आज गुरु पूर्णिमा। हरेक वर्ष असार शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमाको रूपमा मनाइन्छ। संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नाश भन्ने हुन्छ। यो दिन शिक्षक, योग/आध्यात्मिक गुरु वा जीवनमा महत्त्वपूर्ण सल्लाह प्रदान गरेका व्यक्तिहरूलाई भेटेर, उपहार दिएर, सम्झना र सम्मान प्रकट गरी एउटा पर्वको रूपमा नै मनाइन्छ।
म स्वयं पनि आफ्ना शिक्षक/गुरुहरूले दिनु भएको मार्ग दर्शनलाई सम्मान गर्छु। उहाँहरूले लगाउनु भएको गुनप्रति एकदमै ऋणी छु। सदैव कृतज्ञता जाहेर गर्छु। तर यो लेखमा भने म मेरा केही भोगाइहरूलाई मेरो स्थायी गुरुको रूपमा चित्रण गर्दै छु। जसले मलाई जीवनको स्पष्टता बोध गराइरहेको छ। हरेक दिन अघिल्लो दिनबाट केही सिकेर अगाडि बढ्न सिकाइरहेको छ।
भनिन्छ- जन्म संयोग र मृत्यु सत्य हुन्छ। यो संयोग र सत्यको बिचमा मानिसले धेरै कुरा सिक्छ। धेरै मानिसहरू मार्फत। जस्तै- माता पिता, शिक्षक र गुरुहरू। यी सबै सिकाइहरू पक्कै पनि जीवनका अमूल्य सम्पत्ति हुन्, मार्ग दर्शन हुन्।
तर यी सिकाइहरूभन्दा शक्तिशाली हुँदा रहेछन् आफ्नै अनुभवका सिकाइहरू। किनकि जब हामीले प्रत्यक्ष अनुभव गर्छौँ, तब ती सिकाइहरूलाई मस्तिष्कले वास्तविक घटना र भावनाहरूसँग जोडेर सम्झन्छ जसले सिकाइ स्थायी बनाउँदो रहेछ। सिकाइ केवल जानकारी लिनु होइन, व्यवहारमा उतार्न पनि हो। यिनै सिकाइहरूलाई व्यवहारमा रूपान्तरण गर्ने क्रममा हामी परिस्थितसँग भावनात्मक रूपमा संलग्न हुन्छौँ। जसले सिकाइलाई दिगो र अर्थपूर्ण बनाउँछ।
एउटी महिलाको जीवन कुनै सिधा र सरल बाटो होइन। त्यसमा पनि मध्यम वर्गीय कामकाजी महिलाको जीवन थप चुनौतीपूर्ण हुन्छ नै। रोजाइको भन्दा बाध्यताको काम धेरै गर्नु पर्ने। पारिवारिक दायित्व वहन गर्नै पर्ने। सामाजिक संरचना अनुरूपका मूल्य मान्यतालाई पनि पच्छ्याउनै पर्ने। व्यावसायिक जीवनमा पनि सृजनशील र अद्यावधिक हुनै पर्ने।
यी अनुभवहरूबाट गुज्रिँदै गर्दा यिनले केही सिकाइरहेको जस्तो लागिरहेको छ। मिहिन ढंगबाट यी भोगाइहरूलाई विश्लेषण गर्दा जीवनमा कुनै गुरु वा ग्रन्थले नसिकाएको कुरा सिक्दै छु। आफूलाई क्रमशः परिपक्व हुँदै गएको महसुस गर्दै छु। जस्तो कि मैले यो खाँदा शरीरले सहन सकेन, अब म त्यो खाँदिनँ वा कम खान्छु। यसरी सोच्दा बेचैन भएँ, सो सोचलाई पुनरावृत्ति गर्दिनँ। यस्तो गर्दा निद्रामा असर पर्यो, त्यसैले अब यस्तो गर्दिनँ। यसरी सोच्दा खुसीको अनुभूति भयो, त्यसरी नै सोच्छु। यस्तो गरेँ, शान्त भएँ, त्यसैले फेरि गर्छु। आदि यस्तै यस्तै।
अनुभवहरू जसले मलाई गहिरा पाठहरू सिकाए। मलाई भित्रैबाट मजबुत बनाए। अनि मेरो आत्म जागृत गरे। म तिनै रूपान्तरणकारी अनुभवहरूको यहाँ चर्चा गर्दै छु जुन म जस्तै अन्य महिलाहरूको समर्थ साझा अनुभूति हुन सक्छ।
