'हेल्लो, के अमेरिकामा तिमीले लेखेको जस्तो दुःख मात्रै छ? सधैँ किन दुःखको कुरा मात्रै लेख्छौ? तिमी आफै पनि सवल भइसकेका छौ, फेरि किन निराशा मात्रै बाँड्छौ?' फेसबुकको म्यासेन्जरमा उत्तरी अमेरिकाको वोस्टनमा बस्ने मित्र महेशले सोधे।
मैले सन्दर्भ नबुझे पनि सेतोपाटीमा मेरो लेख प्रकाशित भएको भोलिपल्ट थियो। विषयवस्तु त्यही होला भन्ने बुझेँ। अरु पनि यस्तै केही कमेन्टहरू आएका थिए। मैले सामान्य रुपमा हैन, छैन भनिदिएँ।
फेरि उताबाट निर्देशनको शैलीमा सन्देश आयो, 'त्यसो भए सफलताको कथा पनि लेख न, कति दुःख पाएको, गाह्रो भएको कुरा लेख्छौ? यहाँ आएर नेपालीले गुगलमा जागिर खाएका छन्। माइक्रोसफ्टमा राम्रो पदमा जागिर खाएका छन्। व्यवसायमा जमेका छन्। सांसद भएका छन्। त्यो पनि लेख न, कति निराशा मात्रै बाँड्छौ। तिम्रो लेख पढेर हाम्रा आफन्तले के सोच्छन् नेपालमा?'
अब के भन्ने, म अक्क न बक्क भएँ।
उनी यहाँ राम्रै जमेको मान्छे हुन्, आम्दानी र रहनसहनको हिसाबले। मैले यो विषयमा सोचेकै थिइनँ। खासमा यसअघि प्रकाशित 'डिभी परेपछिको चिन्ता' आत्मकथा पूरा नै थिएन। लेख्दा लेख्दै लामो भएकोले अर्को भागमा स्टोरदेखि यहाँको युनिभर्सिटीसम्मको यात्राको बारेमा लेखौँला भन्ने सोचेको थिएँ।
यो कुराकानीले मेरो पाण्डूलिपी नै पो परिवर्तन भयो। उनले भनेजस्तो सफलता आफूलाई मिलेको छैन, आफूलाई नमिलेको कुरा सुनेको आधारमा लेख्न पनि मन लागेन। सफलतामा पुगेकाहरूले नै लेखिदिए हुने नि। मनमा लागे पनि बोलेर छुच्चो हुन मन लागेन। अमेरिकामा धेरै नेपाली उनीहरूको परिभाषामा सफलताको शिखरमा पुगेका छन्। कोही पैसा कमाउनुलाई सफलता मान्छन्, कोही रमाउनुलाई। पैसा कमाएर मात्र सफलता मिल्ने होइन भन्नको लागि पनि पहिला पैसा कमाउनु पर्ने रहेछ।
अमेरिकामा पैसा कमाउने बाटोहरू धेरै छन्। स्टोरमा काम सुरु गरेपछि उसले जिन्दगीभरी त्यहीँ काम गर्नुपर्छ भन्ने होइन। आफूलाई अनुकूल हुने गरी निखार्दै जाने हो। फेरि मैले अमेरिकामा रहेका नेपालीहरूको नेपालमा रहेका आफन्तहरूले के सोच्नेछन् भनेर राम्रो-राम्रो मात्रै लेखिदिनु पर्ने पनि होइन। सुरुआत धेरैको स्टोरबाटै हुन्छ र पछि को कहाँ पुग्छ त्यो त उनीहरूको परिश्रम र भाग्यले निर्धारण गर्ने हो।
मैले सामान्य रुपमा 'दोस्रो भागमा लेखौँला नि दाइ' भनेर कुराकानी अन्त्य गरिदिएँ। त्यसपछि उनको प्रतिक्रिया आएन। मैले अरु कुरा गरिनँ।
