विश्व कुष्ठरोग दिवस हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार मनाइने गरिन्छ। यस वर्ष आज जनवरी २९ का दिन नेपालमा पनि ‘कुष्ठरोगको अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। यो अन्तर्राष्ट्रिय दिवस कुष्ठरोग अनुभव गरेका व्यक्तिहरूको सम्मान गर्ने, रोगबारे जनचेतना जगाउने र कुष्ठरोगसम्बन्धी कलंक एवं भेदभावको अन्त्यका लागि आह्वान गर्ने अवसर हो।
सुनिता (नाम परिवर्तन गरिएको) लाई हात र गोडा झमझम गर्न थालेको केही महिना भएको थियो। सामान्य समस्या होला भनेर सुरूमा बेवास्ता गरे पनि त्यसले सताउन थालेपछि उनि नजिकैको स्वास्थ्य चौकी गइन्। त्यहाँ पनि रोग पत्ता लागेन र त्यहाँको औषधीले उनलाई निको भएन। समस्या झन बल्झिँदै गयो। अझ छालामा दुख्ने गिर्खा आउने, बेला-बेलामा ज्वरो आउने ,जोर्नीहरू दुख्ने हुन थाल्यो। त्यसपछि उनको अस्पताल धाउने सिलसिला सुरू भयो। स्वास्थ्य चौकी, जिल्ला अस्पताल, मेडिकल कलेज, शहरका ठूला अस्पताल हुँदै उनि नयाँदिल्लीसम्म पनि पुगिन्। जहाँ गएपनि नशाको समस्या भन्दै दिइने औषधीले क्षणिक सुधार मात्र भयो। करिब ५ वर्षपछि उनको ७ वर्षको छोराको गालामा एउटा फुस्रो दाग देखा पर्यो। पोखराको एउटा मेडिकल कलेजमा छोराको उक्त दाग देखाउन जाँदा त्यहाँ बल्ल एक छालारोग विशेषज्ञले छोरा र आमा दुबै जनालाई एउटै समस्या; कुष्ठरोग लागेको निर्क्यौल गरे र थप जाँच तथा उपचारका लागि पोखरा नयाँ गाउँस्थित आइएनएफ नेपाल हरियो खर्क अस्पताल पठाए। वर्षौंको रनभुल्लमा परेपछि मात्र सुनिता र उनको छोराको कुष्ठरोगकोउपचार हुनसक्यो।
यो त एउटा प्रतिनिधि घटना मात्र हो। कुष्ठरोगबारेम हाम्रो समाजमा थोरै ज्ञान र धेरै मिश्रित मिथ्या छन्। अझ चिन्ताजनक कुरा त के भने, स्वास्थ्य क्षेत्रमै कर्मशील साथीहरूमा पनि देशमा यसको वर्तमान अवस्था र यसका सम्भावित लक्षणको पूर्ण जानकारी नभएकाले अस्पतालमा पुगेर पनि समयमा निदान हुन नसकेका थुप्रै उदाहरण छन्। त्यसैले यस लेखको उद्देश्य आम सर्वसाधारणका साथै स्वास्थ्यकर्मीमा पनि कुष्ठरोगबारे सचेतना जगाउनु हो।
कुष्ठरोग के हो?
