पर्यटन विश्वका धेरै मुलुकमा विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत मध्ये एक हो। प्रचुर प्राकृतिक आकर्षण, प्रख्यात धार्मिक पर्यटनस्थलहरू तथा साहसिक पर्यटनको सम्भावनाले नेपाललाई पनि त्यही श्रेणीमा उभ्याएको छ।
संसारकै अग्लो चुचुरो सगरमाथालगायत लामो हिमश्रृंखला, भगवान बुद्धको जन्मस्थल लुम्बिनी, गहिरो गल्छी र उच्च भूभागमा रहेका तालतलैयाहरू, प्राचिन मानव रामापिथेकसको बासस्थान, हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ तथा देवी सीता, अनेकौं संस्कृति र प्राकृतिक तथा जैविक विविधताले नेपाललाई बेग्लै विशेषता प्रदान गरेका छन्।
पर्वतारोहण, रक क्लाइम्बिङ, ट्रेकिङ आदिमा रुची राख्ने स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि नेपालमा असंख्य आकर्षण र अवसर छन्। हिमाल, पहाड, खोलानाला एवम् झरना, वन तथा वन्यजन्तुजस्ता प्राकृतिक आकर्षणमा पर्वतारोहण, वञ्जी, र्याफ्टिङ, प्याराजम्प, प्याराग्लाइडिङ, क्यान्योनिङजस्ता साहसिक खेल तथा गतिविधिले रोमाञ्च थपेका छन्।
बुद्धको जन्मस्थल लुम्बिनी संसारभरका बुद्धधर्मावलम्बी तथा अन्य धर्मावलम्बीका पर्यटकका लागि पनि आकर्षणको केन्द्र हो। त्यसैगरी पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर आदि नेपाल तथा भारतका हिन्दू तीर्थयात्री तथा धार्मिक पर्यटकहरूको छनोटको प्राथमिकतामा पर्छन्।
सगरमाथा तथा अन्नपूर्णलगायत अन्य हिमालका आधार शिविरहरू, चितवन राष्ट्रिय निकुञ्जलगायत निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण केन्द्र, विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरू के छैनन् यहाँ? यस्ता आकर्षणको सूची लामो हुनसक्छ।
यद्यपि पर्यटन पूर्वाधारको विकासको अभाव र प्रचारप्रसारको कमीका कारण यस्ता महत्वपूर्ण आकर्षणहरूको प्रवर्द्धन अपेक्षितरुपमा हुन सकेको छैन। नेपालमा कैयौं वर्षदेखि पर्यटकको बसाइ छोटो भयो र प्रतिपर्यटक प्रतिदिन खर्च पनि ज्यादै कम भयो भनेर गुनासो गर्दै आएको देखिन्छ।
हुन पनि छिमेकी देश भुटानमा पर्यटकलाई अनिवार्य दैनिक २५० अमेरिकी डलर खर्च गर्नैपर्ने व्यवस्था गरिएको छ जबकी गत वर्षको आँकडाअनुसार नेपाल आउने पर्यटकको औसत खर्च प्रतिदिन जम्मा ६५ डलर छ। त्यसले पनि नेपाली अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट अपेक्षित योगदान हुन सकेको छैन।
हुन त नेपाल ‘हाई एण्ड’ नभई ‘मास’ पर्यटनमा जान खोजेको हो। त्यसैले भुटानको मोडल नै अपनाउनु पर्छ भन्ने छैन। यद्यपि प्रचुर पर्यटकीय सम्भावना भएको मुलुकले पर्यटनबाट अपेक्षित लाभ लिन नसकेको भने साँचो हो। तथापि भविष्यमा विस्तारै संख्या बढ्दै जाँदा गुणस्तर पनि बढ्दै जानेमा अधिकांश व्यवसायी तथा विज्ञहरू ढुक्क भएको देखिन्छ।
साथै यहाँ आउने सबै पर्यटक ब्याकप्याकर मात्र छैनन्। महँगा तारे होटलका स्विट रुममा बसेर हिमालको यात्रा तथा अन्य आकर्षणको अवलोकन गर्नेहरू पनि छन्। तर अहिले पर्यटकको संख्या वा बसाइ वा खर्च बढाउनका लागि हामीसँग पर्याप्त पूर्वाधार नै छैनन्।