कथा त सुरुआतको पो लेखेको हो त। सधैँ उस्तै त कहाँ रहन्छ र? अमेरिका आएको सुरुमा एक/दुई वर्ष सेटलमेन्टमा समय बित्छ, यहाँ शून्यबाटै सुरु गर्नुपर्छ भनेर बुझाउने कोसिस हो। हामीले अफगानिस्तानका पूर्व अर्थमन्त्रीले ट्याक्सी चलाएको समाचार पढेका छौँ। तर हाम्रै देशका धेरै पूर्वहरूले यहाँ आएर के गर्छन्? त्यो न कसैले समाचार बनाउँछन्, न लेख्छन् नै।
हामीले नेपालका धेरै पूर्वहरूले यहाँ आएर पुर्पूरोमा हात राखेको देखेका छौँ। अमेरिका अवसरको भण्डार हो। यहाँ सुरुआत गरेपछि तपाईं जसरी पनि जीवन जिउन सक्नुहुन्छ तर सुरुआत भने निकै तल्लो तहबाट गर्नुपर्छ। पछि त ट्याक्सी चलाउनेदेखि ह्वाइट चलाउनेसम्मको बाटो खुल्छ। सांसद बन्नेदेखि संसार चलाउने निकायसम्म पुग्न सकिन्छ। समयअनुसार आफूलाई निखार्दै लैजानुपर्छ भनेर अब मैले लेखे पनि यी मित्र खुसी होलान् र? प्रश्न उब्जियो। उत्तर खोजिएन।
अरुले जे भने पनि मलाई भने अमेरिकामा काम सुरु गरेदेखि नै यो देश हाम्रो लागि होइन रहेछ भन्ने लागेको थियो। नेपालमा केही फुर्सद हुने वित्तिकै सँगै चिया पिउने साथीभाइ हुन्थे। ओल्लोघर पल्लोघर समाज हुन्थ्यो। यहाँ त दिनको १२ घण्टा काम गर्यो, घर गयो सुत्यो। भोलि फेरि काममा आउनु पर्ने। कमाएको सबै यतै खर्च हुने। महिनाको थोरै पैसा बचाउन पनि मुस्किल।
न साथी भाइ हुन्छन्, न छिमेकी नै। नेपाली नै भए पनि सबैलाई आ-आफ्नो मात्रै मतलब हुने। गोराहरू त उनीहरूलाई केही बेर हेर्यो भने पनि शंकाको नजरले हेर्थे। आवास क्षेत्र सधैँ सुनसान हुन्थ्यो। बाहिर युद्ध हारेर बंकरमा लुकेका सिपाहीजस्तो। छिमेकी भए पनि ओल्लोघर पल्लोघर चिनजान नै हुँदैन थियो।
सबैको अवस्था उस्तै। काममा दिनभर जोतेको गोरु बास बस्न मात्रै घरमा गएको जस्तो। छुट्टीको दिन बनाएको खाना फ्रिजमा राखेर नसकिने बेलासम्म खाइरहनु पर्ने। काममा थाकेर लखतरान हुने। यहाँ आएपछि जिन्दगी भनेकै काम हो अनि काम भनेकै जिन्दगी जस्तो भएको थियो।
स्टोरको म्यानेजर भएपछि त कामको लोड अचाक्ली नै थियो। अरु सहकर्मी काममा नआए उनीहरूको साटो पनि आफैले काम गर्नुपर्ने। खुट्टा र कम्मर दुख्नु त सामान्य भैसकेको थियो। त्यसमा मानसिक दबाब पनि थपिएको थियो। स्टोरको हिसाबकिताबदेखि दैनिक कामले सधैँ शरीर गलिरहेको हुन्थ्यो। हप्ताको बीचमा एक दिन छुट्टी भएर के गर्नु? शरीरले नमानेपछि अतिरिक्त क्रियाकलापमा फिटिक्कै ध्यान जाँदैन थियो।
नेपालमा लेख्ने बानी भएकोले होला साथीहरूले लेख न त भनेर झस्काइरहनु हुन्थ्यो। १२ घण्टा काममा जोतेको शरीरमा के फुर्छ र लेख्नु? तैपनि बेलाबेलामा केही अनलाइनहरूमा लेखिरहन्थेँ। एक पटक अनलाइनकै लागि लेखेको थिएँ 'सोचेको जस्तो छैन अमेरिका' भनेर। धेरैले कमेन्ट गर्नु भएको थियो- 'नेपाल नै फर्कनु नि किन बसिरहनु बकबक गरेर अमेरिकामा?'
