गाउँमा पुस्तौँदेखि खेती गरिने खेतबारीमा अहिले हरियो बाली होइन, बाँदरको हुल दौडिरहेको छ। जहाँ आँगनमा बिहान उठ्ने बित्तिकै केटाकेटी खेलेको, चिच्याएको आवाज आउँथ्यो, अहिले त्यही आँगनमा बाँदर कराएको र धपाएको आवाज सुनिन्छ।
कहिलेकाहीँ लाग्छ गाउँ अब बाँदरकै स्वामित्वमा गयो। गाउँलेहरू केवल बाँदरले कहिलेसम्म गाउँमा टिक्न दिन्छन् भनेर दिन गन्दै छन्।
जहाँ खेतबारीमा हरियो मकै हुर्कँदा किसानको अनुहारमा मुस्कान फुल्थ्यो, आज त्यही गाउँ रित्तिँदै छ। अनि गाउँको रित्तिएको आँगनमा उफ्रिँदै, कराउँदै बाँदरहरूको हुल नाचिरहेको छ। विडम्बना, जहाँ बाँदर जङ्गलबाट गाउँमुखी हुँदै गएका छन् भने मानिस बाँदरकै उत्पातका कारण सहरमुखी हुन बाध्य छन्।
यो कुनै कल्पनाको कथा होइन, पहाडी ग्रामीण क्षेत्रको दैनिकी हो। सहरका अग्ला घरहरूमा बस्नेहरूले यो पीडा बुझ्न सक्दैनन्। तर जो खेती गरेर बाँचेका छन्, बिहानको घामसँगै बारीमा पसिना बगाउँछन्, बाँदरको त्रासले अब गाउँमा बाँच्नै नसक्ने अवस्थामा पुगेका छन्।
एक दिन गाउँको छेउमा भेटिएका एउटा दाइको अनुहार आजसम्म बिर्सन सकेको छैन। शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो, भात खाँदै गरेको जुठो हात त्यसै थियो। जुठै हातमा भात खाँदा खाँदै गुलेली र लौरो बोकेर चिच्याउँदै बाहिर निस्केका उहाँले भन्दै हुनुहुन्थ्यो-
‘महिनाभरि बाँदर कुरेँ, बाँदर आएको कतै चाल थाहा पाइनँ। एकछिन यसो खाना खान के भित्र पसेको थिएँ, फर्केर हेर्दा सारा मकै सखाप! अब त यो ठाउँमा बाँदरले बसिखानै नदिने भो!’
उहाँको स्वरमा थकान मात्र होइन, पराजयको अनुभूति थियो। जस्तो बाँदरसँग लड्दा लड्दै उहाँले आफ्नो श्रम, आत्मसम्मान र साहस गुमाइसक्नु भयो।
बाँदरको आतंक अब यस्तो छ कि मानिसहरू खेती गर्न डराउन थालेका छन्। गाउँलेहरूले रोपेको मकै, गहुँ, तरकारी केही बाँकी रहँदैन। कहिलेकाहीँ त बारीमा बिउ रोप्ने साहस गर्नु नै आफैँमा जुवा खेल्नुजस्तै हुन्छ। गाउँका आमाबुबा अब बिहान खेततिर लट्ठी समातेर जान्छन्, हातमा नाम्लो-हँसिया होइन, बाँदर धपाउने गुलेली र ढुङ्गा हुन्छ।
एउटी आमाले भन्दै हुनुहुन्थ्यो- ‘अब खेती गर्नु भनेको युद्ध गर्नु हो। बाँदर नलाग्ने खेती भन्ने त हुँदै भएन, के लगाउने जे पनि खान लागे बाँदरले।’
खाली खेतबारी मात्रै हैन, बाँदरले अब पसल र बजार पनि छोडेका छैनन्। गाउँकै कृष्ण दाइ जसले गाउँमा सानो तरकारी-फलफूल पसल चलाउनुहुन्छ, त्यस दिन त रिसले हो कि पीडाले हो कुन्नि एक्लै बरबराउँदै हुनुहुन्थ्यो- ‘पसलमै राखेको केरा पनि बाँदरले हातैबाट लुछेर लग्यो। पसल थाप्नै मुस्किल भयो। बाँदरको डरले व्यापारै संकटमा छ!’
