१५ वर्ष पहिले स्नातक तहमा क्याम्पस प्रथम भई सम्मानित हुँदा म बेनी बजारमा थिइनँ। एक गैर-सरकारी संस्थामा कार्यरत रहेकाले म म्याग्दीको मुदि भन्ने गाउँमा थिएँ।
मेरो पुरस्कार र सम्मान ग्रहण गर्न बा क्याम्पस पुग्नुभएको रहेछ। त्यसै दिन साँझ बासँग फोनमा कुरा हुँदा थाहा पाएको थिएँ।
त्यो सम्मान र पुरस्कारप्रति म त्यति गौरवबोध गर्दिनँ। किनकी त्यो परीक्षाको १५/२० दिन अगाडिदेखि मात्र पाठ्यपुस्तक पढेर, सम्झिन सके जति पाठहरूको रटानले २० अंकभारको एक प्रश्नको लागि उत्तरपुस्तिकाका ४/५ पृष्ठ भर्नु सक्नुको नतिजा थियो।
त्यो खासमा विद्यार्थीका रूपमा मैले हासिल गरेको ज्ञानको परीक्षाको नतिजा थिएन। तैपनि उच्चशिक्षा प्रारम्भ गरेपछि ५ वर्ष बिताएका कारण पनि त्यस क्याम्पसप्रति मेरो बिछट्टको अनुराग छ। त्यहाँ अध्यापन गराउनुहुने शिक्षकशिक्षिकाहरूप्रति गहिरो सम्मान छ।
त्यसैकारण विभिन्न समयमा म व्यक्तिगत तरिकाले क्याम्पससँग जोडिने प्रयत्न गरेकै हुन्छु। यसपटक यसै वर्षको सुरूआतमा युभास्क्युला विश्वविद्यालयको स्नातकोत्तर तहको विद्यार्थीका नाताले उच्च शिक्षा प्रारम्भ गरेको आफ्नो पहिलो कलेजमा एक प्रशिक्षार्थीका रूपमा केही महिना बिताउने अवसर पाएको थिएँ।
यो बसाइले मलाई नेपालका शैक्षिक संस्थाहरू किन संस्थागत रूपमा अविकसित र कर्मकाण्डी छन् भन्ने बुझ्न सजिलो बनाएको छ।
मेरो प्रशिक्षण सुरू गर्नुपूर्व नै क्याम्पस प्रमुखलाई मैले गर्न लागेको इन्टर्नशिपले क्याम्पसको प्रशासनिक कार्यसम्पादनमा पुर्याउन सक्ने फाइदा र एक प्रशिक्षार्थीका रूपमा क्याम्पसको समग्र समुन्नतिका लागि मैले गर्न सक्ने योगदानका बारे चर्चा गर्दै इमेल लेखेको थिएँ।
हप्ता दश दिनसम्म पनि इमेलको जवाफ नआएपछि सिधा फोन सम्पर्क गरी मेरो प्रशिक्षणका बारे कुरा राखेपछि हामी एउटा निचोडमा पुग्यौं, इन्टर्नशिप गर्ने। मेरो यहाँको विश्वविद्यालयको नियमानुसार केही सैद्वान्तिक एवम् व्यवहारिक समझदारीको औपचारिकता पूरा गर्नलाई पनि त्यताको क्याम्पसको ढिलासुस्तीले सुरूमा केही असमञ्जयसता पैदा भए।
पछि ती औपचारिकता पूरा भएपछि चैतको तेस्रो हप्ता म नेपाल पुगेँ। नेपाल पुगेको हप्तादिनमै मैले मेरो प्रशिक्षण सुरू गर्नका लागि क्याम्पसमा उपस्थित भएँ। क्याम्पस छाडेको १५ वर्षपछि पुग्दा भौतिक रूपमा क्याम्पसले उल्लेखनीय प्रगति हासिल गरेको रहेछ, खुसी लाग्यो।
जताततै भवन नै भवन, छात्राबास, अध्यापकहरूको निवास, नयाँ कक्षा कोठाहरू गरेर गएको १५ वर्षमा आधा दर्जन भवन थपिएछन्। शैक्षिक क्रियाकलापका लागि नै थपिएका तीन वटा भवनहरूमा प्रशस्त कोठाहरू छन्।
शौचालयको उस्तै राम्रो प्रबन्ध, उस्तै लोभलाग्दो खेलमैदान। एक सामुदायिक क्याम्पसको हकमा भौतिक पूर्वाधारमा यो तहको विकासलाई विशिष्ट उपलब्धी नै मान्नुपर्छ।
