म १५ वर्षको उमेर पुगेदेखि नै घरमा पाहुना आउँदा हरेक पाहुनाले दोहोराउने कुरा थियो- ‘अब त छोरीको बिहे गर्ने बेला भयो त, साह्रै राम्रो केटाको कुरा आएको छ, यस्तो केटा त खोजेर नि पाइँदैन।’
कसैले धेरै पढेको केटा छ भन्ने, कसैले केटाको त बजारमा घर, गाडी अनि टन्नै सम्पत्ति छ भन्ने। अनि कसैले त केटाको सानो परिवार छ, नानीलाई दुःख हुन्न घरमा, घर चलाउन सजिलो हुन्छ भनेर यस्तै फरक फरक कुरालाई महत्त्व दिँदै कुरा गर्ने गर्थे।
म घरकी जेठी छोरी जो बुवा-आमाको विवाहको १८ वर्षपछि जन्मेकी थिएँ। सन्तान नहुँदा त्यो १८ वर्ष कसरी बितेको थियो भन्ने बारे मेरी आमाले मलाई कहिलेकाहीँ सुनाउने गर्नुहुन्छ। घरमा श्रीमानको खटन, सासूको वचन अनि समाजको हेपाइ निराश हुँदै सुनाउनु हुन्थ्यो। म पनि एकटकले सुन्ने गर्थेँ र ती सब मानिस जसले म नजन्मिएको कारण मेरी आमालाई रुवाएका थिए उनीहरू सबलाई गाली गर्दै बस्थेँ।
मलाई त्यो व्यक्ति आजसम्म पनि याद छ जसले मेरी आमालाई कसैले ‘तिम्रो बच्चाहरू कति भए त?’ भनेर सोध्दा तिनी बिचमा बोलेर ‘ए टन्नै छन् त, उफ्रिँदै छन् त यी वरिपरि’ भनेर पेच हान्ने गर्थे।
म नजन्मेको कारण मेरी आमाले सुन्नुपरेको ती वचनहरू सुनिराख्दा मलाई आफैँलाई आफैँदेखि पनि रिस उठ्ने गर्थ्यो कि म किन जन्मिन होला त्यति बेला? मेरो कारणले मेरी आमाले यति धेरै रुनु परेको रहेछ भन्ने सोच्थेँ।
विवाहको करिब १८ वर्षपछि म जन्मिएँ रे। आफू सधैँ निसन्तान नै हुन्छु भनेर चित्त बुझाइसकेकी मेरी आमा, मलाई आफ्नो काखमा देख्न पाउँदा निकै खुसी हुनुहुन्थ्यो रे। म जन्मेको केही बेरमै मेरी काकीले मलाई बोक्नुभयो अनि रुन लाग्नु भयो रे
मैले ‘हो र? त्यति खुसी हुनुहुन्थ्यो म जन्मिँदा काकी?’ पनि भनेर सोध्दा ‘खै! खुसी नै त भएको होला नि, काखमा लिइन् अनि ‘ए दिदीले बल्लबल्ल सन्तान पाउनु भएको तैपनि छोरी नै पो पाउनु भएछ’ भन्ने गुनासो सुन्दै थिएँ मैले बेहोसीमै’ भन्नु भयो आमाले।
अहिले हामी ३ दिदी-बहिनी छौँ, हाम्रा दाजुभाइ छैनन्। मेरो विवाहको कुरा आउँदा एउटा कुरा त ‘ए केटीको त दाजुभाइ नै छैनन् रे, पछि छोराछोरीले मामाघर भनेर जानी ठाउँ नै हुन्न’ भनेर पनि फर्केका थिए। विवाहको कुरा गर्दै गर्दा ‘हामी हजुरको छोरी लिन आएको, हामी बुहारी हैन छोरी बनाएर राख्छौँ’ भन्ने ती सबै व्यक्तिहरूमा मैले कसैले पनि ‘हाम्रो छोरा हजुरको घरको पनि छोरा हुनेछ’ भन्ने सुन्न पाइनँ।
म १५ वर्ष पुगेदेखि विवाहको लागि कुरा आउन लागेको कुरा गरिहालेँ। मैले त्यति बेला बिहे गर्न मानिनँ, म आफ्नो पढाइलाई निरन्तरता दिँदै थिएँ। म लगभग २४ वर्ष पुगेकी थिएँ। हरेक दिन कम्तीमा पनि ३ जनाको के छ हालखबर? बिहे गर्ने हैन अब? भन्ने प्रश्नको उत्तर दिनु पर्थ्यो मैले।
कतिलाई मैले हो अब गर्नु पर्छ भन्थेँ। कतिलाई हैन अहिले बिहे गरिहाल्न मन छैन भन्ने गर्थेँ त कतिलाई हजुरको घरमा पनि मेरै उमेरको छोरी छिन् हैन? उनको बिहे गराउनु अनि म गरुँला नि पनि भनिदिन्थेँ।
