संक्रामक रोगहरु सदियौंदेखि मृत्यु र अशक्तताको मुख्यकारण रहिआएका छन्। विश्वभरको वार्षिक कुल मृत्यु मध्ये २५ प्रतिशतभन्दा बढीको ज्यान संक्रामक रोगहरुको कारणले गइराखेको छ।
ब्ल्याक डेथ, स्पेनिस फ्लू र एचआइभी/एड्सजस्ता घातक महामारीबाट लाखौंको ज्यान गएको छ। संक्रामक रोगहरुले बेलाबखत मानव सभ्यतालाई नै खतरामा पार्ने गरेका छन्।
मेक्सिकोको एज्टेक सभ्यताको अन्त्य हुनुमा घातक संक्रामक रोग ‘बिफर’लाई कारण मानिन्छ। त्यस्तै सिन्धु घाँटीको सभ्यता विनाश हुनुमा संक्रामक रोगको महामारीलाई पनि कारण मानिएको छ।
अहिले चलिरहेको कोरोना भाइरस महामारीले पनि विश्वलाई नै चुनौती दिएको छ। वर्ल्ड इकोनोमिक फोरमले विश्वको लागि संक्रामक रोगहरु जलवायु परिवर्तनभन्दा पनि ठूलो खतरा रहेको प्रतिवेदन भर्खरै सार्वजनिक गरेको छ।
प्राचिन फिरन्ते शिकारी युगमा के-कस्ता संक्रामक रोगहरु थिए भन्ने कुराको खोजि अहिले पनि चलिरहेको छ। तर त्योबेला संक्रामक रोगको बोझ भने निकै कम थियो। धेरैजसो संक्रामक रोगहरु मानिस कृषि युगमा प्रवेश गरेपछि उत्पन्न भएका मानिएको छ।
मानिस करिब १२ हजार वर्ष पहिला कृषि युगमा प्रवेश गरेको हो। कृषि युगमा प्रवेश गरेपछि मानिसले जंगली जनावरहरुलाई घरेलुकरण गर्न सुरु गरे। जंगली जनावरलाई घरेलु बनाएर दैनिक जीवनमा जोडेपछि ती जनावरहरुसँगको निकट सम्पर्कका कारणबाट मानिसहरुमा संक्रामक रोगका जीवाणुहरु सर्न थाले।
दादुरा रोग लगाउने भाइरस, फ्लू गराउने इन्फ्लुएन्जा 'ए' भाइरस, क्षयरोगको ब्याक्टेरिया, लहरेखोकीको ब्याक्टेरिया र अन्य धेरै संक्रामक रोग लगाउने भाइरस तथा ब्याक्टेरिया घरेलु बनाइएका जनावरबाट मानिसमा सरेको मानिएको छ।
हालसम्म भाइरस, ब्याक्टेरिया, फङ्गी र पारासाइटगरी चौध सयभन्दा बढी सूक्ष्म जीवहरुले मानिसमा संक्रमण गर्न सक्ने थाहा भएको छ। तीमध्ये ८७ वटा सन् १९८० पछि पत्ता लागेका हुन्।
जनावर, मानव शरीर र पृथ्वीको विशाल भूगोलमा त्यस्ता पनि सूक्ष्म जीवहरु छन् जसबारे हामीले कहिल्यै पनि केही थाहा नपाउन सक्छौँ। संक्रमण गर्न सक्ने सम्भावना बोकेका सयौं सूक्ष्म जीवहरु हाम्रै वरपर रहेका हुन्छन्। तर ती सूक्ष्म जीवहरु आफैँ मानिसमा सर्दैनन्।
संक्रामक रोगहरु उदय हुनको लागि वैज्ञानिकहरुले मानवीय गतिविधिलाई मुख्य कारक मानेका छन्। मानिसको जंगली जनावरहरुसंगको बढ्दो सम्पर्क, मानवीय गतिविधिले गर्दा प्राकृतिक वातावरणमा आएको परिवर्तन, वन्यजन्तुको बासस्थानको अतिक्रमण, सहरीकरण र कृषि अभ्यासलाई संक्रामक रोग उदयको लागि मुख्य कारक मानिएको छ।
वैज्ञानिकहरुका अनुसार ४ नयाँ संक्रामक रोग मध्ये ३ वटा जनावरबाट मानिसमा आएका छन्। वन्यजन्तुको शिकार, तस्करी र बासस्थानको अतिक्रमण गर्दा हुने वन्यजन्तुसँगको सम्पर्कका कारण वन्यजन्तुहरुमा मौलाएर बसेका घातक जीवाणुहरु मानिसमा सर्ने सम्भावना बढ्दछ।
