विसं २०७४ को एसइई चल्दै थियो। अन्तिम परीक्षाको दिन सबैले फेरि भेट्ने वाचा गरेर घर फर्किँदै थिए। तर मेरो जीवनले त्यो कलिलो उमेरको पनि ख्याल नगरी मलाई कठोर यथार्थतर्फ धकेल्यो।
परीक्षा सकेको भोलिपल्टदेखि नै मैले रुम नजिकैको फर्निचर कारखानामा काम गर्न थालेँ। थाहा छैन किन! सायद मनमा लागेको थियो- पढेर केही बन्न सकिएन भने पनि केही सिप त सिकिन्छ कि!
म बिहान ‘ब्रिज कोर्स’ र दिउँसो काम जान्थेँ, साइन्स पढ्ने भनेर।
अहिले म एक सरकारी कर्मचारीको रूपमा काम गरिरहेको छु। यो सुन्दा सामान्य लाग्न सक्छ, तर यहाँसम्म आइपुग्ने यात्रा त्यति सहज थिएन। म मेरो कथा यहीँबाट सुरु गर्न चाहन्छु जहाँ सफलता देखिन्छ तर त्यस पछाडि लुकेको संघर्षको संसार थोरैले देखेका छन्।
एसइईमा ३.७५ जिपिए आयो, जुन मेरो स्कुलको इतिहासमै पहिलो पटक आएको उत्कृष्ट नतिजा थियो। त्यो पल मेरो जीवनको मोड थियो। मैले सानैदेखि पढेको भक्तपुरस्थित सरकारी विद्यालयलाई धेरैजसोले नपत्याएको भए पनि मेरो परीक्षाफलले विद्यार्थी आफैले मेहनत गरे राम्रो परिणाम आउने रहेछ र विद्यालय त केबल ज्ञान प्राप्तिको माध्यम मात्र हो भन्ने कुरा जुनियर भाइबहिनी र अभिभावकहरूमा एक किसिमको मानसिकता विकास भयो।
आमाको अनुहारमा खुसी र गर्व देख्दा मैले महसुस गरेँ कि म ठिक बाटोमा छु। अहिलेका ४ जिपिए ल्याउने भाइ-बहिनीहरूभन्दा बढी खुसी थिएँ म। विज्ञान विषय पढ्न रातको १२ बजेसम्म पढेर सुती पुनः २ बजे उठेको कुराले सार्थक पाएको जस्तो अनुभूति भयो। मेरो खुसी मेरो मेहनतको ऊर्जाको रूपमा परिणत भयो।
एसइईपछि विज्ञान विषयमा पढ्ने साहस भने भएन। मेरो स्थितिले दिएन या सायद भाग्य जुरेन! कक्षा ६ मा पढ्दै गर्दा अङ्ग्रेजी पढाउने सरले तिमी डाक्टर बन्न पर्छ है बाबु भनेको कुरा सम्झँदा नमज्जा लाग्यो। त्यो बेलाको आफूले हालको मलाई हेर्दो हो भने सायद गलल हाँस्दो हो। अब जे पढे पनि राम्रोसँग पढ्ने संकल्प गरेँ। कामसँगै पढाइ जारी राखेँ। कामको थकान, पढाइको चाप र परिवारको जिम्मेवारीका बाबजुद म निरन्तर अघि बढिरहेँ।
मेरो पढाइप्रतिको उत्सुकतालाई भक्तपुरको च्यामासिंह स्थित बागीश्वरी माविले राम्रैसँग अंगाल्यो। म कलेज टपर बनेँ, जिपिए ३.५२ ल्याएँ।
मैले मेरो काम र पढाइलाई निरन्तरता राखेँ र ब्याचलर (बिबिएस) जोइन गरेँ। धूलोमा खेल्दै, पसिना बगाउँदै, किताबहरू बोक्दै। मेरो पढाइ राम्रो हुँदै गएपछि लाग्यो— अब यतै केही गरिन्छ। फर्निचरको काम केही समयका लागि थाँती राखेँ। अनि सुरु भयो त्यो खेल, जसलाई लोक सेवा तयारी भन्छन्।
पुस्तकालयको एक कुनामा म हुन्थेँ, लेखिरहन्थेँ, पढिरहन्थेँ। कहिलेकाहीँ आफ्नै नोटबुकमा सपनाको आउटलाइन कोरेर राख्थेँ। मनमनै सम्झिन्थेँ, ‘डक्टर बन्न त सकिएन तर त्यो डेडिकेसन अब सरकारी कर्मचारी बन्ने यात्रामा लगिन्छ।’
एक लोक सेवा एसपिरेन्टको जीवनमा कठोर बनिदिन्छ, फेल हुने भय। हो, त्यही भयले मलाई पनि झकझक्याउँथ्यो। दैनिक जसो बुबाको कठोर बोली र आमाको स्नेह बिच रमाउँदै लोक सेवाको पाठ्यक्रमलाई आफ्नो सर्वस्व ठानेँ र पढिरहेँ। तीन महिनाको तयारी र दुई महिनाको पर्खाइपछि नतिजा सार्वजनिक हुने दिन आयो। यो मेरो पहिलो पटक थियो कुनै पनि लोक सेवाबाट लिइने परीक्षामा सामेल भएको।
त्यो दिन आज पनि जस्ताको तस्तै सम्झन्छु। म साथीहरूसँग रुम नजिकको गल्लीमा गफ गर्दै थिएँ। एक्कासि साथीले फोन गरे, ‘रिजल्ट आयो!’ भन्दै। छिटो मोबाइल खोलेर हेरेँ— नामसहितको सूची।
जब आँखाले आफ्नै नाम देख्यो, मुटु जति छोयो मनमनै लाग्यो— ‘यो त साँच्चै जित हो, जिन्दगीको पहिलो जित।’
दौडिएँ घरतर्फ, ढोका खोल्दै भनेँ, ‘मामु मेरो नाम आएको छ!’
आज यो कुर्सीमा बसेर सरकारी कागजातहरू हेरिरहँदा कहिलेकाहीँ फर्निचरको भारी सम्झन्छु। त्यहाँ पसिना थियो, यहाँ जिम्मेवारी। त्यहाँ बल थियो, यहाँ बुद्धि। आमा-बुबा खुसी हुनुहुन्छ,गर्व गर्नु हुन्छ, थकाइ कम लाग्छ, मनलाई चित्त बुझ्छ र यसरी शब्दमा उतार्छु सफलता पछाडिका अनेकन् दुःख।