छोरी जन्मिएपछि नाक खुम्च्याउने हाम्रो समाज, त्यही छोरी जब कसैकी बुहारी बनेर भित्रिन्छे, उबाट अनेकौं अपेक्षा राख्छ र उसको हरेक गतिविधिमा नजर राख्छ।
बुहारी कतिबेला उठ्छे, कतिबेला सुत्छे, कस्तो लुगा लगाउँछे, कस्तो हेयर स्टाइल गर्छे, कसरी हिँड्छे, कसरी हाँस्छे; हरेक कुराको यस्तो निगरानी हुन्छ मानौँ ऊ अर्कै ग्रहबाट आएकी हो।
ऊ बुहारी हुनुभन्दा पहिला एउटा मानव हो, उसमा पनि अरू सबैमा जस्तो सबै खालको भावना हुन्छ भन्ने कुरा उसलाई बुहारी भन्नुपर्ने नाता भएका सबैले बिर्सिन्छन्।
कसैको छोरी भएर जन्मिएदेखि नि:स्वार्थ माया पाएर हुर्किएकी एउटी केटी जो भर्खरै बिहे भएर श्रीमानसँगको नाताले श्रीमानको परिवार र आफन्तसँग नाता जोड्न पुगेकी छे, जो कहिल्यै नदेखेको ठाउँलाई आफ्नो घर, कहिले नदेखेका मान्छेलाई आफ्ना मान्छे, आफ्नो परिवार भन्नुपर्ने अवस्थामा छ, उसलाई तिनै नयाँ मानिसहरूले अनेक कर्तव्य थुपारिदिन्छन्।
ऊ ती कर्तव्य बुझ्नसम्म अझै समय लाग्ने अवस्थामा छ, परिपक्वता सिक्दै छ, तर समाज भने उसको मूल्यांकन गर्न थालिसक्छ।
बिस्तारै समय बित्दै जाँदा नयाँ परिवार सुरू गर्ने बेला आउँछ र ऊ गर्भवती हुन्छे।
महिलाले धेरै पिछडिनु परेको हाम्रो समाजमा पुरानो पुस्ता आफ्नो दुःखको गाथा गाउन थाल्छ र भन्छ, ‘हाम्रो पालामा यस्तो सुविधा थिएन’।
कुरा त ठिकै हो, पहिले साँच्चै नै धेरै दुःख थियो, स्वास्थ्य सेवा थिएन, त्यसैले त मातृ मृत्युदर, शिशु मृत्युदर, बालबालिका मृत्युदर अत्यधिक धेरै थिए।
पहिलेका महिलाले पोषणयुक्त खाना, प्रशस्त आराम, माया र साथ केही पनि पाउँदैनथे र दुःख नगरी विकल्प नै थिएन, सबैले त्यही गर्थे।
तर आज समय परिवर्तन भयो, महिला सचेत भए, सबल भए, स्वास्थ्य सेवा उपलब्ध हुन थाल्यो, पैसा भयो भने माया र साथ बाहेक अरू सबै कुराको बन्दोबस्त गर्न मिल्ने जमाना आयो।
यो परिस्थिति आउनु उपलब्धि हो, प्रगति हो तर पहिलाको समयमा यतिको सुविधा नपाएका मानिसलाई अहिलेकाले सुविधा लिएको धेरै लाग्ने रहेछ। अलिअलि दुःख त गर्नुपर्छ, अझ बुहारी भएपछि त खट्नै पर्छ भन्ने बुझाइ धेरैको हुने रहेछ।
गर्भावस्था र सुत्केरी अवस्थामा महिलालाई अझै धेरै आरामको आवश्यकता हुन्छ, पौष्टिक खानेकुरा, परिवारको साथ र सहयोग निकै महत्त्वपूर्ण हुन्छ।
फेरि गर्भावस्था पूरा नौ महिनाको र सुत्केरी अवस्था त खास दुई वर्ष (बच्चाले स्तनपान गरून्जेल) नै रहन्छ।
चार-पाँच महिनापछि हट्टाकट्टा जस्तो देखिए पनि सुत्केरी महिलालाई शरीरमा थकान, दुखाइ निकै नै हुन्छ।
अझ आजकालका कामकाजी महिला, जागिरे बुहारीलाई अर्को पनि जिम्मेवारी हुने भई नै हाल्यो। बुहारीले नै नगरी नहुने भनेको उसको आफ्नो करियर बनाउने काम र उसको बच्चालाई खुवाउने काम हो। आमा भएको कारणले बच्चाको स्याहार-सुसार गर्नु उसको जिम्मेवारी मात्र नभई रहर पनि हुन्छ तर आमाले मात्र नै गर्न मिल्ने काम भनेको चाहिँ स्तनपान गराउने काम हो।
यी दुईवटा काम बाहेक घरको, भान्साको, खेतबारीको आदि-इत्यादि काम परिवारको अरू सदस्यले गर्न मिल्छ।
यदि परिवारमा कोही भएन भने घरधन्दाको सहयोगी राखेर आफूले आराम गर्न आजका बुहारी सक्षम छन्।
हो, यही आराम गर्दा बुहारी अल्छी कहलिने रहेछ, उसको जागिर, करियर धानेर बच्चालाई खुवाएर मात्र त बुहारीले काम गरेको जस्तो कसैलाई लाग्दैन रहेछ।
यस्तो किन भएको होला भने हाम्रो समाज बुहारीलाई सेवा गर्ने भूमिकामै देख्न चाहन्छ। चाहे जे गरोस्, बुहारीले भाँडा माझ्न पर्यो, राति बच्चाले सुत्न दिएको हुँदैन, दिउँसो जागिरले सुत्न दिँदैन, साँझ बिहान बुहारी अलि बढी सुते त्यो आलोचनाको विषय बनिदिन्छ। ‘हामीले कति दुःख गर्यौं’ भन्दै तुलना सुरू हुने रहेछ।
पुरानो पुस्तालाई नयाँ पुस्ताको अनुरोध- तपाईंहरूले दुःख पाउनुभयो त्यसमा हामीलाई दुःख लाग्छ, एउटा महिला भएर, आमा भएर सोच्दा कसरी धान्नु भयो होला सबै कुरा भनेर माया पनि लाग्छ।
अब तपाईंहरू हामीलाई हेरेर यिनीहरूले सुविधा पाउनु गलत भयो भन्ने सोच्नुभन्दा पनि हामीले सुविधा नपाउनु कति गलत समाज थियो भनी महिलाको प्रगति भएको अनुभूति गरी खुसी भइदिनुस् न है।