सबैभन्दा मुख्य कुरा त नेपालको कनेक्टिभिटीको अवस्था नै कमजोर छ। न त सबै स्थानमा हवाई सेवा पुगेको छ न त गुणस्तरीय सडक नै। जहाँ पुगेको छ त्यहाँको सेवा पनि भरपर्दो छैन। त्यसैले पर्यटकलाई सहज रुपमा यहाँ आउने बनाउन भारत, चीन, युरोप तथा एसिया प्रशान्त क्षेत्रमा तत्कालै हवाई सेवा विस्तार गर्नुपर्छ।
गर्मीमा पिल्सिएका मध्य र दक्षिण भारतबाट मात्रै दशौं लाख पर्यटक तथा तीर्थयात्री नेपाल ल्याउन सकिन्छ। त्यसैगरी चीन तथा दक्षिण पूर्वी एसियाबाट नेपाल आउने बुद्धिस्ट तीर्थयात्रीको संख्या पनि दशौं लाख पुग्न सक्छ जुन वायुसेवाको अभावमा खुम्चिएको छ।
माइस (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिविशन) पर्यटनको सम्भावना पनि यहाँ उत्तिकै छ। त्यसका लागि ठूला र सुविधासम्पन्न सभा हल, विभिन्न स्थानमा तारे होटल र प्रदर्शनी केन्द्रहरू स्थापना तथा सञ्चालन गर्नुपर्ने हुन्छ।
हिमालमा स्की रिसोर्ट र केबलकार निर्माण गर्ने हो भने प्रशस्त स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ। नेपाल जस्तो पहाडी मुलुकलाई केबलकार एउटा उपयुक्त यातायातको साधन हो भन्ने कुरा अहिले निर्माण भएका चन्द्रागिरि, मनकामना तथा अन्नपूर्ण केबलकारले पुष्टि गरिसकेका छन्।
अझ चन्द्रागिरिको कुरा गर्ने हो भने त चन्द्रागिरि शिखरमा रहेको भालेश्वर मन्दिर र त्यहाँ पुग्नका लागि बनाइएको केबल कारका कारण त्यहाँ वर्षेनी लाखौं पर्यटकहरू पुगिरहेका छन्। पहिले त्यहाँ मुस्किलले केही हजार मानिसहरू मात्र पुग्ने गर्थे। तर त्यहाँको मन्दिर, हिमालको दृष्य र केबलकार एकअर्काका परिपूरक बनेका छन्।
तीमध्ये कुनै एक नभएको भए त्यहाँ पुग्ने मानिसको संख्या त्यति उत्साहजनक हुने थिएन। यो एउटा नयाँ र विशिष्ट पर्यटकीय गन्तव्य नै बनेको छ। काठमाडौँमा आउने स्वदेशी तथा विदेशी धेरैजना कम्तीमा एकपटक चन्द्रागिरि पुग्ने गरेका छन्।
गोरखाको मनकामना पनि यस्तै पूर्वाधारको सफल उदाहरण हो। यस्तै सफलताबाट प्रेरित भएर अहिले मुलुकभर विभिन्न स्थानमा केबलकार निमार्ण भइरहेका छन्। यी तथ्यले यस्ता पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सक्ने हो भने देशले काँचुली फेर्न धेरै समय नलाग्ने देखिन्छ।
नेपाल अति कम विकसित मुलुक हो र यो सन् २०२६ मा विकासशीलमा स्तरोन्नति हुने चरणमा प्रवेश गरिसकेको छ भने सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्ने लक्ष्य लिएको छ। त्यसका लागि नेपालले पूर्वाधारमा मात्रै वर्षेनी १३ अर्ब डलरदेखि १९ अर्ब डलरसम्म लगानी गर्नुपर्ने अध्ययनहरूले देखाएका छन्। त्यसैले यहाँका प्रत्येक क्षेत्रको पूर्वाधारमा लगानीका अवसर र सम्भावनाहरू छन्।
उदाहरणका लागि आतिथ्यका क्षेत्रमा होटल, रेष्टुराँ, क्यासिनो, हामेस्टे, स्कि रिसोर्ट, क्रुज यात्राजस्ता पूर्वाधारको आवश्यकता छ। त्यसैगरी साहसिक खेल तथा गतिविधिमा क्यानोनिङ, बञ्जी, जिप लाइन, पर्वतारोहण, ग्लास ब्रिज, अल्ट्रालाइट र प्याराग्लाइडिङ, तथा स्काइ डाइभिङ छन् भने केबल कार, रोपवे, फन पार्क, पानीजहाज पनि आवश्यक छ।
