भोलिपल्ट एक बिहानै स्यानी भाउजूले फोन गर्नुभयो, ‘छोराले 'सी' पास गर्यो बाबु, ए प्लस ल्याएर! अब के पढाउने होला? कता पढाउने होला?’
त्यसपछि त स्यान्दिदी, माइजू, माझारे काका, डरमुनि ठुलाबा, मेसिनवाला दाइ, जिपवाला भाइ, काकी पर्ने, सालो पर्ने, मन्तर सुनाएको र दूधवाला दाइ सबैसँग कुरा भयो। सबैका 'सी' पास गर्ने रहेछन् घर घरमा।
यति धेरैसँग कुरा होला र ठ्याक्क उत्तर दिनुपर्ला भनेर सोचेको पनि थिइनँ। बडो अप्ठ्यारो पर्यो। 'आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन्... रज है खुल्यो भन्दिएँ’ झट्ट झलकमान गन्धर्वलाई सम्झिएँ। एउटा नौजवान युद्धको रणभूमिमा अस्ताउँदा उसको बारेमा सोध्ने सबैको अवचेतन मनभित्र पसेर कसरी उत्तर बनाउन सकेका! टाठा रहेछन् बूढा।
म टाठो हुन सकिनँ। कारण सबैको मनभित्र पस्न सकिनँ। समयलाई बुझ्न सकिनँ। युगको सिकार बनेका स्यानी भाउजूदेखि दूधवाला दाइको मनोवृत्ति ठम्याउन सकिनँ। खासमा कसले सोध्दा के भन्दिने भनेर उत्तर बनाउनुपर्दो रहेछ। कसरी भन्दिने भनेर जान्नुपर्दो रहेछ। के भन्ने, के नभन्ने, केले खुसी बनाउँछ, केले दुखी बनाउँछ ख्याल गर्नुपर्दो रहेछ। बोलीको त छ जमाना!
एक दिन ढिलो गरेर पर्सिपल्ट त पूर्व प्रेमिकाले पनि फोन गरिन्। सामाजिक सञ्जालमा देखिराखे पनि खासै कुराकानी हुँदैनथ्यो उनीसँग। चाहेर नचाहेर कहिलेकाहीँ पोस्टहरू देखिन्थे। हाउभाउ र रहनसहनले पोखरा, काठमाडौँ वा कुनै ठुलो सहरमा छन् जस्तो लाग्थ्यो। आज त उनको पनि कुरा उस्तै थियो। छोरीले 'सी' पास गरिछन्। ए प्लस नै ल्याइन् रे। के पढाउने, कता पढाउने?
हिजो धेरैलाई उत्तर दिइसकेँ। कसैलाई खुसी बनाउन सकिनँ। राम्रो सिकाइ पनि भयो। आज त फ्याट उत्तर दिन मन लागेन। पहिलाकी भए पनि प्रेमिका न हुन्! एकछिन हावा गफ मात्र भयो।
सबैले सोध्नुको अर्थ आवरणमा सल्लाह लिनु जस्तो थियो। तर भित्री आशय त्यस्तो रहेनछ। खासमा ती सबै जना आफ्नो परिस्थितिको स्वमूल्याङ्कन, आफूले बनाएको योजना र न्यारेटिभ्सको अनुमोदन गर्न चाहन्थे; गाउँमा पढेर हुँदैन, स्कुलहरू राम्रा र नराम्रा हुन्छन्, ग्रेड नै क्षमताको मापक हो, पढ्नु भनेको विदेश जानु हो र पैसा कमाउनु हो आदि इत्यादि। समाजलाई बदल्ने, न्यारेटिभ्सहरू परिवर्तन गर्ने एक्लो जिम्मेवारी मेरै हो कि जस्तो गरेर त्यस दिनभर निकै पिरोलिएँ।
न्यारेटिभ्सहरू पनि त्यसै बनेका होइनन्। हावामा सिर्जना भएका होइनन्। गाउँमा पढेर हुँदैन...। ठिकै हो। आफ्नो समय सम्झिएँ। त्यति बेलाको एसएलसी। गाउँभरि मान्छे थिए। प्रत्येक घरैपिच्छे एसएलसी दिनेहरू हुन्थे। सबैका घरमा उस्तै माहौल हुन्थ्यो, उस्तै पिरलो। ‘पढ्नु पर्दैन? हेर त पढ्ने बेलामा खेलेका! भोलि जाँचमा के लेख्छौ?’ बेलुकी पख बारी खेतको खले गरोमा यसो छेलो हान्न निस्कँदा जसका बाआमाले देखे पनि भन्ने शब्दहरू थिए यी।
एसएलसीको बेलामा मात्र हैन त्यस अघिको समयमा पनि सबैका बा-आमा शिक्षक जस्तै लाग्थ्यो। जसलाई देखे पनि नैतिक बन्धन र अभिभावकीय अनुभूतिले बाटो बिराउन सम्भव नै थिएन। सिसिटिभी क्यामेराले जस्तै जो सुकैले पनि स्वतःस्फूर्त निगरानी गर्थ्यो। बिजुली थिएन। टिभी, मोबाइल, इन्टरनेटको त के कुरा!
