‘अझै लभ परेको छैन?’
मलाई अचेल अक्सरले सोध्ने एक प्रश्न यही हो।
मान्छे कति परिवर्तनशील छ, म आफैलाई अचम्म लाग्छ। तर म त्यति परिवर्तन किन हुन सकिनँ? यसमा भने चिन्ता लाग्छ। कतै म प्राचीन जिन्दगी त बिताइरहेको छैन! एकाएक सम्झिन्छु। हैन समय पो परिवर्तन भएको हो, म त छैन भन्दै चित्त बुझाउँछु।
म आफैलाई थाहा छैन के गर्छु तर हरेक दिन अक्सर बेफुर्सदिलो भएर बिताइरहेको छु। त्यसैले पनि होला मलाई त्यस्तो आफ्नो कुनै प्रेम भएन भनेर कहिल्यै सोधी खोजी र प्रेम प्रस्ताव राख्ने ठुलै धोको पनि रहेन। तर मेरो चिन्ता अरू कसैले लिएको देख्दा अलिक दङ्ग पर्छु।
सोच्ने गर्छु, के लभ पर्नु अनिवार्य नै हो त?
लभ नपरे बाँच्नै सकिन्न त?
साथीहरूले यसै गरी सोध्ने गर्छन्, सायद लभबिना श्वासप्रश्वासमै समस्या हुन्छ कि जस्तो गरेर। तर मेरो सोझो जवाफ हुन्छ, ‘छैन यार, मलाई पाल्न सक्ने प्रेमिका खोजिदेऊ न।’
साथीले गरेका प्रश्नहरूलाई लिएर आज म अलिक गम्भीर भएको छु। मेरै आँखा अगाडिका केही घटनाहरू घटित भएपछि भने म झन् सशङ्कित र चिन्तित भएको छु।
प्रेम भनेको के हो?
किन गरिन्छ प्रेम?
प्रेम शारीरिक आकर्षक मात्रै हो र?
तर वर्तमान समाजको परिस्थितिले मलाई प्रेमको परिभाषा दिन नै समस्या भएको छ।
कैलालीमा १५ दिनको प्रेमले याचनाले ज्यानै गुमाउनु पर्यो। कञ्चनपुरमा बालपनको प्रेम विवाहले सम्झनाले ज्यानै गुमाउनु पर्यो। प्रेम गरेकै कारण नवराजले ज्यानै गुमाउनु पर्यो। मैले किन गर्नु पर्यो यस्तो प्रेम जुन प्रेम गरेर मनै सुरक्षित छैन?
अझ भनूँ, मसँग प्रेम गर्ने प्रेमिका सुरक्षित छैन।
यो पनि के प्रेम हो र?
वर्तमान समयमा प्रेमको सहारामा कतै अपराध मौलाइरहेको त छैन?
यस्तै यावत प्रश्न मेरो मनको अन्तरङ्गबाट आइरहेका छन्। तर उत्तर विहीन छन्।
मैले कुनै त्यस्तो प्रेम त गरेको छैन, सायद म सजिलै भनिरहेको छु। प्रेम अन्धो छ, प्रेम पागल छ, प्रेम विनाशकारी र हानिकारक छ। तर सबै प्रेम न अन्धो छ, न पागल छ, न विनाशकारी छ, न हानिकारक छ। जुन प्रेम मैले मलाई गर्छु। त्यही प्रेम अरू कसैलाई गर्न सक्छु भने सायद साँचो प्रेम त्यही हुने छ।
साथी, मेरो लभ नपर्नु कारण यही हो, ‘मैले आफूलाई गरेको जति माया न अरूलाई गर्न सकेँ न त्यस्तो माया पाउँछु भन्ने अपेक्षा गरेँ।’ सबैले यही चाहेको र खोजेको भए सायद मलाई लाग्छ प्रेमको नाम बेचेर भइरहेका यी यावत घटना घट्ने थिएनन् र मजस्ता कैयौँ प्रेमीहरू प्रेम गर्नबाट टाढा भाग्ने थिएनन्।
प्रेम यो कदापि हुन सक्दैन जसले समय र सम्पत्ति विनाश गर्छ। जसले समाज र परिवार विभाजित गर्छ। जसले वर्षौँसम्म पीडा दिइरहन्छ। प्रेम त्यो हो, जहाँ नयाँ सम्भावना देखा पर्छन्, छुट्टिएका दुई आत्माको मिलन हुन्छ। सायद यस्तो प्रेम अब यो कलियुग र प्रेमको व्यापार गर्ने यो समयमा पाउन असम्भव नै भएको छ।
आज मुना र मदनको प्रेमको कसम खानेहरू के त झुट बोलिरहेका छन्? के त मेरो जस्तै प्रेमको कुनै अभ्यास नै छैन? यथार्थमा त्यो दुर्लभ प्रेम अबको समयमा न कसैले गर्न सक्छन्, न त पाउन नै सक्छन्।
साथी, मैले प्रेम अर्थात् तिम्रो भाषाको लभ नगरेको पक्कै पनि होइन। मलाई वर्तमान समयमा घटित घटनाले प्रेमबाट डर लागेर म प्रेमबाट टाढा टाढा भागिरहेको छु। तर पनि मलाई कहीँ कतै यो प्रेमले भेट्छ कि भन्ने चिन्ता छ। प्रेम गर्छु, जुन दिन मैले म आफैलाई गर्ने प्रेम अरू कसैलाई गर्न सक्छु र आफूलाई गर्ने प्रेम मलाई अरू कसैले गरेको आभास हुन्छ।