गुणस्तरीय यात्रा विमानस्थल, सडक, सुरुङ मार्ग र झोलुंगे पुल एवम् मन्दिर, चैत्य, गुम्बा, पाटीपौवा आदिजस्ता धार्मिक सांस्कृतिक पूर्वाधार पनि यहाँ बढाउनु परेको छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशीको खोंचमा रहेका बञ्जी जम्प नेपालको अन्तर्राष्ट्रियरुपमै ख्यातिप्राप्त पूर्वाधार र सुविधा हो। त्यसपछि पोखरामा र पछिल्लो समय पर्वत र बाग्लुङको सीमानामा रहेको कालीगण्डकीमा पनि बञ्जीको विस्तार भएको छ। तर, त्यसले भोटेकोशीमा जाने पर्यटकको संख्या घटेको छैन। त्यहाँ जाने पनि बढेका छन् भने पोखरा र कुश्मा जाने साहसिक खेलप्रेमी बढेका छन्।
कोरोनाभाइरस महामारीभन्दा अघि नेपाल आउने पर्यटकको आधारमा तयार पारिएको तथ्याङ्कले के देखाएको थियो भने यहाँ आउनेमध्ये आधा पर्यटक बिदा मनाउन वा आनन्द लिन आउँछन् र १३ देखि १५ प्रतिशत तीर्थयात्राका लागि आउँछन्। त्यसैगरी, ट्रेकिङ वा पर्वतारोहणका लागि आउनेको संख्या १२ प्रतिशत र व्यावसायिक भ्रमणमा आउनेको संख्या ९ प्रतिशतको हाराहारीमा छ।
त्यसैले अब पर्यटन पूर्वाधारमा लगानी गर्नेले यस्ता तथ्याङ्कमा टेकेर सम्बन्धित क्षेत्रमा लगानी गर्न सक्छन्। यहाँका सरकार र निजी क्षेत्रले भनेजस्तै अझै पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक हो। यहाँ जुन क्षेत्र र व्यवसायमा पनि लगानीको अवसर विद्यमान छ। त्यसमा पनि चीन र भारतजस्ता विश्वकै धेरै जनसंख्या भएका दुई मुलुकको बीचमा रहेको र अथाह पर्यटकीय सम्भावना बोकेको नेपालले यस क्षेत्रमा अभूतपूर्व प्रगति गर्न सक्छ।
तर निजी लगानी आकर्षित र विस्तार गर्नका लागि सरकारले तत्कालै काम थाल्नुपर्छ। उसले अहिले गर्नुपर्ने कार्यहरूमा लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्णरुपमा सञ्चालन हो। विमानस्थल सञ्चालनमा आए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरू आउन सकेका छैनन्, त्यसमा सहजीकरण जरुरी छ।
पर्यटकीय गन्तव्य र पूर्वाधारमा सहज बाटो, बिजुलीजस्ता पूर्वाधारको व्यवस्था गर्नुपर्छ। त्यसैगरी पर्यटकीय गन्तव्य र पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता तथा त्यसमा विदेशी लगानी सहजीकरणका लागि सरकारले बेग्लै नीति बनाउनु पनि उपयुक्त हुनसक्छ।
पूर्वाधार निर्माणमा पर्यटन, वन, अर्थ तथा अन्य सरकारी निकायबीच समन्वय कमजोर रहेको छ। त्यसमा यथासक्य चाँडो सुधार ल्याउनुपर्छ। साथै ठूला पूर्वाधार र गन्तव्य निर्माणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक संरचना निर्माण गर्नुपर्छ।
र अन्त्यमा, नेपालको पर्यटकीय बजार विस्तार गर्ने हो भने पर्यटकका लागि सगरमाथा, पोखरा र चितवनबाहेकका स्थानको प्याकेज पनि बेच्न सक्नुपर्छ। त्यसका लागि नयाँ-नयाँ स्थानमा आकर्षक र दिगो पर्यटन पूर्वाधार विकास गर्नुपर्छ। नयाँ-नयाँ गन्तव्यहरू निर्माण गर्नुपर्छ।
(शाह पर्यटन व्यवसायी हुन्)