहाँको कार्य संस्कृतिको मुख्य आधार हुन्।
बेलायतमा महिलाहरूको आत्मनिर्भरता र सामाजिक सहभागिता निकै उच्च छ, जसले मलाई प्रेरित गर्यो। तर काम र पढाइको व्यस्तताबिच पारिवारिक समय निकाल्नु भने सजिलो थिएन। श्रीमान् र छोरा सँगै बेलायतमै भएकाले धेरै राहत भयो। हरेक कठिनाइमा एकअर्काका सहारा भएर रह्यौँ। गाह्रो समयमा उनीहरूको साथ, हौसला र सहयोगले मलाई थामेर राख्यो।
कामको सम्मान र आम्दानीको फरक अनुभव
यहाँ सामान्य काम जस्तै केयर होस्, सुपरमार्केट होस्, होटेल क्लिनिङ नै किन नहोस्— त्यसलाई सम्मानका साथ हेरिन्छ। कामलाई हेप्ने संस्कार छैन। श्रमलाई हेपिन्छ भन्ने सोच यहाँ छैन। काम गरिरहेको मान्छेलाई इज्जतका साथ व्यवहार गरिन्छ। यही सकारात्मक सोचले मनलाई सान्त्वना दियो। कामको आम्दानी नियमित, निश्चित र पारदर्शी हुन्छ। नेपालमा महिनौँ तलब पर्खनु पर्ने अवस्था सम्झिँदा यहाँको प्रणालीप्रति झन् विश्वास बढ्छ।
नेपालमा त्यतिका वर्ष जागिरे भएर पनि आर्थिक रूपले सधैँ संघर्षमै रहेँ। मैले जुनसुकै काम गरेँ, त्यो सम्पूर्ण इमानदारिता, लगनशीलता र अनुशासनका साथ गरेँ। सधैँ समयमै काममा पुग्ने, जिम्मेवारी पूरा गर्ने, सहयोगी बन्ने र नम्र बानीले मप्रति विदेशी सहकर्मीहरूको मन जित्न सकेँ।
विशेष गरेर एक पटक एउटी विदेशी सहकर्मीले मेरो हस्ताक्षर हेरेर ‘तिम्रो अङ्ग्रेजी र नेपाली लेखाइ कति सुन्दर!’ भनिन् त्यहाँ रहेका सबै सहकर्मीलाई मेरो लेखाइ देखाइन्। त्यो दिन मलाई लागेको थियो— ‘साना कुरामा पनि आफ्नो पहिचान देखाउन सकिन्छ।’ म बेलाबेला आफ्ना नाचेका भिडियो बनाउँछु। उनीहरूले मेरो रुचि, लगनशीलता, इमानदारी र व्यवहारको खुलेर प्रशंसा गर्छन्। त्यो माया, त्यो सम्मान पाउँदा आत्मगौरव महसुस भयो।
परिवार र मायाको सन्तुलन
श्रीमान् र छोरा सँगै हुनु भनेको यो जीवनको सबैभन्दा ठुलो साथ र बल हो। हामी तीन जनाले सँगै खायौँ, हाँस्यौँ, गाह्रोमा अडिएर बस्यौँ। हरेक दिनको सानो-सानो कुरा, एक छाक भए पनि सँगै खाना खानु, घुम्न जानु, छोरासँग समय बिताएर थकाइ मेट्नु— यी सबैले बेलायतको कठोर जीवनलाई पनि कोमल बनाइदिन्छ।
छोराको प्रगति हेर्दा हरेक पीडाको मूल्य बुझिन्छ। तर नेपालमा रहेका घर परिवार, आफन्तजन, साथीहरू, शुभचिन्तकहरू र मैले छोडेर आएका ती विद्यार्थीहरूको माया सधैँ हृदयमा बसिरहेको छ। दसैँ-तिहार आउँदा मन अझ बढी भावुक हुन्छ। भिडियो कलले केही सान्त्वना दिन्छ तर अँगालो हालेर मन खोलेर कुरा गर्ने मौका गुमाउनु परेको पीडा अलि फरक नै हुन्छ। तर हामीले बाँचिरहेको जीवन उहाँहरूकै आशाको लागि हो र परिवार साथमै छौँ भन्ने सम्झँदा मन बलियो हुन्छ।
चाडपर्व र नेपाली समाज