के यो केवल बाँदरको उपद्रो मात्र हो त! यो त गाउँको जनजीवनमाथिको पूर्ण आक्रमण हो।
अझ पीडाको कुरा त के भने, अब त छोरी दिने बेलामा पनि बाँदर आतंकको कुरा हुन थालेको छ। ‘त्यो गाउँमा त बाँदरको धेरै समस्या छ, छोरीले दुःख नपाओस् है!’ भन्ने भनाइहरू गाउँ बजारमा गुन्जिन थालेका छन्। अब गाउँको सामाजिक छविमा पनि बाँदरको छाया परेको छ। यो केवल एउटा पशुजन्य समस्या होइन, सामाजिक संकट पनि हो।
गाउँमा सबैले गुनासो गरेका छन्- पालिका, वडा कार्यालय, जनप्रतिनिधि सबै कहाँ नभएको हो र? तर समस्या जति बढ्दो छ, समाधान त्यति गाह्रो।
एक पटक त पालिकाले बाँदर धपाउने टोली नै बनायो, बाँदर धपाउने भनेर बजेट पनि छुट्टाइयो। केही दिन गाउँमा बाँदर घटेझैँ देखियो। तर बाँदर फेरि फर्किए।
गाउँलेहरूले सरकारलाई पटक-पटक गुहारेका छन्। पालिकामा गुनासो राखेका छन्। तर जवाफ एउटै हुन्छ- ‘बाँदर संरक्षणमा छन्, मार्न मिल्दैन।’
प्रश्न उठ्छ- बाँदरको संरक्षण गरिन्छ तर किसानको जीवनको संरक्षण कसले गर्छ? बाली सखाप पार्ने जनावरलाई केही गर्न नमिल्ने नियम कस्तो न्याय हो? संरक्षणको नाममा गाउँको जीवन तहसनहस गर्नु ठिक हो?
यो समस्या अब स्थानीय तहको मात्र बसको रहेन। हामीले बुझ्नुपर्छ- यो समस्या वन, वातावरण, मानव बस्ती र जैविक सन्तुलनसँग गाँसिएको छ।
पुराना बर-पिपल स्वामीका रुखहरू ढल्दै गए, नयाँ बिरुवा लगाउन हामीले छोड्यौँ, बाँदरको वासस्थान र खाने आहारा हरायो। जब मानिसले बाँदरको पेटको स्रोत लुट्यो, बाँदरले मानिसको बारीतिर आँखा लगायो।
अब अवस्था यस्तो बनेको छ कि मानव र बाँदर बिचको द्वन्द्व नियन्त्रणभन्दा बाहिर जान थालेको छ। कानुन बाँदरको पक्षमा छ। मार्न पाइँदैन तर त्यो बाँदर जब भान्साको ढोका खोलेर भित्र पस्छ, महिनौँको आम्दानी सखाप पार्छ, तब त्यो कानुनी संरक्षण किसानका लागि सजाय जस्तो लाग्छ।
गाउँ खाली हुँदै छ, पहिले सहरतिर जानेहरू शिक्षाको कारण, रोजगारीको खोजीमा जान्थे। अब त बाँदरको आतंक पनि थपिएको छ। बारीमा केही हुन्न, दिन/रात बाँदर कुर्नुपर्ने, बरु सहर गएर मजदुरी गरे शान्ति पाइन्छ। यही सोच राखेर गाउँ छोड्न थालेका छन् धेरैले।
राज्यले खेतबारी बाँझो नराख्नू भन्ने नीति बनाएको छ, कृषिमा लगानी बढाउन र आत्मनिर्भरता हासिल गर्न अनेक कार्यक्रम घोषणा गरिएको छ। तर जब किसान आफैँले खेतमा बाली लगाउन डर मान्न थाल्छन् किनभने बाँदरको आतङ्कले हुर्कँदै गरेको अन्नबाली क्षति पुर्याउँछ, त्यो नीति व्यवहारमा लागू हुने सम्भावना नै हराउँछ।
आज धेरै गाउँघरमा बाँदरको बिगबिगीले गर्दा मानिस खेती गर्न छाड्न थालेका छन्। उब्जनीको आसभन्दा क्षतिको डरले किसान निराश छन्। यस्तो अवस्थामा खेतबारी बाझिनु इच्छा नभएर बाध्यता बनेको छ।
अब राज्यले यस समस्यालाई केवल एक कृषिजन्य समस्या भनेर हेर्नु हुँदैन। यो गम्भीर पर्यावरणीय असन्तुलन र सामाजिक संकटको संकेत हो। त्यसैले, अब समय आएको छ कि सरकारले बाँदर समस्या समाधानका लागि दीर्घकालीन योजना ल्याओस्, मानव समुदाय जोगाउने स्पष्ट खाका बनाओस्।