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे (Mycobacterium Leprae) नामक किटाणुले गराउने एक प्रकारको कम सर्ने रोग हो। जसले मुख्यगरी छाला, स्नायु (नसा) तथा मांसपेसीमा असर गर्दछ। कतिपय अवस्थामा भने यसले आँखा ,कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुन सक्छ। कुष्ठरोग पनि क्षयरोग जस्तै खोकी, हाछ्युँद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्क (प्रतिहप्ता २० घन्टा बढी) बाट यो रोग सर्न सक्दछ। त्यसैले परिवारमा अथवा नजिकको छिमेकमा कसैलाई यो रोग लागेको छ भने अर्को सदस्यमा सर्ने सम्भावना बढी हुन्छ। उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग संक्रमितबाट अर्को व्यक्तिमा यो रोग सर्दैन।
विश्वमा कुष्ठरोगको वर्तमान अवस्था
सन् २०२१ को तथ्यांकअनुसार विश्वभरमा १ लाख ३३ हजार ७ सय ८१ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका थिए, जसमध्ये धेरै संक्रमण भारत, ब्राजिल तथा इन्डोनेसियामा (७४%, स्रोतःविश्व स्वास्थ्य संगठन) भेटिएको छ। छिमेकी राष्ट्र भारतमा यसको ठूलो प्रभाव रहेकाले पनि नेपालबाट निकट भविष्यमा कुष्ठरोगको पूर्ण उन्मूलन चुनौतीपूर्ण देखिन्छ।
नेपालमा कुष्ठरोगको वर्तमान अवस्था
वि.सं. २०७८/०७९ को विवरणअनुसार नेपालमा नयां संक्रमितको संख्या २२८५ भने २३७३ जना उपचारको क्रममा छन।
सन् २०१० मा नेपालबाट कुष्ठरोगको ‘निवारण’ भयो भनेर घोषणा गर्दैगर्दा, यसले एक किसिमको भ्रम पनि सिर्जना गरेको छ।
‘निवारण’ शब्दको प्रयोगलाई कतिपयले पूर्ण रूपमा ‘उन्मुलन’ भएको बुझ्ने गरेको पनि पाइएको छ। त्यसैले, धेरै व्यक्तिहरू, अझ स्वास्थ्य क्षेत्रकै कतिपयले यो त हराइसकेको रोग होइन र भनेर प्रश्न गर्ने गरेको पाइन्छ। जबकि ‘निवारण’ पश्चात पनि प्रत्येक वर्ष २ देखि ३ हजारको संख्यामा नयाँ संक्रमित भेटिने गरेको तथ्याङ्कले देखाउँछ।
कुष्ठरोगका लक्षण के हुन्?
– छालामा लाटो, फुस्रो दाग देखिने
– स्नायु (नशा) सुन्निने
– छालामा नदुख्ने, नचिलाउने गिर्खा देखा पर्ने
– हातगोडा झमझम गर्ने।
– हातगोडा लाटो हुने, पोलेको थाहा नहुने।
– शरिरमा दुख्ने, पोल्ने, सुन्निएको रातो दाग देखा पर्ने।
– शरिरमा रातो, दुख्ने गिर्खा देखा पर्ने साथै ज्वरो आउने, जोर्नी दुख्ने।
– हातगोडा लुलो तथा बाङ्गो हुने।
– आँखा पूरा बन्द गर्न नसक्ने।
माथि उल्लेखित कतिपय लक्षण बाथ तथा अन्य रोगसँग मिल्न जाने हुँदा यसको पहिचानमा स्वास्थ्यकर्मीबाटै पनि ढिलाइ र बेठीक निदान हुनसक्ने उदाहरण प्रशस्तै छन्। यसले नेपालमा कुष्ठरोगको निवारणपश्चात पनि स्वास्थ्यकर्मी माझ कुष्ठरोग विशेष ज्ञान तथा सीप अध्यावधिक भैरहने तालिमको व्यापक आवश्यकता रहेको देखाउँछ।
कुष्ठरोगको उपचार नगर्दा के हुन्छ?
सुरूवाती अवस्थामै पहिचान र उपचार भए यो रोग पूर्ण रूपमा निको हुन्छ। तथापि पहिचानमा ढिलाइ भएमा अथवा समयमा उपचार नभएमा विविध जटिलता आउन सक्छन् जसले हात गोडा र आँखाका मांसपेशीमा असर गरी झमझम हुने, हात, गोडा लाटो हुने, घाउ हुने, औंला झर्नेसम्मको अवस्था सिर्जना हुनसक्छ। त्यसमाथि संक्रमितबाट अन्य व्यक्तिमा पनि सर्ने खतरा त रहन्छ नै।
कुष्ठरोगको उपचार कहाँ-कति खर्च?
