ग्लोबल नेपाली
काभ्रेको बनेपामा जन्मेका विकास नेपाल पन्ध्र वर्षअघि बेलायत पुगे। दस वर्षयता उनी नेपाली भान्सामा प्रयोग हुने दाल, चामल, चिउरा, तेल, अचार लगायत खाद्य उत्पादन बेचिरहेका छन्।
ब्रान्ड नाम हो 'नेपाल फुड्स'।
'नेपाली उपभोक्ताको स्वाद अनुसार स्न्याक्स, चिप्स, चिजबल्स, जुस र बियर पनि उपलब्ध छ,' विकासले भने।
यीमध्ये केही वस्तु उनको नेपाल र बेलायतस्थित दुवै कारखानामा उत्पादन गर्छन्। केही नेपालमा किनेर आफ्नो ब्रान्डमा प्याकेजिङ गर्छन् र बेलायत लैजान्छन्। मांसाहारी र शाकाहारी अचार, मःमको ६ प्रकारको अचार, घिउ, मसला, सस, सुकुटी लगायत दुवै देशका उद्योगमा उत्पादन हुन्छ।
चाउचाउ, चिप्स, चिजबल्स, बियर भने नेपाल फुड्सकै रेसिपी र प्याकेजिङमा अन्य उद्योगबाट उत्पादन हुन्छ।
'दाल, चामल, चिउरा, जुम्लाको सिमी लगायत खाद्यवस्तु ठूलो परिमाणमा किनेर प्रशोधन र प्याकेजिङ गर्छौं,' विकासले भने, 'नेपाल फुड्सका उत्पादन बेलायतका अधिकांश खुद्रा मार्टमा किन्न पाइन्छ। यसबाहेक २५ देशमा निर्यात हुन्छ।'
नेपाल फुड्सका मुख्य ग्राहक नेपाली नै हुन्। निर्यातको प्राथमिकतामा पनि नेपालीको बसोबास धेरै रहेका देश छन्। सबभन्दा बढी जापान, अस्ट्रेलिया, अमेरिका र युरोपेली मुलुकहरूमा पठाउँछन्।
विकास बेलायत जानुअघि भारतको नयाँ दिल्लीमा थिए। एसएलसी दिएपछि पढाइका लागि गएका उनले दिल्ली बसेर व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाइ पूरा गरे।
उनी पढ्दै गर्दा मार्केटिङको काम गर्थे। बेलायतमा बस्ने भारतीयका लागि बीमाको मार्केटिङ गर्नु उनको मुख्य काम थियो। कम्पनीले नै व्यक्तिको नाम र सम्पर्क फोन नम्बर दिन्थ्यो। त्यसै अनुसार फोन गरेर मार्केटिङ गर्नुपर्थ्यो।

साढे एक वर्ष यो काम गरेपछि उनले थप पढाइका लागि बेलायतको 'युनिभर्सिटी अफ वेल्स' मा आवेदन गरे। आवेदन स्वीकृत भयो। सन् २००९ मा उनी विद्यार्थी भिसामा बेलायत पुगे।
बेलायत जान करिब २२ लाख रूपैयाँ खर्च लाग्यो। मार्केटिङ विषयमा एक वर्षे मास्टर्स पढाइ पूरा गरे तर काम पाउन निकै कठिन भयो। करिब डेढ महिनाको प्रयासपछि एउटा कम्पनीमा मार्केटिङको काम पाए।
त्यो कम्पनीले पेट्रोलियम ग्यास र विद्युत सम्बन्धी सेवा दिन्थ्यो। घरघरमा गएर ग्यास र विद्युत बेच्नुपर्ने काम थियो।
'बेलायतमा ग्यास र विद्युत कारोबार निजी क्षेत्रलाई पनि खुला छ। पाइपमार्फत ग्यास वितरण हुन्छ,' उनले भने, 'हाम्रो सेवा राम्रो छ, सस्तो पनि छ भनेर ग्राहक बढाउनुपर्थ्यो।'
कामबापत मासिक तलब थिएन। आफूले बनाएको ग्राहक संख्याका आधारमा कमिसन तोकिएको थियो। त्यहाँ ६ महिना काम गरेपछि सन् २०१० मा त्यस्तै प्रकृतिको अर्को कम्पनीले बोलायो। त्यसले आधारभूत तलब र कमिसन दिने भयो। उनी त्यसमै गए र चार वर्ष काम गरे।
