विश्वको जुनसुकै कुनामा जीवनयापन गरे पनि हरेक नेपालीको हृदयभित्र एउटा सजीव कथाले जरा गाडेको हुन्छ। जहाँ हाम्रो दैनिक जीवन यापनको गतिविधि विदेशी भूमिमा बिते पनि आत्मा सधैँ नेपालको सुमधुर यादमा रमाइरहेको हुन्छ।
हाम्रो आत्मा, संस्कार र संस्कृति र हाम्रो पहिचान नेपालमै बाँधिएको हुन्छ। आज मैले उठाउन लाएको विषयवस्तु एक नेपालीको नभई लाखौँ प्रवासी नेपालीहरूको साझा भावना हो।
हामी आफू र आफ्ना सन्तानको भविष्यको लागि सात समुद्र आएका छौँ तर आत्मा छायामा हराइरहेको। जब एउटा नेपाली विदेशी भूमिमा पाइला, टेक्छ तब उसले अनगिन्ती सपनाहरू सजाएको हुन्छ। रामो आम्दानी, राम्रो लेखाइ-पढाइ, घर, गाडी र बैंक ब्यालेन्स आदि। फरक संस्कार र संस्कृति, विशाल भवनहरू, चिल्ला र चिप्ला बाटाहरू, अपरिचित अनुहारहरू हामीहरू सबैका लागि नितान्त नयाँ नै लागेको हुन्छ।
यहाँ सबै कुरा सिस्टममा चलेको हुन्छ। जस्तोसुकै सानो काम नै किन नहोस्, एकले अर्कोलाई सम्मान दिएका हुन्छन्। समयको महत्त्व सबैले बुझेका हुन्छन्। धेरै सकारात्मक चिजहरूले यी सहरहरू सम्पन्न भए पनि नेपाली आत्माले खोजिरहन्छ- चौरमा खेल्ने गाईजात्रा, ममतामयी बाबुआमा र माइती घरको दाल, भात, तरकारी, आँगनको तुलसीको बोट र साँझ पखको बुबा-आमासँगको कुराकानी। धेरैजसो नेपालीहरू खुसी भए पनि मनमा कता एक खालको एक्लोपन, खालीपनले पिरोलिरहेको हुन्छ।
विदेशी भूमिमा बिहानको सुरुवात हुन्छ अलार्मको आवाजले। बिहान सबेरै छोराछोरीको टिफिन तयार गर्ने, स्कुल पठाउने, अफिस जाने सबै कामको तालिका मिलाउनु पर्छ। हप्ताको सातौँ दिन प्रायः कुनै न कुनै भूमिकाले च्यापिएको हुन्छ।
कहिलेकाहीँ त्यो दौडमा आफैलाई बिर्सिएको जस्तो लागेको हुन्छ; म को थिएँ? के गुमाएँ? समग्रमा भन्नु पर्दा यताको जीवन बिजी भन्ने शब्दमा जेलिएको हुन्छ। विदेशी जीवनले राम्रो आम्दानी दियो, राम्रो अवसर दियो, राम्रो उपचार दियो, राम्रो घर दियो तर कहिले दिन नसकेको कुरा के थियो भने त्यो चुलोमा पाकिरहेको नेपाली स्वादको खाना, टोलको भान्सामा बजिरहेको रेडियो नेपालको आवाज। त्यो घण्टाघरमा घन्किएको आवाज अनि पूजा घरबाट निस्केको धूपको सुगन्ध।