यहाँ रहेका नेपाली समुदायसँग चाडपर्व मनाउँदा केही हदसम्म घरको झल्को आउँछ। तीज, दसैँ, तिहारमा सँगै भेला भएर खाना पकाउनु, नाचगान गर्नु र सामूहिकता अनुभूत गर्नु— यी स-साना क्षणहरूमा देशको मायाले आँखा रसाउँछ। नेपालको मौलिकता बिर्सन नपरोस् भनेर आफ्नो संस्कृति र भाषालाई जोगाएर राख्न निकै कोसिस गरिरहेका छौँ। परिवारबाट टाढा हुनु सबैभन्दा ठुलो चुनौती थियो। परदेशी भूमिमा आमाबुबाको मायाको अभाव, नेपाली खानाको झल्को, चाडपर्वमा घर सम्झेर झस्किनु— यी सबैले भावुक बनाउँथे। तर यही कारणले आफ्नो देशको माया झन् बढ्दै गयो। दसैँ-तिहार जस्ता चाडबाड यहाँ नेपाली समुदायसँग मनाउँदा थोरै भए मनलाई शीतलता दिने गर्दछ।
बेलायती समाज, सुविधा र भविष्यको सम्भावना
बेलायतको शिक्षा प्रणाली, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, महिला सशक्तीकरण र नियममा आधारित जीवनशैली साँच्चै अनुकरणीय छ। सडक, अस्पताल, प्रशासन— सबै ठाउँमा प्रणालीको सम्मान गरिन्छ। यही व्यवस्था हेर्दा मनमा लाग्छ— काश! हाम्रो देशमा पनि यति मात्र सुशासन र जनउत्तरदायी हुन्थ्यो भने हाम्रा नागरिकहरूलाई परदेशिनु पर्दैनथ्यो होला।
बेलायतको शिक्षा प्रणाली, स्वास्थ्य सेवा, सार्वजनिक व्यवस्थापन र श्रमको मूल्याङ्कन उल्लेखनीय छ। सडकमा कोही कसैलाई हेप्दैन। सेवामा गुणस्तर छ, कानुन कडाइका साथ लागु हुन्छ। मलाई लाग्छ— यस्तो प्रणाली नेपालको सपना हो। यही अनुशासन र व्यवस्थापनले मलाई आफ्नो भविष्यप्रति अझ आशावादी बनाएको छ।
यहाँको व्यस्त जीवन भए पनि सुरक्षित छ, अवसरहरू प्रशस्त छन्। श्रम गर्न डर मानिएन भने यहाँ कसैले भोकै बस्नुपर्दैन। बेलायतले मलाई आत्मनिर्भर, बहुआयामिक र अझ धैर्यशील बनाएको छ। यहाँको खुला सोच, महिला सशक्तीकरण, स्वतन्त्रता र अवसरले मेरो दृष्टिकोण व्यापक बनाएको छ।
तीन वर्षको बेलायती यात्रा सजिलो थिएन। सधैँ व्यस्त रहने, आफ्नो पहिचान पुनः निर्माण गर्नुपर्ने, घरदेशको सम्झनाले पोलिरहने— यी सबै मिश्रित अनुभवहरू हुन्। तर यही संघर्षले जीवनलाई नयाँ दिशा दिएको छ। यो यात्रामा एक संघर्षपूर्ण तर समृद्ध अनुभव रह्यो। आज म अझ परिपक्व, आत्मविश्वासी र जिम्मेवार बनेकी छु।
पढाइ पूरा गरेसँगै फुलटाइम काममा व्यस्त छु। दुवै जना फुलटाइम कामका व्यस्त हुनी भए पनि काम गर्ने बार र समय मिलाएकाले पालैपालो बच्चालाई समय दिन सहज भएको छ। विगतभन्दा भविष्य अझ सुरक्षित, सुनौलो र आशालाग्दो देखिन्छ। तर त्यो भविष्यमा नेपालसँगको सम्बन्ध कहिल्यै टुट्दैन। आफ्नै माटोमा केही केही योगदान दिन सकूँ भन्ने चाहना अझै मनमा गढिएको छ।
नेपालका साथीभाइहरूको माया, घरको झल्को, गाउँको शान्ति, माटोको सुगन्ध— यी सबै कुराहरू अझै हृदयमा बसिरहेकै छन्। बेलायतको सफा वातावरण, सुशासन, शैक्षिक गुणस्तर, स्वास्थ्य सेवा, जस्ता सुविधाले हामीलाई यहाँ बाँधेर राख्छ तर मनको एउटा कुनामा सधैँ आफ्नै देशको प्रेम र योगदान दिने चाहना बाँचिरहेकै छ।