मलाई पनि लाग्थ्यो अब त अति नै भयो। नेपाल नै फर्कने हो। यहाँ आएको एक वर्षसम्म पनि अमेरिकामै बसिन्छ भन्ने लाग्दै लागेन। अमेरिका आएका सबै नेपालीले सुरुको पहिलो वर्ष अमेरिका बसिँदैन, नेपाल नै फर्कछौँ भन्छन्। पछि कति नेपाली नेपाल फर्कन्छन्? त्यो उनीहरू नै जानुन्। हामी पनि नेपाल फर्कने भनेर अमेरिका बसेको ८ वर्ष भयो।
यहाँ बस्दै गएपछि व्यवहार बढ्दै जाने। खाडी वा अरु देशमा रोजगारीमा जानेहरूले खर्च कटौटी गर्न सक्छन्। नेपालमा परिवार पनि पाल्न सक्छन्। कतिको खाने, बस्ने व्यवस्था पनि कम्पनीले नै गरिदिन्छ। अमेरिकामा सबै आफैले गर्नुपर्छ। नियमित आम्दानी छ भने बैँकहरूले ऋण दिन्छन्। घर गाडी, खर्च गर्ने क्रेडिट कार्ड पनि बैँकले दिन्छन्।
महंगा-महंगा फोन उत्पादन गर्ने कम्पनीहरूले ऋणमा फोन दिन्छन्। सजिलै ऋण पाएपछि किन नबोक्ने महंगा फोन र गाडी? एकदिन, दुई दिन गर्दै गाडी, कार्डहरू थपिँदै जान्छन् र त्यसमा तिनुपर्ने ऋण पनि। नेपाल फर्कने भनेर अमेरिका बसेको हाम्रो एक वर्षभित्रै ३० हजार डलरभन्दा बढी ऋण लागेको थियो। गाडी र क्रेडिट कार्डमा। अब टाउकोमा ऋणको भारी बोकेर नेपाल फर्कने कसरी? हाम्रो संस्कारमा अरुको खाएर भाग्नु हुँदैन भन्ने हुन्छ।
यता बस्न मन नहुने, उता ऋणको महिनै पिच्छे तिर्नुपर्ने किस्ताले बाँध्दै लैजाने। ऋण तिरेर सक्न पाए आफ्नै केही व्यवसाय गरौँला वा कलेज गएर राम्रो विषयमा अध्ययन गरेर व्यवस्थित जागिर खाऔँला भन्ने लागिरहने। एक दिन, दुई दिन गर्दै यो दलदलमा फस्दै गइयो। आम्दानीअनुसार ऋण पनि बढ्दै गयो। ८ वर्ष भयो, हामी नेपाल फर्किएनौँ।
अमेरिका आएको पुग नगुन एक वर्ष हुँदै थियो। एकदिन श्रीमतीलाई साह्रै पीडा भयो। पेट दुख्ने, पिसाब नआउने। हेर्दाहेर्दै गाह्रो भयो। अब कहाँ जाने के गर्ने? यता आएको एक वर्ष भए पनि हाम्रो जिन्दगीले लय समाएकै थिएन। चिनेको कोही थिएन। भए पनि उपदेश दिन परे सबै दार्शनिक बन्ने, परेको बेला कोही अगाडि नदेखिने। फोनमा र मुखले ठिक्क पार्ने नेपाली धेरै हुने, तर परेको बेलामा उनीहरूसँग रेडिमेट बाहाना हुन्थ्यो काम छ भन्ने।
अहिले आफैलाई लाग्छ त्यो बेलामा बेकार रिसाइएछ। अहिले हामी आफै पनि अरुको लागि समय निकाल्न सक्ने अवस्थामा छैनौँ। यो त यहाँको सामान्य कुरा पो रहेछ। नेपालमा जस्तो सबै अरुले नै गरिदिन्छ भनेर भर पर्नु नै गलत हो यहाँ। अरुले उपाय सिकाइदिनु पनि ठूलो कुरा हुन्छ। समय यहाँको सबैभन्दा ठूलो अवरोध हो। अरुको लागि समय निकालिदिन निकै गाह्रो हुन्छ।
