हात्ती छाप चप्पल पड्केको परैबाट प्रष्ट सुनिन्थ्यो। म ज्यानै तनक्क-तनक्क पारेर लम्कीलम्की हिड्थेँ ऊबेला। आ-आफ्नै काममा व्यस्त भए पनि म चाहिँ अहम्-अहम् गर्दै ध्यानाकर्षण गराउँथेँ।
उनीहरू सोच्थे यसले आज चप्पल नयाँ किनेछ। देखाउन आएको हो भन्दै झन् बेवास्ता गर्न थाले। त्योबेला गाउँतिर बम्पट चप्पल भन्थे। खै कुन भाषा हो कुन्नी! ३२ रुपियाँको रातो चप्पल देखाउन नपाएर मन अमिलो भयो।
वाह! क्या राम्रो भन्दिओस् झैँ लाग्थ्यो। तर त्यस्तो प्रतिउत्तर आएन। कलेटी परेको पोहोर सालको आकाशे रंगको विद्यालय पोशाकको बाहुलालाई माथि सार्दै धुलो आकाशतिर उडाउँदै कुलेलाम ठोकेँ।
ओराली बाटोमा बिस्कुनझैँ फिजाइएका धुलोमा चिप्लेटी खेल्नु हाम्रो दिनचर्या हो। माथिबाट तल्तिर हुत्तिनुको मजा नै बेग्लै छ।
बढ्ने ज्यानका लागि भन्दै दुई हातले च्यापेर हिँड्नु पर्ने कट्टु लगाई इँजार बाहिरतिरै सर्कुने पारेर गाउँ-गाउँ हिँड्नु, चहार्नुको झल्को दिमागमा गाँठो परेर बसेको छ।
रंगिन माटोले पोतिएका भित्तामा उटपट्याङ शब्द कोरेर भाग्नु र पछि आफैले हेरेर दङ्ग पर्नु के-के नै जितेको अनुभव हुन्थ्यो मनमा। चलेका प्रेमिल जोडीको नाममा फलाना प्लस फलाना गर्दै पानको पत्ताले छोपिदिनुजस्ता काम कति गरियो कति!
ढुङ्गा खोपेर लेखिएका ती विगतका हँस्यौली कार्यहरू आज नि होलान्, कति टुटिसके त कति फुटिसके होलान्। फट्याइ गर्दाको परिणामलाई कहिल्यै गल्ती स्विकारिएन। कति काक्रा चोरिए, कति खोर्सानी उखोलिदियौँ रेकर्डको हिसाबकिताब छैन।
पिँडालुलाई हल गोरु बनाउँदै खरको छाना पोलिने गरी गोठै जलाएका जस्ता घटनाको गल्ती महसुस गरिएन। हिजो त कानको जाली नै च्यातिएला जस्तै गरी कानको लोति हराउने गरी पाएको कारबाही नै काफी छ। सुंगुरको खोरमा उम्रिएको मकै च्याउलाई मकैबारीको भनेर धेरै पटक नातेदारहरूलाई खुवाएको छु।
धानको बोट देखिए पनि चामल देख्न चाडबाड कुर्नुपर्थ्यो। पहाडमा मसिना सुर्के खेतमा लगाएका धान कमै फल्थे। अहिलेजस्तो विकासे हाइब्रीड धानको बीउ आगमन भएकै थिएन,त्यसैले त चामलको भात खान साउने संक्रान्ति, माघे संक्रान्ती अनि दसैँ-तिहार पर्खनु पर्थ्यो।
ढिँडो भनेपछि आङै जिरिंग हुन्थ्यो। फरक यति हो आज ढिँडो खान रहर र चामलको भात खान कर भएको छ। सेतो भात खानैको लागि मामाघर जाने प्रतिस्पर्धा चल्थ्यो। सबैभन्दा साना भएकाले भुँइमा गोडा पछार्दै गाउँ नै थर्कने गरी ह्वा-ह्वा रोएपछि कसैको जोर चल्दैन्थ्यो।
सबभन्दा राम्रो लुगा विद्यालय पोशाक हुन्थ्यो, आकाशे रंगको शर्ट र निलो पाइन्ट। दसैँको लुगा नि त्यहीँ पोशाक हुन्थ्यो, सायद घरका मालिकहरूको चलाखी हुनुपर्छ।
झिलिक्क-झिलिक्क बल्ने र च्याँ-च्याँ गर्ने उर्गेनको जस्तो जुत्ता र घैँटीको जस्तो चिमचिमे घडी ल्याउन निवेदन गरेँ। साउदीबाट फर्कँदा ल्याइदिएका थिए उनीहरूलाई उनीहरूकै बाबुले। मैले पनि नेपाल (ऊबेला सहर) मा दसैँ लिन जानुहुने पिताश्रीलाई मागफाराम पेश गरेको थिएँ।
माग पूरा हुने नहुनेमा म द्विविधामा थिएँ। त्योबेला मोटरबाटो थिएन। सदरमुकामसम्म हिँडेर जानुपर्थ्यो। ४ दिनको व्यग्र पर्खाइपछि चिउराका सेताम्मे बोराहरू म भएतिर आउँथ्यो अनि जान्थ्यो। तैपनि निरीक्षण कार्य अटुट हुन्थ्यो।
ओहोरदोहोरको लामो प्रक्रियापछि माउ भेटाएर रमाएका पाठोजस्तो बुवाको दौराको फेर समातेर झुण्डिँदै डिलमुनिको धारादेखि लत्रँदैलत्रँदै मेरा मागपत्रहरूमा उल्लेखित बुँदाहरू खोज्न मेरा मसिना हातहरू चल्बलाउन थाले।
