चिनियाँ तथा अमेरिकी स्याटलाइट तस्बिरका आधारमा वैज्ञानिकहरूले रसुवा भेलबाढीको कारण के हुन सक्छ भनेर आकलन गरेका छन्।
उनीहरूका अनुसार हिमाली भेगमा बाह्रै महिना जमेर बस्ने हिमतालको माथिल्लो सतहमा पानीको केही अंश तैरिरहेको हुन्छ। सेताम्मे हिमनदीको सतहमाथि पनि त्यस्तै पानीको अंश हुन्छ। खासगरी दिउँसोको समय घामको तापक्रमले पनि हिमताल वा हिमनदीको माथिल्लो पत्र पग्लेर पानी बन्छ।
यसपालि तिब्बती क्षेत्रबाट त्यस्तै पानीको अंश ठूलो परिमाणमा पग्लेर ल्हेन्दे खोलामा मिसिएको र त्यसले नेपालको तटीय क्षेत्रमा भेलबाढी ल्याएको हुनसक्ने वैज्ञानिकहरूको आकलन छ। ल्होन्दो खोला तिब्बतबाट बग्दै नेपालतिर आउँछ। यसलाई नेपालमा भोटेकोसी नदी भनिन्छ।
चाइनिज एकेडेमी अफ साइन्समा अध्ययनरत डा. निकेश खड्काले विभिन्न समयमा खिचिएको ल्हेन्दे खोलाको स्याटलाइट तस्बिर सार्वजनिक गर्दै भने, 'हिमताल वा हिमनदीको माथिल्लो सतहमा रहेको पानी ठूलो परिमाणमा झरेर ल्हेन्दे खोलामा मिसिँदा यस्तो विपत्ति आएको हुनसक्छ।'
डा. खड्काले चिनियाँ वैज्ञानिक डा. गुओक्सिओङ चेङको सहयोगमा यस्तो आकलन गरेका हुन्। हिमताल वा हिमनदीको माथिल्लो सतहको पानी बग्ने यो प्रक्रियालाई वैज्ञानिक भाषामा 'सुप्राग्लेसियल' भनिन्छ।
यो प्रक्रिया निरन्तर चलिरहने हुँदा हिमाली क्षेत्रबाट बगेर आउने खोलामा पानीको तह कहिलेकाहीँ अकस्मात् बढ्न सक्ने डा. खड्का बताउँछन्।
उनका अनुसार स्याटलाइट तस्बिर हेर्दा ल्हेन्देको माथिल्लो भागमा सन् २०२१ अघि यस्तो प्रक्रिया थिएन। तर सन् २०२२ यता केही परिवर्तन भएका छन्।
त्यसयता हिमताल वा हिमनदीको माथिल्लो सतहबाट पानी बग्ने क्रम सुरू भएको देखिन्छ। पानी बग्दै जाँदा सन् २०२३ सम्म एउटा ठूलो ताल नै बनेको डा. खड्का बताउँछन्।
यो प्रक्रिया कति अस्थिर र अस्थायी छ भने, सन् २०२४ नोभेम्बरसम्म आइपुग्दा त्यो ताल हराउँछ। फेरि सन् २०२५ जुलाइतिर अस्तित्वमा आउँछ।
'यसले पानी जम्ने र पग्लेर बग्ने क्रम नियमित रूपमा भइरहेको देखिन्छ,' डा. खड्काले भने, 'यसपालि पनि पानी निकासी भएर गेग्रानसहित तल्लो तटीय क्षेत्रमा आइपुगेको हाम्रो प्रारम्भिक विश्लेषण छ।'
यसमा थप अध्ययन भने हुनुपर्ने उनी बताउँछन्।

हामीले यसबारे इसिमोडका जलवायु तथा वातावरण जोखिम विज्ञ डा. अरूणभक्त श्रेष्ठलाई सोध्यौं। उनले नेपालका धेरै हिमताल र हिमाली क्षेत्रमा आएका विचलनबारे अध्ययन गरेका छन्।
डा. श्रेष्ठले पनि हिमताल वा हिमनदीको माथिल्लो सतहबाट पानी निकास हुँदा तल्लो तटीय क्षेत्रमा भेलबाढी आएको हुनसक्ने बताए।
पछिल्लो समय हिम विचलनका नयाँ नयाँ घटना भइरहेका छन्। गत जेठ १ गते उत्तरी हुम्लाको तिल्जुङ खोलामा यस्तै भेलबाढी आएको थियो। मानवीय क्षति भने भएन। तिलगाउँका केही घरमा क्षति पुग्यो। तिल्जुङ खोलाको भेलबाढीको कारण भने अहिलेभन्दा फरक छ।