नेपालमा त बिरामी हुनु अगाडि नै गोजीमा खर्चको व्यवस्था हुनुपर्छ। गरिबलाई त बिरामी हुने छुट पनि हुँदैन। पैसा भए मात्र अस्पताल नत्र मन्दिरको विकल्प हुन्छ नेपालमा। एक पोको जीवनजलले निको हुने बिरामीले मन्दिरमा सिंगै बोको चढाएको हामीले एक पटक होइन धेरै पटक देखेका छौँ।
हामी अमेरिकामा भए पनि गोजीमा पैसा थिएन। यहाँ वर्षको सुरुमा नै निवेदन दिएर स्वास्थ्य बिमा लिनुपर्ने व्यवस्था थियो। हामीलाई त्यो विषयमा त्यती राम्रो जानकारी नै भएन। बिमा लिन छुट्यो। न गोजीमा पैसा छ, न बिमा। अब के गर्ने? तनाबले आफ्नो सीमा पार गर्यो। जे भए पनि अस्पताल त जानै पर्यो। कुदाएर नजिकैको अस्पतालको आकस्मिक कक्षमा पुर्याएँ।
श्रीमतीको पीडा कम भएको थिएन। यता मेरो पनि पीडा बढिरहेको थियो। गोजीमा पैसा छैन, उपचार कसरी गर्ने? अरु तनाब थपियो। अस्पतालमा बिरामीको नाम सोधेर सिधैँ भित्र लिएर गयो। नेपालमा त काउन्टरमा पैसा नतिरी बिरामी भर्ना नै गर्न मिल्दैनथ्यो। यहाँ त बिरामीको नामबाहेक केही पनि खोजिएन। मलाई पनि सँगै जाँदा हुन्छ भनियो। बिरामीलाई उनीहरूले लिएर गए। म उनीहरूको पछि-पछि लागे। बच्चाले आमा पछ्याए जसरी।
इमर्जेन्सीमा त सबै काम छिटो हुने। पेटको बिरामी भए पनि चेक गर्न मिल्ने सबै कुरा चेक गरे। पाखुरामा प्वाल पार्न मिल्नेसम्म प्वाल बनाएर रगत निकाले। एकै पटक सबै डिब्बा भरे हुने हो नि? किन बेलाबेलामा घोचिरहनु पर्यो? मनमा रिस पनि उठ्यो। कहिले रगत निकाल्ने, कहिले सुईबाट दबाइ चढाउने। के-के हो के-के।
कति कुराहरू त के ज्याद्रो गरेका होलान् जस्तो लाग्थ्यो। नेपालमा आकस्मिक कक्षमा बिरामीको आफन्तलाई जान दिदैनन्। यहाँ त मिलेसम्मको सबै ठाउँमा मलाई सँगै राखेका थिए। उनीहरूले चेक गरेको, सुई लगाएको, रगत निकालेको छेउमा बसेर हेरिरहेँ। एउटा शरीरलाई ओल्टाई पल्टाई सबै पार्टहरूको जाँच गरे। गाडीको इन्जिन जाँचेको जस्तो।
कति पटक मनमा लाग्यो- के नाटक गरेको होला? जहाँ दुखेको हो त्यही पहिला चेक गर्नु नि। पेट दुखेको छ टाउको स्क्यान गरेर हेर्छन्। तर मलाई लागेर के गर्नु? मभन्दा जान्ने डाक्टर हुन्। म त त्यहाँ फगतको दर्शक मात्रै थिएँ। मेरो मनमा जे लागोस् उनीहरूलाई के मतलब? करिब ४ घण्टा लगाएर सबै जाँच गरेरपछि डाक्टर आएर मृगौलामा पत्थरी छ भन्यो।