ती जीवविरुद्ध लड्न मानिससँग प्राकृतिक क्षमता हुँदैन र खोप र उपचार पनि नहुँदा त्यस्ता जीवहरु महामारीको रुपमा फैलिन सक्छन्। सन् १९७६ मा पत्ता लागेको इबोला भाइरस संक्रमित जनावरको शिकार गर्दा वा संक्रमित जनावरको रगत अथवा तन्तुसँगको सम्पर्कबाट मानिसमा सरेको थियो।
सन् १९८३ मा पत्ता लागेको र अहिले पनि महामारीको रुपमा रहेको एचआइभी चिम्पान्जीबाट मानिसमा सरेको मानिएको छ। अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरस चमेरोबाट अन्य जीवले मानिसमा सारेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ। सार्सर वेस्ट नाइल फिभर पनि जनावरबाट मानिसमा सरेका हुन्।
वन फँडानी, सहरीकरण र कृषी क्षेत्रको विस्तारसँगै संक्रामक रोगहरु पनि विस्तार हुँदै गएका छन्। विश्व प्रसिद्ध साइन्स जर्नल ‘नेचर’मा प्रकाशित अनुसन्धान नतिजाअनुसार वनजंगलमा बसेर खेतबारी र बस्ती बनाउँदा जनावरबाट विभिन्न रोग मानिसमा सर्ने सम्भावना बढेको छ।
वनजंगल फँडानीले अन्य वन्यजन्तुहरु लोप भएपनि धेरै किसिमका रोगका जीवाणुहरु बोक्न सक्ने मुसा तथा लोखर्के जस्ता जीवहरु फैलिन भने सहज हुने अनुसन्धानले देखाएको छ।
यसैगरी औँलो र वेस्ट नाइल फिभरको वृद्धिसँग पनि वन फँडानीको सिधा सम्बन्ध रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। त्यस्तै सन् २०१७ मा ब्राजिलमा भएको जिका भाइरसको ‘आउट ब्रेक’लाई वन फँडानी र सहरीकरणसँग जोडेर हेरिएको छ। सहरीकरणले जिका, डेंगी लगायत अन्य भाइरस सार्ने लामखुट्टे फैलिनको लागि उपयुक्त वातावरण सिर्जना गरेको हुन्छ।
मानिसमा पाइने संक्रामक रोगहरुको २५ प्रतिशत पशु/कृषि उद्योग, बाँध तथा सिँचाइसँग जोडिएका छन्। चीनमा गरिने एकिकृत बंगुर-हाँस फार्मिङलाई महामारी गर्ने नयाँ इन्फ्लुएन्जा भाइरस उदय हुने कारण मानिन्छ। धेरैजसो फ्लू महामारी चीनबाटै सुरु भएका छन्।
त्यसैले चीनलाई फ्लू महामारीको केन्द्रबिन्दु पनि भन्ने गरिन्छ। सन् १९९९ मा मलेसिया र सिंगापुरमा पहिलो चोटि पहिचान गरिएको निपा भाइरस ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ।
मलेसियामा जंगल छेउको फ्रुट ब्याटको बासस्थानमा गरिएको बंगुर पालनले गर्दा चमेरोबाट उक्त भाइरस बंगुरमा सर्यो र पछि बंगुरबाट मानिसहरुमा सर्न थाल्यो। सिँचाइ तथा अन्य प्रयोजनको लागि निर्माण गरिने बाँधहरुले गर्दा लामखुट्टेको बासस्थानमा बृद्धि भएर लामखुट्टेले सार्ने रिफ्ट भ्याली फिभर र औँलो रोगका बिरामीहरु विश्वको विभिन्न ठाउँमा बढिरहेका छन्।
जीवको क्रम विकासले गर्दा पहिले मानिसहरुमा संक्रमण गर्न नसक्ने जीवाणुमा संक्रमण गर्न सक्ने क्षमता विकास हुन सक्छ। भाइरसको आनुवंशिक संरचनामा तीव्र रुपमा हुने परिवर्तनले गर्दापनि भाइरसको नयाँ स्वरुपहरु उदय हुने गर्छन्।