तर यति धेरै भौतिक पूर्वाधार थपेको क्याम्पसले, आफ्नो पूर्व विद्यार्थी प्रशिक्षार्थीका रूपमा पुनः क्याम्पस प्रवेश गर्दा, काम गर्ने सहजताका लागि उसलाई एउटा सामान्य टेबल दिनुपर्छ भन्ने समेत ख्याल गरेन।
क्याम्पस प्रशासकका लागि म फगत एक व्यक्ति थिएँ, जो केही महिना उनीहरूसँग क्याम्पसमा समय व्यतित गर्न आइपुगेको छ। तर खास म आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्दै, क्याम्पसको शैक्षिक एवं प्रशासनिक विकासका लागि मैले गरेको अध्ययन र प्राप्त अनुभवका आधारमा टेवा पुर्याउने चेष्टाका साथ त्यहाँ पुगेको थिएँ जुन उहाँहरू बुझिराख्ने यत्न गर्नुभएको थिएन।
तीन दशक पहिले प्रविणता प्रमाणपत्र तहबाट पठनपाठन सुरू गरेको क्याम्पसले अहिले व्यवस्थापन संकायमा स्नातकोत्तरको पढाइ गराउँछ तर कुनै पनि विदेशी विश्वविद्यालयबाट प्रशिक्षार्थीका रूपमा पहिलो पाइला मेरो पर्न गएछ।
एक विदेशी विश्वविद्यालयमा अध्ययनरत क्याम्पसकै पूर्वविद्यार्थीका नाताले पनि म मेरो पहिलो कदमको प्रेरणामूलक डोब छाड्न चाहन्थेँ तर समग्रमा यो इन्टर्नशिप एउटा बिर्सनलायक घटना बन्यो।
मुलतः म मेरो प्रशिक्षणको अवधिमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरिएको यस सामुदायिक क्याम्पसको अभौतिक दुनियाँ (भर्चुअल वर्ल्ड) मा हुने उपस्थिति पूर्ण व्यावसायिक र विश्वसनीय बनाउन, सरोकारवाला निकायहरूसँग विश्वसनीय सञ्चार सम्पर्क स्थापित गर्न र सांगठनिक सञ्चारमा विविधीकरण कायम गर्नलाई ठोस योगदान पुर्याउन चाहन्थेँ।
जस्तै- सामाजिक सञ्जाल विशेषगरी फेसबुक पृष्ठमार्फत क्याम्पसले आफ्ना विद्यार्थीहरूसँग गरिरहेको सञ्चार एकदमै अपरिपक्व र अनौपचारिक हुने गर्दथे।
उसो त फेसबुक पृष्ठ नै यति हेलचेक्राइँपूर्वक बनाइएको थियो कि क्याम्पसमा असरल्ल परेका भवनहरूको एउटै कोणबाट खिचिएका तस्वीरहरू, त्यसको प्रोफाइल र कभर फोटाका रूपमा राखिएका थिए। संस्थाको जानकारी समेटिनुपर्ने स्थान लगभग खाली थियो।
जसोतसो गरेर पृष्ठलाई अलिकति व्यवसायिक रूप दिने कोसिस गरेँ, पृष्ठको प्रोफाइल तस्वीरमा क्याम्पसको भवन हैन, लोगो राख्न प्रेरित गरेँ। र, सामाजिक सञ्जालमा सूचना प्रेषण गर्न, विद्यार्थी एवं जानकारी लिन चाहनेहरूले गर्ने प्रश्नको जवाफ दिन एउटा आधिकारीक व्यक्ति नियुक्त गर्न सुझाए पनि उहाँहरूले त्यसको खासै आवश्यकता महसुस गर्नुभएन।
धौलागिरि अञ्चलमै सबभन्दा पहिला गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा आवद्ध भएको जिकिर गर्दै विद्यार्थी भर्नाका लागि विज्ञापनको तामझाम गर्ने सामुदायिक क्याम्पस कति कर्मकाण्डी छ भन्ने थाहा पाउन यसको वेबसाइट हेरे छर्लङ्गै हुन्छ।
वेबसाइटको मुख्यपृष्ठमा राखिएको स्वागत सन्देश (वेलकम टेक्स्ट) मै सामान्य व्याकरणीय त्रुटीमा समेत ध्यान दिइएको छैन। एक प्रशिक्षार्थीका रूपमा मैले स्वागत सन्देशमा रहेको व्याकरणीय त्रुटीका बारे जानकारी गराउँदै, वेबसाइटका विषयवस्तुमा सुधार्नुपर्ने विषयमा बुँदागत रूपमा सुझाएको करिब ७ महिना पूरा हुँदा समेत केही सुधार भएको छैन।