उनीहरूको कुरा राम्ररी नबुझेको भएर होला चित्र बनाएरै देखायो। यतिबेला मात्रै मलाई आफ्नो अंग्रेजीको ज्ञानप्रति रिस उठेर आयो। नेपालमा अग्रेजीको किताब पनि नेपालीमा उल्था गरेर पढाउने शिक्षकलाई पनि सम्झिएँ। खासमा अग्रेजीलाई हामीले यस्तो महत्वपूर्ण कहिल्यै ठानेकै थिएनौँ। हाम्रो पालामा धेरै सरकारी विद्यालयमा अंग्रेजी विषय सिकाउनेभन्दा पनि परिक्षामा पास गराउने हिसाबले पढाइन्थ्यो। हामी पनि जान्नेभन्दा पास हुने हिसाबले पढिदिन्थ्यौँ। अहिले के हुन्छ, थाहा छैन।
पत्थरी सानो भएकोले अप्रेशन गर्न नपर्ने भयो। औषधि खाए ठिक हुन्छ अरे। पानी भने टन्नै खानु भन्यो डाक्टरले। श्रीमतीको त रोग पत्ता लगाएर उपचार सुरु भयो तर मेरो रोग भने अस्पतालको बिलमा थियो। अब बिल कसरी तिर्नु? नतिरे कसरी घर जानु? मनको तनाब अनुहारमा मज्जाले देखिन्थ्यो।
सबै काम सकेर अन्तिममा मात्रै बिलिङ डिपार्टमेन्टले हामीसँग सबै जानकारी माग्यो। बिमा छ कि छैन भनेर सोध्यो। भएको पो छ भन्नु, छैन भनिदिएँ। ती महिलाले सामाजिक सुरक्षा नम्बर र ठेगाना मागेर एउटा पत्र थमाइदिइन्। अब जाँदा हुन्छ, उनले भनिन्।
'अनि पैसा?' दिमागमा प्रश्न आएको थाहै थिएन तर मुखबाट फ्याट्ट निस्किसकेछ।
'पछि बिल घरमा आउँछ अनि तिर्नू।'
ला, यतिबेलासम्मको चिन्ता र निरासा त करिब १० सेकेण्डमै सकियो। यत्ति कुरा पहिलै थाहा भएको भए त चिन्ताले प्रेसर नै बढ्ने थिएन। यहाँ त पैसो बिनै पो उपचार हुने रहेछ। पछि पो थाहा भयो अमेरिकामा त उपचारको समयमा धनी, गरिब, विद्यार्थी, पर्यटक केही नहेरिने रहेछ।
पहिला उपचार गरेर लागेको खर्चको बिल घरमा पठाइने रहेछ। बिमा भए सबै बिमाले नै तिरिदिने रहेछ। पैसै नभए पनि उपचार बिना कोही मर्नु नपर्ने, कस्तो राम्रो सिस्टम। नेपालमा अस्पतालको नाममा व्यापार गर्नेहरूले यस्तो व्यवस्था कहिले गर्लान्? कमसेकम बिरामीले बाच्न त पाउँथ्यो।
नभन्दै पछि घरमा बिल आयो। करिब ४ घण्टा अस्पताल बसेको ८ हजार डलरको। बाँकी अझै आउँदै थियो रे। सबै गरेर १० हजार डलरको उपचार गरिएछ। अब यो पैसा तिर्ने पो कसरी? केही साथीहरूको सल्लाहमा अस्पतालमा फेरि सम्पर्क गरियो। किस्तामा तिर्दा पनि हुने भन्ने भयो।
अस्पतालमा गरिबको लागि उपचार गर्ने कोष पनि रहेछ। त्यसमा पनि आवेदन गरियो। यदि स्वीकृत भए बिल तिर्नु नपर्ने रे तर निर्णय नआएसम्म भने नियमित तिरिरहनु भन्ने आदेश आयो। अब ऋणमा फेरि १० हजार डलर थपियो। आएको १३ महिनामा नेपालको करिब ३८ लाख ऋण लागिसकेको थियो। अनि एक वर्ष अगाडिको आफ्नो निर्णयमा आफैलाई प्रश्न गर्थेँ- अब कहिले फर्कने नेपाल?