आनुवंशिक संरचनामा आएको परिवर्तनले गर्दा कोभिड-१९ को महामारी देखा परेयता अझ संक्रामक र सजिलै फैलिन सक्ने नयाँ प्रकारका कोरोना भाइरसहरु देखा परिरहेका छन्।
पहिले एन्टिबायोटिकले सजिलै नाश हुने ब्याक्टेरिया अहिले एन्टिबायोटिकलाई नै पचाउन सक्ने भएका छन्। एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाका संक्रमणहरु अत्यन्त जटिल स्वास्थ्य संकटका रुपमा विश्वभर देखिइरहेका छन्। एन्टिबायोटिकको दुरुपयोगले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विकास हुन सघाइरहेको छ।
औँलोको परजीवी र तीनलाई फैलाउने लामखुट्टेले औषधि एवम् किटनाशक पदार्थ प्रतिरोधी क्षमता विकास गरेकाले औँलोको पुनरागमन हुने होकी भन्ने चिन्ता उत्पन्न भएको छ।
कोरोना महामारीले गर्दा गतवर्ष खोप रोकिएका कारण बालबालिकामा दादुरा र पोलियो जस्ता रोगहरु बढ्न सक्ने देखिन्छ। खोपबारे गलत सूचनाको कारण बालबालिकालाई खोप नलगाउँदा उच्च खोप दर भएका देशहरुमा पनि दादुराका बिरामीहरु बढिरहेका छन्।
जनसंख्याको बृद्धि, बसाइँसराई, र युद्धले रोग फैलिनको लागि सहयोगी भूमिका खेलेका हुन्छन्। त्यसैगरी एक देशबाट अर्को देशमा हुने मानिसहरुको आवतजावत र अन्तर्राष्ट्रिय व्यापारले गर्दा पृथ्वीको एक कुनामा देखिएको रोग केही समयमा नै विश्वव्यापी हुन सक्छ।
उदाहरणको लागि ‘ब्ल्याक डेथ’ रेशममार्गको बाटो हुँदै पूर्वी एसियाबाट पश्चिम एसिया पुगेको थियो। र पछि इटालीका व्यापारीको जहाजले पश्चिम एसियाबाट युरोप पुर्याएको थियो। त्यसैगरी यात्रुवाहक पानीजहाज र यात्रुहरु बोकेका हावाइजहाजले कोभिड-१९ फैलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यस्तै जलवायु परिवर्तनले गर्दा पनि रोग लाग्ने जीवाणुहरु फैलिन सहयोग पुर्याएको छ। उदाहरणको लागिः विश्वको तापक्रम बढ्दै जाँदा पहिले लामखुट्टे नभएको ठाउँमा विभिन्न रोगहरु जस्तै औँलो, डेंगी,जापनिज इन्सेफलाइटिस सार्ने लामखुट्टेहरु देखिन थालेका छन्।
यसैगरी विश्वका विभिन्न ठाउँहरुमा वेस्ट नाइल भाइरसको संक्रमण बढ्नुलाई उक्त ठाउँहरुमा लामो समयसम्म भएको खडेरीलाई मुख्य कारण मानिएको छ।
भविष्यमा हुनसक्ने नयाँ रोगको उदय र महामारीलाई रोक्न वा महामारीको क्रमलाई कम गर्न मानव, जनावर तथा वातावरणबीच सन्तुलित सम्बन्ध कायम राख्नु पर्छ। प्राकृतिक स्रोतको अत्यधिक दोहोनलाई नियन्त्रण गर्नुपर्छ।
नेपाल जस्ता देशहरुले स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्दै समयमै रोगको पहिचान गर्ने र संक्रामक रोगको निगरानी गर्ने क्षमता बाढाउनु पर्छ। महामारी रोकथाम र निगरानीका लागि विश्व स्वास्थ्य संगठन र अरु विभिन्न संगठनहरुलाई अझै प्रभावकारी बनाउनु पर्छ।
साथै, हामीले आफ्ना बानी व्यवहारहरुमा सुधार गर्दै जानुपर्छ र सरकारहरुले दिगो भूमि व्यवस्थापन, जैविक विविधताको सुधार तथा वैज्ञानिक अनुसन्धानमा लगानी बढाउनु पर्छ।