विदेशी जीवन संघर्षमय हुन्छ र बलियो पनि बनाउँछ। सिकाउँछ पनि तिमी नेपाली हौ र तिमीभित्र अपार सहनशीलता छ। विदेशको जीवन चम्किलो देखिए पनि त्यो सुन्दरता भित्र गहिरो छाया लुकेको हुन्छ- पहिचानको संकट, भावनात्मक रिक्तता र सांस्कृतिक टकराब।
परदेशको छायामा नेपाली आत्मा भनेको लाखौँ नेपालीहरूको संघर्षको कथा हो। विदेशमा सोचेको जस्तो हुँदैन। भाषा नआउँदा अपमान सहनु पर्छ। थकानले शरीर गलेको हुन्छ तर उठेर काममा जानुपर्छ किनकि त्यो कमाइमा छोराछोरीको भविष्य, बाबु-आमाको उपचार छ र आफ्नै सपना पनि।
धेरै नेपालीहरू एक दिन नेपाल फर्कन्छु भनेर बसेका हुन्छन् तर त्यो चाहना यथार्थ बन्ने हो कि होइन थाहा नै छैन। बच्चाहरू यतै छन्। बानी यतैको परेको तैपनि आत्मा भन्छ- म त अझैँ नेपालमै छु। अमेरिका, अस्ट्रेलिया, खाडी मुलुक, कोरिया, जापान जहाँ-जहाँ नेपालीहरू छन्, हामी सबै नेपालीहरूको समग्र अनुभूति छ; शरीर त यहाँ छ तर आत्मा अझै नेपालमै बाँचेको छ। हामी नेपालीहरू फरक भाषा, समय र वातावरणमा रमाउन बाध्य छौँ तर मनमा आफ्नो गाउँ, टोल र घर आँगनको झझल्को सधैँ रहिरहन्छन्।
विदेशी खानपानमा सुविधा भए पनि पेट त भरिन्छ तर मनमा आमाले पकाएको दाल तरकारीको सम्झना मनमा रहेको हुन्छ। दसैँ तिहार आउँछ तर आकाशमा चंगा देखिँदैन। पिङ कोही खेल्दैनन्। तिहारमा झिलिमिली र बत्तीहरू बलेका हुन्छन्। सेल फिनी पकाउँछौँ। मैले मेरा बाबुहरूलाई आऊ रंगोली बनाऊ भनेर भन्दा मुसुक्क हाँसेर पम्किनको पिक्चर बनाउँछौँ ममी भनेर मलाई जोक गर्छन्। म पनि हाँस्दै यो चाड र यो पर्व भनेको यो हो, यसको विशेषता र महत्त्व फरक फरक हुन्छ हुन्छ भनेर हल्का फुल्का बुझाउने कोसिस गरेको हुन्छु।
यी नै दुई संस्कृतिको बिचमा हामी बाँच्न विवश हुन्छौँ। हामी नेपालीहरू सपना पूरा गर्न विदेश त आयौँ तर आफ्नो जननी र जन्म भूमिलाई बिर्सँदै जानु सपनाको मूल्य होइन। हामी विदेशमा भए पनि हाम्रो हाँसोको सुर, रुँदाको आवाज र माया गर्ने तरिका सबै नेपाली नै छन्। हाम्रो शरीर विदेशमा भए पनि हाम्रो आत्मा अझै नेपालको चउर, चौतारी र मन्दिर घुमिरहन्छ। सायद यो नै हो प्रवासमा बस्ने आत्माको वास्तविक अवस्था हो।
हामीहरू दुई देशको पर्खालबिच बाँचेका आत्मा हौँ। यहाँ काम गर्यौँ भने कमाइन्छ तर कमाएको पैसाले मायाको स्वाद किन्न सकिँदैन। नेपालमा पैसा थोरै थियो तर सन्तोष चर्को। भविष्य बनाउने चक्करमा कतै संस्कार हराउँदै गएको त छैन?
