सानो छँदा किताबमा धेरै कथा, कविता पढियो। आमाको महिमा, गुणगान कण्ठस्त पारिन्थ्यो पनि। तर त्यो सब परीक्षामा राम्रो अंक ल्याउन थियो।
'आमा! तिमी जन्म दिने मलाई
आमा! तिमी प्राण दिने मलाई
आमा! तिमी बोट, म फूल त्यहाँको
हो दान तिम्रै जती जे छ मेरो'
युगकवी सिद्धिचरण श्रेष्ठले लेखेको यो कविताको पहिलो हरफ अझै मानसपटलमा ताजा छ। तर अर्थ भने जिन्दगीको लगभग आधा भाग सकिएपछि बुझेँ जस्तो लाग्छ।
वास्तवमै आमाले नचाहेको खण्डमा कसैको पनि जीवन सुरु हुन सक्दैन।
आमा, ९ महिना गर्भमा राख्यौ। कति पटक खाना नरुचेर बान्ता हुँदा पनि मेरै लागि कर गर्दै खायौ। ढाड दुखाएर मलाई आश्रय दियौ। कल्पनाले नभ्याउने प्रसव पीडा खपेर जन्म दियौ। अनेक रोग लाग्दा आँसु खसाल्दै उपचार गरायौ।
दसैं आउँथ्यो, छोराछोरीकै लागि आउँथ्यो। कुनै पनि दसैंमा आफ्नो लागि नयाँ कपडा किनेर लगाएको मलाई थाहा छैन। आफ्ना इच्छा चाहनालाई सधैँ बिस्कुनमा सुकाएर हाम्रो खुसीलाई प्राथमिकता दिइरह्यौ।
बुवा जागिरको क्रममा घरबाट टाढा भैरहनुहुन्थ्यो। चट्टानजस्तै बलियो भएर हामीलाई पकाउने, खुवाउने, सरसफाइ गराउने। सारा काम सकेर कतिखेर सुत्थ्यौ, कति खेर उठ्थ्यौ, हामीलाई कहिल्यै अत्तोपत्तो भएन।
आमा! तिमी निदाएको मैले कहिल्यै देखिनँ। तिमीमा यति धेरै शक्ति कसरी आयो होला? मैले तिमीले आरामसँग बसेर खाएको पनि कहिल्यै देखिनँ।
हामीलाई खाना बाँड्दा-बाँड्दै भाँडा रित्तिन्थ्यो। ‘मलाई पुग्छ’ भन्दै दालले भाँडा पखालेर खाँदा तिमीलाई कहिल्यै किन रिस उठेन?
हुन पनि अर्को एक कप चामल पकाउन लाग्दा धन्दापात बितेको बुझ्ने पनि त कोही थिएन। सारा धन्दा कहिले सक्ने? सायद यही कारणले तिमी कति पटक भोकै सुत्यौ। आमाले गर्भमा धारण गरेदेखिको उनको त्याग र तपस्या के बुझोस् त्यो कलिलो दिमागले!
माघको चिसो, त्यसमाथि लामा रात। अनि घरबेटीको आँखा पनि छल्नै पर्यो। झिसमिसेमै एक रास लुगा धोएर सक्थ्यौ। दिनभर घरधन्दाले थाक्थ्यौ। यसो सास फेर्न लाग्दा हामी भोकाउँदै स्कुलबाट आउथ्यौँ। ‘खाजा ढिला भो’ भनेर झगडा गर्दा पनि तिम्रो छुचो बोली मैले कहिल्यै सुनिनँ।
आफ्ना केटाकेटीको बदमासीमा अरुको टोकसो सुन्न पर्दा कति नमिठो लाग्थ्यो होला।
जति जे गरे पनि तिमीलाई कहिल्यै किन रिस उठ्दैन आमा? एउटा मेसिन पनि धेरै खटिएपछि तातेर बन्द हुन्छ, तर तिमी चलिरह्यौ। अझै पनि चलिरहेकी छौ। चुलाचौकाबाट छुटकारा पाएकी छैनौ। ६० वर्ष पुग्दा त एउटा कर्मचारीले पनि छुट्टी पाउँछ क्यारे! तर तिमीलाई आराम खोई?