त्यसमाथि अक्कल झुक्कल र विशेष गरी दसैँको बेलामा सहरबाट गाउँ आउँदा भेटिने क्याम्पस पढ्दै गरेका, जागिर खाएका र परिचय बनाएका दाइ, दिदी र अंकलहरूले बाटोघाटो र चौतारी जहाँ भेटिए पनि प्रश्न गर्थे- ‘कति क्लासमा रे पढ्ने? फर्स्ट सेकेन्ड के हुन्छौ?’
साँच्चिकै भन्दा मलाई यी प्रश्नहरूले भन्दा उनीहरूका उज्याला कपडा, सफा र कोमल हातखुट्टा अनि शरीरको सुगन्धले बढ्ता आकर्षण गर्थ्यो। सहर जानु, पढ्नु र जागिर खानु एउटा गज्जबको ग्ल्यामर लाग्थ्यो। मैले मेरो कक्षा र स्थान भन्न नपाउँदै कक्षा अनुसारका फरक फरक विषयका प्रश्न गर्थे ‘पेरियोडिक टेबल आउँछ? एस्से के-केको आउँछ? साध्यहरू सबै आउँछ?’
म साह्रै खुल्न सक्दैन थिएँ। हीनता भाव र दृढ निश्चयले एकै पटक छोप्थ्यो। पढाउने गुरु-गुरुआमाहरूभन्दा महान् थिए ती भावनाहरू जसले त्यति बेलादेखि आजसम्म पढाइरहेका छन् जीवनका अमूल्य पाठहरू।
तर गाउँ अहिले त्यस्तो छैन। गाउँमा अहिले सबै कुरा छन्। कालोपत्रे सडक छ। बिजुली बत्ती छ। घरघरमा टेलिभिजन छ। हात हातमा स्मार्ट फोन छन्। घरघरमा पुग्ने मोटर बाटो छ। सवारी साधन छन्। फोटोकपी, प्रिन्टर छन्। अस्पताल छ। बैंक छ। सहकारी छ। किनारा पसलहरू छन्। रेफ्रिजेरेटरहरू छन्, चिस्यान केन्द्र छ। चाउचाउ, बिस्कुट, चटपटे, मःम, चप्पल, छाता, बोइलर कुखुरा सबै पाइन्छन्। पक्की घरहरू छन्।
नभएको केवल मन र केही थान भावनाहरू न हुन्! यी सारा चीज भएको ठाउँमा जाबो मन र भावनाहरू कसो नपलाउलान् र भन्ने ठानेर गाउँमा पढे पनि हुन्छ भन्ने सल्लाह दिएँ। तर गाउँबाट फोन गर्नेहरूलाई चित्त बुझे जस्तो लागेन। गाउँमा पढेर हुन्छ कि हुँदैन भनेर जान्नको लागि पनि एक पटक गाउँ छोड्नै पर्दो रहेछ।
गाउँ मात्र हैन, गाउँको स्कुलमा पनि धेरै परिवर्तन भएको छ। सबैभन्दा ठुलो त स्कुल नै पहिले भन्दा नजिक सरेको छ। त्यसमाथि स्कुल बस छ। पक्की भवन छन्। कक्षाकोठामा सिलिङ फ्यान छन्, स्मार्ट बोर्ड छन्, आरामदायक फर्निचर छन्। पिउने पानी छ। पक्की शौचालय छ। पुस्तकालय छ। कम्प्युटर ल्याब छ। मजबुत व्यवस्थापन समिति छ। शिक्षक छन् तालिम प्राप्त। किताब छन्, कापी कलम छन्। नभएको केवल पढ्ने लेख्ने चाहना र ज्ञानको भोक न हो। सबै कुरा भएको स्कुलमा त्यति भोक पनि एक दिन पक्कै जाग्ला नि भनेर आफू पढेको स्कुलको वकालत गरेँ। तर उनीहरूको लागि सहरका स्कुलको स्थान निकै माथि रहेछ।