आइतबारको दिन थियो। स्टोर सुनसान थियो। हामी काम गर्नेहरू आफ्नै सुरमा थियौँ। एक्कासी बाहिरबाट मुकुण्डो लगाएको एक व्यक्ति हातमा पेस्तोल देखाउँदै स्टोरमा आयो। के हुँदैछ भन्ने सोच्न नपाउँदै ऊ सिधैँ पैसा राख्ने रजिष्टरतिर आयो। त्यही काम गरिरहेको थिएँ। 'ओपन अप ओपन अप' यति मात्रै भनेको बुझिन्थ्यो।
के भनेको भन्ने भेउ नपाउँदै सिधैँ कन्चटमा पेस्तोल पुर्यायो। हात दुवै माथि उचाले पनि उसले पेस्तोल हटाएन। अब मेरो जीन्दगी उसको एक क्लिकमा अडिएको थियो। रजिष्टर खोलिदिएँ। एक हातले पेस्टोलमै तिर सोझ्याउँदै अर्को हातले पैसा उठाउन थाल्यो।
समाचारहरूमा सुनिन्थ्यो पैसा लुटेराहरूले गोली चलाएर काम गर्नेहरूलाई मारेका। टेक्सासतिर त एक नेपाली महिलाको केही समयअगाडि मात्रै यस्तै लुटपाटको क्रममा हत्या भएको थियो। मनमनै लाग्यो, अब आजै यसले मलाई पनि मार्ने भयो। अनायासै भगवान सझिएँ। सात समुद्रपारि आए पनि दुःख परेको बेलामा त भगवानमाथि नै भरोसा हुने रहेछ।
आफ्नै आगाडि आफ्नो मृत्यू नाचिरहेको थियो। शरीर काम्न थाल्यो। बोली त निकै बेरसम्म आएन। उसले नभने पनि पैसा भएको सबै स्थान देखाइदिए। उसले हातमा र गोजीमा अटेसम्म पैसा भर्यो। खाँदी खाँदी। पैसा भरेपछि रजिष्टर नजिकै रहेको बारबाट फुत्त हाम फालेर बाहिर भाग्यो। लाग्यो अब बाँचियो।
चोरी गरेपछि पनि प्रहरीलाई बोलाएको चाल पाए आएर गोली हानेर मारिदिन्छ भनेको सुनेको थिएँ। त्यही डरले धेरै बेरसम्म प्रहरीलाई फोन गरिएन। अमेरिकामा चोरले पैसा लगेमा केही फरक पर्दैन तर उनीहरूलाई रोक्ने कोसिस गरेमा वा आफ्नो बहादुरी देखाउने कोसिस गरेमा भने ज्यान खतरामा पर्छ भन्ने सुनेको थिएँ।
हुन पनि स्टोरको बिमा हुन्छ। चोरी भएको रकम बिमाबाट उठाउन सकिन्छ। ज्यान गयो भने बिमाबाट आउँदैन। चोरसँग जोरी नखोजेकै जाति भन्छन्। निक पछि मात्र प्रहरीलाई बोलाइयो। स्टोर बाहिर प्रहरीको गाडी र एम्बुलेन्सले भरियो। आपतकालीन सेवाका कर्मचारी आए। हामीलाई केही भए नभएको जाँचे। दिमाग जाँच्न नमिल्ने, शरीरमा चोट पटक थिएन। उनीहरू फर्किए। प्रहरीले पनि आफ्नो काम सकेर फर्कियो। त्यो दिन कामै गर्न सकिएन। स्टोर बन्द गरियो।
घरमा आए पनि शान्ति मिलेन। भर्खरै देखेको मृत्युलाई आँखाबाट हटाए पनि दिमागबाट हटाउन सकिएन। राति निन्द्रा लागेन। भोलिपल्टबाट त ज्वरो नै आयो। काममा जानै सकिएन। दुई दिनपछि स्टोरमा पुग्दा पनि त्यही झझल्को आइरह्यो। तेस्रो दिन यहाँको काउन्टी अफिसर आएर त्यो घटनाको कारण परेको असरहरूको विषयमा सोधी खोजी गर्यो।
काम गर्न नसकेको खण्डमा काम नगर्न र घरमै बस्न सल्लाह दियो। त्यसबाट भएको नोक्सानीको भर्पाइ सरकारले गरिदिन्छ। उक्त स्टोरमा काम नगर्ने भए सरकारले कामको लागि रोहवर पनि गरिदिन्छ भनेर सम्झायो। ओहो! सरकार त आफन्तजस्तो पो लाग्यो।
नेपालमा आफ्ना आफन्तले दिनेजस्तो ढाडस दिएपछि भने केही राहत मिल्यो। अहिले सामान्य हुन खोज्दै छु। सकिनँ भने सम्पर्क गर्छु भनेर उनीहरूलाई फर्काइदिएँ। दुर्घटनापछि सरकारको यो जागरुकतालाई भने निकै पछिसम्म सम्झिरहेँ।