देशभरका सबै सरकारी स्वास्थ्य संस्था (स्वास्थ्य चौकीदेखि वीर अस्पताल सम्म) तथा कुष्ठरोग केन्द्रित विशिष्ट अस्पतालहरू- आइएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा, आनन्दबन अस्पताल, लालगढ कुष्ठरोग अस्पताल, साइनिङ अस्पताल आइएनएफ बाँके, साइनिङ अस्पताल आइएनएफ सुर्खेतमा कुष्ठरोगको नि:शुल्क उपचार हुन्छ। कुष्ठरोग लागेको बिरामीलाई कुनै विशेष क्लिनिक वा अस्पतालमा भर्ना भइकनमात्र उपचार गर्नुपर्छ भन्ने हुँदैन। आफ्नै घरमा बसेर कुष्ठरोगको बहुऔषधी उपचार विधिबाट उपचार गर्न सकिन्छ। उपचारको अवधि रोगको अवस्था हेरी ६ महिनादेखि २ वर्षसम्म हुन्छ। कुष्ठरोगका कारण आइपर्ने जटिलताको उपचार, कृत्रिम अंग प्रत्यारोपण, पुननिर्माण शल्यक्रियाका साथै पुनर्स्थापनाका सम्पूर्ण उपचार सेवा पनि निःशुल्क उपलब्ध छन्।
चुनौतीहरू
निदानमा कठिनाइ तथा ढिलाइ
सामान्य फुस्रो दाद देखिँदैमा धेरै व्यक्ति अस्पतालसम्म पुग्दैनन र जँचाउन गइहाले पनि सही पहिचान नहुँदा यसले जटिल अवस्थामा पुर्याउने र ढिलोमात्र रोग पत्ता लाग्ने गरेको पाइएको छ। त्यसैले यस रोगका बारे गहन छलफल र व्यापक चेतना अभिवृद्धिको आवशयकता छ।
कलंक
कुष्ठरोगसँग सम्बन्धित ‘कलंक’ लाई बुझ्न एकपटक ‘कोभिड-१९’को महामारीको बेलामा फर्कौं। हामीलाई याद छ, छिमेकमा कसैलाई कोभिड-१९ संक्रमण भएको बेला उसको घरको बाटो नै नहिँड्ने समय पनि थियो। अनि समूहमा बस्दा पनि अरूले के सोच्लान् भन्ने सम्झेर झसंग भइन्थ्यो। हो, त्यही दुई अनुभवलाई हामीले ‘कलंक’ भनी बुझ्न सक्छौं। फरक यत्ति हो कि कोभिडको कलंक क्षणिक थियो भने कुष्ठरोगको ‘कलंक’ शताब्दीयौंदेखि आजपर्यन्त उस्तै घनीभूत छ। त्यसैले यसको अन्त्यका लागी सबैले आजैबाट सचेत भइ पहल गर्न जरूरी छ।
असमर्थता/अंगभंग
हातगोडा लाटो भइसकेपछि घाउ आइरहन्छन्, पोलेको पनि थाहा हुँदैन। नशामा असर परेपछि औंला बाङ्गा एवं कमजोर हुन थाल्छन्। मजदुरी गर्न गाह्रो हुन्छ, सीपमूलक काम गर्न अप्ठ्यारो हुन्छ अनि अरूका अगाडि प्रस्तुत हुँदा असहज हुन्छ। हामीले प्रत्येक दिन विशेष गरी मन्दिर, बजारमा भीडभाड हुँदा देखिरहेका कतिपय अपांगता पीडित व्यक्तिमा कुष्ठरोगले अङ्गभङ्ग गरेको प्रष्ट देख्न/बुझ्न सक्छौं। कुष्ठरोग सम्बन्धित असमर्थता/अंगभंग यदि रोगको समयमै निदान र उपचार हुनसके पूर्ण रूपमा रोकथाम गर्न सकिने हुन्छन्।
जटिलता
कुष्ठरोग अरू रोगभन्दा किन पृथक छ भने यसको औषधीको मात्रा पूरा गर्दैमा यसबाट छुटकारा नमिल्न पनि सक्छ। उपचारको अवधि पूरा गरिसकेपछि पनि मृत किटाणु शरीरबाट पूर्ण रूपमा बाहिरिन समय लाग्ने र शरीरको रोग प्रतिरोधात्मक क्षमतासँग निरन्तरको युद्घ चलिरहने हुदाँ यसका जटिलताहरू पछिसम्म पनि देखा पर्न सक्छन्। यस मानेमा कुष्ठरोग आफैंमा एक रहस्य र निरन्तर अध्ययन-अनुसन्धानको विषय हो।
अनेकन जटिलता र चुनौतीका बाबजुद् पनि कुष्ठरोगसँग को लडाइँलाई अझ सशक्त बनाई निरन्तरता दिन जरूरी छ। सर्वपक्षीय सहभागिता र समयमै गरिएको हातेमालोले मात्र यो जित सुनिश्चित हुन सक्नेछ, निवारणबाट उन्मुलनको गन्तव्यमा पुग्न सकिनेछ र एकदिन कुष्ठरोग मुक्त नेपालको सपना साकार हुनेछ।
(डा शर्मा पोखरास्थित आइएनएफ नेपाल हरियोखर्क अस्पताल तथा पुनर्स्थापना केन्द्रका वरिष्ठ कुष्ठ तथा छाला रोग विशेषज्ञ तथा विभाग प्रमुख हुन्।)