नाइँ भन्न सक्ने क्षमता
मलाई ‘नाइँ’ भन्ने शब्द नमिठो लाग्थ्यो। कसैलाई नाइँ भन्न असहज मान्थेँ। सबैलाई खुसी पार्नु पर्छ, सबैलाई सहयोग गर्नु पर्छ, सबैको कुरा मान्नु पर्छ। यसरी नै सोच्थेँ म। यसरी सोच्दै गर्दा मैले धेरै पटक आफ्नै इच्छा, समय र शान्ति गुमाएर पनि ‘हो, हुन्छ’ भनिरहेँ। कार्यालयमा जिम्मेवारीले थिचिँदा पनि बोलिनँ। जसको लागि जतिखेर पनि उपलब्ध भइदिएँ। कोही मसँग रिसाउने हुन् कि? मलाई असल नमान्ने हुन् कि? यस्तै सोचेर डराउने। अनि त्यसको कुण्ठा घरमा छोराछोरीमाथि पोख्ने, सानो सानो कुरामा समेत दिक्क मान्ने गर्न थालेँ।
यसरी मभित्रको ऊर्जा क्षय हुँदै गएको महसुस हुन थाल्यो। सृजनशीलता घटेको अनुभव गर्न थालेँ। यो शृङ्खलाको पुनरावृत्ति रोक्न ‘नाइँ’ लाई अँगाल्नुको विकल्प रहेन। त्यसपछि मैले बिस्तारै ‘नाइँ’ भन्न सिक्न थालेँ। सुरुमा त गाह्रो नै भयो। अहिले स्वाभाविक लाग्न थालेको छ। आफ्नो समय र ऊर्जा रक्षा भएको महसुस भइरहेको छ। ‘हो’ ‘हुन्छ’ लागि मात्र बनेका झुटो सम्बन्धहरू टुट्दै जाने थालेका छन्। मेरो सीमालाई समेत सम्मान गर्नेहरू जोडिँदै छन्।
‘नाइँ’ भन्नु स्वार्थी बन्नु नभई आफ्नो परिस्थिति र प्राथमिकताको स्पष्टोक्ति रहेछ।
आफू नै पहिलो प्राथमिकता
हामीलाई बाल्यकालदेखि नै अरूको लागि सोच्नु पर्छ। स्वार्थी हुनु हुँदैन भनेर सिकाइएको हुन्छ। म पनि त्यही संस्कारबाट नै हुर्केकी हुँ। यो संस्कार गलत भने होइन। तर अरूको लागि गर्नु भनेको आफूलाई नै मेटाउनु भने होइन रहेछ। यसको पनि सीमा हुनुपर्दो रहेछ। किनकि हरबखत अरूको बारेमा सोच्दा आफ्ना प्राथमिकता ओझेलमा पर्दा रहेछन्। अनावश्यक उल्झनमा फसिँदो रहेछ। हाम्रो समय र ऊर्जा सीमित हुँदो रहेछ। केवल अरूको लागि खर्च गर्दा आफ्नो लागि समय नपुग्दो रहेछ। ऊर्जा सकिँदो रहेछ।
मेरो पहिलो जिम्मेवारी मेरो खुसी रहेछ। अतः हरेक संगत, हरेक अवसर र हरेक निर्णयमा आफूलाई केन्द्रविन्दुमा राख्नु पर्ने रहेछ। जबसम्म उसले आफैँलाई आदर र माया गर्न सकिँदैन, तबसम्म अरूलाई पनि साँचो अर्थमा साथ दिन सकिँदो रहेनछ। आत्म–प्रेम नै सबै सम्बन्धको आधार रहेछ।
हरेकको ऊर्जा र समय सीमित छ। त्यसलाई आफ्नो हितमा प्रयोग गर्न जरुरी रहेछ।
बाहिरी स्वीकृति र अनुमोदन नचाहिने
मलाई मेरो हरेक क्रियाकलाप र निर्णयमा अरूको स्वीकृतिको आवश्यकता पर्थ्यो। ‘तिमी ठिक छौँ’ भन्ने सुनेपछि मात्र कुनै काम वा निर्णयमा अगाडि बढ्न सक्थेँ। के गर्नु छ? के छैन? आफैले तय गर्न सक्दिनथेँ। यसरी भन्दा मलाई अरूको स्वीकृतिको लत नै लागेको थियो। यो बाहिरी अनुमोदनले क्षणिक खुसी त दिन्थ्यो तर केही दिनमै आत्मविश्वास र आत्म सम्मानमा ठेस पुगेको महसुस हुन्थ्यो। किनकि कयौँ अनुमोदन दिनेहरूकै स्वार्थको लागि हुन्थे। कतिपय केवल फुर्काउनका लागि हुन्थे।