तिमीलाई घुम्न कति धेरै मन पर्छ। मलाई थाहा छ। तर बुवा बिरामी हुनुहुन्छ। घरबाट एक पाइला सार्यो कि मन आत्तिन्छ। साना केटाकेटी छन्, उनीहरूलाई पनि त हेर्नपर्यो।
तिमीले सकी-नसकी ढाड समात्दै कुचो उठाएको देख्दा ‘आमा म गर्छु’ भन्न सक्दिनँ। बाथले थलिएका गाँठा परेका हातहरूले भाँडा माझिरहेको देख्दा ‘आमा म माझ्छु’ भन्न सक्दिनँ।
मेरो त केवल चाहना गर्ने मात्र त हो नि, के नै गर्न सक्छु र आखिर!
तिम्रो गहबाट खसेका बलिन्द्रधारा आँसु पनि त हातले पुछ्न सक्दिनँ। म टाढा छु आमा।
अझ उल्टै तिमीलाई मेरै पीर छ। अझै पनि फोनमा ‘योपालि पेट दुख्यो कि दुखेन?’ भनेर सोध्न छुटाउँदिनौ। हरेक महिनावारीमा छट्पटिँदा, खुट्टा माढेरै पनि रात बिताइदिन्थ्यौ।
आमा! कहिलेसम्म तिमीले हाम्रो मात्र पीर गर्ने? कहिले जिउने तिमीले आफ्नो जिन्दगी? तिमी त भगवान पनि हैनौ। किनकी भगवानले पनि भक्ति खोज्छन्, रिझाउन पर्छ।
तिमीलाई केबल मैले हाँसिदिए पुग्छ, मिठोसँग बोलिदिए पुग्छ, मिठो खाइदिए पुग्छ, राम्रो लगाइदिए पुग्छ। छोटकरीमा भन्न पर्दा मैले रमाइदिए पुग्छ।
नढाँटी भन त, तिमीलाई सन्तानको खुसीले नै सबै खुसी मिल्छ है?
तर आमा अब मलाई पनि तिमीले खाएको, रमाएको हेर्न मन छ।
तिमी पनि मस्तसँग निदाएको हेर्न मन छ।
साथीसङ्गीसँग नाचेको, गाएको हेर्न मन छ।
तिमीलाई मैले बिताएका मिठा पलहरूमा मिसाउन मन छ।
मैले देखेका ठाउँहरू देखाउन मन छ।
मैले सुनेर रमाउने गरेका तीनै चराको चिर्बिर सुनाउन मन छ।
फेरि पनि त्यही काखमा बसेर निदाउन मन छ।
सहनशीलताको पनि सीमा हुन्छ। के तिम्रा चाहना छैनन्? या लुकायौ? या मैले कहिल्यै देख्ने चेष्टा राखिनँ? या मैले देखेर पनि नजरअन्दाज गरेँ?
खैर! यी प्रश्नहरू मुखै खोलेर सोधेँ भने पनि मैले उत्तर पाउने छैन।
त्यसैले आमा, तिमी महान् छौ। अबको बाँकी जीवन तिम्रै सेवामा समर्पित हुन मन छ। तिमीलाई सन्तोष दिन मन छ। सुटुक्कै थाहै नदिई तिम्रा मनभित्रका इच्छालाई पूरा गर्न मन छ– जसरी तिमीले मेरा पूरा गर्थ्यौ।
तिमीले कसैको सुर्ता नगरी जिन्दगी बाँचेको हेर्न मन छ। विराट मन भएकी आमा तिमीलाई नमन छ।
आमा, तिमीलाई संसारमै नअटाउने खुसी दिन मन छ!