विदेशमा जन्मेर र हुर्किएका बच्चाहरू इङ्ग्लिस बोल्न सिपालु हुन्छन् तर नेपाली भाषा बुझ्न र बोल्न गाह्रो हुन्छ। बच्चाहरूले आफ्नो मात्रृभाषा गुमायो भने आफ्नो जरा हराउँदै जान्छ र भाषा हराउने जोखिम हुन्छ। घरमा आमा बाबुले नेपालीमा कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्छ। परिवारसँगै चाड पर्व मनाएर बच्चाहरूलाई सामूहिक वातावरणमा घुलमिल गराउनु पर्छ। दुवै संस्कार थोरै थोरै सिक्छन् तर पूरा अपनाउन सक्दैनन्।
बच्चाहरूलाई दुवै संस्कृतिमा गर्व गराउनु पर्छ। तिमी नेपाली हौ र विदेशी पनि दुवैको शक्ति तिमीभित्र छ भन्ने आत्मा विश्वास जगाउने खालको कुरामा मोटिभेसन गर्नुपर्छ। यसमा अभिभावकको ठुलो जिम्मेवारी हुन्छ। बच्चाले बोल्न बिर्से दोष बच्चाको होइन, त्यो अभिभावकको जिम्मेवारी हो। बच्चाको मनभित्र नेपाली पन रोप्न धैर्यता, निरन्तरता र मायाको आवश्यकता पर्छ।
बच्चालाई गाली होइन प्रेरणा दिँदै संस्कार सिकाउनु पर्छ। नेपाली मन्दिर, विद्यालय, संघ-संस्था र सांस्कृतिक कार्यक्रममा सहभागिता गराउने, नेपाली साथीहरूसँग समय बिताउने अवसर अभिभावकले मिलाउनु पर्छ। तिमी संसारका जुनसुकै स्कुल जाऊ, जुनसुकै भाषा बोल तर तिमीलाई तिमी बनाउने जरालाई कहिले नभुल है भनेर बाबु नानीहरूलाई बेलाबेलामा सम्झाउँदै नेपाली कार्यक्रममा सामेल गराउनु पर्छ।
परदेशको छायामा नेपाली आत्मा भनेको हाम्रो त्यो आत्मा जुन सहरको भिडमा पनि गाउँको मौनता खोजेको हुन्छ। आत्मा मरेको छैन, केवल छायामा उभिएको छ- गहिरो भएर। जब हामी एक अर्काको आपातमा हातेमालो गर्दछौँ, नेपाली आत्मा उज्यालो हुँदै जान्छ।
परदेशमा बसेपछि आफू नेपाली हो भन्ने गर्व रहन्छ तर सामाजिक जीवनमा आफूलाई चिनाउने संघर्ष बढेको हुन्छ। न पासपोर्टमा लेखिएको देशको नागरिक हुन सजिलै सकिन्छ न आत्मामा बसेको नेपाली पन फेर्न सकिन्छ। नयाँ पुस्तामा भाषा हराउँदै जान्छ। जीवन परदेशमा छ तर आत्मा नेपालमै बाँकी छ। दुवैबिच मेल कहिले हुन सक्दैन।
विदेश हाम्रो कर्मभूमि हो। नेपाल हाम्रो जन्मभूमि हो जसले मलाई माया दियो। जीवन विदेशमा छ तर आत्मा नेपालमा छ। हामी दुवै संस्कृतिको पुल बनेर भूमिका निर्वाह गरेका हुन्छौँ। जहाँ एकातिर आधुनिकता अर्को तिर न्यानो नेपालीपन। सायद यही सन्तुलन नै हाम्रो परिचय हो। समग्रमा भन्नु पर्दा हामी नेपालीहरू दुवै संस्कृतिबिच बाँचेका छौँ।
एकातिर हामीहरूको मनमा बसेको नेपाली संस्कार र संस्कृति, भाषा, जात्रा, धर्म, परिवार, आदर, सत्कार। अर्कोतिर हामीलाई घेरेको आधुनिक समाजले गर्दा हाम्रो जीवन द्वन्द्वले भरिन्छ। छोराछोरी नेपाली नबुझ्दा आत्मा दुखेको हुन्छ। नेपाली खाना सम्झँदा जिब्रो रसाउँछ। अनि नेपालका महत्त्वपूर्ण पर्वहरू आउँदा आँखा रसाउँछ।
परदेशी नेपालीहरूको जीवन दुई पर्खालबिच झुन्डिएको छ। जहाँ शरीर परदेशमा छ तर मन र आत्मा अझै नेपालमा बाँचेको छ। यहाँका सडकहरू सफा छन्। नियमहरू प्रस्ट छन्। तर आत्मा भित्रको त्यो सानो टुक्रा जसले जन्मघरको आँगन सम्झेको हुन्छ। भौगोलिक रूपमा टाढा भए पनि मुटु नेपालमा नै बाँधिएको हुन्छ।
हामी परदेशमा बस्दा आर्थिक रूपमा समृद्ध हुँदै जान्छौँ तर आत्मा भने घरको गन्ध, आमाको हातको खाना, बुबाको मौन माया, माटोको स्पर्श र चाडबाडको उज्यालो खोजिरहेको हुन्छ।