यति बुझ्दै गएपछि मनको गर्छु भनेर सोच्थेँ। तर फेरि साथीहरू वा सहकर्मीहरूले मलाई कसरी हेर्लान्? आफन्तहरूले कसरी सोच्लान्? भनेर सजग भइहाल्थेँ। यसरी अरूप्रतिको इमोस्नल डिपेन्डेन्सले मनको शान्ति हराएको जस्तो हुन थाल्यो। अन्तरमनको नभई अरूलाई रिझाउनको लागि गरिएका कामले तन-मन गलाउने त भए नै। आफ्नो खुसी केमा छ भन्ने समेत बिस्तारै बिर्सिन थालेँ। आफ्नो लक्ष्यबाट विचलित हुन थालेको महसुस गर्न थालेँ। यसरी मैले यो बानीमा क्रमशः सुधार ल्याउनै पर्ने भयो। बिस्तारै आफूलाई स्वीकार गर्ने अभ्यास गर्न थालेँ। अनावश्यक सल्लाह दिनेहरूसँग दूरी बनाउँदै गएँ। अहिले अन्तस्करणको आवाज र परिस्थित अनुकूल कार्य गर्ने र निर्णय लिन सक्ने भएकी छु।
मेरो जीवन, मेरो आवाज, मेरै रोजाइ। यसो हुँदा दिगो मानसिक शान्ति प्राप्त हुँदो रहेछ।
सानो सर्कल नै पर्याप्त
लाग्थ्यो कि भेटेका जति सबैलाई जीवनमा समावेश गर्नै पर्छ। ती आफन्त हुन् वा साथीभाइ वा सहकर्मी नै। एउटा भ्रम थियो- ती सबै मेरा शुभ चिन्तकहरू हुन्। उनीहरूले मेरो खुसी र उन्नतिको कामना गर्छन्। मैले पनि गर्नुपर्छ। तर त्यसो होइन रहेछ। कयौँ केही स्वार्थको लागि जोडिदा रहेछन्। कोही कुरा मात्र गर्नु वा समय बिताउनका लागि मात्र। सर्कल बढ्दै जाँदा सङ्ख्या त बढ्ने तर आत्मीयता फितलो हुँदै जाने रहेछ।
भेटेका जति सबैलाई आफ्नो बनाउन खोज्दा समय र ऊर्जा मात्र क्षय हुँदो रहेछ। किनकि आफूलाई आवश्यक पर्दा परिवारका केही सदस्य र केही साथीहरू मात्र साथमा हुँदा रहेछन्। भन्नुको तात्पर्य कसैलाई भेट्दा देख्दा मुन्टो बटारेर हिँड्नु पर्छ भन्ने चाहिँ होइन। तर कसलाई देख्दा, भेट्दा यसो हाई हेल्लो मात्र भन्ने र कसलाई जीवनको करिब राख्ने भन्ने सन्दर्भमा सीमा निर्धारण अति नै आवश्यक हुँदो रहेछ। अन्यथा ठुलो सर्कलले जीवन नै बोझिलो बनाइदिँदो रहेछ।
जीवनमा ठुलो भिड होइन कि आफू हारेको र थाकेको बेलामा समेत साथ र हौसला दिने सानो सर्कल नै पर्याप्त रहेछ।
यसरी गुरु केवल विद्यालय वा आश्रममा मात्र होइन। जीवनको हरेक भोगाइमा लुकेका हुँदा रहेछन्। बस्! एकछिन टक्क अडिएर आफूलाई पूर्ण रूपमा नियाल्ने साहस भने गर्नुपर्ने रहेछ। यो दौडधूपयुक्त अस्तव्यस्त जीवनमा आत्मसमीक्षा गर्ने जागरूकताको अनुकम्पा मैले आध्यात्मिक गुरुहरूबाट प्राप्त गरेकी हुँ। ती हरेक भोगाइबाट निष्कर्ष निकाली सुधारिएर अगाडि बढ्ने प्रेरणा उहाँहरूबाट नै पाएकी हुँ।
फेरि उहाँहरूसँग जोडिनुमा मेरो पारिवारिक पृष्ठभूमि र बाल्यकालको सिकाइको पनि भूमिका छ नै। यसर्थ मेरा माता-पिता, शिक्षक, आध्यात्मिक गुरु र जीवनका भोगाइहरू सबैलाई नमन गर्दछु। अनि गुरु पूर्णिमाको शुभकामना दिन चाहन्छु।