रिस्ता गुरूङ रियालिटी शो 'मेरो डान्स युनिभर्स' सिजन २ की विजेता हुन्।
हङकङमा जन्मिएर तीन महिनाको उमेरमा नेपाल आइपुगेकी उनको बाल्यकाल हजुरबुवा–हजुरआमा र फूपूसँग पोखरामा बित्यो।
त्यहीँ उनका स–साना पाइलाहरूले नृत्यको ताल समात्न थाले।
उनले सानैदेखि नृत्यमा रूचि देखाइन्। अलि लजाउने स्वभावकी भए पनि घरभित्र टिभी हेरेर नाच्न उनलाई मनपर्थ्यो।
उनका बुवा पनि नृत्य गर्ने र बुवाका नृत्य तथा मोडलिङ गरेका तस्बिर र भिडिओहरू देख्दा रिस्तालाई पनि प्रेरणा मिलेको थियो।
विद्यालयमा हुँदा सांस्कृतिक कार्यक्रम र प्रतियोगिताहरूमा उनी सक्रिय रूपमा भाग लिन्थिन्। कक्षा २ मा 'झलझली आँखामा’ गीतमा नाचेपछि पाएको प्रशंसाले उनलाई निकै हौसला मिलेको थियो।
उनी भन्छिन्, 'त्यो नाचेदेखि सबैबाट राम्रो प्रशंसा पाएँ, त्यसपछि देउसीभैलोमा पनि नाच्न थालेँ।'
उनले औपचारिक नृत्य तालिम भने कहिल्यै लिइनन्। युट्युब र टिभी उनको नृत्य पाठशाला बन्यो।
त्यस बेला 'छमछमी' जस्ता रियालिटी शोहरूले उनको मनमा ठूलो मञ्चमा पुग्ने सपनाको बिउ रोपे, तर काठमाडौंको दुरीले त्यो बेला उनका लागि असम्भवजस्तो थियो।
प्लस–टू सकेर हङकङ गएपछि पनि रिस्ताले नृत्यलाई निरन्तरता दिइन्। त्यहाँ पढ्दै गर्दा पनि उनी नृत्य प्रतियोगिताहरूमा भाग लिइरहिन्।
नेपालमा गएर नृत्यका क्षेत्रमा केही गर्ने अवसरको खोजीमा रहेकी उनले आफूले जानेको ज्ञान अरूलाई पनि बाँड्न हङकङमा साथीसँग मिलेर एउटा डान्स स्टुडियो खोलिन्। जहाँ उनले बालबालिकालाई सांस्कृतिक र आधुनिक नृत्य सिकाउँछिन्।
यसै क्रममा, 'मेरो डान्स युनिभर्स' शोकी हङकङ संयोजक खुसी गुरूङले उनलाई रियालिटी शोको दोस्रो सिजन नेपालमा हुन लागेको र हङकङमा अडिसन भइरहेको जानकारी दिइन्। रिस्ताले तुरून्तै भाग लिने निर्णय गरिन्।
सिजन–१ हेरेर उनलाई शोको मुख्य उद्देश्य नेपाली कला र संस्कृतिको जगेर्ना गर्नु रहेको लाग्यो। जित्नेभन्दा पनि केही सिक्ने र प्रयास गर्ने उद्देश्यले उनले अडिसनमा भाग लिएकी थिइन्।
तर प्रतियोगितामा मेहनत गर्दै जाँदा आफू फाइनलसम्म पुग्न योग्य भएको उनलाई महसुस हुँदै गयो। उनका अनुसार फाइनलमा पनि जित्छु भन्ने उनलाई लागेको थिएन।
'मेरो डान्स युनिभर्स' मा अनुभवी नृत्य निर्देशकहरूसँग काम गर्ने अवसरले आफूलाई थप निखार्ने अवसर मिलेको रिस्ता बताउँछिन्।
नेपाली कला तथा संस्कृतिबारे थप बुझ्न पाउँदा उनी खुसी छिन्। सिकेका कुराहरू हङकङमा गएर बाबुनानीहरूलाई सिकाउने योजना पनि उनको छ।
शोमा आउनुअघि स्टेजमा चढ्न र क्यामराको सामना गर्न डराउने रिस्तामा अहिले धेरै आत्मविश्वास बढेको छ। र, आत्मशंका पनि हटेको उनले बताइन्।
'शोको पहिलो अडिसनमा मलाई याद छ, स्टेजमा चढ्न पनि डर लागेको थियो। त्यो स्टेज, क्यामरा देखेर एकदमै डर लाग्थ्यो। अहिले ममा धेरै फरक आएको छ, सेल्फ कन्फिडेन्स बढेको छ,' उनले आफ्नो परिवर्तनका बारेमा बताइन्।
रिस्ताले क्यामराको सामना गर्ने तरिका र दर्शकहरूसँग कसरी जोड्ने भन्नेबारे सिकिन्।
रिस्ता आफ्नो सफलतामा परिवार, विशेषगरी बुवाआमा, बाजेबज्यै र फुपूको सबभन्दा ठूलो योगदान रहेको बताउँछिन्। साथै, हङकङमा उनलाई सधैं ठूलो मञ्चमा जान प्रोत्साहन गर्ने परिवार, साथीहरू र खुसी गुरूङप्रति पनि उनले आभार व्यक्त गरिन्।
विजेता बनेपछि, रिस्ताले आफ्नो मोडलिङ करिअरको सुरूआत मौलिक गीतबाटै गरेकी छन्। उनको पहिलो म्युजिक भिडिओ 'हङकङको चिनो' लाई युट्युबमा झन्डै २० लाख पटक हेरिएको छ। यो सफलताले उनलाई थप ऊर्जा दिएको छ।
अब रिस्ता नेपालमा अभिनय सिक्ने र नृत्यसँगै अभिनयलाई पनि अगाडि बढाउने योजनामा छिन्।
'अब नेपालमै केही गर्ने सोचेको छु। अभिनय पनि सिक्छु। अभिनयसँगै डान्स पनि सँगसँगै लगेर नेपालमा पनि एउटा डान्स स्टुडियो खोल्न मन छ,' उनले भनिन्।
रियालिटी शोमा आउन चाहनेहरूलाई उनी आफ्नो कलामा विश्वास राखेर प्रयास गर्न सुझाव दिन्छिन्।
उनी भन्छिन्, 'आफूमा कला छ भने प्रयास गर्नु भन्छु। किनभने हामी नाचेको त हुन्छ, मेहनत गरिरहेको हुन्छ। तर त्यो खालको फेम, धेरै दर्शकमाझ जान रियालिटी शो एकदमै सहयोगी हुन्छ।'
नृत्यका साथसाथै रिस्तालाई सिनेमामा अभिनय गर्ने पनि रूचि छ। फिल्म हेर्दा आफू पात्रमा डुबेर अभिनय गर्न सक्छु भन्ने उनलाई लाग्छ।
अभिनेत्री मिरूना मगर उनलाई धेरै मन पर्छिन्। र, मिरूना मगरले गरेजस्तै ग्रामीण परिवेशको कथा भएको फिल्ममा काम गर्ने उनको रूचि छ।
'मिरूनाले गर्नुभए जस्तै ग्रामीण परिवेशको कथा भएकोमा काम गर्ने रूचि छ,' उनले बताइन्।
छिट्टै अभिनय कक्षा लिने योजना पनि उनले बनाएकी छिन्।