मौखिक व्यक्त गर्न नसकेपछि जाँडको डबकाहरूमा रमाउँदारमाउँदै गरेका ठूला मान्छेहरूको आँखा छलेर झोला खोतल्न पुगेँ। हात झोलीको भित्रैसम्म पुर्याउँदा नि भेटिएन भनेको कुरा। मन विस्तारै चिसियो। गाला राता हुँदै आयो। आँसु चुहिएलाजस्तै भयो। अनुहार कालोनिलो र बोलीमा बके बस्लाजस्तै भयो।
भर्याङमा एक्कासी ढकढकको आवाज आयो। म चुपचाप बसिरहेँ। भर्याङको डिलबाटै ह्वा-ह्वा आवाज निकालेर रुन मन लाग्यो। आमाले सुन्ने गरी रोइदिउँ जस्तो लाग्यो।
मलाई अरूभन्दा उर्गेन र भुन्टीलाई दिउँसो असुरो घारीमा माटोमा पिसाब फेरेर रोटी बनाउने खेल खेल्दा आज मेरा बुवाले तेरोभन्दा राम्रो जुत्ता र घडी ल्याइदिनुहुन्छ भनेर लगाएको धाकले पीर परेको हो।
भर्याङमाथि आएर ढिँडो बनाउन बोराबाट पिठो झिक्न आमा आउनु भएको रहेछ। मेरो निन्याउरो अनुहार र झोलामा अड्किएको हात पुलुक्क हेरेर स्वारस्वार्ती डालीमा पिठो भरेर जानुभयो। 'बारुलाले टोकेर झुन्डिएको ओठजस्तो लिएर तिम्रो छोरो ठुस्किएको हेर्न जानू' भन्नुभयो आमाले। अनि बुवाले विस्तारै हातमा तानेर तल लानुभयो।
आँखाबाट एक्कासी मोतीका दानाजस्तै टुप्लुक्क खस्यो। आँखाबाट मन्द ज्ञानी मानिसको आँसुका बलिन्द्र धारा खस्दै दुई/चार थोपा ओठमा गएर ठोक्कियो। नुनिलो भएपछि हतार-हतार देब्रे हातको नाडीमा धस्दै सिँगानले कक्रक्क परेको बाहुलीले आँखा पुछेँ।
सम्झाउँदै भन्नुभयो ‘तेरो खुट्टालाई मिल्ने जुत्ता बनेको छैन रे, उर्गेनको भन्दा राम्रो अर्डर गरेर आएको छु।’
चिमचिमे घडीको कुरा नगर्दै मेरो आँखामा लागेका आँसुका बादल फाट्न थाले। ‘अनि अनि?’ भन्दै प्रश्न गर्न थालेँ।
अर्डर भन्ने शब्द नै काफी हो, झन् त्यसको भन्दा शब्दले खुब स्वाद आयो।
पहेँला-पहेँला दाना अनि कति दोब्रेका र कतै-कतै भटमास दानाका मसिना प्याकेट खोल्नु भयो। नयाँ गाग्रीमा नेपालबाट ल्याएका चिउरा मुठी बाँध्दै भोर्लाको टपरीमा राख्नुभयो। नुनिलो-नुनिलो चिजको मुखमा प्रवेशसँगै चिउरा चपाउने कार्यक्रम प्रारम्भ भयो। यसलाई दालमोठ भनिन्छ भन्दै थिए अन्तरे काका।
कोही टपरी गाँस्दै थिए, कोही दुना, कोही पात मिलाउँदै थिए। गफैगफमा ‘आज तँ जन्मेको साल हो’ काईली फूपू मलाई देखाउँदै भन्नुभयो, ‘तँ जन्मेको नि पाँच साल बितेछ। हेर यत्रो भैसक्यो।’
जन्मिएँ, हुर्किएँ, कति उछिट्टिएँ। गाँसिए-टुक्रिए होलान् कति भावनाहरू। भुसुक्क बिर्सिएछु जन्मेका दिनहरू। प्रशव पीडाका सहन र शरीरका दोहन गर्ने माताले समेत मेरा प्रगतिका लागि आफ्ना कष्टहरू लुकाएर ममता झाँगिएका अव्यक्त प्रेमहरूले मलाई झस्काइरहेको छ।
संविधान दिवस बासी भएसँगै बिहानी उषाकिरणले स्वागत गरेको दिन अर्थात् असोज ४ गते आमाको काखमा पैदा गरायो। युद्धबार अर्थात् मंगलबार सबै मिल्न गयो संयोगमा यो वर्ष। टुकुल-टुकुल हिँडेर गाउँ डुल्दै भात ढुकेर खाने केटा नि हेर्दा हेर्दै तीन दशकभन्दा लामा वर्षहरूलाई बिदाइ गरिसकेछ।
आज नि म मलाई ठिक्क हुने च्याँ-च्याँ गर्ने जुत्ता र चिमचिमे घडीको कम्पनी वरिपरि यसको मोल सोधिरहेको छु। खरिदको प्रयास गरिरहेको छु। महंगीको सहरमा म केक खरिद गर्न घुमिरहेको छु। जीवन बाल्ने मैनबत्ती खोजिरहेछु।
सारा सपनालाई बन्धकी राखेर सदा-सदाको लागि शुभकामना प्राप्त गर्ने सद्मार्गको बाटो खोजिरहेछु। एक दिन तिमीलाई यस्तरी शुभकामना दिन्छु ‘जन्मदिन’ त्यो दिन तिमीलाई म केक खरिद गरेर अनुहारमा लतपताई तिम्रो भविष्य नै बदल्दिनेछु। तर जीवनमा बलेका मैनबत्तीहरू कहिल्यै निभाउने छैन। जन्मदिन बिर्सिएँ, बाल्यकाल बिर्सिएन।