विकासले कम्पनीमा जागिरे रहेकै समय 'बिजनेस भिसा' का निम्ति आवेदन गरे। भिसा आएपछि जागिर छाडेर 'मार्केट डाइरेक्ट' नाममा आफ्नै कम्पनी दर्ता गरे।
'मार्केटिङकै पढाइ र कामको अनुभव भएकाले आफ्नै कम्पनी दर्ता गरेँ,' उनले भने।
कम्पनी दर्ता भएपछि मन मिल्ने केही साथीसँग कुरा गरे। एक जना साथी बेलायतमै भारतीय चामल बेच्ने 'कोहिनुर' ब्रान्डमा काम गर्थे। ती साथीले कोहिनुरको मार्केटिङ गर्न सुझाए।
त्यसै अनुसार विकासले ६ महिनाको सम्झौता गरेर काम सुरू गरे। त्यस अवधिमा अर्को कम्पनीको काम नगर्ने सर्त थियो। त्यस्तो सर्तका कारण छोटो अवधिको सम्झौता गरेका थिए।
मार्केटिङमा अनुभवी विकासले ठाउँ ठाउँमा स्टल राखेर काम गरे। उपभोक्तालाई स्वाद चाख्ने सुविधा दिए। उनको आइडियाले राम्रो काम गर्यो।
सम्झौताको म्याद सकिएपछि कम्पनीले थप सम्झौताका लागि प्रस्ताव गरेको थियो। तर उनले अर्को कम्पनीमा काम गर्न नपाउने सर्त अस्वीकार गरे।
अनि एकै पटक डाबर, डेरी भ्याली र बिभी कम्पनीका उत्पादनको मार्केटिङ गर्न सम्झौता गरे। तीनवटै कम्पनी भारतीय थिए।
काम गर्दै जाँदा उनीसँग तीन वर्षमा २३ वटा कम्पनी जोडिए। त्यसमा भारतीय र पाकिस्तानी कम्पनी धेरै थिए। काम गर्दै जाँदा उनले विदेशी बजारमा नेपाली उत्पादनको मार्केटिङ गर्ने विचार गरे। त्यसै अनुसार वाइवाइ चाउचाउको मार्केटिङका लागि 'चौधरी ग्रुप' सँग सम्झौता गरे। उनी बेलायतमा वाइवाइको आधिकारिक वितरक भए।
त्यसपछि ओल्ड दरबार ह्विस्की र खुकुरी रमको आधिकारिक वितरक भए।

उनले अन्य नेपाली कम्पनीसँग पनि छलफल गरे तर मापदण्डमा कुरा मिलेन। यसपछि आफै प्याकेजिङ गर्ने सोच बनाए। त्यही सोचबाट सन् २०१८ मा 'नेपाल फुड्स' सुरू भएको हो।
यसमा नेपालमै बसोबास गर्ने एक जना साझेदार पनि छन्।
विकासले सुरूमा नेपालबाट चामल, चिउरा, गुन्द्रुक, भटमास, दाल र जुम्लाको सिमी बेलायत पुर्याए। सन् २०१९ मा युरोपेली मुलुकहरू डेनमार्क, स्वीडेन जर्मनी, पोल्यान्ड, रोमानिया, इटाली, माल्टा, फ्रान्स र क्रोएसिया पठाए। हाल अमेरिका, क्यानडा, अस्ट्रेलिया र जापान पनि पठाउँछन्।
'आगामी दिनमा मध्यपूर्वी देशमा पनि पठाउने योजना छ,' उनले भने, 'मध्यपूर्वी देशमा धेरै नेपाली छन्।'
उनका अनुसार नेपाल फुड्समा नेपाल र बेलायत गरी २५ जना काम गर्छन्।
उनले एक वर्षअघि नै अन्य कम्पनीको मार्केटिङको काम छाडिसके। अहिले पूर्ण रूपमा आफ्नो व्यवसायमा केन्द्रित छन्।
यो व्यवसाय चलाउन सहज भए पनि कानुनी व्यवस्था थाहा पाउनुपर्ने विकासको भनाइ छ।
'सामान आयात गरेर बेच्छु भनेर मात्रै हुँदैन। के सामान ल्याउन पाइन्छ, के ल्याउन पाइँदैन, कस्ता सामानको हेल्थ सर्टिफिकेट चाहिन्छ भन्ने थाहा पाउनुपर्छ,' उनले भने, 'सुरूमा यी कुरा थाहा नभएर आयात गर्न नमिल्ने सामान ल्याइयो। त्यसको मूल्यभन्दा बढी जरिवाना पनि तिर्नुपर्यो।'