गुड फ्राइडे सिनेमा
जापानको कोबेमा बस्ने हिरोको वतानाबेका हुनेवाला श्रीमान इट्सुकी फुजिईको हिमाल आरोहण क्रममा मृत्यु हुन्छ।
दुई वर्षपछि, इट्सुकीको सम्झना समारोहको दिन हिरोकोले इट्सुकीको किताब पल्टाउँदै गर्दा उनको एउटा ठेगाना फेला पार्छिन्।
उनले त्यो ठेगानामा चिठी लेख्छिन्।
चिठी इट्सुकी फुजिई नामकी एक महिलाकोमा पुग्छ। महिला इट्सुकी कसले चिठी पठायो भनेर अचम्म पर्छिन्। तर पछि जबाफ लेख्छिन्।
खासमा इट्सुकी र हिरोको अनुहार मिल्दोजुल्दो हुन्छ। उनीहरूले एकअर्कालाई देखे, भेटेका हुँदैनन्। तर पत्रकै माध्यमबाट उनीहरूबीच घनिष्ठता बढ्दै जान्छ।
इट्सुकी पुस्तकालयमा काम गर्छिन् र लामो समयदेखि रूघाखोकीले पीडित छिन्। तर उनी उपचार गर्न मान्दिनन्।
यता हिरोकोले आफ्ना साथी अकिबालाई इट्सुकीको पत्र देखाउँछिन् र स्वर्गबाट आएको सन्देश जस्तो हो भन्छिन्। अकिबाले हिरोकोलाई आफ्नो प्रेम व्यक्त गर्छन् र पूर्वप्रेमी इट्सुकीको सम्झनाबाट मुक्त हुन सुझाव दिन्छन्।
तर हिरोकोले इट्सुकीलाई पत्र लेखिरहन्छिन्। यहीबीच अकिबाले पनि इट्सुकीको पहिचान खोजिरहेका हुन्छन्। इट्सुकीले आफ्नो परिचय पत्र पठाइदिन्छिन्।
इट्सुकी महिला हो भन्ने थाहा पाएर हिरोको छक्क पर्छिन्।
थप सत्य थाहा पाउन र हिरोको र अकिबा महिला इट्सुकीको जन्मथलो जाने योजना बनाउँछन्। तर इट्सुकी त्यो बेला घरमा हुन्नन्।
फर्किएपछि हिरोकोले अर्को सत्य थाहा पाउँछिन्।
त्यो सत्य के हुन्छ? हिरोकोका प्रेमी इट्सुकी र महिला इट्सुकीबीच के सम्बन्ध हुन्छ?
यो सबै जान्न जापानी फिल्म 'लभ लेटर' हेर्नुहोला।
सन् १९९५ मा रिलिज यो रोमान्टिक फिल्म सुपरहिट भएको थियो। त्यो बेला नै, जापान मात्र होइन, पूर्वी एसियाका अन्य देशहरूमा पनि, विशेषगरी दक्षिण कोरियामा यो फिल्म अत्यधिक लोकप्रिय भयो।
फिल्मको ३० औं वार्षिकोत्सवको अवसरमा, सन् २०२५ अप्रिल ४ मा जापानका केही हलमा यो फिल्म पुनः प्रदर्शन गरिएको थियो।
'लभ लेटर' ले ८ वटा अवार्ड पनि जितेको थियो।
आज गुड फ्राइडे सिनेमा मा हामीले यही फिल्म सिफारिस गरेका छौं। जापानी भाषाको यो फिल्ममा अंग्रेजी सबटाइटल छ।