त्यहाँ हिमतालको तल्लो तहमा ओडार जस्तो बनेर त्यहाँ रहेको पानी एकैचोटि बगेको वैज्ञानिकहरूको निष्कर्ष छ। यसलाई वैज्ञानिक भाषामा 'थर्मोकार्स्ट' भनिन्छ।
त्यो घटना नेपालका हिमाली क्षेत्रका लागि नौलो भए पनि अहिलेको घटना पनि नयाँ नभएको वैज्ञानिकहरू बताउँछन्।
गर्मी याम वा जलवायु परिवर्तनका कारण हिमनदीको माथिल्लो सतहमा रहेको हिउँ पग्लने क्रम लामो समयदेखि चलिरहेकै छ। यसरी पग्लिएको पानी हिमनदीको सतहमा जमेर पोखरी बन्छ।
सगरमाथा क्षेत्रको गोक्यो, दोलखाको च्छोरोल्पा तालको उत्पत्ति यही प्रक्रियाबाट भएको डा. श्रेष्ठ बताउँछन्।
खुम्बु क्षेत्रमा पनि यही प्रक्रियाले ताल अस्तित्वमा आएको र पछि पानी निकास भएर आफै हराएको उनले बताए।
तर सबैतिर यही अवस्था रहँदैन। यसरी निस्किएको पानीले कहिलेकाहीँ वरिपरिका 'हिमोढ' (अत्यधिक चिसोले माटो, ढुंगा जमेर बनेको संरचना) बगाउँदै तटीय क्षेत्रमा विध्वंश ल्याउन सक्छ। रसुवामा मंगलबार बिहान यस्तै भएको हुनसक्ने उनीहरूले बताएका छन्।
‘तापमान वृद्धि वा अन्य कारण हिमाली क्षेत्रमा ताल बन्ने र हराउने क्रम लामो समयदेखि चलिरहेको छ। हाम्रै खुम्बु क्षेत्रमा पनि यस्तो भएको छ। सोलुखुम्बुको इम्जा ताल पनि यसकै विस्तारित रूप हो। यस्ता तालबाट कहिलेकाहीँ सानो पानी बहाव हुन्छ। कहिलेकाहीँ ठूलो पानी बग्न सक्छ। त्यसरी बग्दा वरपरका गेग्रान, ठुल्ठूला ढुंगा पनि ल्याउन सक्छ,’ उनले भने।
भूगर्भविद् श्रीकमल द्विवेद्वीले रसुवागढी विध्वंश बहुप्रकोपकै एउटा रूप भएको बताए। हिमाली क्षेत्र संवेदनशील बन्दै गएको विभिन्न घटनाक्रमले पुष्टि गरेको र त्यसकै कडीका रूपमा यसलाई बुझ्नुपर्ने उनको भनाइ छ।
‘पछिल्लो समय तिब्बती क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। माथिल्लो मुस्ताङको मंगलबारकै बाढीले पनि त्यो देखाउँछ। त्यस अतिरिक्त हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम तीव्र रूपमा चलिरहेको छ। त्यसैले पानी बगेर ताल बन्न थालेको हो। त्यस्तै, हिमोढहरू पग्लिने क्रम पनि बढेको छ। माथिल्लो भेगमा आइस क्रमिक रूपमा पग्लिने, तल्लो तटीय क्षेत्रमा निरन्तर वर्षाले माटो गलेर स–साना पहिराको रूप लिने र त्यसले भेलबाढी ल्याउने पनि भइरहेको छ,’ उनले भने।
त्रिभुवन विश्वविद्यालय विपद् अध्ययन केन्द्रका निर्देशक डा. वसन्त अधिकारी भने पनि रसुवा भेलबाढीको स्रोत यही पानीको निकास नै भएको आकलन गर्छन्। तर यसमा पर्याप्त अध्ययन बाँकी भएको उनको भनाइ छ।
केरूङ नाका दुई खोलाको दोभानमा छ। उत्तरपश्चिमबाट त्रिशूली नदीकै अर्को शाखा बग्दै आउँछ। उत्तरपूर्वबाट अर्को नदी बग्दै आउँछ। अहिले भेलबाढी आएको पूर्वतर्फको नदीबाट हो।
विभिन्न स्याटलाइट तस्बिर अध्ययन गर्दा माथिल्लो तटीय क्षेत्रमा एउटा सानो गाउँ देखिन्छ। उक्त गाउँमा बाटो पुर्याउन चीनले माटे सडकहरू पनि निर्माण गरेको देखिन्छ। भेलबाढीलाई यसले कत्तिको योगदान दियो, त्यसको अध्ययन, विश्लेषण भने भइसकेको छैन।
