दन्त पेसामा दत्तचित्त भएर लागिरहँदा कहिलेकाहीँ यस्ता समस्याहरू अगाडि देखिने गर्दछन् कि हामी चिकित्सक नै छक्क पर्ने गर्दछौं।
हाम्रो दाँतको प्राकृतिक विकासको छुट्टै नियम छ। छोटकरीमा भन्दा ६ महिनादेखि १४ महिनासम्ममा दूधे दाँत आउने गर्दछ। यिनीहरूको संख्या इनसिजर दाँत ८ वटा, कुकुर दाँत ४ वटा र बंगारा ८ वटा गरी २० वटा हुने गर्दछ।
समयसँगै यी दाँतहरू झर्ने गर्दछ र स्थायी दाँत आउन थाल्दछ। जसको समय ६ देखि १४ वर्ष हुने गर्दछ।
स्थायी दाँतमा सबैभन्दा पहिले पहिलो बंगारा ५ देखि ७ वर्षको बीचमा आउने गर्दछ। यो दाँत अरु फेरिने दाँतभन्दा ठूलो हुने गर्दछ। यो दाँत बच्चाको बंगाराभन्दा पछाडि हुन्छ र धेरैजसो बच्चाको बंगारा नझर्दै आउने गर्छ।
यति भन्दा हामीले यो पनि थाहा पाउनु पर्छ कि बच्चाको बंगारा झरेपछि त्यसको ठाउँमा प्रिमोलार दाँतहरू आउँछ।
पहिलो बंगारा आएको सामान्य अवस्थामा थाहा हुँदैन किनकी त्यसको ठाउँमा पहिले दाँत हुँदैन र माथि भनेजस्तै यो दाँत प्रिमोलारभन्दा पहिले आउने गर्दछ।
खाना चपाउने तथा मुखको बनोट र टोकाइलाई भर दिने यो दाँतको भूमिका एकदमै महत्वपूर्ण छ।
पहिलो बंगाराको समस्या
८ देखि १४ वर्षका बिरामी दाँत दुख्यो, खान सकिएन, सुन्नियो भन्दै आफ्ना बाबु-आमा अथवा आफन्तसँग आउनुहुन्छ। बिरामीसँग कुराकानी र चेकजाँच गर्दा पहिलो बंगारामा क्याभिटिज अर्थात् आम भाषामा भन्दा किरा लागेको देखिन्छ।
जुन दाँत हामीलाई खाना चपाउन चाहिन्छ त्यो पनि बुढ्यौली अवस्थासम्म, त्यही दाँत सानै उमेरमा किरा लागेको देखिन्छ।
यो सबै कुरा हामी बिरामीका आमा-बुवा या आफन्तलाई भन्छौँ र डिजिटल एक्स-रे गरेर पनि देखाउछौँ। त्यसपछि यसको तल दाँत छैन, नयाँ दाँत आउँदैन, यो दाँत जसरी पनि बचाउनु पर्छ भनेर बुझाउने कोसिस गर्दछौँ।
तर सबैबाट एकैखाले उत्तर पाउछौँ-
- हामीले यो त झर्ने दाँत भनेर बसेको।
- यो दाँत त निकालिदिनुस्, नयाँ आउँछ।
- बच्चाको दाँतको पनि एस्तो उपचार गर्नुपर्छ र?
- अहिलेलाई माथिबाट मात्र भरिदिनुस्, पछि विचार गरौंला।
- अहिले औषधि दिनुस्, अन्य उपचार पछि सोचौँला।
जति पनि यो समस्या लिएर आउनुहुन्छ उहाँहरू सबै शिक्षित र सचेत वर्गका हुनुहुन्छ। अशिक्षित र निम्न वर्गमा मात्रै सीमित नभइकन यो समस्याले हरेक वर्ग र तप्कालाई समान रुपमा समातेको छ।
अझ पत्रु खाना जसमा नुन र चिनीको मात्रा धेरै हुन्छ र पौष्टिक तत्वको मात्रा कम, यसले यो समस्या झन् बढाएको देखिन्छ। यसका निम्न कारणहरू हुनसक्छन्-
- दाँत र मुखको समस्यालाई एकदमै सामान्य रुपमा लिनु
- दाँत दुख्नसाथ उपचारभन्दा फाल्ने प्रचलन
- दाँत उम्रने र झर्नेबारे सामान्य ज्ञानको कमी
- सानै उमेरदेखि मुख र दाँतको हेरचाह कसरी गर्ने भन्ने सिकाइको कमी
- नियमित दन्त चिकित्सकसँग भ्रमण र सल्लाहको कमी
उपचार के हो?
दाँत किराले खाएको छ र बचाउन मिल्नेछ भने हामी रुट क्यानल ट्रिटमेन्ट (आरसिटी) विधि सुरु गर्दछौं जसलाई सामान्य भाषामा जरैदेखि दाँतको उपचार भन्ने गरिन्छ। यदि बचाउन मिल्दैन भने दाँत फाल्नु बाहेक अर्को विकल्प हुँदैन।
अन्त्यमा,
सबै तहमा उही समस्या देखिनुले समाजमा दन्त चेतनाको निकै कमी भएको देखाउँछ। जानी-जानी कोही पनि आफ्नो दाँतमा समस्या निम्त्याउने गर्दैनौँ। शिक्षा र चेतनाको कमीले नै यो अवस्था आउने गर्दछ।
त्यसैले हामी आफै यी कुराहरूमा सचेत हुन जरुरी छ। सचेतनाका उपायहरू यस प्रकार छन्-
- हरेक ६-६ महिनामा एकचोटि आफ्नो र आफ्नो परिवारको दाँत र मुख जँचाउने।
- बच्चाहरूको दाँत र मुखको विशेष ध्यान दिने र समय समयमा जँचाउने।
- विद्यालयमा पनि दाँत र मुख सम्बन्धी कक्षा राख्ने।
- विशेषगरी बच्चा हुनु भएका र बच्चा जन्माउने योजना गर्नु भएकाहरूले एकचोटि दन्त चिकित्सकसँग सल्लाह लिने।
(लेखक दिव्य स्माइल डेन्टल क्लिनिक ठूलो भर्याङ, काठमाडौंकी संचालक हुन्।)