म दिक्क भइसकेको थिएँ ती हरेक दिन दोहोरिइरहने प्रश्नबाट। किनकि कसैले पनि मलाई मेरो के इच्छा छ भनेर सोधेको पाइनँ। उनीहरूलाई मेरो बिहे हेर्ने इच्छा छ रे, उनीहरूलाई भोज खान मन छ रे र त्यसको लागि मैले बिहे गर्दिनुपर्ने रे।
समय यस्तै बित्दै थियो, एक दिन मलाई एक जना आफन्तको फोन आउँछ। मैले फोन उठाएर गफ गर्न थालेँ। खासै फोन नगर्ने ती व्यक्तिले किन मसँग गफ गर्दै छन् भन्ने कुरामा मलाई शंका लागिसकेको थियो। मेरो शंका ठ्याक्कै मिल्यो, उताबाट प्रश्न आयो- ‘नानी, नाइँ नभन्नु होला, एकदम राम्रो, टन्न सम्पत्ति भएको, काठमाडौँमा २/३ वटा घर भएको मान्छेको कुरा आएको छ, हामीले तिम्रै लागि भनेका हौँ, तिमीले राज गर्छ्यौ त्यो घरमा।’
सँगै भन्नुभयो, ‘तर एउटा कुरा छ जुन मैले तिमीलाई लुकाउन मिल्दैन। के गर्छ्यौ, तिमीले २४ वर्षको उमेरसम्म बिहे गरिनौ, यो केटा चाहिँ डिभोर्स भएको हो है, उनकी पहिलेकी श्रीमतीले छोडेर गएकी हुन्।’
मलाई केही प्रतिप्रश्न गर्न मन लागेन र पछि कुरा गरौँला है भनेर फोन राखिदिएँ। सोच्न लागेँ, के मैले २४ वर्षसम्म बिहे नगरेर साँच्चै नै ठुलै गल्ती गरेकै हो त?
यसै गरी हरेक दिन विवाह कहिले गर्ने त भन्ने एउटै प्रश्नको फरक फरक उत्तर दिँदै समय बित्दै गर्दा मैले २६ वर्षको उमेरमा विवाह गरेँ। विवाह अगाडि करिब १० वर्षसम्म हरेक दिन जस्तो विवाह कहिले गर्ने भनेर सोध्ने ती सबै व्यक्तिहरू अब मेरो जिन्दगीबाट हराउन लागे। पहिले विवाह किन नगरेको भनेर सोध्ने ती सबै मान्छेहरूले विवाहपछि वैवाहिक जीवन कस्तो चल्दै छ भनेर त कसैले पनि सोध्दैनन् रहेछन्।
सायद अब अरू कसैलाई विवाह कहिले गर्ने भनेर सोध्न पो गए होलान् कि?
तर अहँ होइन नि, अब त मलाई उस्तै हरेक दिन दोहोरिने एउटा नयाँ प्रश्न आउन थालेको छ, ‘अब सन्तान कहिले पाउने त? पाइहाल एउटा अब।’
मेरो निर्णय
मेरो पढाइ अझै पनि सकिएको छैन। मलाई अझै पढ्न मन छ, आफ्नो खुट्टामा उभिनु छ अनि आफ्नै एउटा घर पनि बनाउनु छ। मुख्य कुरा भनेको मलाई अहिले सन्तान पाउने रहर नै छैन। मेरो बाल्यकाल अभावमा बितेको थियो जुन म अब मेरो सन्तानलाई दिन चाहन्नँ।
आफूलाई परेपछि जसरी पनि गरिन्छ, टरिहाल्छ नि भनेर ढाडस दिनेहरू धेरै छन्। तर मलाई टार्नु नै छैन। मलाई मेरो सन्तान अभावमा हुर्काउनु नै छैन। अब भन्छन् कि, अहिले रहर नभएर के भो त पछि पछुतो हुन्छ।
अनि म आफैलाई प्रश्न सोध्छु, ‘अहिले इच्छा नभई नभई सन्तान पाएर उनीहरूको रहर पुर्याउन नसकेर पछुतो मान्नुभन्दा पछिको पछुतो ठुलो हो र? अहिले अनेक प्रविधिहरू छन्, अनेक उपाय छन्, केही नभए एडप्सनको विकल्प त छँदै छ नि हैन र?
मलाई अहिले आफ्नो खुसीले बाँच्न, आफ्नो सपना पूरा गर्न, आफ्नो रहर पूरा गर्न किन सधैँभरि बाटो छेक्छ यो समाजले?
मैले आफ्नो खुसीले बाच्ने, आफ्नो खुसीले विवाह गर्ने, आफ्नो सपना पूरा गर्ने, आफ्नो इच्छाअनुसार सन्तानको योजना बनाउने स्वतन्त्रता पाउनु पर्ने हैन र?
मैले सधैँभरि अरूकै इच्छाअनुसार आफूलाई चलाउनु पर्ने हो? सधैँ अरूलाई नै खुसी बनाउनु पर्ने हो?
किन कसैले पनि मलाई तिम्रो योजना के छ, तिम्रो सपना के छ अनि तिम्रो इच्छा के छ का साथै तिमी खुसी त छौ नि भनेर कहिल्यै पनि सोध्दैनन्?