सहर अर्थात् म बस्ने ठाउँ। सारा दुनियाँ बस्ने ठाउँ। ठुला मान्छे बस्ने ठाउँ, धनी मान्छे बस्ने ठाउँ, जागिर पाइने ठाउँ। नागरिकता र पासपोर्ट बनाउने ठाउँ। राम्रा स्कुलहरू भएको ठाउँ। राम्रा स्कुलहरूमा धेरै कुरा हुँदो रहेछ।
साँझ घर फर्किँदा एसइई परीक्षा दिन छ वर्ष बाँकी रहेकी छोरीले उत्साहित हुँदै भनिन्, ‘बाबा, हाम्रो स्कुलमा आज बिहे थियो। बाजा बजाएका थिए। दाइ र दिदीलाई गाडीमा राखेका थिए। पैसा दिएका थिए। लड्डु बाँडेका थिए। टिचरहरू, प्यारेन्ट्स र ठुलो दाइ-दिदीहरू सबै जन्ती जानुभएको थ्यो।’
‘स्कुलमा बिहे?’ मैले नबुझे झैँ गरेँ, ‘तिम्रो पनि बिहे गर्नुपर्छ छोरी, भोलिपर्सि।’
अर्ध मुस्कान सहित साना आँखाले हेर्दै छोरी दौडिन्।
सहरमा स्कुल पनि दुई थरी हुन्छन्। सरकारी र बोर्डिङ भन्छन्। दुवै थरीका फेरि राम्रा र नराम्रा छन्। जुन किसिमको भए पनि समग्रमा राम्राहरू र नराम्राहरूका कार्य व्यवहारहरू धेरै मिल्छन्। नराम्रा स्कुलमा शिक्षक र विद्यार्थी मात्रै हुन्छन् रे। मन, भावना र अन्तर्क्रिया त कसले देख्छ र!
अनि राम्रा स्कुलमा?
राम्रा स्कुलमा त के हुँदैन र! ठुला ठुला भवन हुन्छन्। सयौँ विद्यार्थीहरू हुन्छन्। पर्याप्त शिक्षक र मामाहरू हुन्छन्। मामाहरू आमाका दाइ वा भाइ चाहिँ होइनन्। खेल मैदान हुन्छ। भलिबल, बास्केटबल, फुटसल, क्रिकेट सबै खेलाइन्छ। संगीत, नृत्य, योग, ध्यान, हस्तकला, चित्रकला सबै गराइन्छ। पिकनिक, टुर, आउटिङ वर्षैपिच्छे गरिन्छ। टाउको दुख्यो, चोट लाग्यो, टाई च्यातियो, बेल्ट फुस्कियो, सिसा कलम, चार्ट पेपर केहीको टेन्सन हुँदैन। बिहानैदेखि बेलुकासम्म पढाइन्छ, घोकाइन्छ, पिलाइन्छ। पढ्ने पढाउने, बस उठ सबै अङ्ग्रेजीमा हो। दिनै पिच्छेको खाजा हुन्छ। टीका, जमरा, असार पन्ध्र सबै स्कुलमै हुन्छ। अरू पनि के-के हो के-के। भनेर साध्य छैन। नहुने केही हुँदैन। महिनाको एक चोटि बिल तिरे पुग्छ। नपाइने भनेको त्यही खुसी र लगन न हो! त्यत्रो सबै कुरा भएका राम्रा स्कुलमा जाबो खुसी र लगन कसो नहोलान् एक दिन भनेर ‘हो हो, ठिक छ’ मात्रै भन्दिएँ फोन गर्नेहरूलाई।