कतिपय अन्य शैक्षिक संस्थाको वेबसाइटको लेआउटसँग दुरूस्तै रहेकाले वेबसाइटको पुनर्निर्माणको आवश्यकताबारे बताउँदा, क्याम्पसको नीति रहेछ कि सामान्य परिवर्तनका लागि समेत बैठक बसेर निर्णय गर्नुपर्ने। फेसबुक पृष्ठमा समेत केही परिवर्तन गर्नुपर्ने भएमा बैठक बसेर माइन्युटिङ गर्नुपर्ने थाहा पाएपछि म झण्डै मुर्छा परेँ।
‘चिफ सर व्यस्त हुनुहुन्छ’ इन्टर्नशिपका दौरान मैले धेरै सुनेको वाक्य केही थियो भने त्यो यही थियो। तर प्रमुखको यस्तो व्यस्तता हुने शैक्षिक संस्थाले शैक्षिक क्षेत्रमा प्रतिष्ठित मानक स्थापित गर्न नसक्नु गम्भीर विषय हो।
दलीय भागबण्डाका आधारमा क्याम्पस प्रमुखको चयन गरिने क्याम्पसको प्रमुखबाट शैक्षिक उन्नयन वा विचार निर्माणको अपेक्षा राख्नु मूर्खता हो भन्ने उदाहरण यही हो। नत्र त क्याम्पसमा बन्दै गरेको पर्खालमा मजदुरले के गर्दैछन्? बास्केटबल कोर्टतिर बल समातेर उक्लिएका विद्यार्थी केटाहरू कतिबेर खेले? जस्ता कुराहरूमा क्याम्पस प्रमुखको समय बित्नु सामान्य विषय होइन।
गतिशील संस्थामा अझ त्यसमाथि शैक्षिक संस्थामा कार्यसम्पादनमा देखिएका त्रुटीहरूबारे जानकारी पाएपछि पनि त्रुटी सच्याउनका यो हदको उदाशिनता देखाउनुले प्रष्टै पार्दछ कि यी संस्थाहरूले कत्तिको जिम्मेवार विद्यार्थीहरू उत्पादन गरिरहेछ।
राजनैतिक आस्थाका कारण क्याम्पसमा कतिपय शिक्षक शिक्षिकाहरूबीच नै कुराकानी नहुने अवस्थाको साक्षी बन्नुपर्दा मैले सुस्केरा हाल्नुबाहेक अरू केही गर्न सकिनँ। उसो त शिक्षकशिक्षिकाहरूबीच सांगठनिक सञ्चारमा विविधताको महत्व साथै संस्थागत विश्वास अभिवृद्विमा शिक्षक एवं विद्यार्थीहरूको भूमिकाबारे कार्याशाला गोष्ठी सञ्चालन गरौं भन्ने प्रस्ताव राखेको थिएँ, तर प्रशासकको कानमा बतास लागेन।
सृजनशील विचार निर्माण हुनुपर्ने उच्च शिक्षाका धरोहर यस क्याम्पसजस्ता हाम्रा सामुदायिक क्याम्पसहरूमा फगत जागिर पचाउने मानसिकता बोकेर कुद्ने अध्यापकहरूको हुलमा बढोत्तरी हुनु दुःखद छ। यदि त्यस्तो नहुँदो हो त, मैले इन्टर्नशिपका दौरान डिजिटल साक्षरतासम्बन्धी गरेको सर्वेक्षणका लागि इमेल ठेगाना संकलन गर्दा १९७ जना मध्ये ३० जनाले गलत इमेल ठेगाना दिने थिएनन्।
पछि डिजिटल साक्षरता सम्बन्धी कक्षा लिँदा थाहा पाएँ, विचरा उनीहरूलाई इमेल भन्ने नै थाहा रहेनछ! वायरलेस हिरो भनेर चिनिने महावीर पुनको जिल्लाको पहिलो र एक हजारभन्दा बढी विद्यार्थीले शिक्षा आर्जन गर्ने सामुदायिक क्याम्पसको यो चित्र यति कारूणिक छ, सुदूर भूगोलका कर्णालीतिरका सामुदायिक क्याम्पसको हविगति के होला?
(लेखक युनिभर्सिटी अफ युभास्क्युला, फिनल्याण्डमा भाषा, भूमण्डलीकरण र अन्तरसांस्कृतिक सञ्चारमा स्नातकोत्तर गर्दैछन्।)