हुन त उनीहरूले मबाट खोजेको त्यही थियो। मसँग त स्कुलको केवल परिभाषा थियो, उदाहरण थिएन। राम्रा स्कुलहरूले उत्कृष्ट विद्यार्थीहरू लिएर सर्वोत्कृष्ट बनाउँछन् र नराम्रा स्कुलहरूले निम्न विद्यार्थीहरू लिएर मध्यम बनाउँछन्। स्वस्थ विद्यार्थी लिएर उमेरअनुसार चाहेको ज्ञान, सीप र अभिवृद्धि विकास गर्ने ग्यारेन्टी कुनै स्कुलहरूले दिन्छन् त? हुन त स्कुलहरू पनि मेसिन नै हुन्। इनपुटलाई प्रोसेस गरेर आउटपुट निकाल्छन्। जस्तो इनपुट उस्तै आउटपुट।
स्कुल राम्रो र नराम्रो हुनुमा इनपुट अर्थात् विद्यार्थी नै महत्त्वपूर्ण रहेछ। स्कुलको कल्चर र क्लासरुम डाएनामिक्स महत्त्वपूर्ण रहेछ। समयको आँधीबेहरीमा डुबेर मदहोसी बनेका केटाकेटीलाई सम्हालेर नतिजा दिन पनि निकै मजबुत मेसिन र प्रणाली चाहिन्छ। दिमाग घर थन्क्याएर स्कुल जान्छन्, पुस्तक स्कुलमा छोडेर घर जान्छन् विद्यार्थीहरू।
फेरि आफ्नै पालाको किस्सा सम्झिन्छु। कुनै पनि प्रश्नको उत्तर कुनै हालतमा जानिएन भने एउटा फर्मुला थियो- जेपिटी अर्थात् जे पायो त्यही लेख्ने। जेपिटी गर्दा पनि कहिलेकाहीँ त विशिष्ट विचार निर्माण हुन्थ्यो। यो समय जेपिटीको होइन जिपिटीको हो। विद्यार्थीहरू स्मार्ट छन्। टुल्स र एप्सहरू प्रयोग गर्छन्। प्रयोग नगर्ने त्यही एउटा 'कमन सेन्स' त हो!
जे जसरी भए पनि नतिजा आएको छ। ए प्लस हो कि ए हो ग्रेड आएको छ। अब उनीहरूको भाग्य भविष्य सबै निर्धारण गर्ने भनेको त्यही ग्रेड हो। ग्रेड अनुसारका स्कुल हुँदा रहेछन्, पढ्ने विषय हुँदा रहेछन्। भोलिको लक्ष्य र गन्तव्य हुँदो रहेछ। रुचि, चाहना र क्षमताको कहाँ छ र कुरा यहाँ?
‘पढेर पनि उही विदेश जाने, पैसा कमाउने रहेछ क्यारे, बाबु,’ स्यानी भाउजूले मलाई सिकायत गरेकी थिइन्। होइन भनौँ सूर्यलाई हत्केलाले छोप्न सक्दिनँ। हो भनौँ आत्मालाई ढाँट्न सक्दिनँ। प्रश्नहरू त्यसै उम्लिन्छन् मात्र।
हिजो पढ्ने उत्कट चाहना हुँदा श्रोत र साधनको अभाव थियो। त्यही अभावको एजेन्डामा अनेकन् राजनीतिहरू भए। बजेट छुट्टाएर विकास निर्माणहरू भए। गाउँदेखि सहरसम्म बजेटले बन्ने सबै पूर्वाधारहरू बनिसकेछन्। बजेट नै नलाग्ने मनोवृत्तिका मामुली कुराहरू किन यति कमजोर भएछन्? राज्य व्यवस्था परिवर्तन गर्न आन्दोलन चाहिँदो रहेछ, मनोवृत्ति परिवर्तन गर्न आन्दोलनभन्दा ठुलो क्रान्ति चाहिँदो रहेछ।
अब क्रान्तिको समय आएन र?